कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोनाले हुत्त्याइ ल्याएका फोका–घाउहरू

जहाँ मह, त्यतै हातको पन्जा ! डाक्टरकै एम्बुलेन्सले एक रोगीलाई ३६० किलोमिटर पर लगेको १ लाख २० हजार भारु लियो, एउटा लास १५ किलोमिटर टाढा श्मशानघाटसम्म पुर्‍याउन एउटा गाडीले ३० हजार भारु लियो ।
महेन्द्र पी‍. लामा

लगभग अठार महिनाअघि विश्व–मानव–समाजमा घुसेको कोरोना महामारीले नभन्दै पनि ३४ लाख मानिसहरू खर्लप्पै पारिसकेछ । अमेरिकामा ६ लाख, भारतमा २ लाख ७५ हजार अनि फेरि ब्राजिलमा ४ लाख ३६ हजार मानिसहरू कालै नआई भन्ज्याङपारि भनेझैं भए । हांग्राले पांग्रा निलेझैं कोरोनाले सुतुसुतु सबैलाई यमराजको थैलोमा हालिदियो ।

कोरोनाले हुत्त्याइ ल्याएका फोका–घाउहरू

कस्तो रोग हो यो ! विश्वले निन्दा गरेको छुवाछुत घरघर, समाज–समुदाय, राष्ट्र–विश्वमै थाहै नपाई घुसाइदियो । आफ्नै हातसँग डराउनुपर्ने भयो, नाक र मुखमा घरभित्रै पनि ढकनी लगाउनुपर्ने अरे ! संस्कार–संस्कृतिको मुटुमै भाला हान्ने यो महामारीले गर्दा, जन्माउने माता–पिता, जीवनभरिका इष्टमित्रलाई एउटा फक्रेको फूल, चोखो पानी र भक्कानो फुटेर चुहेको आँसुसम्म चढाउन नपाई श्मशानघाटमा एक्लै पठाउनुपर्ने ! बाहुन–लामा–मौलवी–पास्टर र मलामीको नामनिसाना नहुने यो महामारीमा, युद्धमा खनिने भुइँमुनिका सुरुङहरू धेरै मृतकलाई एकैसाथ गाड्ने र सबैलाई चिसो माटोले एकैसाथ पुर्ने स्थलहरू भए ! गंगा–यमुना–ब्रह्मपुत्र नदीहरू बिहार–उत्तर प्रदेशमा झैं पहिला गरिबीले र अन्तमा कोरोनाले हुत्त्याएका मृतकहरू अनन्त यात्रामा पौडी खेल्ने प्रवाहहरू भए !

सबै आतंकित छन् । भय–त्रास–आशंकाले विक्षिप्त पारेपछि आशामाथि पनि विश्वास नगर्ने भएका छन् । जीवनको यो संकट र अन्योलको घडीमा टेलिभिजन, अखबार, फेसबुक र युट्युबले आबाल–वृद्ध–वनितालाई नै हत्तु–हैरान बनाइदिए । कसलाई, कहाँ, किन र कहिले विश्वास गर्ने ? कसको कुरा सुन्ने ? कोलाहल र अफवाहले खाएको यस भीषण स्थितिमा सरकार लुक्यो, राष्ट्र लजाएर भाग्यो, व्यक्तिहरू सीमाविहीन भए । कसैले भन्छन्— कोरोनाले खाएको फोक्सोको स्क्यानिङ गर्नु हुँदैन; कारण, एउटा सीटी स्क्यान बराबर तीन–चार सय एक्सरे हो र यसबाट निस्केको किरण शरीरका निम्ति अति नै हानिकारक हुन्छ । अर्कातिर, कोरोनाबाट बचाउने औषधि स्टेरोइड आदिले अझै खतरनाक ब्ल्याक फंगस (म्युकोरमाइकोसिस) रोग ल्याउँछन् र यो बढेर गएको छ अरे ! त्यसको अर्थ हो— तातो तावाबाट निस्केर जल्दोबल्दो आगोको भुंग्रोमा हामफाल्नु । खोइ, कहाँ जाने, कसलाई सोध्ने !

दिल्लीमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएपछि, अक्सिजन कसरी बाँड्ने भनी कमिटीसम्म बनाउनुपर्‍यो भारतको सर्वाेच्च न्यायालयले । भारतको राजधानी दिल्लीमा एउटा केन्द्रीय सरकार र अर्काे दिल्ली सरकार भए पनि दुवै वाल्ल परे; हिँडडुल गर्ने पार्क र खाली जग्गामा श्मशानघाट बन्दा पनि टुलुटुलु हेरी नै रहे । त्यति मात्र कहाँ हो र, अलिक परतिर गोवामा लगभग एक महिनापछि अक्सिजन नहुँदाको हाहाकार देख्दादेख्दै पनि तीन रातमा ८० जनाभन्दा बढी कोभिड रोगीले प्रकृतिले नि:शुल्क दिएको उपहार नपाई ज्यान गुमाए । दिल्लीको भीषण स्थितिबाट पनि पाठ नसिक्ने गोवा सरकारले, किन यस्तो भयो भन्दा छाँगोबाट खस्ने जवाफ दियो । अक्सिजन बोकेर गएको ट्रयाक्टरले गोवा मेडिकल कलेज परिसरमा आफूलाई घुमाउने जग्गा नपाउँदा वा ठीकसँगले घुमाउने चालक नहुँदा अक्सिजन पुग्न विलम्ब भयो रे !

कोरोनाले अन्तर्राष्ट्रिय सीमाहरू नै भताभुंग बनाइदियो । अहिलेसम्म पनि चीनको वुहानमा पशुप्राणीको बजारमा पाइने भाइरसले कोरोनाको रूप धारण गरेको हो वा चीनको वैज्ञानिक प्रयोगशालामा बनाइँदै गरेको भाइरस आकस्मिक ढंगमा उम्कँदा महामारी फैलिएको हो, यो कुरो ठीकसँगले पुष्टि नै भएको छैन । बारम्बार, चीनले यो भाइरस आफ्नो प्रयोगशालामा जानीजानी बनाएको हो भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अत्तोपत्तो छैन । फेरि, सीमाहरू तोड्नमा सिपालु त्यही कोरोनाले नयाँनयाँ घीनैलाग्दा सिमानाहरू पनि बनाइदियो । हिजोअस्ति आन्ध्र प्रदेशदेखि तेलंगानाको हैदराबाद पस्ने मार्ग नै बन्द गरियो । राज्य–राज्यबीचको यो सिमानामा एम्बुलेन्ससम्म छिर्न नदिँदा रोगीको बेहाल भई बाटामै मर्नुपर्‍यो । दिल्लीमा बितेका एक विद्वान् युवा प्रोफेसरलाई अन्तिम संस्कार गर्न मणिपुरको उनको गाउँ पुर्‍याउन हम्मे पर्‍यो । उनी कुकी जनजातिका थिए, अनि नागा जनजातिले उनको नागरिकताको प्रश्न उठाउँदै अन्तिम संस्कार टार्ने कोसिस गरे । अमानवीयताको शिखर नै हो यो ! कोरोनाले गर्दा जनजातिहरुबीच पनि अर्काे सामुदायिक सिमाना कोरियो ।

दलदलमा सिमरायो सप्रेझैं नाफाखोरी र कालोबजारीहरू चारैतिर पलाए । जति कोरोनाको स्थिति जटिल, उति ज्यादा नाफाको मौका ! आधुनिक टेक्नोलजी र मोबाइल फोनको गहिरो दुरुपयोग, घरमै बसी लाखौं रुपैयाँ ! अक्सिजन, औषधि, एम्बुलेन्स र लास बोक्ने गाडी — सबैतिर नाफाखोरीको होडबाजी । दिल्लीको नामी रेस्टुराँ खान चाचाका मालिक र दिल्ली हवाई अड्डामा विदेशमा चलाउन सकिने फोनको कार्ड बेच्ने म्याट्रिक्स सेलुलरका मालिकले लुकाएर राखेका ५२४ अक्सिजन कन्सन्ट्रेटर पुलिसले जालमा पार्‍यो । अचम्मैलाग्दो, जर्मनीको मेसिन भन्दै चीनमा बनेको मेसिनलाई चार–पाँच गुणा बढी मूल्यमा मृत्युशय्यामा पुगेकाहरूलाई बेचियो । प्रत्येकमा ५०–६० हजार भारु कमाउँदै बेचेको मेसिनले कामै नगरेर रोगी मरेपछि थाहा भयो— त्यो मेसिनले केवल २०–३० प्रतिशत अक्सिजन प्रवाह गर्दो रहेछ । अतालिएर भयभीत भएका रोगीका आफन्तहरूलाई कसैले अक्सिजन भनेर आगो निभाउने मेसिन बेचे त कसैले ठूलो तर खाली सिलिन्डरमा छक्याए । र नै तमिलनाडु सरकारले लकडाउनसँगसँगै गुन्डा अधिनियम पनि जारी गर्‍यो ।

पैसा कमाउनलाई कसैले सीधै चियामाथि गिलासभित्र चिउरा हालिदिए त कसैले मुरै । एम्बुलेन्स धन्दा सुरु गरेको एक डाक्टरले एउटा रोगीलाई गुडगाँवदेखि लुधियाना (३६० किलोमिटर) सम्म लगेको १ लाख २० हजार भारु लिएपछि र एउटा लास १५ किलोमिटर टाढाको श्मशानघाटसम्म पुर्‍याउन एउटा गाडीले ३० हजार भारु लिएपछि मात्रै सरकार चिर निद्राबाट ब्युँझियो । सरकारले एम्बुलेन्सको दर त तोकिदियो तर कसले निगरानी गर्ने ? जनताको कुरै छैन; ‘सबैलाई कोरोना हुन सक्छ, मलाई चाहिँ भेट्दैन’ भन्नेहरूका जमात कुम्भ मेलादेखि चुनाव प्रचारका जुलुस, हाटबजारदेखि विवाहका भोज र गल्लीदेखि पार्कसम्मै लहलह । नाक–मुखमा ढकनी नलगाउने यस्ताहरूबाट दिल्ली पुलिसले बीस दिनमै ११ करोड भारु उठायो, त्यो पनि पूर्ण लकडाउनको घोषित अवधिमा । रोगीका निम्ति बेडसम्म पनि कालोबजारमा हाल्ने अस्पतालहरू भेट्टाइएपछि कतिपय रोगीहरू घरैबाट बेड–बिस्तरा लिएर अस्पतालभित्र पस्न थाले । डाँडा काटेका रोगीहरूले छाडेका रेम्डेसिभिर जस्ता औषधिलाई कालोबजारीमा ल्याई नाफा खाँदा कतिपय नर्स पक्राउसमेत परे ।

जहाँ मह, त्यतै हातको पन्जा ! केको महामारी ! कोरोना टेस्टको नेगेटिभ सर्टिफिकेट बेच्ने मार्केट नै खोलियो । पुलिस हत्तु–हैरान भयो । नेदरल्यान्ड्स सरकारले त भारतबाट आउने सबै यात्रीहरूको नेगेटिभ सर्टिफिकेटमा फोटो टाँस्न र क्युआर कोड लगाउन अनिवार्य नै बनाइदियो । ‘कागभन्दा कोइली चंख’ भनेझैं न्यायालयहरू सरकारमाथि बर्सिन थाले । खोप नपाउँदा हाहाकार भयो र पनि कसैलाई फोन गर्दा घरीघरी गुन्जिने ‘कोरोनाबाट बाँच्न खोप जरुर लगाउनुहोस्’ भन्ने विज्ञापन बजिरहेपछि न्यायालयले त्यसलाई हटाउन आदेश नै दियो ।

सरकार त खोक्रो हुँदो रहेछ । अमेरिकामा, ब्राजिल–भारतमा यही भयो । नेताहरूले समेत नोकरशाही, अस्पताल, डाक्टर, अक्सिजन आदि नपाएपछि र खुल्ला रूपमा प्रेस–मिडिया–अखबारमा गुनासो पोख्न थालेपछि, सरकार झकझकायो तर ब्युँझेन; उठ्यो तर कुनै काम नलाग्ने भलायोको रूखझैं ठिंग उभियो । जसले पनि सरकारलाई छोयो, ऊ घाउ र डाम्राले सताइने भयो । तर बयानबाजी, राजनीतिक हिरोपन चाहिँ छोडेनन्, कतिपय नेताहरूले । एक जना मुख्यमन्त्रीले त कोरोनाको खोप बनाउने कम्पनीहरूसँग खोप बनाउँदा चलाउने वैज्ञानिक–रासायनिक फर्मुला नै खुला रूपमा मागे । अरूले पनि बनाउन सकून् भनेर अरे ! उनको अनभिज्ञताको हिमालचुली देखेर हामी व्यथित भयौं । मर्नेहरू त गइगए, नमर्नेहरूलाई यस्ता नेताले अझै कतिपल्ट जिउँदै मार्लान् ! विश्व पिटेर नाफा कमाएको कोकाकोला कम्पनीलाई ‘हामी पनि कमाउँछौं, फर्मुला बताइदेऊ’ भन्दा कम्पनीले लेखेर फर्मुला देला ? अमेरिकामा खोप बनाएका फाइजर र मोडेर्नासँग, अरू राष्ट्रमा पनि छिटो र सुहाउँदिलो दरमा खोप पुर्‍याउन भारत–दक्षिण अफ्रिकाले त्यसको फर्मुला दिन भन्दै विश्व व्यापार संघमा अपिल गरेपछि र चीनसमेत धेरै राष्ट्रले समर्थन दिँदा पनि, ती कम्पनीहरू अझै हिचकिचाउँदै छन् । प्याटेन्ट र ब्रान्डका नाममा फर्मुला दिने त प्रश्नै उठ्दैन ।

अग्घोरै ढीट हुन्छन् प्रशासनहरू, अरिमट्ठे हुन्छन् प्रशासन चलाउनेहरू । जवाहरलाल नेहरू विश्वविद्यालयमा कोरोनाले संक्रमित रोगीहरू ह्वात्तै बढेपछि शिक्षक एसोसिएसनले प्रशासनलाई क्वारेन्टिन केन्द्र खोल्न भनी बिन्ती गर्‍यो । मुढामा बस्ने प्रशासन झन् तल पिरामा बस्नै नमानेपछि दिल्ली उच्च न्यायालयले हस्तक्षेप गर्दै आदेश दियो । अर्कापट्टि गुरुद्वारा जस्तै अनेक संस्थाले बेड, अक्सिजन, डाक्टर, नर्स सबै उपलब्ध गराए । मध्यप्रदेशको भोपालमा त सरकारले श्मशानघाटमै मलामीहरूका निम्ति खानेकुरो र विश्रामगृहको पनि चाँजो मिलाइदियो । मानवताका प्रखर भक्तहरू अघि आए, करुणा–ममता–सहानुभूतिका पुजारीहरू जन्मिए । न उनीहरूलाई सरकार चाहियो, न राजनीतिक नेताहरूको आशीर्वाद, न फेरि छेलोखेलो धन नै । ‘यस पालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो’ भनेजस्तो असहाय स्थितिमा हूलका हूल, झुन्डका झुन्ड सामाजिक कार्यकर्ताहरू अघि आए । दार्जिलिङनजिक खरसाङमा आफ्नी आमालाई श्मशानघाट लाने स्ट्रेचर म्युनिसिप्यालिटीमा पनि नभेटेकी छोरीले पछि चारवटा स्ट्रेचर म्युनिसिप्यालिटीलाई दान दिएको देख्दा सरकारी अंगहरू नै छियाछिया भएको महसुस हुँदो रहेछ ।

अन्धविश्वासले फेरि जरा गाड्यो, यो महामारीको ताण्डव नृत्यमा । कसैले आफूलाई हरियो गोबरले लिपे, कसैले अक्सिजन मास्कभित्र समेत बल्ने कपूर हाले, अनि धेरैले नखानुपर्ने अप्ठ्यारा कुराहरू खाए । यहाँसम्म भयो कि, अमेरिकी हवाई अड्डामा भन्सार विभागले भारतबाट आएका यात्रीको सुटकेसमा गोबरको थाक भेटेपछि गोबर ल्याउँदा अमेरिकामा अन्य पशुप्राणीमा खुट्टा–मुख रोगका कीटाणुहरू फैलन सक्छन् भन्दै गोबर बोक्नमा पूर्ण प्रतिबन्ध नै लगाइदियो । विश्वमै कोरोना महामारीको प्रकोप हुँदाहुँदै, अस्ट्रेलियाका प्रधानमन्त्रीले भारतबाट आफ्नै नागरिक आए पनि जरिवाना र काराबाससमेत गर्ने घोषणा गर्नुले रंगभेदको नीति फेरि उकालियो ।

यो महामारीको बदलिँदो रूपले एउटा व्यापक चर्चा अघि ल्यायो । राष्ट्रिय सुरक्षा र मानव सुरक्षामा कुन चाहिँ पहिला आउने ? एकापट्टि एटम बम, जमिनदेखि आकाश छुने मिसाइल र सबमरिनको व्यापक व्यवस्था; अर्कापट्टि अस्पतालमा बिस्तरा, औषधि, अक्सिजन र खोपको समेत हाहाकार । राष्ट्रिय सुरक्षाको अर्थ नै हो— राष्ट्रमा बस्ने व्यक्ति–समुदायको सुरक्षा । त फेरि, भारत–अमेरिका–इटली–इंग्ल्यान्ड–ब्राजिलमा लाखौं मानिसलाई महामारीले किन खायो ? किन बुनियादी सुविधाहरू नै थिएनन् ? एटम बम नै नबनाई छिमेकी राष्ट्र भोटाङले महामारीको अवधिमा मानव सुरक्षाको अब्बल उदाहरण दियो । सरकार र नेताले यो चर्चामा उठेका प्रश्नहरूको जवाफ दिनैपर्छ । कारण, ‘शक्तिशाली’ हुँदाहुँदै आँखैअगाडि लास तेर्सिंदा पनि आफू असहाय भएर उभिनुपरेको व्यथा र घोचाइले उनीहरूलाई झन् पोल्यो । कोरोना महामारीले हुत्त्याइल्याएका यी फोका–घाउ–डाबरहरूको सामना प्रभावशाली ढंगमा गरेर मानव समाज बचाउनु नै सरकार र नेताको प्रमुख कार्य र दायित्व पनि हो ।

प्रकाशित : जेष्ठ ३, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?