कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

सिकाइमा फोन र म्यासेजको प्रयोग

जोखिमको अवस्थाअनुसार टोल सिकाइ, घरघरमै सिकाइ, घुम्ती सिकाइ, फोनबाट सिकाइ, म्यासेज सिकाइजस्ता अभियान चलाउन सकिन्छ ।
देवीराम आचार्य

गत वर्षदेखि महामारीको रूपमा फैलिएको कोभिड–१९ ले शिक्षण सिकाइ क्रियाकलापमा नराम्ररी प्रभाव पार्‍यो र पारिरहेको छ । जति बेलादेखि वैकल्पिक विधिहरूको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप गर्ने चर्चा हुन थाल्यो त्यति बेलादेखि अहिलेसम्म पनि अवस्थामा उल्लेखनीय सुधार भएको छैन ।

सिकाइमा फोन र म्यासेजको प्रयोग

सहरी क्षेत्रमा केही थप इन्टरनेट जडान भए पनि ग्रामीण क्षेत्रमा इन्टरनेटसेवा उल्लेखनीय रूपमा विस्तार भएको छैन । रेडियोको पहुँच बढेको छैन । मोबाइल बिक्री संख्या बढे पनि त्यसको पहुँच विद्यालयका धेरै विद्यार्थीसम्म पुगेको छैन । टेलिभिजनको पहुँच पनि उल्लेखनीय बढेको छैन ।

शिक्षण सिकाइको वैकल्पिक विधिमा एउटामात्र विधि त छैन, तर धेरैले वैकल्पिक भन्नासाथ अनलाइनमा जुमबाट गर्ने शिक्षणलाई मात्र बुझ्ने र बुझाउने काम भयो । जटिल अवस्थामा सामान्यजस्तो त हुँदैन तर पनि धेरैले त्यस्तै अवस्था मात्र खोजिरह्यौँ । रेडियोबाट पढाऊँ भन्यो भने अचेल विद्यार्थीले रेडियो नै सुन्दैनन्, घरमा रेडियो हुँदैन, सबै ठाउँमा रेडियोले टिप्दैन भनियो । टिभीबाट होला कि भन्यो, के टिभी पनि सबैको घरमा हुन्छ र ? बिजुली चाहियो, केबुल चाहियो भनियो र सकियो । अनलाइनबाट त झन् भन्नै भएन । टोल सिकाइ गरौँ, घरघरमा सिकाइ अभियान सञ्चालन गरौँ, जसलाई जेबाट सम्भव हुन्छ त्यसैबाट पढाउँ भनेर भन्दाभन्दै वर्ष बित्यो । यसो भनेर केही पनि नभएको त पक्कै होइन तर पनि हुनुपर्ने जति हुन सकेन । गर्न सकिने जति प्रयास पनि गरिएन र अहिले फेरि समय उही अवस्थामा आएको छ । परिस्थिति उस्तै सिर्जना भएको छ । यो वर्षको शैक्षिक सत्र पनि अन्योल र अलमलमा परिसकेको छ ।

वैकल्पिक सिकाइका सम्भावनाभन्दा समस्या धेरै खोजी गरियो । कुनै पनि तहका सरकारले शिक्षकलाई उत्प्रेरणासहित परिचालन गर्ने सोच बनाएनन् । वैकल्पिक सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा साधनस्रोत खर्च गरेनन् । धेरै स्थानीय तहले संघीय सरकारका निर्देशन कुरेरै वर्ष बिताए । परिवेशअनुसारका आफ्नै विधि प्रयोगमा ल्याइएन । केही प्रयोग गरेकाहरूले पनि निरन्तरता दिएनन् र दिगोपना आएन । स्थानीय तहमा शिक्षकहरू परिचालन गरेर रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्ने अभ्यास थोरैले मात्र गरे । धेरैले तयारी सामग्री खरिद गरेर पालिकामा भएका सबै रेडियोलाई दामासाहीले बजेट बाँडे । रेडियोबाट पाठ त बजे तर त्यसको प्रभावकारिता सोधीखोजी गरिएन । साँच्चै सिकाइ भयो कि भएन ? के समस्या भयो ? जानकारी राखिएन ।

जे जसरी सम्भव छ शिक्षण सिकाइ निरन्तर रूपमा सञ्चालन गरौँ भन्ने अवस्था सिर्जना भएन । शिक्षकको क्षमता विकासका लागि प्रयासहरू हुन सकेनन् । सिकाइमा भन्दा शैक्षिक सत्रको समयमा बढी जोड दिइयो । उत्पादन गरिएका सामग्री वेबसाइटमा त राखियो तर ती सामग्रीमा पहुँच बढाउन सकिएन । अहिले पढाउँदै गरौँ, सिकाउँदै गरौँ परीक्षा जहिले गरे पनि हुन्छ भन्न सकिएन । पढाउने सिकाउनेभन्दा परीक्षा लिने चिन्ता बढी देखियो । विद्यालयहरू पुन:सञ्चालनमा आउन सुरु हुनासाथ पढाइ छोडेर परीक्षा लिन थालियो । वर्षभरि पठनपाठन नै नियमित नभइरहेको अवस्थामा पनि पुरानै विधि र ढाँचाका परीक्षा तालिका प्रकाशन गर्ने काम सबैभन्दा बढी प्राथमिकतामा रहेको देखियो ।

कोभिड संक्रमण कति लम्बिने हो, अझै अनिश्चित छ । अहिले देखिएको दोस्रो लहरले पनि कहिलेसम्म प्रभाव पार्ने हो भन्न सकिने अवस्था छैन । यो अवस्थामा फेरि पनि सम्भव भएसम्मका धेरै विधिहरूको प्रयोगबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनु जरुरी छ । निषेधाज्ञा जारी भएको स्थानमा बाहेक अन्यत्र भौतिक दूरीसहित सुरक्षा मापदण्ड अपनाएर एकपटकमा एक/एक जनालाई (क्लिनिक मोडल) शिक्षणमा सहयोग गर्न सकिन्छ । स्थानीय स्तरमै शिक्षकहरू परिचालन गरेर रेडियो पाठहरू विकास गर्ने र ती रेडियोमा बजेका पाठहरूको रेकर्ड विद्यार्थीले मोबाइल वा अन्य साधनबाट उपलब्ध गराउने, इमेल गर्ने, म्यासेन्जरबाट पठाइदिने, गृहकार्य दिने र रेडियोलाई अन्तरक्रियात्मक पनि बनाउन सकिन्छ । जोखिमको अवस्थाअनुसार टोल सिकाइ, घरघरमै सिकाइ, घुम्ती सिकाइ, फोनबाट सिकाइ, म्यासेज सिकाइजस्ता सिकाइ अभियान चलाउन सकिन्छ ।

अनलाइन सम्भव भएन, रेडियो सुन्दैनन्, टिभी छैन । घरघरै डुल्नु सुरक्षित भएन । के त्यो बाहेकका विधि अवलम्बन नगर्ने त ? के फेरि पनि शिक्षण सिकाइका लागि संघीय सरकारले कहिले निर्देशन देला भनेर कुरिरहने त ? स्थानीय तहमा जोखिमको अवस्था हेरेर वैकल्पिक सिकाइलाई सुरु गर्न अब ढिला गर्नु हुँदैन ।

विद्यालयको समयलाई लचिलो बनाउनुपर्छ । सामान्य अवस्थामा जस्तो १० देखि ४ बजेको मात्र होइन आवश्यकताअनुसार बिहानदेखि बेलुकासम्म नै शिक्षकहरू शिक्षण सिकाइ सहजीकरणमा सहभागी हुने व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्छ । शिक्षकहरूलाई क्षमता विकास, प्रोत्साहन र आवश्यक साधनस्रोत स्थानीय सरकारहरूले उपलब्ध गराउनुपर्छ । कुन विद्यार्थीसँग कुन साधन छ ? र कुन विधिबाट उपयुक्त हुन्छ ? शिक्षकहरूले निर्धारण गर्ने सोहीअनुसार विभिन्न विधि (रेडियो, टिभी, अनलाइन, फोन, म्यासेज, टोल सिकाइ, घुम्ती सिकाइ, घरघरमा सिकाइ) को प्रयोग गर्नुपर्छ । अनलाइनबाट भएन भनेर मात्र हुँदैन, जेबाट सम्भव छ त्यसलाई प्रयोग गर्नुपर्छ ।

फोनमा कुरा गरेर पनि शिक्षण सिकाइ सञ्चालन गर्न सकिन्छ । विद्यालयमा सबै विद्यार्थीका अभिभावकको सम्पर्क फोन नम्बरहरू छन् । टेलिकममार्फत सरकारले सबैलाई सियुजी सिम उपलब्ध गराएको छ । त्यसका लागि पालिकाहरूमा बजेट पठाइएको छ । तयारी चरणमा अभिभावकसँग फोन गरेर कुन विधिबाट शिक्षण गर्न सम्भव छ, तथ्यांक संकलन गर्ने र त्यसलाई विश्लेषण गरेर विद्यालयअनुसार, कक्षाअनुसार, विषयअनुसार शिक्षण सिकाइका फरकफरक विधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । फोन गरेर, म्यासेज पठाएरै पनि शिक्षण सिकाइलाई निरन्तरता दिन सकिन्छ । माथिल्ला कक्षाहरूमा सोझै विद्यार्थीसँग कुरा गरेर पाठको काम दिने, नबुझेको बुझाइदिने, म्यासेज पठाउने गर्न सकिन्छ भने साना कक्षामा अभिभावक र विद्यार्थीलाई सँगै राखेर फोनबाट सहजीकरण गर्न सकिन्छ । एउटा विद्यार्थीसँग १० मिनेट मात्र कुरा गरियो भने पनि एक दिनमा २० देखि ३० जना विद्यार्थी/अभिभावकसँग फोनमा कुरा हुन्छ । टोलमा ठूला विद्यार्थीले साना विद्यार्थीलाई सिकाउने, एकले अर्कालाई सिकाउने, स्वयंसेवकहरू परिचालन गर्ने, कलेज पढ्ने विद्यार्थीलाई परिचालन गरेर पनि यसलाई अझ सहज र सरल बनाउन सकिन्छ ।

फोन गरेर मात्र शिक्षण गर्दा अभिभावकसँग समय लिने, फोनमा बताउने कुरालाई टिपोट गर्ने, त्यसको अनुगमन गर्न म्यासेज गर्ने, हरेक कति दिनमा फोन गर्ने हो त्यसको तालिका बनाउने, समूहमा म्यासेज गर्ने, रेकर्ड गरिएका छोटा सन्देशहरू पठाउनेजस्ता काम गर्न कुनै उच्चस्तरको प्रविधिको खाँचो पर्दैन । गरौँ भन्ने इच्छाशक्ति र समूहमा प्रतिबद्धता भने जरुरी हुन्छ । कक्षाअनुसार अभिभावकहरूको समूह बनाई टोलमा पनि यसलाई उपयोगमा ल्याउन सकिन्छ । पालिकाहरूले विद्यालयलाई आवश्यक पर्ने न्यूनतम सुविधाहरू उपलब्ध गराएर फोनबाट शिक्षण सिकाइलाई सञ्चालन गर्न सक्छन् । धेरै विद्यार्थी भएका कक्षामा समूह बनाएर गर्न सकिन्छ भने थोरै विद्यार्थी भएकोमा एक एक जनालाई सहजीकरण गर्न सकिन्छ ।

म्यासेज पठाएर पाठको काम दिने, कुनै छोटा प्रश्नहरू सोध्ने, परियोजना कार्यहरू दिने, प्रश्नका उत्तरहरू पठाउने, समस्याहरू सोध्नेजस्ता शिक्षण सिकाइका आधारभूत क्रियाकलाप सहजै सञ्चालन गर्न सकिन्छ । फोन गरेर काम दिने, म्यासेजबाट त्यसको अवस्था अनुगमन गर्ने र घरदैलो वा क्लिनिक मोडलको ढाँचामा विद्यार्थीले गरेको काम परीक्षण गरी थप सहयोग उपलब्ध गराउन सकिन्छ । सबै विषय र पाठ फोनबाट सिकाउन नसकिएला तर जति सकिन्छ त्यति मात्र पढायौँ भने पछि बाँकी रहेको पढाउन सकिन्छ ।

मोबाइलबाट शिक्षण गर्न सुरुका दिनमा शिक्षकको तयारी महत्त्वपूर्ण हुन्छ । अभिभावकसँग कुरा गर्ने शैली र उहाँहरूलाई बालबालिकाको सिकाइप्रति जिम्मेवार बनाउन शिक्षकको सञ्चार सीपको पनि भूमिका हुन्छ । फोनमा के कुरा गर्ने र के नगर्ने भन्ने आचारसंहिता पनि आवश्यक पर्न सक्छ । अभिभावकलाई यसको जानकारी गराउनु पर्छ । साना कक्षाका अभिभावकसँग कुरा गर्ने समय बिहान बेलुकाको पनि गर्नुपर्ने हुन्छ । आफैले सघाउन नसक्ने अभिभावकहरू भएको अवस्थामा उहाँहरूसँग समन्वय गरेर कुनै माथिल्लो कक्षाका विद्यार्थी वा टोल/छिमेकका अन्य अभिभावकको सहयोग लिनुपर्ने पनि हुन सक्छ । यो विधिले भएन र त्यो विधिले भएन भन्नुभन्दा कुन विधिले हुन्छ खोजी गर्ने, त्यसको प्रयोग गर्ने र जुन विधिले हुन्छ त्यसलाई निरन्तरता दिने अहिलेको प्राथमिक कार्य हो ।

समस्या नै नभएको, कुनै कठिनाइ नहुने, अतिरिक्त मिहिनेत गर्न नपर्ने शिक्षण सिकाइका विधि खोज्नुभन्दा पनि विभिन्न विधिको प्रयोग गरेर त्यसमा देखापर्ने समस्याहरूलाई समाधान गर्दै शिक्षण सिकाइलाई निरन्तरता दिनेतर्फ ढिला गर्न हुँदैन । शिक्षकको क्षमता विकास, प्रोत्साहन र परिचालनमा स्थानीय सरकारहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । इच्छाशक्तिले धेरै कठिन कुरालाई सहज बनाउन सकिन्छ । साधारण मोबाइल फोनको प्रयोगबाट पनि शिक्षण सिकाइ सञ्चालन गर्न सकिन्छ । म्यासेज पठाएर पनि सिकाइको अनुगमन र अवस्थाको जानकारी लिन सकिन्छ । शिक्षण सिकाइलाई निरन्तरता दिन सामूहिक प्रयास र दृढ इच्छाशक्ति जरुरी हुन्छ ।

प्रकाशित : वैशाख २३, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?