कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता भुल्ने राजनीति

सत्ता–शक्तिमा पुगेपछि जे गर्दा पनि हुन्छ भन्ने अहंकारी सोच नेतृत्वमा हावी हुने गरेको छ, जुन क्षम्य छैन ।

राजनीति मूलतः जनसेवाको, राष्ट्रसेवाको विषय हो । राजनीतिकर्मीहरू सक्षम र योग्य भए जनताको मुहार फेरिँदै जान्छ । राजनीतिकर्मीहरूको आचरण शुद्ध रहे देश प्रगतितर्फ लम्किन्छ भने विकृत भए देश न जनता, कसैले पनि चैनको, शान्तिको सास फेर्न पाउँदैनन् ।

जनता भुल्ने राजनीति

हाम्रो राजनीति धेरै समयदेखि यही बाटामा हिँडिरहेको छ, उल्टो बाटामा । भीरतिरको त्यो गति अहिले त झन् बढिरहेझैं लाग्छ । आफ्नो स्वार्थको परिपूर्तिलाई जनसेवा र राष्ट्रसेवा सम्झिनेहरूका हातमा गएको छ देशको लगाम । हाम्रो देशको राजनीति यति विकृत हुनुको कारणलाई बुँदागत रूपमा यसरी बुझ्न सकिन्छ ।

आजीवन व्यवसाय : राजनीतिलाई पेसा–व्यवसायका रूपमा लिने गरिएको छ । कमाउने धन्दा बनिसकेको छ राजनीति । कुनै पनि पेसा–व्यवसायमा उमेरको हद हुन्छ, निश्चित समयपछि मानिसले अवकाश लिन्छ, त्यसअघि उसले आफ्नो उत्तराधिकारी बनाइसकेको हुन्छ । तर हाम्रा राजनीतिकर्मीहरूमा यो कुरा लागू हुँदैन । आफू मृत्युशय्यामा पुग्दा पनि पदलोलुपता तिनले छाड्न सकेको देखिन्न । राजनीति एकातिर निवृत्त हुनुपर्ने पेसा रहेन, अर्कातिर सात पुस्तालाई पुग्ने कमाउने भाँडोका रूपमा स्थापित हुँदै गयो । नयाँ सोच, जोस–जाँगर भएकाहरूलाई अगाडि ल्याऔं र हामी पछाडिबाट सहयोग गरौं भन्ने भावना राजनीतिकर्मीहरूमा पाइँदैन । हरेक क्षेत्रमा परिवर्तन भयो, काम गर्ने तौरतरिका बदलिए, प्रणालीमा परिवर्तन भयो, सबैभन्दा ठूलो परिवर्तन राजनीतिमा भयो तर नेतृत्वको कार्यशैलीमा परिवर्तन आउन सकेन ।

फोहोरी : राजनीति अत्यन्त फोहोरी खेल बनिसकेको छ । यहाँ जसले जे गरे पनि हुन्छ । साँचोलाई झुटो र झुटोलाई साँचो बनाउन सक्ने खेल बनेको छ राजनीति । स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न वा तोड्न सक्ने, अपराध गर्न सक्ने, आरोप–प्रत्यारोप लगाउन सक्नेहरू हर्ताकर्ता बनेका छन् । एकअर्कालाई नङ्ग्याउने, खुइल्याउने मानौं होडबाजी चलेको छ । आउने पिँढीले वर्तमान राजनीतिक नेतृत्वबाट यस्तै कुरा सिक्ने हो ?

राजनीति र अपराधबीच पर्खाल नहुनु : राजनीति र अपराध फरक विषय हुन् । यी दुई विषयबीच निकै दूरी हुनुपर्छ । विडम्बना, आज हरेक घटना–परिघटना तथा अपराधलाई राजनीतीकरण गरिन्छ । चाहे यौन शोषण होस्, चाहे महिला हिंसा, चाहे दलितको हत्या वा चाहे भ्रष्टाचारका मुद्दाहरू होऊन्, हरेक विषयमा राजनीति रङ पोत्ने गरिन्छ । यी दुई विषयबीच कुनै पर्खाल रहेन । त्यही भएर अपराधलाई राजनीतिले चोख्याइन्छ र राजनीतिलाई आपराधिक क्रियाकलापमा प्रयोग गर्न सजिलो भएको छ ।

महँगो : बजारमा सबै वस्तु तथा सेवाको मूल्य बढेको छ । प्रत्यक्ष रूपमा महँगीले दिन–प्रतिदिन सर्वसाधारणको जीवन असहज बन्दै गएको छ भने, अप्रत्यक्ष रूपमा राजनीतिमा भएको महँगीले अझ बढी प्रभाव पार्न थालेको देखिन्छ । हिजो निष्ठा, आदर्श, त्याग, सम्मान, समर्पणको राजनीति हुन्थ्यो । मानिसहरू अरूका लागि आफूलाई सिध्याउने गर्थे र तिनै गुण तथा विशेषताका आधारमा नेतृत्व चयन हुन्थ्यो । तर आज पैसा सबैभन्दा माथि पुगेको छ । उम्मेदवारीको टिकट किन्न पैसा चाहिन्छ, चुनावमा पैसाको खोलो बगाउनुपर्छ । चुनावताका विविध शीर्षकमा हुने खर्चले गर्दा राजनीति अत्यन्त महँगो भएको छ । पैसा हुने एउटै मान्छे भिन्नभिन्न दलमा नेतृत्वमा रहेका उदाहरणहरू त्यसैले पाइने गरेका हुन् । पैसा हुने तर अयोग्य मानिस नेतृत्वमा जान सक्ने र पैसा नहुने तर योग्य मानिस नेतृत्वमा जान नसक्ने परिस्थिति छ ।

अनैतिक : जनताको साथ र समर्थन लिएर पदीय जिम्मेवारीमा पुगेपछि राजनीतिकर्मीहरू जनताको मतलाई अवमूल्यन गर्दै पद र स्वार्थका लागि प्रयोग गर्ने गर्छन् । हरेक राजनीतिकर्मीले बोलेपिच्छे आमजनताको दुहाई दिइरहँदा व्यवहार भने स्वार्थी रहेको सबैले छर्लंग बुझिसकेका छन् । देश र जनताको जति अहित गरेको भए पनि पटकपटक जिम्मेवारी पाइरहने प्रवृत्ति नेपाली राजनीतिमा अब नौलो रहेन । राजनीतिकर्मीमा नैतिकता हराएकाले सबैजसो क्षेत्रमा अनैतिकताको बिगबिगी छ ।

मैमत्त : सत्ता–शक्तिमा पुगेपछि जे गर्दा पनि हुन्छ भन्ने अहंकारी सोच नेतृत्वमा हावी हुने गरेको छ, जुन क्षम्य छैन । नेतृत्वले आफूलाई संविधानभन्दा माथि सम्झने प्रवृत्ति नत्यागेसम्म देश समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन ।

अन्त्यमा, नेपाली जनता अब त शान्तिको सास फेर्न पाइन्छ भन्दै हरेक आन्दोलनमा होमिँदै आएका हुन् । त्यस क्रममा कतिले ज्यान गुमाए, कतिले परिवार गुमाए, कति आजीवन अपांग भए । हरेक आन्दोलनपछि राजनीतिकर्मीहरूले भने, ‘राजनीतिक क्रान्ति समाप्त भयो । अब आर्थिक क्रान्ति गर्ने हो ।’ तर, त्यो आर्थिक क्रान्ति उनीहरूकै लागि मात्र भयो, न कि आम जनताका लागि । जुनै दल सत्तामा पुगे पनि राम्राले भन्दा हाम्राले स्थान पाइरहँदा, ‘पहुँचवालालाई अवसर, क्षमतावान्लाई पर सर’ को वातावरण रहिरहँदा आम जनतामा निराशा छाई नै रह्यो ।

अहिले देश कोरोना–संकटमा छ, युवा शक्ति देशबाहिर छ, लगानी गर्ने वातावरण बन्न सकेको छैन, बेरोजगारी व्याप्त छ, व्यापार घाटा दिनहुँ चुलिँदो छ, कृषियोग्य जमिन बाँझै रहेको वा खण्डीकरण भएको छ, मानिसमा परिश्रम गर्ने बानी हराउँदै गएको छ । अर्थलोलुप, पदलोलुप, आफूलाई अजम्बरी सम्झिने व्यक्तिहरूले राजनीतिको लगाम समाएका छन्, जसका कारण नेपाली जनताका दुर्दिन चाँडै सकिने छाँट छैन । सत्य के हो भने, राजनीति यही हिसाबले अघि बढिरहे देश पछिपछि सर्दै गइरहनेछ ।

प्रकाशित : वैशाख २३, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?