पढाइ र सिकाइ जोड्ने कि ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढाइ र सिकाइ जोड्ने कि ?

पढाइमा विषयवस्तु जाँचिन्छ । सिकाइमा सिक्ने कला जाँचिन्छ । यो फरक बुझ्नासाथ पढाइ तथा सिकाइको समकक्षताका लागि बनाउने प्रश्नको अनुहार फरक हुन्छ ।
विद्यानाथ कोइराला

पढाइ कि सिकाइ : हामीले खोजेको के हो ? 
हामी पढाउन अभ्यस्त छौं । शिक्षक त्यही हौं । प्राध्यापक त्यही हौं । तालिम दिने पनि त्यही कोटिका हौं । पढाउने तालिम दिने । अभिभावक त्यही कोटिका छौं । पढाइ तथा सिकाइमा भेद नजान्ने ।

यस अर्थमा रोबर्ट बार र जोन टाग्गले आफ्नो किताब ‘फ्रम टिचिङ टु लर्निङ’ (सन् १९९५) मा भनेजस्ता । उनीहरूका शब्दमा, ‘मुटुमा सिकाइ भएका । व्यवहारमा पढाइ भएका ।’

त्यसैले हामीले पढाइ र सिकाइ छुट्याएनौं । कर्मचारी तथा राजनीतिज्ञले त यो फरक पनि जानेनौं । उनको पेसाले यो कुराको भेद नै खोजेन । त्यसैले सबैले लहर लागेर भन्यौं— पढाइ भएन । पढाइ भएन । रोबर्ट बार र जोन टाग्ग आफैं शिक्षक हुन् । उनीहरूले स्पष्ट बुझेका थिए— पढाइ भनेको दिनु हो । त्यसैले शिक्षक तथा प्राध्यापकले दिने काम मात्रै गर्छौं। गर्‍यौं । गर्नै बल गर्छौं  । यो हाम्रो अभ्यस्तताले ल्याएको नियति मात्र हो ।

सिकाइ भनेको पढाइ होइन । रोबर्ट बार र जोन टाग्गकै शब्दमा, यो त विद्यार्थीलाई सिकाइमा संलग्न गराउने कला हो । गाब्रिएला केलेमेनले सन् २०१० मा भनेजस्तो, विद्यार्थीलाई सघाउने कला हो । उनीहरूलाई थप सहयोग गर्ने प्रक्रिया हो । आवश्यक पर्नासाथ विद्यार्थीलाई पृष्ठपोषण दिने व्यवस्था हो । यो कलामा हामीले शिक्षक तथा प्राध्यापकलाई तयार गरेकै छैनौं । स्वज्ञानले तयार भएका शिक्षक तथा प्राध्यापकहरू निर्णयकर्ता बन्न सकेका पनि छैनन् । पाएका पनि छैनन् ।

पढाइको विषयवस्तु के हो ? सिकाइको विषयवस्तु के हो ?

पढाइले साझा तर निश्चित विषय खोज्छ । गणित विषय । अंग्रेजी विषय । विज्ञान विषय । सामाजिक विषय । ती विषय पढाउने विषयविज्ञ खोज्छ । त्यसको पाठ्यक्रम खोज्छ । पाठ्यपुस्तक खोज्छ । यस अर्थमा पढाइले संरचना खोज्छ । औपचारिकता खोज्छ । उपलब्धिको हिसाबमा पढाएको कुरा विद्यार्थीले कति जान्यो वा कति जानेन भन्ने औपचारिक जाँच खोज्छ । ती सबै कार्यमा शिक्षकलाई तयार पार्ने तालिम केन्द्र खोज्छ । पेसा प्रवेश तालिम, पुनर्ताजगी तालिम आदि । यसको अर्थ हो— पढाइले शिक्षकलाई केन्द्रविन्दुमा राखेर सोचेको हुन्छ । ऊ दाता हो । विद्यार्थी दान स्विकार्ने पात्र हो । विद्यार्थीले कति दान ग्रहण गर्न सक्यो भनी पहिल्याउने साधन परीक्षा हो । हाम्रो अभ्यस्तता यही हो । शिक्षकको । प्राध्यापकको । कर्मचारीको । राजनीतिक दलको । अभिभावकको । अन्ततोगत्वा विद्यार्थीको । सिकाइले जेलाई पनि विषयवस्तु मान्छ ।

विद्यार्थीले जहाँ जे पनि खोज्न सक्छ । कुनै विद्यार्थीले मोही पारेको विषयवस्तु छान्न सक्छ । अर्को विद्यार्थीले सडक बालबालिकालाई विषयवस्तु बनाउन सक्छ । तेस्रो विद्यार्थीले रक्सी पारेको कुरालाई विषयवस्तु मान्न सक्छ । चौथो विद्यार्थीले चापाकलबाट पानी तानेको विषयवस्तु लिन सक्छ । यसरी हेर्दा पढाइमा शिक्षकले बनाएको वा उसलाई दिइएको विषयवस्तुमा मात्रै घोत्लिनुपर्छ । सिकाइमा भने विषयवस्तु पनि विद्यार्थीकै हुन्छ । पठनकला पनि विद्यार्थीकै हुन्छ ।

विद्यार्थीले बहु–विषयवस्तु छान्न सक्ने हुनाले सिकाइमा शिक्षक पनि सिकारु हुन्छ । हुन सक्छ । विद्यार्थीको सिक्ने वेग पनि फरकफरक हुन्छ । जस्तो, मोही पारेको विषय छान्नेले काठको गुण पढ्न सक्छ । ठेकी कुँद्ने चदारो पढ्न सक्छ । ठेकीको गणित, विज्ञान, सामाजिक र भाषा पढ्न सक्छ । मदानीको पोरा पढ्न सक्छ । त्यो पोरा, पानीघट्ट तथा बिजुलीको टर्बाइनसँग तुलना गर्न सक्छ । गणितको अनुपात पढ्न सक्छ । यही तरिका अरू विषय छान्ने विद्यार्थीमा पनि लागू हुन्छ । यसको अर्थ हो— सिकाइमा लागेका विद्यार्थीहरूको निश्चित विषयवस्तु हुन्न । विषयमा गहिरिने क्रम पनि एउटै हुन्न । कसैले काठ मात्रै पढ्न सक्छ । कसैले चदारो मात्रै । कसैले मदानी मात्रै । कसैले मोही पार्दाका गणित र विज्ञान मात्रै । कसैले अरू केही ।

पढाइको शिक्षणकला के हो ? सिकाइको शिक्षणकला के हो ?

पढाइमा शिक्षक बोल्छन् । विद्यार्थी सुन्छन् । अभ्यस्त शैली त्यही हो । विद्यार्थीमैत्री शिक्षण गर्न अभ्यस्त भएकाहरू विद्यार्थीलाई केही समय बोल्न दिन्छन् । त्यो पनि शिक्षकले नै छानेको विषयमा । प्रविधिमैत्री शिक्षक भए केही भिजुुवल देखाउँछन् । आफू बोल्छन् । विद्यार्थीलाई बोल्न दिन्छन् । तर विषयको लिक छोड्दैनन् ।

सिकाइमा शिक्षक तथा प्राध्यापकले प्रश्न गर्छन् । विद्यार्थीले आफूले पाएको जानकारीबारे जिकिर गर्छन् । दाबी गर्छन् । जानेको विषय भए शिक्षक तथा प्राध्यापकले विद्यार्थीलाई सुझाव दिन्छन् । यो किताब हेर । यो वेबसाइट हेर । यो लेख पढ । यो मान्छे भेट । नजानेको विषय भए विज्ञको खोजी गर्छन् । विद्यार्थीसँग तिनको भेट गराउने प्रबन्ध मिलाउँछन् । यस अर्थमा सिकाइमा शिक्षक तथा प्राध्यापकहरू विद्यार्थीका सहयोगी हुन्छन् । विद्यार्थीले खोजेका बेला पृष्ठपोषण दिने । अर्थात्, चौबीसै घण्टा विद्यार्थीको सिकाइका लागि सहयोग दिन खटिइरहने । यो क्रममा विद्यार्थीलाई परियोजना दिने । अनुसन्धान गर्न प्रेरित गर्ने । प्रतिवेदन लेख्न लगाउने । अनुभवको सँगालो बनाउन लगाउने । यसको अर्थ हो— विद्यार्थी नगहिरिए गहिर्‍याउने । गहिरिए थप काममा लगाउने ।

पढाइलाई व्यवहारमा जोड्ने कसरी ? सिकाइलाई पाठमा जोड्ने कसरी ?

पढाउने शिक्षक तथा प्राध्यापकहरू पाठ नै पढाउँछन् । उनका निम्ति पाठमा जोड्ने चिन्ता होइन । चिन्तन पनि होइन । जीवनसँग जोड्नुपर्छ भन्ने त हो । जोडिएन भने खासै गाली पर्दैन । औंला अर्कैतिर देखाए हुन्छ । पाठ्यक्रम दोषी छ । पाठ्यपुस्तक दोषी छ । शिक्षानीति दोषी छ । हामीलाई पढाउनेहरू दोषी छन् । अभिभावक दोषी छन् । विद्यार्थी दोषी छन् । सुविधा कम दिने सरकार दोषी छ । आफूचाहिँ शतप्रतिशत ठीक छौं !

पढाइ व्यावहारिक बनाउन चाहने शिक्षक तथा प्राध्यापकहरूको प्रयासचाहिँ तीन विन्दुमा घुमेको हुन्छ । पहिलो, किताबी सिद्धान्त पढाएर व्यवहारसँग जोड्न प्रयास गर्नेहरू (रिडक्सनिस्ट) । दोस्रो, व्यवहारबाट किताबी कुरामा जोड्न खोज्नेहरू (इन्डक्टिभिस्ट) । तेस्रो, किताबी पाठ र व्यवहारलाई यता र उताबाट अर्थात् दोहोरै जोड्न चाहनेहरू (इपिगोगिस्ट) । यी तीनै थरीको चिन्तनमा किताबी पाठ प्रमुख हो । त्यसकै सिकाइ मात्र प्रमुख हो । अरू कुरा त्यही पाठमा पुर्‍याउने कला मात्रै हुन् ।

सिकाउने शिक्षक तथा प्राध्यापकले भने विद्यार्थीको सिकाइलाई पाठमा जोड्नुपर्ने हुन्छ । एकल शिक्षकले त्यो काम गर्न सक्दैन । किनकि सिक्ने विद्यार्थीले एकसाथ पूर्णतामा पढ्न सक्छ । गोठालाले गाई–भैंसी पढेजस्तो । दूध पनि थाहा पाउने । बेत पनि थाहा पाउने । मोल पनि जान्ने । घिउ लाग्छ कि लाग्दैन भन्ने पनि थाहा पाउने । गुण–अवगुण पनि जान्ने । त्यो सिकाइबाट आफूले के गर्ने भन्ने पनि थाहा पाउने । यस अर्थमा त्यो विद्यार्थीको सिकाइ बहु–विषयमा जोडिन सक्छ । जोड्नुपर्ने पनि हुन्छ । एउटै विषयको कुरा रहेछ भने पनि अनेक पाठमा जोड्नुपर्ने हुन्छ । यसको अर्थ हो— आंशिक जानकारी राख्ने विषयगत शिक्षकलाई विद्यार्थीको सिकाइ पढाइमा जोड्न धौधौ हुन्छ । अर्थात्, सिकाइका क्रममा विद्यार्थीले वैदिक तथा बुद्धमार्गी पुर्खाले सिकाएको तीनबुँदे शिक्षणकलाको एकसाथ प्रयोग गरेको हुन्छ । श्रवणकलाको । मननकलाको । निदिध्यासन कलाको । त्यसैले विद्यार्थी पाठमा मात्र अटाउँदैन । ऊ बाहिरिन्छ । बाहिरिने मान्छेलाई गहिरिन पनि लगाउने काममा शिक्षक वा प्राध्यापक तयार हुनुपर्छ । तब मात्र सिकाइ बलियो हुन्छ ।

श्रवण भनेको सुन्ने हो । विद्यार्थीका सुनाउने अनेकन् गुरु हुन सक्छन् । सुनेको कुरामा मनन गर्ने उसको काम हो । एकल रूपमा । सामूहिक रूपमा । गुनेको निचोडलाई कार्यान्वयन कसरी गर्ने भन्ने कुरा निदिध्यासन हो । सिकाइका क्रममा विद्यार्थीले यो कुरा पनि खोजेको हुन्छ । यी तीनवटै काममा शिक्षक तथा प्राध्यापकले जुन बेला पनि सघाएको हुनुपर्छ ।

सिकाइ तथा पढाइलाई जाँच्ने कसरी ?

पढाइ जाँच्ने शिक्षक तथा प्राध्यापकले आफूले पढाएको कुरा विद्यार्थीले कति जान्यो वा जानेन भनी जाँच्ने हो । यहाँ जाँच्ने शिक्षक तथा प्राध्यापकको ज्ञान नै प्रमुख हो । उसको नापो नै प्रमुख हो । विद्यार्थीले उसैको नापोमा जोखिनुपर्छ । तौलिइनुपर्छ । त्यसैले पढाइ जाँच्ने शिक्षक तथा प्राध्यापकले आफूले पढाएको कुरालाई केन्द्रमा राख्छ । राख्नुपर्ने हुन्छ । प्रश्न शिक्षक वा प्राध्यापकले बनाउने हो । जाँच्ने पनि उसैले हो । उही विद्यालय वा कलेजकाले । प्रकारान्तरले अर्काे विद्यालय वा कलेजकाले ।

सिकाइमा पनि जाँच्ने तिनै शिक्षक वा प्राध्यापक हुन् । प्रश्न बनाउने पनि तिनै हुन् । तर शिक्षक वा प्राध्यापकले जानेको विषयको प्रश्न होइन । प्रश्न हो— विद्यार्थीले सिर्जना गर्न सक्ने ज्ञानको । सीपको । कलाको । समस्यामूलक प्रश्न हुन सक्छ । समाधानमूलक प्रश्न हुन सक्छ । समस्या र समाधानबीचको प्रश्न हुन सक्छ । त्यही प्रश्नमा सिद्धान्त खोज्ने–खोजाउने प्रश्न हुन सक्छ । सूत्र बनाउने प्रश्न हुन सक्छ । अरू अध्ययन तथा अनुसन्धानका आधारमा चुनौती दिने प्रश्न हुन सक्छ । सबै विद्यार्थीलाई मिल्ने गरी विषयभन्दा माथि उठेको प्रश्न दिन सकिन्छ । विद्यार्थीको सिकाइमा मिल्ने गरी समूहगत तथा व्यक्तिगत प्रश्न दिन सकिन्छ । बिनाप्रश्न आफ्नो परियोजना प्रस्तुत गर भन्न सकिन्छ । अनुसन्धानको नतिजा देऊ भने पनि हुन्छ ।

पढाइको कापी जाँच्न जानेका शिक्षक तथा प्राध्यापकलाई सिकाइको कापी जाँच्न कठिन हुन्छ । विषय भिन्न हुनाले । सिकाइ भिन्न हुनाले । प्रस्तुति भिन्न हुनाले । कापी जाँच्ने समय पनि धेरै लाग्ने हुनाले । यो अप्ठेरो स्थितिले शिक्षक तथा प्राध्यापकलाई नवीन सिकाइ पनि दिन्छ । अनुसन्धानको । परियोजनाको । प्रस्तुतिको । विश्लेषणको । सिर्जनाको । यस अर्थमा सिकाइको कापी जाँच्दा शिक्षक तथा प्राध्यापकले थप जानकारी पाउँछ । उसले आफ्नो ज्ञान तथा सीपलाई अद्यावधिक गर्न सक्छ । प्रश्न हो— अभ्यस्त कुरामै लाग्ने कि नयाँ कुराको थालनी गर्ने ?

पढाइ तथा सिकाइको समकक्षता कसरी सुनिश्चित गर्ने ?

पढाइमा विषयवस्तु जाँचिन्छ । सिकाइमा सिक्ने कला जाँचिन्छ । यो फरक बुझ्नासाथ पढाइ तथा सिकाइको समकक्षताका लागि बनाउने प्रश्नको अनुहार फरक हुन्छ । एउटा उपाय हो— समकक्ष मान्ने गरी दुई भिन्न प्रश्न सोध्ने । यसले भन्छ कि, बीए र बीएससी फरक हुन् । तर समकक्ष हुन् । दोस्रो उपाय हुन्छ— सक्षमता सीपमा मात्र प्रश्न सोध्ने । यस्ता प्रश्न साझा हुन्छन् । तिनले विश्लेषण खोज्छन् । अथ्र्याइ (इन्टरप्रेटेसन) खोज्छन् । नयाँ ज्ञान खोज्छन् । सिर्जना खोज्छन् । पढाइ र सिकाइले यी कुरामा मात्रै प्रश्न गर्नुपर्छ । तेस्रो उपाय हो— स्तरीय परीक्षा लिने । सरकारसँग कक्षा ३, ५, ८, १० को स्तरीय परीक्षाका लागि चाहिने प्राविधिक प्रश्नहरू छन् । समानान्तर क्षमताका । तिनमा केही थपघट गर्दा स्तरीय परीक्षा बनाउन सकिन्छ । कक्षा १२, स्नातक तथा स्नातकोत्तर तहका लागि भने प्रश्नहरू बनाउनुपर्ने हुन्छ । स्वदेशकै शिक्षकहरूमा त्यो क्षमता छ । ती प्रश्नहरूको वैधता तथा विश्वसनीयता परीक्षण गर्ने–गराउने हैसियत छ । नभएको चाहिँ निर्णायक व्यक्ति मात्र हो । पाठ्यक्रम विकास केन्द्रले निर्णय दिने कि ?

शिक्षासचिवले निर्णय दिने कि ? शिक्षामन्त्रीले निर्णय दिने कि ? विश्वविद्यालय अनुदान आयोगको अध्यक्षले निर्णय दिने कि ? विश्वविद्यालयका उच्चस्तरीय पदाधिकारीले पो निर्णय गर्ने कि ? प्रधानमन्त्री नै गुहार्नुपर्ने हो कि ? विदेशी दाता वा साहू संस्थाले निर्णय दिने कि ? सबै संस्थाले समन्वय गर्ने कि ? विद्यालयका लागि छुट्टै अनि क्याम्पसका लागि छुट्टै निर्णय गर्ने कि ? पर्खाइ निर्णयको हो । निर्णय गर्न सक्ने हैसियत भएका पदाधिकारीको खोजी मात्रै हो । राजनीतिज्ञको खोजी मात्रै हो ।

समकक्षताका निम्ति स्तरीय परीक्षा सञ्चालन गर्ने अनेकन् ‘तरकिब’ छन् । आफूले आफैंलाई जाँच्ने डिजिटल तरकिब । पहेली स्वरूपको कागजी तरकिब । शिक्षकले जाँच्ने पेसाकर्मी तरकिब । पालिकाले जाँच्ने अनुसूची ८ को संवैधानिक तरकिब । प्रदेश सरकारले जाँच्ने अनुगमनात्मक तरकिब । संघीय शिक्षा मन्त्रालयले जाँच्ने परम्परागत एवं अनुसूची ९ को संवैधानिक तरकिब । के गर्दा हुने हो भन्ने कुराचाहिँ निर्णायकको जिम्मा हो । जे गरे पनि विद्यार्थीको शैक्षिक स्तर जाँच्ने हो भन्ने प्राज्ञिक चिन्तन हो । विश्वमा चले–चलाइएका । यीमध्ये कुनै पनि उपाय अपनाउने हो भने निजी, सरकारी तथा धार्मिक स्कुलको शैक्षिक स्तर समान बनाउने बाटो खुल्छ । कमजोर शैक्षिक स्तर भएका विद्यालय तथा क्याम्पसहरूले कहाँकहाँ ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी हुन्छ । तदनुसार वस्तुगत मूल्यांकन गर्ने बाटो खुल्छ । अहिलेको दलीय ढाकछोप वा लगानीको स्वार्थमा चलेका शिक्षालयहरूको सहज नियमन हुन्छ ।

कोरोनाले सिकाएको पाठ बिर्सने कि त्यसलाई पूरक बनाउने ?

गत साल कोरोनाले एकसाथ ठूलो संख्यामा शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाएको थियो । कतिपय शिक्षक तथा प्राध्यापकहरूले सिकाइ र पढाइको फरक बुझे–बुझाएका थिए । अभ्यास पनि गरेका थिए । कतिपयले मोबाइल, ल्यापटप, रेडियो, टीभी, अनलाइन, अफलाइनजस्ता प्रविधि तथा व्यवस्थापनमा सहयोगी हुने सामग्रीहरू पनि बनाएका थिए । स्कुल तथा कलेजले नै परीक्षा लिने अभ्यास गरेका थिए । त्यहाँ आउन सक्नेलाई र नसक्नेलाई एकसाथ दुई खाले कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध पनि मिलाएका थिए । केहीले पाठ्यक्रम पुनर्लेखन गरी छोटो अवधिमा कोर्स पूरा गर्ने तरकिब अपनाएका थिए । कतिपयले टिकटकबाट पढाउने अभ्यास पनि गरेका थिए । त्यस्तै घरकै मान्छेले पढाउने (होम स्कुलिङ), घरैबाट जाँच दिने (टेक होम एग्जाम) तथा खुला परीक्षा (ओपन टेक्स्ट एग्जाम) पनि सञ्चालन गरेका थिए । यी सबै काममा केही कठिनाइ त थिए नै, सुधारका गुन्जाइस पनि थिए ।

कोरोनाको अर्को लहरका कारण पुन: गत वर्षको अभ्यासमा शिक्षक तथा प्राध्यापक फर्कन बाध्य भए । यो बाध्यताले केही काम गरेको छ । पहिलो, एक्काइसौं शताब्दीको शिक्षाका लागि शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई तयार पार्दै गएको छ । एउटै विकल्पमा मात्र नबसी एकैसाथ बहुविकल्पमा जानुपर्ने रहेछ भन्ने ज्ञान बनेको छ । अनलाइन, अफलाइन, टोल शिक्षा तथा घर शिक्षामा शिक्षक तथा प्राध्यापकहरू बानी लागेका छन् । अनुसन्धान तथा परियोजनाबाट कोर्स अघि बढाउने तथा परीक्षा लिने कामको सुरुआत भएको छ ।

सिकाइमा ध्यान दिए संविधानको धारा ५० को (ज) को (क) ले भनेअनुसार, शिक्षा जनमुखी, वैज्ञानिक, व्यावहारिक र उत्पादनसँग जोड्न सकिने रहेछ भन्ने चिन्तन बन्दै गएको छ । यो काम शिक्षक तथा प्राध्यापकले गर्नुपर्ने रहेछ भन्ने मानसिकता बन्न थालेको छ । व्यक्तिगत रूपमा विद्यार्थीको घरपरिवारका सीपहरूको प्रोफाइल मात्रै बनाए पनि सीप सिकाउने स्रोतव्यक्ति आफ्नै नजिक रहेछन् भन्ने मान्यता बनेको छ । यी सबै सकारात्मक मान्यताहरूलाई समेटेर अगाडि बढ्ने तथा बढाउने निर्णयकर्ताको खाँचो छ । त्यो खाँचो पूरा गरे हामी अग्रगामी बन्छौं । हैन भने गफगामीमै टुंगिन्छौं । मर्जी निर्णयकर्ताहरूको !

प्रकाशित : वैशाख २०, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

दलीय रडाकोको दीर्घकालीन मल्हमपट्टी

अहिलेका दलहरू अरूका सिद्धान्तको गहनता जान्दैनन् । पढ्दैनन् । कार्यकर्तालाई दीक्षा दिँदैनन् । अहिलेको गुटगत तथा दलगत भागबन्डे राजनीतिले यो कुरा स्पष्ट गरेको छ ।
विद्यानाथ कोइराला

बुझाइको पीडावर्ग । रक्तिम क्रान्ति । सर्वहाराको जित । साम्यवादीको समाज बुझ्ने मन्त्र यही हो । नारी र पुरुषको भेद खोजे पनि । धनी र गरिबको भेद खोजे पनि । दलित र गैरदलितको सम्बन्ध खोजे पनि । मधेस, पहाड र हिमालको कुरा गरे पनि । जनजाति र बाहुन–क्षत्रीबीचको सम्बन्धको कुरा गरे पनि । जहाँ पनि यही मन्त्र लगाए हुन्छ । सर्वाैषधि मन्त्र । वर्गीय मन्त्र । जहाँ पनि वर्गीय समाज छ । वर्गीय शोषण छ । वर्गीय असमानता छ । हेर्ने चस्मा यही बनाए हुन्छ । वर्गीय खाडल पुर्नुपर्छ । सर्वहारा वर्गको उत्थान गर्नुपर्छ । यति भनेपछि जहाँ भाषण गरे पनि हुन्छ । यसो हुनुमा निश्चयवादी सोचको भरिया बन्ने दीक्षा छ ।

अहिलेको सडक तथा सदन संघर्ष पनि यसरी बुझ्न सकिएला त ? संसद् भंग गर्ने प्रधानमन्त्री र राष्ट्रपति अभिजात वर्ग हुन् त ? प्रचण्ड र माधव नेपालहरू सर्वहारा वर्ग हुन् त ? सडकका गालीमा बर्सेका शब्दले वर्गीयता नै बुझाएका हुन् त ? ओली वर्गले प्रचण्ड–माधव वर्गलाई निस्तेज गर्न खोजेका हुन् त ?प्रचण्ड–माधव वर्गले ओली वर्गलाई निस्तेज गर्न चाहेका हुन् त ? के साम्यवादीहरूको अहिलेको पदीय रडाको वर्गीय संघर्ष हो त ? वर्गीयताका महापण्डितहरूको चिन्तनलाई बुद्धिजीवीहरूले खोतल्ने हो त ? जोन लक तथा हब्सले बुझेको शान्तिपूर्ण संसार नागरिक समाजले खोज्ने हो कि त ?

अन्तरविरोध । अन्तद्र्वन्द्व । साम्यवादीले भन्ने नरम शब्दहरू हुन् । सडकका गालीगलौज अन्तद्र्वन्द्व हुन् त ? अन्तरविरोध हुन् त ? मिडियाका तेजोवधी शब्दहरू अन्तद्र्वन्द्व हुन् त ? अन्तरविरोध हुन् त ? दर्शनभित्रका । व्यवहारभित्रका । दर्शन र व्यवहार नमिल्दा बखतका । कुन खाले अन्तरविरोधहरू हुन् ? अन्तद्र्वन्द्व हुन् ? साम्यवादीकै शब्दमा सडकमै चर्काउनुपर्ने खालका हुन् त ? जग नै हँसाउनुपर्ने खालका हुन् त ? उछाल्नैपर्ने हुन् त ? माओका शब्दमा अन्तरविरोध त सम्पत्ति पो हो । पहिचान पनि त्यही हो । उनका शब्दमा जीवन नै अन्तरविरोध हो । किनकि जीवन छ त्यसैले मृत्यु छ । मृत्यु छ त्यसैले त जीवन छ । यही अन्तरविरोधमा सम्झौता हुन्छ । स्वीकार हुन्छ । अनि विकास हुन्छ । यसरी हेर्दा माओको आँखामा ओली र प्रचण्ड–माधवको पहिलो तरेलीको अहिलेको सडक संघर्ष अन्तरविरोध हो त ? अन्तद्र्वन्द्व हो त ? ओली र माधव–झलनाथ खनालहरूको दोस्रो तरेलीको दन्तबजानी संघर्ष अन्तरविरोध हो त ? सिसिरोले बुझेको असल समाज बनाउने नागरिक समाज (सिभिलिटी) ले मुख खोल्ने पो हो कि त ?

माक्र्सले बुझेको अन्तरविरोध सामाजिक शक्तिको विरोध हो । उनको आर्थिक निश्चयवादी सोचमा पुँजीवादीको विरोध हो । त्यसो हो भने ओली पुँजीवादी हुन् भनिएको हो त ? उनको शासनसत्ता पुँजीवादी सत्ता भनिएको हो त ? कल्याणकारी राज्यको वकालत गर्ने आधुनिकोत्तर नागरिक समाजले कतै बोल्नुपर्ने हो कि त ?

लेनिनले बुझेको अन्तरविरोधमा मिल्नै नसक्ने परिवेश (एन्टागोनिज्म) हुन्छ । उनकै दृष्टान्तमा पुँजीवादी र सर्वहाराजस्तो । मालिक र मजदुरजस्तो । जमिनदार र खेतीहर (पिजेन्ट्स) जस्तो । यो आँखाबाट हेर्दा ओली र प्रचण्ड–माधव तथा ओली र माधव–झलनाथको शक्ति–संघर्ष मिल्नै नसक्ने माक्र्स र माओले बुझेको बुर्जुवा तथा सर्वहाराको लडाइँ हो त ? अरस्तुका शब्दको राजनीतिक पक्षधर बनेको नागरिक समाजले भन्नुपर्ने हो कि त ? ग्राम्स्कीका शब्दको राज्यविरुद्ध उभिएको नागरिक समाजले अथ्र्याउने हो कि त ? विश्व बैंकका शब्दमा सर्वौषधि बनेको नागरिक समाज घोत्लिने हो कि त ?

पीडाको विकल्प

राणा हटाऊ अभियान नेपाल प्रजापरिषद्मा पलायो । नेपाली कांग्रेसले त्यसैलाई बोक्यो । जमिनदार नास्ने अभियान झापामा पलायो । वर्गशत्रुको सफाया जनयुद्धमा पलायो । निश्चित जाति र क्षेत्रका मानिसलाई हटाऊ अभियान ठाउँ–ठाउँमा पलायो । ‘राजसत्ता हटाऊ’ अभियान राजनीतिक दलहरूमा पलायो । पछिल्ला कार्यहरू असहिष्णु सोचकै उपज हुन् । तिनकै निरन्तरता हुन् । एकअर्कालाई निषेध गर्ने संस्कारकै निरन्तरता हुन् । वर्गीय चिन्तनकै कडी हुन् । सर्वत्र वर्गशत्रु देख्ने र देखाउने चिन्तनकै परिणति हुन् । यी र यस्ता परिणतिको निरन्तरताका शास्त्रीय अभियानहरू बोक्ने तथा बोकाउने धेरै भयौं । सिद्धान्तले । व्यवहारले । यही कुरामा रमाउने कि विकल्प खोज्ने ? निश्चित दर्शन ठीक, अर्काे दर्शन बेठीक भनिरहने कि आफूले बोकेको दर्शनका पनि समस्याहरू खोज्ने ? अहिलेको मेरै दर्शन ठीक भन्ने बुद्धिले पीडा दियो । आक्रोश त्यसैको उपज हो । द्वन्द्व त्यसैको उपज हो । युद्ध त्यसैको उपज हो । अहिलेका दलहरूभित्रको रस्साकस्सी त्यसैको उपज हो । दलीय र अन्तरदलीय गालीगलौज त्यसैको उपज हो । यस्तो उपजमा रमाउने नेपालीलाई नागरिक समाजले वर्गीय चिन्तनमा पुनर्विचार गर्ने धारणा दिने पो हो कि त ? अन्तरविरोधको भाष्य सम्झाइदिने हो कि त ?

वर्गीय सोचको आर्थिक निश्चयवादी चिन्तन (इकोनोमिक डिटर्मिनिज्म) पुरानो भयो । अर्थात्, शास्त्रीय बन्यो । सोच्न मिल्ने । प्रयोग गर्न नसकिने । त्यसैले यो सोचमा सामाजिकता थपियो । यो थपाइको पनि तागत घट्तै गएको छ । पानी कम भएको घट्टजस्तै । यस स्थितिमा नागरिक समाजले वर्णसंकरीय चिन्तन बनाउने उपक्रम पो गर्ने कि त ? पुँजीवादी देशले सामाजिक भलाइका कार्यक्रमहरू मिलाएको जस्तो । साम्यवादी देशले लोकतन्त्रको निजीकरण तथा व्यक्तिगत स्वतन्त्रता ग्यारेन्टी गरेजस्तो । यी वर्णसंकरीय विधिहरूको प्रयोग गरी वर्गीय विद्वेषी चिन्तनलाई वर्णसंकरीय तागतमा बदल्ने कि त ? यो काममा नागरिक समाजले पो पहल गर्ने कि ?

राजनीतिक दलहरू टुक्रिने क्रममा छन् । आफ्नो स्वार्थका लागि । आफ्ना मान्छेका लागि । आफ्ना रहरका लागि । आआफ्ना पदको निरन्तरताका लागि । आआफ्ना अहंतुष्टिका लागि । यसको सन्देश हो— दलीय सोचमा वर्गीयता छैन । दर्शन छैन । आदर्श छैन । गुणवत्ता छैन । अन्तरविरोधको अन्तर्य छैन । देश विकासको चिन्तन छैन । यो स्थितिमा नागरिक समाज पनि तिनै टुक्रामा मिल्नुपर्ने हो र ? मिल्दा र छुट्टिँदा नागरिक समाज पनि मतियार भएन र ? विरोधी भएन र ? यो काम त दलकै तलबी पूर्णकालीन वा आंशिक कार्यकर्ताले गर्दैनन् र ? गर्छन् भने नागरिक समाजले वर्णसंकरीय क्षेत्रको अभ्यास गर्ने कि त ? विषयत रूपमा । दर्शनगत रूपमा । व्यवहारगत रूपमा । अन्तरदलीय बुझाइहरूका बीचमा । यो काममा नागरिक समाजले अग्रसरता लिने कि त ?

विकल्प कार्यान्वयन पद्धति

नेपालका राजनीतिक दलहरूमा चार सिद्धान्त अभ्यासमा छन् । वर्गीय सिद्धान्त । प्रजातन्त्रीय सिद्धान्त । परम्परागत सिद्धान्त । तप्कीय सिद्धान्त । वर्गीय सिद्धान्त एमालेको हो । माओवादीको हो । तीभित्रका चोइटाहरूको हो । उपचोइटाहरूको हो । गुटहरूको हो । उपगुटहरूको हो । प्रजातन्त्रीय सिद्धान्त नेपाली कांग्रेसको हो । यसका चोइटाहरूको हो । गुट–उपगुटहरूको हो । परम्परागत सिद्धान्त राप्रपाहरूको हो । तिनका चोइटा–उपचोइटाहरूको हो । क्षेत्रीय चिन्तनसहितको विकेन्द्रित सरकार जनता समाजवादीको सोच हो । तिनका चोइटा तथा उपचोइटाहरूको हो । यसरी हेर्दा नागरिक समाजले चारै सिद्धान्तको अध्ययन गर्नुपर्छ । तिनका मिल्दा सोचहरू पहिल्याउनुपर्छ । तिनै सोचको साझा कुरामा सबै दललाई सुसूचित गर्नुपर्छ । अहिलेका दलहरू अरूका सिद्धान्तको गहनता जान्दैनन् । पढ्दैनन् । कार्यकर्तालाई दीक्षा दिँदैनन् । अहिलेको गुटगत तथा दलगत भागबन्डे राजनीतिले यो कुरा स्पष्ट गरेको छ । यसलाई ध्यानमा राखी मुस्लिमहरूले अकिदा र मूल कुरा बनाए । अभ्यास गरे । अकिदा सामाजिक अभ्यास हो । मूल कुरा दर्शन हो । सिद्धान्त हो । अर्काे शब्दमा भन्दा, दलहरूको मूल कुरा बाहिर ल्याउनुपर्छ । अकिदामा अल्झिएका अहिलेका चोइटा तथा उपचोइटाहरूलाई तिम्रा भिन्नताहरू यति मात्रै हुन् भन्नुपर्छ । यो काम नागरिक समाजले गर्न सक्छ । गर्नु पनि पर्छ । नत्र त उनीहरू पनि दलका वा तिनका चोइटा एवं उपचोइटाहरूका अकिदाकै अभ्यासी बन्छन् । बनाइन्छन् ।

दलहरूको अभ्यासले देखायो, आफूलाई जुन जीवी भने पनि जीवीहरू नेताकै पिछलग्गू हौं । ओली र प्रचण्ड भिन्न हुँदा भिन्नै हौं भन्नेहरू । तिनीहरू मिल्दा एकै हौं भन्नेहरू । ओली इतर र भितर बन्दा त्यही गीत गाउनेहरू । इतर तथा भितरलाई मिलाउँछौं भन्दा पनि शीर्षस्थ नेताका स्वार्थभन्दा पर सोच्न नसक्नेहरू । ओली तथा माधव–झलनाथ बन्दा पनि अन्तरविरोध हो कि होइन भनी छुट्टयाउन नसक्नेहरू । साम्यवादीहरूको विवादको जड त भागबन्डा थियो । विरोध थियो । अन्तरविरोध थिएन । संसद् विघटन त परिणति थियो । संसद् पुन:स्थापना पनि परिणति थियो । अर्थात्, नागरिक समाजले कलहको जड र परिणति नै चिनेन । चिनाएन । यसरी परिणतिलाई नै जडको संज्ञा दिने जमातहरू नागरिक समाज हौं त ? हुन सक्छौं त ? यो स्थितिमा नागरिक समाजले अनेकन् जीवीहरूसँग संवाद गर्नुपर्छ । बुद्धिजीवीसँग । लेखकहरूसँग । विद्यार्थीहरूसँग । शिक्षकहरूसँग । प्राध्यापकहरूसँग । संवादको गेडो सिद्धान्तमा हुन सक्छ । अकिदामा हुन सक्छ । अन्तरविरोधको अन्तर्यसँग हुन सक्छ । दलीय नेताहरूसँग हुन सक्छ । यो संवादका लागि नागरिक समाजले काम गर्नुपर्छ ।

मूल तथा अकिदाको समसामयिकीकरण

वर्गको सोच निश्चयवादी हो । समाजचाहिँ परिवर्तनवादी छ । वैदिक पुर्खाको शब्दमा, ‘गाई’ । चल्ने हुनाले ‘गाई’ भनेका हुन् उनीहरूले । उनका लागि सूर्यको रश्मि गाई हो । मानिस र जनावर पनि गाई हुन् । ग्रह तथा नक्षत्र पनि गाई हुन् । यो कुरा बुझे–बुझाएका पुर्खाका सन्ततिले निश्चयवादी सोच बोक्नु उपयुक्त हो र ? बुद्धले पनि वस्तुलाई चलमा बुझ्ने तरिका सिकाए । हामीले अझै पनि स्थिरमै सबै कुरा बुझे–बुझाएर पुग्छ र ? माक्र्सले पनि वस्तुलाई परिवर्तनसँगै बुझ्ने चिन्तन दिए । वर्गको चिन्तनचाहिँ स्थिरतामै बुझ्नुपर्ने हो र ? बुझाउनुपर्ने हो र ? चलमा बुझ्ने हो भने नेपालको विशेषता बुझ्नुपर्छ । बुझाउनुपर्छ । यो सोच बन्ने–बनाउने हो भने नेपाली दलहरूले बोकेका चिन्तनमा समय मिसाउनुपर्छ । स्थान मिसाउनुपर्छ । पुर्खाका शब्दमा दिक् पनि काल पनि । यसो गर्ने संस्कार बनाउन नागरिक समाज तयार छ त ? छैन भने नागरिक समाज भन्ने–भनाउने हैसियत हुन्छ त ? अकिदाहरूमा पनि यही नियम लागू गर्नुपर्छ । दिक्मा मिलाउने । कालमा मिलाउने । नेपालको विविधताले यही कुरा खोज्छ । भूगोलअनुसारको । संस्कृतिअनुसारको । परिवेशअनुसारको । यही चिन्तनमा लाग्ने–लगाउने हो भने मात्र सिद्धान्तहरू अद्यावधिक हुन्छन् । अकिदाहरू अद्यावधिक हुन्छन् । नागरिक समाज गतिशील हुन्छ । वैदिक पुर्खाका शब्दमा गवेषणवादी बन्छ । गाई खोज्न सक्ने । गाई चिन्न सक्ने । समयअनुसार राजनीतिक दललाई हिँडाउन सक्ने । आफू पनि दलका पिछलग्गू बन्न–बनाइनबाट माथि उठ्न सक्ने । हुइँयावादी बने–बनाइएको नेपाली समाजलाई धरातलमा अड्याउन सक्ने ।

नागरिक समाजको मर्यादा

प्रवृत्तिले मात्र चल्नेहरू पशु हुन् । दिमागले चल्ने प्राज्ञिक हुन् । मनले चल्ने संवेगी (एक्टिभिस्ट) हुन् । आदेशले चल्ने कार्यकर्ता हुन् । नुन खाएकाहरू हुन् । दिल र दिमाग मिलाउन जान्नेहरू मात्र एक्काइसौं शताब्दीको नागरिक समाज हुन् । अध्ययनहरू त्यसै भन्छन् । ती अध्ययनको अपेक्षा हो, नागरिक समाज विधागत विज्ञता भएको हुन्छ । निष्पक्ष । अनेकौं मुद्दालाई मिलाई (क्रस कटिङ) क्याप्सुल बनाउन जान्ने । सदैव नयाँ मूल्य र मान्यता बनाउन जान्ने । नेता तथा जनतालाई संवादमा झोंक्न जान्ने । अन्यथा नागरिक समाज अरस्तुको जस्तो हुन्छ । दलको । दलीय मुद्दा बोक्नेहरूको । अहिले नागरिक समाज अपत्यारिलो छ । यसले दलीय मुद्दा बोक्ने गरेको छ । दलकै सोचलाई ब्रह्म ठानेको छ । त्यसकै तरिकामा समाहित हुन जानेको छ । दलकै वैतनिक कार्यकर्ताजस्तो भएको छ । दलसँगै जिउन जान्ने । सक्ने । चाहने । यो स्थिति अठारौं शताब्दीमा ठीक थियो । निश्चयात्मक साम्यवादी शासनसत्तामा पनि ठीक थियो । अहिले हामी भिन्न परिवेशमा छौं । भिन्न क्षमतामा छौं । नागरिक समाजका सदस्यहरूलाई पनि यसरी बदलिएको दिक् तथा कालबारे जानकारी गराउनुपर्ने दखिन्छ । यसो गरे मात्र नागरिक समाज मर्यादित हुन्छ । अन्यथा दलकै भएर बस्छ । दल ठीक भन्ने । दल बेठीक भन्ने । गुटकै भएर बस्छ । गुट ठीक भन्ने । गुट बेठीक भन्ने ।

टुंगो

नाउर–जुधाइ नेपाली नेताको बुद्धि बन्यो । भ्यागुतो–तनाइ तिनको प्रवृत्ति बन्यो । काग–कराइ तिनको भाषण बन्यो । त्यही जुधाइ, त्यही तनाइ, त्यही बोलाइले गर्दा नेताको वजन हरायो । हराएको वजन नै गहकिलो छ भन्ने कार्यकर्ताहरूले नेतालाई प्रकारान्तरले नौटंकी साबित गरिसके । चेत हुने नेताले संन्यास लिए हुने भयो । बोलेको र बरबराएकोमा फरक नजान्ने नेता, तिनका कार्यकर्ता वा स्वार्थ समूहले मात्रै नेतामा भर गर्ने दिन आयो । यो स्थिति बदल्न देशले विषयगत विज्ञता भएका नागरिक समाजको खोजी गरेको छ । एक्काइसौं शताब्दीको नागरिक समाज । त्यही समाजले मात्र नेपालको वर्ग चिनाउन सक्छ । वर्ण चिनाउन सक्छ । जात चिनाउन सक्छ । जाति चिनाउन सक्छ । धर्म चिनाउन सक्छ । ती सबैको योगफल चिनाउन सक्छ । यसो गरे मात्र शास्त्रीय रक्तिम क्रान्तिको बोली बदलिन सक्छ । सिद्धान्तहरूमा नेपालीपना मुखरित हुन सक्छ । अन्तरविरोध र भागबाँडीमा भेद देख्न सक्छ । जड र परिणतिमा फरक चिन्न सक्छ । अनि मात्र नेता जे भन्छन् त्यही सही हो भन्ने जनसमाज बदलिन सक्छ । दिक् र काल नचिनेका नेतालाई पाखा लगाउने संस्कार बन्छ । ज्ञान, संकथन (डिस्कोर्स) तथा सहभागितामा मात्रै निर्णय गर्ने नागरिक समाज बन्न सक्छ । बनाउन सकिन्छ । यो सोचमा संवाद पो गर्ने कि त ? भविष्यमा अहिलेको जस्तो भागशान्तिका लागि टुक्रिने र टुक्रयाउने राजनीतिको अन्त्य गर्न सकिन्छ कि त ? ढिक्किने (बल्कनाइज्ड) समाजलाई विवेकी समाज बनाउन सकिन्छ कि त ? सोचौं ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट)

प्रकाशित : चैत्र ५, २०७७ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×