कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराछोरीलाई जिम्मेवारी

सन् १९९० मा बनेको अमेरिकी सिनेमा ‘होम अलोन’ मैले भर्खरै हेरें, जसमा आठवर्षे बालकलाई प्रमुख पात्रका रूपमा उभ्याइएको छ । उक्त पात्र एक्लै खेल्ने, एकदमै छिटो रिसाउने र आफ्नै उमेरका कोहीसँग पनि घुलमिल नहुने स्वभावको छ । उसलाई अभिभावकले कुनै काम लगाउँदैनन् ।

छोराछोरीलाई जिम्मेवारी

उसैले केही गरिहाले पनि ‘तिमी यो सक्तैनौ’, ‘तिमीबाट यो हुनै सक्तैन’ भन्छन् । यसरी ऊ काम गर्नुअघि नै हतोत्साही हुन्छ । उसले केही गर्न खोजे अभिभावक कराइदिन्छन् वा हाँसिदिन्छन् । घरकै सरसफाइ वा आफ्नै लुगा धुन खोज्दा पनि उसलाई अभिभावकले जहिल्यै ‘तिमी यो नगर, बरु टीभी हेरेर बस’ भन्छन् । खालि यस्तै कुरा मात्र सुनेपछि ऊ यति ‘नर्भस’ हुन्छ, खाना खाँदा पनि उसको ध्यान चम्चा ठीकसँग समातेको छु कि छैन भन्नेमै गइरहन्छ । खाँदा, बस्दा, हिँड्दा केही नमिलेर कसैले कराउने वा गिज्याउने त होइन भनी सोचिबस्छ । यसले उसलाई निकै मानसिक तनाव दिइरहेको हुन्छ र ऊ हरपल डराइरहन्छ । बिस्तारै कसैसँग नबोल्ने, बोलाउँदा पनि झर्कने र एक्लै सुत्ने बानी पर्दै जान्छ उसलाई ।

एक दिन, क्रिसमसको अवसर पारेर परिवारका सबै सदस्य बाहिर जाने योजना बनाउँछन् । भूलवश, ऊ भने घरमै छुट्छ । त्यसपछि सुरु हुन्छ, उसको कहानी । सुरुमा त, ओछ्यानबाट उठेपछि कसैलाई नदेख्दा ऊ आत्तिन्छ, तैपनि आफूलाई स्वतन्त्र पाएर निकै खुसी हुन्छ । पहिले कसै न कसैले हेरिरहेको छ भन्ने लागेर गर्न नसकेका कामहरू एक्लै हुँदा खुसी भएर फटाफट गर्छ । घर सरसफाइदेखि बजार गएर सामान किन्नेसम्म एक्लैले गर्छ । यति मात्र होइन, घरमा आएका चोरहरूलाई पनि चलाखीपूर्वक समाएर प्रहरीको जिम्मा लगाइदिन्छ ।

यता, आधा बाटो पुगेपछि अभिभावकले छोरा छुटेको थाहा पाउँछन् तर तुरुन्तै घर फर्कन पनि असमर्थ हुन्छन् । दुई दिनपछि घर फर्किंदा छोराले गरेको काम देखेर उनीहरू दंग पर्छन् । त्यस बेला आफूले पहिले गरेको व्यवहार सम्झेर उनीहरूलाई नराम्रो लाग्छ अनि छोरासँग माफी माग्छन् ।

यो सिनेमा हेरिरहँदा मलाई एक साथीको खुबै याद आयो । बल्लबल्ल साथीहरू भेट्दा पनि उनलाई जहिल्यै हतार मात्र हुन्थ्यो । हतारिनुको कारण थियो— छोरो विद्यालयबाट आउने बेला हुनु । उनको यस्तो चाला देखेर मैले पटकपटक भन्ने गर्थें, ‘खाजा बनाएर राखिदिनु नि कहिलेकाहीँ ! झिकेर खान्छ, बानी पनि त लगाउनुपर्छ । यसो गर्दा उसलाई आफू जिम्मेवार भएको महसुस हुन्छ । आफ्नो काम आफैं गर्नुपर्छ भनेर पनि सिक्छ ।’ मेरो कुरा सुनेर उनी भन्थिन्, ‘आम्मै, त्यसरी कहाँ हुन्छ ! विद्यालयबाट आउँदा मलाई देखेन भने रोइहाल्छ नि !’ यति भनेर उनी आफ्नो बाटो लाग्थिन् । जता, जे काममा भए पनि, तीन बजे घर पुग्नैपर्थ्यो उनलाई ।

अहिले उनको छोरा ठूलै भइसक्यो तर अझै उनको तरिका उही छ, तीन बजे घर पुग्नैपर्ने । उनको बुझाइ भने फेरिएछ । हालैको भेटमा उनले भनिन्, ‘हो यार, तिमीले ठीक भनेकी रैछ्यौ । सानै छ भनेर मायाले मैले आफैं खाजा खुवाएँ, अहिले यो बानी छुटाउन गाह्रो भइरहेको छ । विद्यालयबाट घर आउँदा मलाई देखेन भने त्यसै न्यास्रेर बस्छ । बनाएर राखेको खाजा पनि खाँदैन ।’ उनको छोरोलाई ‘आफ्नो काम आफैं गर्नुपर्छ’ भनेर सिकाउन ढिलो भइसकेको छ ।

मेरी एक भाउजू हुनुहुन्छ, उहाँको घर जाँदा सधैं सानी भदैनीले नै खाजा बनाउँछिन् । उनलाई मैले विद्यालयबाट आइसकेपछि आफ्ना लागि खाजा आफैं बनाएर खाएको देखेकी छु । दाजु–भाउजू शिक्षक हुनुहुन्छ । भाउजू आफ्नी छोरीको तारिफ गर्दै भन्नुहुन्छ, ‘हामी घरमा नहुँदा कहिलेकाहीँ त सबैका लागि खाजा तयार गरेकी हुन्छिन् ।’ भाउजूले पनि मेरी साथीको जस्तै हतार गरेर छोरीका लागि खाजा बनाउन दौडिने गर्नुभएको भए, यस्तो बानी आउँथ्यो होला त ? सानी भदैनी मेरी साथीको छोराले झैं बाटो हेरेरै बस्थिन् होला नि !

भाउजू भन्नुहुन्छ, ‘सानैदेखि उमेरअनुसार काम हामीले नै दिनुपर्छ ।’ खाजा बनाएर राखिदिएको झिकेर खान सक्ने उमेर भयो कि भएन, आफैंले चिया बनाउन सक्छन् कि सक्दैनन् भनी अभिभावकले नै ख्याल गरेर उमेरअनुसार जिम्मेवारी दिनुपर्छ । तर, यस्तो जिम्मेवारी दिँदा अभिभावकले जबरजस्ती गर्न हुँदैन । फकाएर हुन्छ कि फुर्क्याएर, उनीहरूले खुसीखुसी काम गर्ने वातावरण बनाइदिनुपर्छ । यसो गरे बिस्तारै उनीहरूलाई बानी पर्छ । आफूलाई पनि सजिलो, उनीहरूकै लागि पनि राम्रो । पछि देश–विदेश गए कसले पकाएर खान दिन्छ, उनीहरूलाई ? कलिलै उमेरमा बालबालिकालाई कामको जिम्मेवारी दिए ‘म सक्षम छु’, ‘यति गर्न सकिहाल्छु नि’ भन्ने भावना आउँछ, जसले उनीहरूमा आत्मविश्वास बढाउँछ ।

हामी पनि एकपटक सोचौं त, जेलाई माया भनेर छोराछोरीका लागि गरिरहेका छौं, कतै त्यसले उनीहरूमा कुनै असर त पारिरहेको छैन ? हरेक काममा बाबुआमाकै भर परेर बसिरहेका त हुँदैनन् ? आफ्ना छोराछारीको माया कसलाई हुँदैन र, तर एकै छिन यो भावनालाई दबाएरै भए पनि उनीहरूलाई उमेरअनुसार जिम्मेवारी दिएर सानैदेखि सक्षम बनाउनुपर्छ ।

[email protected]

प्रकाशित : वैशाख १९, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?