कथित बलात्कारी मार्क्स- विचार - कान्तिपुर समाचार

कथित बलात्कारी मार्क्स

बलात्कारलाई हरेक युगमा नाजायज मानिएको छ तथापि युग र समाजैपिच्छे बलात्कारबारेको बुझाइ अलग छ । यौन सम्बन्धको नैतिकता पनि फरक युग र समाजमा बिलकुल विपरीत लाग्नेसम्मका रहँदै आएका छन् ।
आहुति

कान्तिपुर दैनिकमा प्रकाशित स्तम्भकार सरिता तिवारीका दुई लेखमा कम्युनिस्ट दर्शन, सिद्धान्त र राजनीतिका सूत्रधार कार्ल मार्क्सलाई बलात्कारी व्यक्ति ठोकुवा गरिएको छ । यो ठोकुवा गोवर्धन राना प्रभृतिका लेखकले गरेका भए अर्कै विषय हुन्थ्यो । उनले त आफैंद्वारा बलात्कारी करार गरिएका मार्क्स र मार्क्सवादको अनुरागी रहेको दाबीसमेत गरेको सन्दर्भमा विषय जति रोचक बन्छ, त्यति नै गम्भीर बहस पनि जरुरी हुन्छ ।

लेखको मुद्दा अर्कै भने पनि त्यो फगत नियतको सवाल भयो । नियत होइन बरु परिणाम मुख्य हुन्छ । कथित बलात्कारी मार्क्सको दार्शनिकी त यही हो । विगत पौने दुई सय वर्षमा एउटा गज्जबको संयोग के छ भने, पुँजीवादी वृत्तमा जन्मेका विचारकहरूले पुँजीवादी विचार र राजनीतिलाई अघि बढाउन काम गरेका छन्, तर माक्र्सवादपक्षीय विचार र राजनीति गर्नेहरूमा चाहिँ मार्क्सवादको खोल ओढेर त्यसैलाई ध्वस्त पार्न काम गर्नेहरू पनि प्रशस्त छन् । नियत, ज्ञान, चिन्तन प्रक्रिया र मध्यमवर्गीय अहम् र हठात् प्रख्यातिको हीनताग्रस्त मनोविज्ञानले ती लेखलाई कति जकडेको होला, त्यो त अहिले भन्न सकिन्न बरु भविष्यसम्म कुर्नैपर्ने हुन्छ । कुनै लेखकका एकाध लेखकै आधारमा उसको आधारभूत वैचारिक कित्ताबन्दी जीवनभरलाई अलग ठानिदिनु पनि अन्यायपूर्ण नै हुनेछ । कार्ल मार्क्सलाई बलात्कारी ठोकुवा गर्ने लेखको खण्डनभन्दा जरुरी छ— विषयलाई कसरी वैज्ञानिक ढंगले बुझ्ने भन्ने चेतना निर्माणका निम्ति विमर्श । वास्तवमा ती लेखले कार्ल मार्क्ससम्बन्धी यथार्थ होइन बरु नेपाली समाजमा पुँजीवादी बीभत्सताविरुद्ध उभिन चाहनेहरूको एउटा टुकडीमा कति गम्भीर वैचारिक बालसुलभ समस्या रहेछ भन्ने यथार्थलाई छताछुल्ल पोखिदिएका छन् ।

कार्ल मार्क्स र जेनीको विवाह सन् १८४३ मा भएको थियो, १८४५ मा घरेलु कामदारका रूपमा हेलेन डेमुथ नामकी युवती पनि त्यही परिवारसँग बस्न थालिन् । कतिपयले डेमुथलाई दासका रूपमा पनि बुझ्ने गर्छन् तर उनी किसान परिवारबाट आएकी र आफ्नो स्वतन्त्र परिवार बनाउन नसक्ने हालतकी श्रमिक थिइन् । देशनिकालापछि मार्क्सको परिवार सन् १८४९ मा लन्डन पुग्यो । निर्वासित जीवनको चरम अभावबीच मार्क्सको परिवार कसरी बाँच्यो भन्ने कथा धेरैलाई थाहा छ । सन् १८५१ मा डेमुथबाट एउटा छोरो जन्मियो । त्यो बच्चाको नाम फ्रेडरिक लेविस डेमुथ राखियो अर्थात् बाबुका रूपमा फ्रेडरिक एंगेल्सको नाम दिइयो र उसलाई लन्डनकै एउटा उपकारी परिवारमा हुर्काउने व्यवस्था गरियो । त्यो बच्चा पछि इङ्ल्यान्डको एउटा मजदुर पार्टीको संस्थापक नेता पनि हुन पुग्यो । सन् १८८१ मा जेनीको मृत्यु भयो, त्यसपछि रोगले थलिएका मार्क्सको हेरचाह डेमुथले नै गरिन् । मार्क्सका तेह्र जना मलामीमध्ये डेमुथ एक थिइन् । मार्क्सको मृत्युपछि डेमुथले फ्रेडरिक एंगेल्सको घर व्यवस्थापन र राजनीतिक सहयोगीको भूमिका खेलिन् । ‘पुँजी’ भाग २ र ३ तयार पार्नमा डेमुथको सहयोग महत्त्वपूर्ण मानिन्छ । सन् १८९० मा उनको मृत्यु भयो, उनको शवलाई पनि परिवारको सदस्यसरह नै मार्क्सकै समाधि भएको हाइगेट चिहानमा समाधिस्थ गरियो । डेमुथले बच्चा जन्माएको समय आजभन्दा १७२ वर्षअघि हो र डेमुथसँग मार्क्सको सम्बन्धबारे चर्चा गरिएका पुस्तकहरू त्यस घटनाको करिब १५० वर्षपछि लेखिएका हुन् । त्यस घटनाक्रमको भोक्ता र साक्षी जेनी, माक्र्स, एंगेल्स र डेमुथ कसैले पनि केही लेखेका छैनन् । डेमुथका छोरा, जो आफैंमा नेता भए, उनले लेखेको वा बोलेको पनि साहित्य पाइन्न । त्यसैले त्यस सन्दर्भमा यसै हो भन्न धेरै नै गम्भीर हुनुपर्ने अवस्था अझै छ । तर पनि कतिपय परम्परावादी मार्क्सवादीहरूले जस्तो त्यो पुँजीवादीहरूले चलाएको हल्ला मात्र हो भनेर पनि पटक्कै पुग्ने अवस्था छैन किनभने डेमुथले बच्चा जन्माएको, उसलाई फ्रेडरिक एंगेल्सको नाम दिइएको र अर्कै उपकारी परिवारमा हुर्काइएको त यथार्थ नै हो । डेमुथ जीवनभर मार्क्स परिवारमै रहनु तर बच्चा भने त्यो परिवारमा नहुर्काइनु र एंगेल्सको नाम दिइनुले, मेरी ग्याब्रियल लगायतका लेखकहरूले उल्लेख गरेझैं, मार्क्स र डेमुथको सम्बन्धबाटै बच्चाको जन्म भएको हुन सक्ने तर्क तथ्यको सबैभन्दा नजिक हुन जान्छ ।

कतिपय लेखकले यस्तो विषयमा लेखिएका पुस्तक स्टालिनहरूले दमपच बनाउन लगाएजस्ता प्रसंग पनि उठाएका छन् । कम्युनिस्टहरू गल्ती छोप्नुलाई पराक्रम ठान्ने हुनाले पनि यो विषय छोपियो भनेका छन् । स्टालिनकृत सोभियत संघ र उनलाई पछ्याउने कम्युनिस्टहरूले त छोपे रे मानौं, तर दुनियाँभरिका कम्युनिस्टविरोधीलाई यो विषय उछाल्न कसले रोक्थ्यो ? रोजा लक्जेम्बर्ग, लेनिन, लुना चास्की, आन्तिनियो ग्राम्स्की, ब्रतोल्त ब्रेख्तहरूजस्ता असाधारण चिन्तकहरूलाई कसले रोक्न सक्थ्यो ? वास्तवमा त्यो घटनाको चर्चाले सर्वहारा वर्गको आन्दोलनको विशाल चुनौतीलाई तलमाथि गर्न कुनै भूमिका खेल्दैनथ्यो, त्यसैले कम्युनिस्टहरूले त्यस सन्दर्भलाई अनावश्यक उराल्न आवश्यक ठानेनन् । त्यस सन्दर्भसँग जोडिएका डेमुथसहित सबै अकल्पनीय दु:ख र दमन झेल्दै जीवनपर्यन्त सिद्धान्त र आन्दोलनको निर्माणमा लागेको तर त्यस विषयमा नबोलेको स्थितिमा बिसेक भएको घाउ कोट्याउँदै हिँड्नु आन्दोलनका निम्ति बेअर्थको विषय थियो, त्यसैले कम्युनिस्टहरूले प्राथमिकता दिएनन् । व्यक्तिगत जीवनका विषयलाई व्यक्तिगत रुचिको अधीनस्थ बनाउन थालेका पुँजीवादीहरूले पनि यस विषयलाई उराल्न रुचि देखाएनन् । पुँजीवादीहरूको जीवनमा त झन् त्यस्ता विषयका विनाशकारी प्रवृत्तिगत भ्वाङ छन् भन्ने उनीहरूलाई थाहा थियो नै । डेमुथ–मार्क्स सम्बन्धको पहेलीबारे व्यापक विषय नबन्नुलाई यसरी बुझ्नु पो सही हुन्छ ।

विभिन्न अनुसन्धानकर्ता र लेखकहरूले भने यस विषयलाई पनि पुस्तकहरूमा उल्लेख गरे, जुन स्वाभाविक हो किनभने व्यक्तिहरूका सकेसम्म सबै पाटाको अभिलेख राख्नु अनुसन्धान र लेखनको आधारभूत दायित्व हो । तर महिला वा पुरुष कुनै लेखकले पनि कार्ल माक्र्सलाई बलात्कारीका रूपमा अभिलेखीकरण गरेका छैनन् ।

मार्क्स र डेमुथबीचको सम्बन्धको प्रकृति बलात्कार थियो कि अन्य प्रकृतिको भन्ने प्रश्नको उत्तर खोज्न तीनवटा विषयमा प्रस्टता आवश्यक छ । एक, यौन सम्बन्धका विविध आयाम । दुई, माक्र्सको जीवनको आधारभूत वैचारिकी । र तीन, घटनाकृत समय र सरोकारवालाहरूको व्यवहार । बलात्कारलाई हरेक युगमा नाजायज मानिएको छ तथापि युग र समाजैपिच्छे बलात्कारबारेको बुझाइ अलग छ । त्यसै गरी यौन सम्बन्धको नैतिकता पनि फरक युग र समाजमा बिलकुल विपरीत लाग्नेसम्मका रहँदै आएका छन् । त्यसैले १७० वर्षअगाडि युरोपमा केलाई बलात्कार मान्थे आम महिला पुरुषले र कस्तो सम्बन्धलाई वैधानिक अनि अवैध भन्थे भन्ने विषयलाई ख्याल गर्नु जरुरी छ । अर्को कुरा, यौनेच्छा प्राकृतिक हो तर यौनबारेका नियम सांस्कृतिक हुन् भन्ने वैचारिकीलाई पनि बुझ्नैपर्छ । आजको समयलाई मात्र हेर्‍यो भने पनि यौन सम्बन्धका विविध आयाम छन्— वेश्यावृत्ति, विवाह, लिभिङ टुगेदर, ओपन रिलेसन, हाफ प्रेमी आदि । त्यति मात्र होइन, छोराको उपचारका लागि आमाले छोरासँग यौन सम्बन्ध बनाएका, मन परेको वा आदर गरेको पुरुष वा महिलाको केवल इच्छापूर्तिका निम्ति यौन सम्बन्ध स्वीकार गर्ने गरिएका यथार्थहरूसमेत तथ्यगत रूपमा उपस्थित छन् । सिग्मन्ड फ्रायडलाई पढ्दा त हरेक व्यक्ति भौतिक वा मानसिक रूपमा ‘व्यभिचारी’ छ । तर त्यस्ता सम्बन्ध र विषय बलात्कार होइनन् बरु मानव समाजले यौनजीवनलाई व्यवस्थित र सही परिभाषित गर्न नसकेका समस्या हुन् । बलात्कारबाट प्रजनन पनि हुन सक्छ जसरी जबरजस्ती खाना कोच्याए पनि पेट भरिन सक्छ तर मानवीय यौन सम्बन्ध र भोजन ग्रहणको सन्तुष्ट प्रक्रिया त्यो हुन सक्दैन । त्यसैले यौन सम्बन्ध विविध प्रकारको हुन पुग्नु र बलात्कार एउटै होइन । बलात्कारलाई जघन्य अपराधभित्र आज समावेश गरिनुको कारण पनि यही त हो । डेमुथ जिन्दगीभर माक्र्सकै वैचारिकी र संगठनलाई अघि बढाउन समर्पित रहिन् । के कुनै बलात्कृत महिलाले बलात्कारीलाई मर्ने बेला स्याहार गर्न र त्यसपछि पनि बलात्कारीको विचार अघि बढाउन समर्पित हुन सम्भव छ ? माक्र्सको हैसियतका कारण डेमुथसँगको सम्बन्ध बलात्कार थियो भन्ने हो भने माक्र्सको अवस्था कोट–जुत्ता बन्धकी राखेर छाक टार्नुपर्ने खालको थियो, माक्र्सको व्यक्तित्वबाट वशीभूत भएर यौन सम्बन्ध स्वीकार हुन पुगेको भए पनि त्यो बलात्कार भएन । पुरुष आठ हजार वर्षदेखि हैकममै छ, तब के सबै यौन सम्बन्ध बलात्कार मान्नु ? प्रचलित मान्यताविपरीतका यौन सम्बन्धका लागि कहिले रूप, कहिले अन्य प्रभाव त कहिले प्राकृतिक उत्तेजना कारक हुन्छन्, तर ती बलात्कार नै हुन्छन् भन्ने त होइन । लेखक पारिजात खास मान्छेसँगको यौन सम्बन्धबाट डर महसुस गर्छिन् तर बलात्कार ठान्दिनन् । मोनिका लेवेन्स्कीसमेत आफूसँगको क्लिन्टनको सम्बन्धलाई बलात्कार मान्दिनन् । त्यसैले तत्कालीन समयको वैधबाहेकका यौन सम्बन्ध सबै बलात्कार बुझ्ने कुरा कदापि सही होइन ।

कुनै पनि व्यक्तिको प्रवृत्तिलाई बुझ्न उसको वैचारिकीलाई आधार मान्नुपर्ने हुन्छ । कतिपय व्यक्तिको जीवनका विभिन्न कालखण्ड फरकफरक वैचारिकीमा बाँडिएका हुन्छन् तर माक्र्सको जीवन सन् १८४५ देखि जीवनभर एउटै वैचारिकी विकासमा समर्पित रह्यो । माक्र्स त्यो केन्द्रीय व्यक्ति हुन् जसले महिला उत्पीडनको मूल कारण निजी स्वामित्व र त्यसमाथि उभिएको पितृसत्तात्मक परिवार र राज्य भएको तथ्यलाई भन्डाफोर गरे र महिलामुक्तिको आधारभूत दिशानिर्देश गरे । त्यो व्यक्तिले महिलामाथि जघन्य अपराध गर्छ भने त्यो ढोंगी हुनुपर्ने हुन्छ । ढोंगी र विचार–अन्वेषकबीच एउटै फरक हुन्छ— ढोंगीको कुनै विचार हुँदैन तर विचारक आफ्नो विचार प्रमाणित गर्न हरतरहले समर्पित भइरहन्छ । माक्र्सलाई कसैले पनि ढोंगी मान्दैनन् । जसरी आमाले निदाउँदा पनि बच्चा कुल्चिन्न, त्यसरी नै आफ्नो खोजजन्य विषयमा विचारकले छेडछाड गर्नै सक्तैन । विचारकबाट गल्ती, कमजोरी हुन सक्छन् तर आफ्नै खोजविरोधी जघन्य अपराध कसरी हुन सक्छ ? व्यक्तिको विचार अन्तर्वस्तु हो, रूप व्यवहार हो । माक्र्सको जीवनभरको विचार एउटै लयमा छ, अनि व्यवहारचाहिँ ठीक विपरीत कसरी हुन सम्भव छ ? बलात्कार वैचारिक प्रवृत्ति हो । के माक्र्सको युगान्तकारी महिलामुक्तिसम्बन्धी वैचारिकीमा बलात्कारको कुनै स्थान छ ? छैन भने माक्र्स बलात्कारी, त्यो पनि गर्भवती बनाउने स्तरसम्म, परिवार र साथीहरू सबैलाई जबरजस्ती स्वीकार गर्न बाध्य पार्ने गरी तानाशाही चलाउने हदसम्म जान सम्भव छ ? अनि दुर्दान्त दिन खपेका र मानवमुक्तिका निम्ति समर्पित जेनी र एंगेल्सहरूले स्वीकार गर्नुपर्ने कुनै बाध्यता हुन सक्छ ? यस दृष्टिबाट नहेर्ने हो भने त जसले जस्तो अपराध पनि सजिलै गर्न सक्छ भनी मान्नुपर्ने हुन्छ । यसरी त मानव समाज नै सम्भव छैन । यो गम्भीर महत्त्वको सैद्धान्तिक विषय हो जसको आत्मसातीकरण जरुरी छ ।

कुनै पनि सामाजिक घटनाको समाधान त्यही समयका सरोकारवालाहरूले समयसापेक्षतामा कसरी खोजे भन्ने कुरालाई ध्यान दिनुपर्ने हुन्छ । माक्र्स र डेमुथबाट जन्मिएको बच्चालाई त्यति बेला त्यसरी व्यवस्थापन गर्नु नै सर्वोत्तम कदम उनीहरूले ठानेको देखिन्छ । जब राजनीतिक संगठनात्मक अभियान सुरु हुन्छ, यस्ता अकल्पनीय समस्याहरू आउँछन् । त्यति बेला दुस्मन वर्गलाई फाइदा उठाउन नदिने गरी व्यक्तिगत कमजोरीलाई व्यवस्थापन गर्नुपर्ने नै हुन्छ । कम्युनिस्ट आन्दोलनमाथि आज त भीषण हमला छ भने, पुँजीवाद नै गलत भन्ने यात्राको सुरुआतमा दुस्मन वर्गबाट कति हमला थियो, अनुमान सम्भव छ । त्यस्तो बेला मानवजातिको मुक्तिको अभियानलाई अघि बढाउन डेमुथदेखि एंगेल्ससम्मले सांस्कृतिक बलिदान गरेका हुन सक्छन् । माक्र्स र डेमुथले गल्ती नदोहोर्‍याउने आत्मालोचनामाथि जेनीले माफी दिएकी हुन सक्छिन् । माक्र्सलाई यौन–अराजक वा महिलापीडक कसैले भनेनन् तर एक गल्ती पनि गल्ती नै हो । माक्र्सको भीमकाय सकारात्मक व्यक्तित्वमा यो सन्दर्भ एउटा दागजसरी उपस्थित छ भनेर मान्न सकिन्छ । त्यसैले माक्र्स होऊन् या बुद्ध, सबैलाई कमजोरीसहित बुझ्नु नै सही हुन्छ । तर कार्ल माक्र्सलाई बलात्कारी ठहर गर्ने हो भने जेनी र एंगेल्सलाई समेत बलात्कारी–संरक्षक करार गर्नुपर्ने हुन्छ अनि पाल लाफार्गदेखि लेनिन, रोजा लक्जेम्बर्गदेखि एवलिन रिडसम्मलाई मार्क्स–डेमुथ सम्बन्धभित्रको मार्क्सको जघन्य अपराधलाई छोपछाप पार्ने खलपात्रहरू मान्नुपर्ने हुन्छ । त्यसपछि बाँकी के रहन्छ ? माक्र्सवाद भनेको ढोंगी, नैतिक मूल्य स्खलित भएका अपराधीहरूको पोथा हो भन्ने निष्कर्ष । त्यस्तो निष्कर्षमा त माक्र्सवादका चरम विरोधी पनि पुग्न चाहन्नन् ।

प्रकाशित : वैशाख १८, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्

बूढो भएका नाराहरू

रणनीति र कार्यनीतिसँग सम्बन्धित नाराहरुले वास्तविक समस्या समाधानको दिशा पक्रिन नसके आवश्यक जनताको गोलबन्दी असम्भव हुन्छ
आजको जात व्यवस्थाविरोधी दलित आन्दोलनले कम्तीमा ‘सही विचार छान, नेतृत्व लिने साहस गर र आफ्नो व्यवस्था आफैं बनाऊ’ भन्ने स्तरमा रणनीति र नारा विकास गर्न सक्नुपर्ने हो ।
आहुति

परिवर्तनका निम्ति प्रयोग गरिएका नाराहरू पनि मानिस जस्तै बूढा हुन्छन्, समयक्रमसँगै औचित्यहीन भएर मर्छन् । फरक यत्ति हो— मानिस शरीर गल्दै जाँदा बूढो हुन्छ; नाराहरूचाहिँ सामाजिक, आर्थिक र राजनीतिक वस्तुस्थिति फेरिएपछि बूढा हुन्छन् ।

राजनीतिमा नाराको सम्बन्ध रणनीति र कार्यनीतिसँग हुन्छ भन्ने स्पष्टै छ । त्यसैले नाराहरू बूढा भएर औचित्यहीन हुने विषय सही रणनीति र कार्यनीति प्रयोग गर्न सक्ने कि नसक्ने भन्ने पक्षसँग गाँसिन पुग्छ । आज जनजीविकाका कहालीलाग्दा समस्याहरू भोगाइमा छन् तर तिनको समाधानका निम्ति आन्दोलन बनिरहेको छैन । श्रमिक वर्गका समस्याहरू प्रतिदिन डरलाग्दा बनिरहेछन्, तर ट्रेड युनियन आन्दोलन ठप्प छ । किसान संगठनहरूको चालचुल छैन, मानौं किसानका समस्या सकिए ! के कुरा सत्य हो भने, पुँजीवादी संसद्वादी पार्टीहरूले आफूसम्बद्ध जन र वर्गीय संगठनहरूलाई आन्दोलनात्मक गतिविधि गर्न रोकेकाले पनि उनीहरू शिथिल छन् । तर त्यो एउटा पक्ष मात्रै हो । पार्टीसम्बद्ध त्यस्ता संगठनहरू मात्र शिथिल छैनन्, बरु सिंगै व्यवस्थाविरुद्ध उभिएका जनवर्गीय संगठनहरूको पनि झरिलो संघर्ष छैन । यस्तो स्थितिको एउटा मुख्य कारण भनेको बदलिएको परिस्थितिमा नयाँ र सही नाराहरू तय गर्न नसक्नु नै हो ।

जन र वर्गसँग सम्बन्धित विभिन्न संगठनहरूसँग धेरैजसो पुराना बूढा नाराहरू छन्, जसमध्ये कतिपयको औचित्य नै समाप्त भइसक्यो भने कतिपयको महत्त्व आधारभूत रूपमै घटिसकेको छ । यसर्थ, परिवर्तनका निम्ति क्रियाशील प्रत्येकले आफ्ना नाराहरू आजको समयमा कति औचित्यपूर्ण छन् वा नयाँ आधारभूत कस्ता नाराहरू जरुरी भैसके भन्नेबारे घोत्लिनैपर्ने अवस्था आइसकेको छ । रणनीति र कार्यनीतिसँग सम्बन्धित नाराहरूले वास्तविक समस्या समाधानको दिशा पक्रिन नसके आवश्यक जनताको गोलबन्दी असम्भव हुन्छ भन्ने प्रस्टै छ । आज परिवर्तनका निम्ति क्रियाशील संगठनहरूको क्रियाकलापका सन्दर्भमा देखा परेको एउटा गम्भीर वैचारिक गाँठो यही नै हो ।

सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्तिको युगमा सबैतिर जोत्ने किसानको हातमा जमिन ल्याउने नारा दिइयो । नेपालमा पनि विक्रम संवत् २००७ को आसपासबाट ‘जसको जोत उसको पोत’ भन्ने नारा अगाडि आयो । त्यतिबेला त्यो नारा परिवर्तनका निम्ति मुख्य आधारभूत विषय थियो । उत्पादनशील जमिनको मुख्य हिस्सा जमिनमा काम नगर्ने सामन्तको कब्जामा रहेकाले बहुसंख्यक किसान शोषणमा थिए । त्यस्तो स्वामित्वको अवस्थाले उत्पादकत्व वृद्धिमा समस्या थियो । किसानहरू उत्साहित थिएनन् । त्यसैले जमिन जोत्नेको भन्ने नाराले एकातिर किसानहरूलाई उत्साहित गर्थ्यो भने, त्यो नारा यथार्थमा लागू हुँदा उनीहरू जमिनको मालिक भई स्वतन्त्र हुन सक्थे । त्यसैगरी उत्पादकत्वमा वृद्धि भई सिंगै समाज सामन्तवादी अवस्थाबाट पुँजीवादी युगमा जान मुख्य ढोका खुल्न पुग्थ्यो । यसरी त्यो नारा लामो समयसम्म समाज परिवर्तनको मुख्य आधारभूत क्रान्तिकारी नाराका रूपमा रह्यो । जनसंख्याको वृद्धिसँगै भएको खण्डीकरण, सीमित भूमिसुधारको प्रक्रिया अनि सामन्तहरू क्रमशः पुँजीवादी व्यवसायमा स्थानान्तरण हुने क्रमसँगै जमिनमा सामन्तवादी स्वामित्वको स्वरूप फेरिँदै गयो ।

आज आइपुग्दा नेपाली समाज मूलतः सामन्त वर्ग नरहेको र स्वतन्त्र किसानहरूको बाहुल्य भएको समाज बन्न पुग्यो । जमिन जोत्नेको भन्ने क्रान्तिकारी भूमिसुधारको प्रक्रियाबाट अगाडि बढ्न नसकेकाले पुँजीवादी क्रान्ति पनि हुन सकेन, जसका कारण नेपालमा औद्योगिक प्रगतिशील पुँजीवादको जग पनि बनेन, बरु त्यसको स्थानमा दलाल पुँजीवादी व्यवस्था बन्दै गयो । औद्योगिकीकरणको सिलसिला नचल्दा बेरोजगारीको विशाल कहर जन्मिन पुग्यो । जमिन जोत्नेको भन्ने नारा नेपालमा सामन्तवादी भूस्वामित्व रहँदासम्म क्रान्तिकारी थियो र त्यतिबेला लागू गर्न सकिएको भए नेपाली समाजको प्रगतिको बाटै अर्को दिशामा जान्थ्यो । तर आज पनि यो नारा लगाइरहने हो भने यसले कुनै परिणाम दिन सक्दैन । हुन त आज पनि कतिपय राजनीतिकर्मीले कहिलेकाहीँ यो नाराको औचित्य छ भनेजसरी तर्कहरू गर्छन् तर जमिनमा सामन्तवादी स्वामित्व मूलतः नरहेकाले यी तर्कहरूको व्यावहारिक औचित्य छैन । एक समयको आधारभूत क्रान्तिकारी नारा वस्तुस्थितिमा फेरबदलसँगै कसरी औचित्यहीन बूढो नारामा परिणत हुन्छ भन्ने सन्दर्भको यो एउटा गतिलो उदाहरण हो ।

ट्रेड युनियन आन्दोलनको इतिहास र आजको अवस्थालाई हेर्दा यो विषयलाई बुझ्न झनै मद्दत पुग्छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्रामको नाराबाट अघि बढेको मजदुर आन्दोलनमा आज आइपुग्दा त्यो नारा घन्किने गरेको छैन । मजदुरको त कुरै छाडौं, बुद्धिजीवीसमेत पाएसम्म बाह्र घण्टा काम गर्न कुदिरहेछ । पुँजीवादले ल्याएको बेरोजगारी र अभावका कारण जीवन चलाउन जति घण्टा पनि भौंतारिनैपर्ने बाध्यतामा अभ्यस्त बनाइदिएको छ ।

नवउदारवादी नीतिअन्तर्गत निजीकरणको खतरनाक प्रक्रियाले ट्रेड युनियन आन्दोलनका हिजोका अधिकांश नारा बेकामे साबित हुँदै गएका छन् । उत्पादनमा व्यापक मात्रामा प्रविधिको प्रयोग अनि निश्चित कर्पोरेटहरूसँग अधिकारहरूको केन्द्रीकरणले गर्दा नोकरीमा स्थायी गर्नुपर्ने, हडताल गर्न पाउनुपर्ने लगायतका थुप्रै नारा आधारभूत रूपमै कमजोर भइसकेका छन् । त्यसको सट्टा ‘हायर एन्ड फायर’ र मजदुर भर्तीको ठेकेदारी प्रथालाई कसरी तोड्ने भन्ने नयाँ चुनौती पो खडा हुन पुगेको छ । राज्यहरूले आजको पुँजीवादको केवल व्यवस्थापक मात्र भई सम्पूर्ण श्रम विनिमयको एकलौटी अधिकार पुँजीपति वर्गलाई छाड्नाले श्रमिक वर्ग निर्मम रूपमा केवल पुँजीपतिको मनोमानी मोलतोलको जाँतोमा पिसिने स्थिति बन्न पुगेको छ । सन् १९८० भन्दाअघिको जस्तो राज्यहरू सहजीकरणको तैबिसेक भूमिकाबाट समेत तीव्र रूपमा पछाडि हट्दै गएका छन् । यो आजको भूमण्डलीकृत पुँजीवादी व्यवस्थाको चरित्र बनेको छ ।

यस स्थितिमा ट्रेड युनियन आन्दोलन हिजैका नाराहरूले अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छर्लङ्ग देखिन्छ । प्रत्येक मजदुर आज भयानक संकटको बीचमा छ, बडाबडा मजदुर संगठनहरू पनि छन् तर आन्दोलन भने हुन सकेको छैन । पार्टीका कार्यक्रमहरूमा हजारौं मजदुर उपस्थित हुन्छन् तर आफ्नै समस्यामा भने संघर्ष गर्न सकिरहेका छैनन् । ट्रेड युनियन आन्दोलनको आजको यस दृश्यले स्पष्ट रूपमा के भन्छ भने पुँजीपति वर्गले बुनेको नयाँ जाललाई च्यात्ने आवश्यक नयाँ रणनीति र नाराहरू स्थापित हुन सकेका छैनन् ।

नेपालको महिला मुक्ति आन्दोलनका अधिकांश नारा सामन्तवादविरोधी रहे । पैतृक सम्पत्तिमा समान अधिकार, समान कामको समान ज्याला, सम्बन्ध विच्छेदको अधिकारजस्ता मुद्दा सामन्तवादविरोधी हुन् । हिजोको अवस्थामा ती बिलकुल सही थिए, आज पनि तिनको औचित्य पूरै समाप्त भइसकेको छैन । आजको पुँजीवादले महिलाहरूलाई संसारभरि मालकरण गरेको छ र नेपालमा पनि यो समस्या मुख्य बनेर आउँदै छ तर पुँजीवादले महिलालाई माल (कमोडिटी) बनाउँदै लगेको सन्दर्भका विरुद्ध आवश्यक रणनीति र नाराहरूसहित महिला आन्दोलन नवीन गोलबन्दीतिर लाग्न सकेको छैन । आदिवासी– जनजाति आन्दोलन आफ्नो सांस्कृतिक पहिचानको मुद्दा उठाउने हदसम्म त धेरथोर छ तर आजको भूमण्डलीकृत पुँजीवादका विरुद्ध उभिने नारामा व्यक्त हुन सकेको छैन, जबकि आजको भूमण्डलीकृत पुँजीवादी व्यवस्थाको आधारभूत चरित्र नै आदिवासी–जनजाति सत्त्वको खिलाफ छ । एक समयको नारा वस्तुस्थिति आनका तान फरक परिसक्दा पनि कसरी केवल लतका रूपमा मात्र बाँचिरहँदो रहेछ भन्ने उदाहरण दक्षिण एसियाको जातव्यवस्थाविरोधी दलित आन्दोलनमा देख्न सकिन्छ ।

एक सय वर्षअघि जति बेला भारतका दलितहरू औपचारिक शिक्षा प्राप्त गर्नुपर्छ भन्ने चेतनामा थिएनन्, संगठित भई संघर्ष गर्नुपर्छ भन्ने चेतनामा पुगेका थिएनन्, भीमराव अम्बेडकरले नारा दिए— शिक्षित बन, संगठित होऊ र संघर्ष गर । त्यतिबेला त्यो नारा क्रान्तिकारी थियो र परिवर्तनको यात्राका निम्ति आधारभूत विषय थियो । सय वर्ष बित्यो । दलितहरू शिक्षा प्राप्त गर्नुपर्छ भन्ने चेतनासहित स्कुल–कलेज गइरहेका छन् । आज दलितहरू शिक्षामा पछि छन् भने अभावका कारण छन्, पढ्नुपर्छ भन्ने चेतना नभएका कारण होइन । कुनै न कुनै पार्टी, संगठन वा एनजीओमा मात्र भए पनि संगठित छन् ।

संघर्ष कहिले धेरै कहिले थोरै लगातार गरिरहेकै छन्, संघर्ष गर्नुपर्छ भन्ने चेतना अभावको अवस्था छैन । तैपनि दलित आन्दोलनको ठूलो हिस्साले त्यही सय वर्षअघिको नारालाई मन्त्रजसरी भट्ट्याइरहेको छ । दलितहरू शिक्षित हुँदै गए तर मुक्ति प्रक्रिया अघि बढेन । संगठित पनि हुँदै गए तर त्यस्ता संगठनहरूले काम दिएनन् । संघर्ष पनि हुँदै आए तर पार लाग्ने छाँट भएन । सय वर्षमा मुख्य गरी भएको त यस्तै हो । त्यसैले नयाँ रणनीति र नारासहित दलित आन्दोलनले काँचुली फेर्नु पो आजको आवश्यकता बन्नुपर्ने हुन्छ । आजको जात व्यवस्थाविरोधी दलित आन्दोलनले कम्तीमा, ‘सही विचार छान, नेतृत्व लिने साहस गर र आफ्नो व्यवस्था आफैं बनाऊ’ भन्ने स्तरमा रणनीति र नारा विकास गर्न सक्नुपर्ने हो ।

समग्रमा भन्नुपर्दा आज विश्वव्यापी रूपमा पुँजीवादी व्यवस्थाले बदल्दै गरेको चरित्र अनि नेपाली समाजमा भएका सामाजिक, आर्थिक र राजनीतिक फेरबदलले निर्माण गरेको परिस्थितिलाई चिरेर अघि बढ्न नयाँ युगका क्रान्तिकारीहरूले बूढा नाराहरूको पहिचान गर्न थाल्नैपर्ने र आवश्यक नयाँ तन्नेरी रणनीति र नारा निर्माण गर्न लाग्नैपर्ने अनिवार्यता उपस्थित भइसकेको यथार्थलाई आत्मसात् गर्नुको विकल्प छैन ।

प्रकाशित : वैशाख ५, २०७८ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×