सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासन- विचार - कान्तिपुर समाचार

सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासन

रेमिट्यान्स कति आयो भन्नुभन्दा पनि यसको प्रयोग कसरी भइरहेको छ भन्ने पक्षबाट विश्लेषण हुनु आवश्यक छ ।
सम्झना शर्मा

सूचना तथा सञ्चार प्रविधिको विकास र ज्ञानको उच्च अभिवृद्धिले विश्व नै एउटा गाउँमा परिणत भएको छ । संसारको जुनसुकै कुनाको व्यक्तिले पनि आफ्नो ज्ञान, सीप र क्षमताबमोजिम विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्छ । तथापि वैदेशिक रोजगारीका लागि मानिस एक देशबाट अर्कोमा जाने क्रम जारी छ ।

कतिपय देशबीच श्रम स्वीकृति र समझदारीपत्रहरू तयार गरी आप्रवासन र रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने कार्यको थालनी भएको छ । नेपालले पनि ११० देशसँग वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाइसकेको छ । ‘हेल्थ साइन्स’ जर्नलअनुसार, विश्वको करिब ३ प्रतिशत जनसंख्या अर्थोपार्जनको उद्देश्यले अर्को देश जाने गरेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरू र तिनका परिवारका हक–अधिकारको सवाललाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न निकायमार्फत कार्यसम्पादन गर्दै आइरहेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार न्यायाधिकरण, वैदेशिक रोजगार बोर्ड लगायतका निकायले यो क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन थुप्रै प्रयत्न गरिरहेका भए पनि प्रभावकारिता अभिवृद्धि भने चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

आप्रवासी कामदार र तिनका परिवारका हक–अधिकारको संरक्षण तथा संवर्धनका लागि राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २७ देशको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गरी घोषणापत्र जारी गर्‍यो । यसका अलावा आप्रवासी कामदारहरूका हक–अधिकारका बारे विभिन्न अध्ययन–अनुसन्धान भइरहेका छन् । ओरिजिन, ट्रान्जिट र डेस्टिनेसन कन्ट्रीहरूमा आप्रवासी कामदारहरूको अधिकारका सवालबारे अनुगमन, अन्य देशका मानवअधिकार आयोगहरूसँग समझदारीपत्र (एमओयू) गरी गरिएका प्रयासहरूबारे प्रतिवेदन सार्वजनिक गरी सरोकारवालाहरूको ध्यानाकर्षण गर्न पनि थालिएको छ ।

आप्रवासी कामदारहरू विभिन्न समस्या भोग्न बाध्य छन् । स्वास्थ्य बिमा नहुनु, आवास र खानाको उचित व्यवस्थापन नहुनु, कामदार–रोजगारदाता सम्झौता विश्वसनीय बन्न नसक्नु तथा सम्झौताबमोजिमको काम नदिनु वा गर्न नपाउनु, समयमा तलब नदिनु, विभिन्न किसिमबाट ठगिनु, गर्नुपर्ने कामबारे सुसूचित नहुनु एवं तालिम नदिनु, असुरक्षित कार्य वातावरणका कारण मृत्यु हुनु एवं सडक दुर्घटना, किड्नी फेल, श्वास–प्रश्वाससम्बन्धी समस्या र हृदयरोग आदिका कारण ठूलो संख्यामा आप्रवासीको मृत्यु हुने गरेको छ । आत्महत्या गर्नेहरू पनि धेरै छन् । सामान्यतः विभेदको अनुभूति, भाषासम्बन्धी ज्ञानको कमी, सांस्कृतिक अवरोध, सम्बन्धित देशको कानुनी व्यवस्था र न्यून सामाजिक–आर्थिक अवस्थाका कारण आप्रवासी कामदारहरूको स्वास्थ्यमा गम्भीर समस्यासमेत आउने गरेका छन् ।

यसै सन्दर्भमा, चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म ८८१ जना आप्रवासी कामदारको मृत्यु भएको तथ्यांक छ । मृतकहरूमा युवा उमेरकाहरूको संख्या अत्यधिक देखिन्छ । बिरामी र अंगभंग हुनेहरूको संख्या पनि बढ्दो देखिनुले वैदेशिक रोजगारी सुरक्षित, मर्यादित, व्यवस्थित हुनै नसकेको प्रस्ट छ । यसबाट अभिभावकहरूको दुःख चुलिँदै गइरहेको छ । झट्ट हेर्दा यो एउटा परिवारलाई मात्र परेको चोटजस्तो देखिए पनि यसका कारण राज्यले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा ठूलो मूल्य चुकाइरहेको हुन्छ ।

वैदेशिक रोजगारीमा जान खोज्ने कतिपय व्यक्ति ठगिएका थुप्रै घटना सञ्चारमाध्यममा आइरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरूले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण बन्दै गएको छ । वैदेशिक रोजगार न्यायाधीकरणले ठगीसम्बन्धी मुद्दाहरू हेर्ने भए पनि हालको संरचना केन्द्रीकृत छ । वर्तमान संरचनाको प्रादेशिक स्तरमा समेत विस्तार हुन सके न्यायमा पीडितको पहुँच अभिवृद्धिमा टेवा पुग्न सक्छ । कानुनी ज्ञानको अभाव, न्यायाधीकरण निकायहरू छन् भन्ने जानकारी नहुनुजस्ता कारण कतिपय व्यक्ति ठगिने गरेकाले यस क्षेत्रमा पनि निःशुल्क कानुनी परामर्श वा वैतनिक प्रकृतिका कानुन व्यवसायीहरूको व्यवस्था गरिनु उपयुक्त हुन्छ । कतिपय परिवारले वैदेशिक रोजगारमा गएका आफ्नो सदस्य वा आफन्तको निष्पक्ष शव परीक्षण गरेर मृत्युको कारण जान्न पाउनुपर्ने माग राख्ने गरेका छन् ।

अर्कातिर, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक पहलकदमी गर्दै आएका विभिन्न निकायबीच समन्वय र सहकार्यको वस्तुनिष्ठ योजना आवश्यक छ । यसो हुन सके जोखिममा परेकाहरूको उद्धार, राहत, क्षतिपूर्ति र ठगीधन्दा गर्नेहरूलाई शीघ्र कानुनी कारबाही गर्न सहज हुन सक्थ्यो । केन्द्रीय तथ्यांक विभागले समयसमयमा गर्ने लेबर फोर्स सर्भेलाई आधार बनाएर वैदेशिक रोजगारीका क्षेत्रमा लक्षित कार्यक्रम/बजेट बनाउन अनि समन्वय र सहकार्य विस्तार गर्न पनि सकिन्छ ।

विदेशस्थित विभिन्न नियोगले समेत कामदारहरूको समस्यालाई निराकरण गर्न समयसमयमा कार्यक्रमहरू सञ्चालन गरिरहे पनि वैदेशिक रोजागारीको अवस्था, असर र प्रभावहरूबारे खासै चर्चा गरिएको पाइँदैन । यस्ता कार्यक्रमहरूको समीक्षा गरी कामदारहरूको सामाजिक सुरक्षालगायत विषयमा सम्बन्धित देशहरूसँग समन्वय हुनुपर्छ । वैदेशिक रोजगारीमा रहेकाहरूका समस्या तथा जानकारी सुन्न निःशुल्क फोन गर्ने व्यवस्थासहित सञ्चालनमा ल्याइएको कलसेन्टर १४४१ समेत प्रभावकारी हुन नसकेको गुनासो पाइन्छ ।

नेपाल सरकारले सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने व्यवस्था भएबमोजिम ७ हजारभन्दा बढीले तालिम त पाइसकेका छन्, तर यसबाट अपेक्षित उद्देश्यपूर्ति हुन नसकेको स्वयं तालिमप्रदायक निकायहरू स्विकार्छन् । यसैले तालिमको प्रभावकारिताको अध्ययन र यसका विषयवस्तु, विधि, समयावधि अनि प्रक्रियाबारे पुनरवलोकन जरुरी छ । वातावरणीय अनुकूलता, कार्यप्रकृति, बसोबास, खानपिनलगायत आधारभूत विषयको यथार्थबारे सूचना दिन र अभिमुखीकरण हुन नसक्दा न्यून सीप भएकाहरू जोखिममा पर्ने गरेका छन् ।

कुल गार्हस्थ्य उत्पादनको झन्डै ३० प्रतिशत योगदान रहेको रेमिट्यान्स सरकारले तिनै श्रमिकहरूबाट प्राप्त गर्ने हो । रेमिट्यान्स कति आयो भन्नुभन्दा पनि यसको प्रयोग कसरी भइरहेको छ भन्ने पक्षबाट विश्लेषण हुनु आवश्यक छ । यसलाई देशभित्रै उत्पादन र रोजगारी सिर्जनाको क्षेत्रमा परिचालन गरी न्यून सीप क्षमता भएकाहरूलाई यही श्रमको उचित मूल्य निर्धारण गरी रोजगारी दिनेतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । साथै, वैदेशिक रोजगारीमा गएकाहरूको परिवारको स्तरमा कस्तो सुधार भयो, केकस्ता असर र प्रभावहरू परेका छन्, यसबारे सरकार सदैव चनाखो रहनुपर्छ । अन्यथा युवाहरूको मृत्युदर र अपांगतामा वृद्धि भई सामाजिक सुरक्षामा चुनौतीहरू थपिँदै जान्छन् । सुरक्षित गन्तव्य, कार्यस्थल, स्वास्थ्य बिमा, श्रमको उचित मूल्य र परिवारको अधिकारको पक्षमा चासो लिई वैदेशिक रोजगारीलाई मर्यादित बनाउनतर्फ तत्काल पहलको थाल्न ढिला गर्नु हुँदैन ।

कमजोर आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाले व्यक्तिलाई विभिन्न जोखिममा पुर्‍याउँछ र ती परिवेशसँगसँगै ठगीधन्दाहरू पनि मौलाउँछ । विदेशमा राम्रो रोजगारी पाउने लालसा देखाई बेचबिखनमा पारिएका र ठगिएका थुप्रै घटना समाजमा छन् । व्यक्तिगत ठगी मुद्दाहरूमा वस्तुनिष्ठ प्रमाण अभावका कारण न्याय पाउन चुनौतीपूर्ण हुने गर्छ । संस्थागत रूपमा भएका वैदेशिक रोजगारीका ठगी मुद्दाहरूमा भने पीडितले न्याय पाएका धेरै उदाहरण छन् । संक्रमण र जोखिममा परेका व्यक्तिहरूप्रति यथासमय राज्यको ध्यान पुग्न सके ठगीधन्दा रोक्न र पीडितलाई न्याय दिन सहज हुन्छ । यस्ता संकटको समाधानका लागि पनि विभिन्न देशबीच समझदारी हुन आवश्यक छ ।

संयुक्त राष्ट्रसंघको विशेष समाधिक्षकले नेपाल भ्रमणका क्रममा र विश्वव्यापी आवधिक समीक्षामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकारलाई दिएका सुझावहरूको कार्यान्वयनतर्फ सरोकारवालाहरूको ध्यान जानु अपरिहार्य छ । वैदेशिक रोजगारीबाट विभिन्न कारण फर्किएकाहरूलाई पारिवारिक एवं सामाजिक पुनः एकीकरण गर्न सरकारको नीतिगत तदारुकता चाहिएको छ ।

प्रकाशित : वैशाख १३, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य अधिकारी भन्छन्– ‘अब स्वास्थ्य पूर्वाधारले थेग्दैन’

स्वरूप आचार्य

काठमाडौँ — काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि जनाएको छ ।

नेपालगन्जको भेरी अस्पतालमा शुक्रबार उपचाररत संक्रमित र कुरुवा । १४२ बेडको आइसोलेसन वार्ड बिरामीले भरिएको छ । आईसीयू बेड र भेन्टिलेटर पनि खाली छैन । तस्बिर : ठाकुरसिंह थारू/कान्तिपुर

उच्च स्रोतका अनुसार मन्त्रालयले चैतदेखि नै विद्यालय बन्द गरेर भीडभाड हुने सम्पूर्ण कार्य बन्द गर्न सिफारिस गरे पनि सरकारले यथोचित निर्णय नगर्दा स्थिति भयावह बन्दै गएको हो । ‘हामीले विद्यालय नखोलौं, भारतबाट आउने विमानलाई रोकौं, स्थलमार्गबाट पनि भारतीयको प्रवेश रोकौं, जात्राहरू हुन नदिऊँ भनेका थियौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर हाम्रो कुरा कसैले सुनेनन् । अब अहिले अवस्था यस्तो आयो ।’ उक्त स्रोतका अनुसार अहिलेकै स्थिति एक साता चल्ने हो भने काठमाडौंको स्वास्थ्य पूर्वाधार पूर्ण रूपमा धराशायी हुन सक्छ । ‘बेलायतमा म्युटेसन देखिँदा उडान बन्द गर्ने, भारतलाई खोल्ने ?’ स्रोतले भन्यो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने अहिले नै हरेस खानुपर्ने अवस्था नरहेको भन्दै ढाडस दिन खोजेका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा धेरै अस्पताल रहेका कारण अवस्था असहज भइसकेको छैन । विशेषगरी बाँकेमा समस्या देखिनुको कारण उक्त स्थान कर्णाली प्रदेशको समेत उपचारको केन्द्र भएकाले हो ।

‘बाँकेमा कर्णालीबाट पनि उपचार गराउन मान्छेहरू आउँछन्, त्यसैले स्वास्थ्य पूर्वाधार चाँडै भरिएको हो,’ उनले भने, ‘हामीले नेपालगन्ज मेडिकल कलेजसँग पनि कुरा गरेर बेड थप्ने तयारी गरेका छौं ।’ उनले सरकारले सबै प्रदेशमा नेपाली सेनालाई प्रयोग गरेर होल्डिङ सेन्टर बनाउने तयारी गरिसकिएको जानकारी दिए । ‘अबका दिनमा धेरै आवश्यक पर्ने भनेको अक्सिजन र बेड नै हो,’ उनले भने, ‘बेडका लागि सेनालाई भनेर होल्डिङ सेन्टरहरू बनाउँछौं । सिलिन्डर भने धेरै चाहिन्छ । हामीले अर्थ र पराष्ट्र मन्त्रालयलाई पनि त्यो प्राप्त गर्नका लागि सहयोग गर्न भनेका छौं ।’

मन्त्री त्रिपाठीका अनुसार नेपालमा लिक्विड अक्सिजनभन्दा पनि अक्सिजन भर्नका लागि सिलिन्डर अभाव हुने देखिएको छ । ‘अक्सिजन सिलिन्डर पनि ग्यास सिलिन्डरजस्तै रहेछ । हस्पिटलहरूले लगेर होल्ड गरेर राख्ने,’ उनले भने, ‘त्यसैले पनि हामीलाई सिलिन्डर अलि धेरै आवश्यक छ ।’

यस्तै देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा त्यहाँको वास्तविक अवस्था बुझ्न उच्चस्तरीय टोली खटाउने भएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीको उपस्थितिमा आइतबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले उच्चस्तरीय टोली ७ वटै प्रदेशमा पठाउने निर्णय गरेको हो । मन्त्रालयबाट प्रदेशमा जाने टोलीले त्यहाँको वस्तुस्थिति हेरी त्यहींको स्रोतसाधनलाई कसरी उचित रूपमा प्रयोग गर्न सकिन्छ भनेर सहयोग गर्नेछ ।

मन्त्री त्रिपाठीका अनुसार मन्त्रालयले सबै प्रदेशमा प्रमुख विशेषज्ञ र एक जना ११ औं तहका अधिकारीलाई पठाउने निर्णय गरेर लुम्बिनीमा टोली पठाइसकेको छ । ‘हामीले लुम्बिनीका लागि डा. महेन्द्र श्रेष्ठलाई पठाइसकेका छौं,’ उनले भने, ‘अन्य प्रदेशमा पनि एक जना प्रमुख विशेषज्ञसहितको टोली छिट्टै जानेछ ।’

मन्त्री त्रिपाठीका अनुसार केन्द्रबाट गएको टोलीले तीन सातासम्म त्यहीं बसेर केन्द्रसँग समन्वयात्मक भूमिका निर्बाह गर्नेछन् । ‘त्यहाँको मन्त्रालय, कर्मचारी र स्थानीय तहसँग उहाँहरूले मिलेर काम गर्नुहुन्छ । योजनाहरू बनाउन सहयोग गर्नुहुन्छ,’ उनले भने, ‘धेरै ठाउँमा अहिले थोरै मात्रामा संक्रमित देखिँदा पनि समस्या देखिनुको मुख्य कारण स्रोतसाधनको अपर्याप्तता नै हो ।’

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार मन्त्रालयबाट जाने उच्चस्तरीय टोलीले त्यहाँको अवस्था मूल्यांकन गरेर यथोचित निर्णय लिन प्रदेश सरकारलाई सहयोग गर्नेछ । ‘तत्काल केन्द्रबाट अतिप्रभावित भनिएका क्षेत्रमा चिकित्सक वा अन्य सहयोग पठाउने कुनै निर्णय भएको छैन,’ उनले भने, ‘उच्चस्तरीय टोली गएर परीक्षण र उपचारलगायत काम कस्तो भइरहेको छ, हेर्ने हो । त्यसलाई सहज बनाउन सहयोग गर्ने हो । हामीले परीक्षण किट, रिएजेन्ट, खोप, पीपीई त पठाइरहेकै छौं ।’

डा. पोखरेलका अनुसार बाँकेमा अवस्था गम्भीर भए पनि तत्कालका लागि केन्द्रबाट उपचारलगायत सहयोगका लागि कुनै टोली पठाउने निर्णय गरिएको छैन । ‘सबैतिरको अवस्था उस्तै छ । त्यहींको स्रोतसाधन उपयोग गर्नुको विकल्प छैन,’ उनले भने, ‘उपचार र परीक्षणका लागि चाहिने सामग्री त हामीले पठाइरहेकै छौं ।’

प्रकाशित : वैशाख १३, २०७८ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×