घरको खाजा देखाउन केको लाज !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरको खाजा देखाउन केको लाज !

बच्चाहरूको हड्डी मजबुत पार्न दही, चिज, पनिर, लस्सी जस्ता दुग्ध परिकार दिन सकिन्छ । हड्डी मजबुत पार्ने क्याल्सियम गेडागुडीमा पनि पाइन्छ ।
अरुणा उप्रेती

केही महिनाअघि नेपाल सरकारले दिवा खाजामा पत्रु खाना नदिने नियम ल्यायो । तर, यस वर्ष कोरोना महामारीले विद्यालय सुचारु छैनन् । महामारीपछि विद्यालयहरूले साँच्चै सरकारी निर्देशनको पालना गर्लान् ?

दुई वर्षअघि काठमाडौं र सिन्धुपाल्चोकका झन्डै ५० सरकारी विद्यालयका विद्यार्थीहरूसँग कुरा गर्दा थाहा भयो— ८, ९ र १० का छात्रा ‘घरको खाजा देखाउन लाज लागेर’ पैसा नै लैजाँदा रहेछन् । सरकारी विद्यालयका प्रायः अभिभावकले छोराछोरीले जे खाए पनि वास्ता गर्दैनन् । गरिबी र अज्ञानताले गर्दा यस्तो हुन्छ । निजी विद्यालयका अभिभावकले भने छोरोछोरीले के खान्छन्, कसरी स्वस्थ खाना दिने भन्ने तुलनात्मक रूपमा सोचेको पाइन्छ । सामाजिक समस्याले पनि विद्यालयको खाजा अर्थशास्त्रमा प्रभाव परेको देखिन्छ ।

कोभिडका बेला ‘स्वास्थ्यकर खाना खाए रोगसँग लड्ने शक्ति बन्छ’ भन्ने सबैले थाहा पाउँदै छन् । सरकारी विद्यालयका अभिभावकहरू पनि यसबारे सजग हुँदै होलान् कि ! स्वस्थ खाना, शारीरिक स्वास्थ्य, पढाइ, जीवन शैलीका बारेमा बच्चाहरूकै भाषामा बुझाउन प्रत्येक आमाबुबाले प्रयास गर्नुपर्छ । बच्चाहरूलाई पत्रु खानाको सट्टा स्थानीय फलफूल र हरियो तरकारीहरू खुवाउनु राम्रो हुन्छ र सस्तो पनि पर्छ । खाजामा राजमा, चना, भटमास आदि परिकारका साथै अन्नले बनेको हलुवा, रोटी बनाउन सकिन्छ । कतिपय बच्चाले दाल मन पराउँदैनन् तर बारा खान्छन् । रोटी, हलुवा वा सुप बनाए बच्चा र वयस्क दुवैलाई काम लाग्छ । बच्चाहरूको हड्डी मजबुत पार्न दही, चिज, पनिर, लस्सी जस्ता दुग्ध परिकार दिन सकिन्छ । हड्डी मजबुत पार्ने क्याल्सियम गेडागुडीमा पनि पाइन्छ ।

घरेलु खाना बनाउँदा बालबालिकालाई पनि भान्छामा काम गर्न लगाए, पौष्टिक खानाको महत्त्व सिक्छन्, आफैंले खाना पकाएको अनुभूति भएपछि उनीहरूमा खानाको रुचि पनि बढ्न सक्छ । यो रुचिले जीवनभरका लागि स्वस्थ बनाउँछ । बालबालिकालाई हरेक दिन एकै प्रकारको खानाको स्वाद मन पर्दैन, त्यसैले विभिन्न प्रकारका खानेकुरा बनाउन सके बच्चाहरू खुसी भएर खान्छन् । यति गर्न त्यति गाह्रो पनि छैन । जस्तो, आँटाको पीठोबाट कहिले रोटी, कहिले हलुवा बनाउन सकिन्छ । पीठो र हरियो तरकारी मसिनो गरी काटेर अमलेट बनाउन सकिन्छ । आँटाबाट विभिन्न थरीका सुप बनाउन सकिन्छ । बच्चाहरूको शरीरलाई प्रोटिन चाहिन्छ । अण्डा, चना, रोटीसँग वा चिउरासँग खाँदा शरीरमा कार्बोहाड्रेट र प्रोटिनको मात्र मिल्छ ।

प्याकेटको खाजालाई नाइँ किन भन्ने ?

समय अभावले गर्दा प्रायः अभिभावकले ‘छोराछोरीलाई बिस्कुट वा चाउचाउ दिन्छौं’ भन्छन् । यसो भन्ने अभिभावकहरूले बिहान अलिकति बढी खाना पकाएर, त्यसलाई खाजाका रूपमा प्रयोग गर्न सक्छन् । जस्तो— तरकारी बनाउँदा आलु बढी उसिनेर, दिउँसो त्यसलाई प्रयोग गरी फ्राइ राइस तयार गर्न सकिन्छ । उसिनेको आलुको अचार वा दही हालेर चुकौनी बनाउन सकिन्छ । त्यसलाई भुटेर चिउरासँग स्वस्थ खाजा बनाउन गाह्रो छैन । चना भिजाएर त्यसमा उसिनेको आलु, भुजिया, कागती हालेर ‘चना चटपट’ बनाउन सकिन्छ । यसरी बनाउँदा बच्चालाई स्वास्थ्य र स्वाद मिल्छ । ‘चना चटपट’ भनेपछि भुतुक्क हुने बच्चालाई यसरी घरमै स्वस्थ चटपटे दिन त सकिन्छ ।

घर–परिवारमा कसैले पकाउने, कसैले भाडा सफा गर्ने, कसैले कुचो लगाउने गरे एउटैलाई कामको बोझ हुँदैन । बालबालिकालाई पनि भान्साका काम लगाउनुपर्छ । चिनी धेरै हालेको खानेकुरा, केक आदि बहिष्कार गरेर, स्वास्थ्यवर्धक रेसादार पदार्थ पाइने खानेकुरा, तरकारी, दालका साथै कोदो र आँटाको सेल वा हलुवा बनाउन सकिन्छ । यो पोषणतत्त्वले भरिपूर्ण र सस्तो हुन्छ । केक जस्ता गुलियो खानेकुराले एकै छिनका लागि पेट भरिएको जस्तो भए पनि स्वास्थ्यकर हुन्न, बच्चाको तौल बढ्छ ।

विद्यालयमा खाजा पठाउँदा नरिवल, घरमै बनाएको बेसन वा तिलको लड्डु, चना–रोटीका साथै विभिन्न बियाँ (फर्सी, सूर्यमुखी), किसमिस आदि हालेर पठाए स्वाद र स्वस्थ दुवै पाइन्छ । पिसाबको संक्रमण हुन नदिन समय समयमा झोल पदार्थ, पानी पिइरहनुपर्छ भनेर बालबालिकालाई सिकाउनुपर्छ । यसो गर्दा थकाइ कम लाग्छ, एकाग्रता हुन्छ । उनीहरूलाई प्याकेटको जुसको सटा कागतीपानी दिनुपर्छ । पानी, लस्सी, मोही, काँक्रो आदिका साथै रसिलो फलफूल चपाएर खाँदा पनि शरीरमा पर्याप्त पानी पुग्छ ।

छिटो र पेट भरिने खाजा

हुन त, छोराछोरीलाई स्वस्थ खानेकुरा खानका लागि तयार पार्नु ठूलो चुनौती जस्तो हुन्छ । यो चुनौतीलाई कम गर्न सकिन्छ । घरमै सबैजना सँगै काम गरेर रमाइलो गर्दै खानेकुरा बनाउन सकिन्छ । बिहानै बिहानै चनाअण्डा, दाल खाए दिउँसोसम्म काम गर्न ऊर्जा मिल्छ । खाजामा सिमी, हरियो मकै, उसिनेको अण्डा, रोटी खान सकिन्छ । सेतो पाउरोटीको सट्टा विभिन्न अन्न हालेको पाउरोटी राम्रो हुन्छ । स्वस्थ मुटुका लागि हरियो तरकारी, दालहरू खानुपर्छ । स्वादिष्ट र स्वास्थ्यवर्धक पनि । यी सबै खानेकुरा बच्चाहरूले विद्यालयमा खान मान्दैनन् वा उनीहरूलाई लाज लाग्छ भने त्यो आमाबुबाको गल्ती हो ।

प्रकाशित : वैशाख १२, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

विधेयकबिनै सकियो हिउँदे अधिवेशन

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको हिउँदे अधिवेशन पूर्णतः अनुत्पादमूलक साबित भएको छ । आवश्यक कानुनको अभाव भएको दाबी गरिरहेको प्रदेश सरकारले यस अवधिमा एउटा पनि विधेयक प्रदेशसभामा ल्याउन सकेन । विधेयक अधिवेशनको रूपमा चित्रण गरिने हिउँदे अधिवेशनमा एउटै विधेयक दर्ता नहुँदा प्रदेशसभा पूर्ण रूपमा बिजनेसविहीन बनेको थियो ।

सातौं आधिवेशनमा छ बैठक मात्र बस्यो । यसमा चारवटा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि स्थगित भयो । हिउँदे अधिवेशनको पहिलो २ वटा बैठक अविश्वासको प्रस्ताव वरिपरि बित्यो । माघ ७ गते बाध्यात्मक अवस्थामा हिउँदे अधिवेशन बोलाएको प्रदेश सरकारले माघ ९ गते दोस्रो बैठक बसेपछि ७४ दिनसम्म बैठक नै बोलाएन । यसबीचमा प्रतिनिधिसभाको पुनःस्थापना भयो । नेकपा एकता खारेज भएर एमाले र माओवादी पूर्ववत् अवस्थामा पुगे । सुरुआतमा सबैभन्दा धरमर अवस्थामा रहेको वाग्मती प्रदेश सरकार सबैभन्दा स्थितिमा पुग्यो ।

गणितीय रूपमा सरकारको अवस्था सहज भएपछि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षीले लगातार अवरोध गरिरह्यो । लगातारको अवरोध छिचोल्न नसकेपछि प्रदेश सरकारले अधिवेशन अन्त्य गर्ने सिफारिस गर्‍यो । यसबीच एउटा पनि विधेयकमाथि छलफल भएन । नयाँ विधेयक त आउन सकेन नै, प्रदेशसभाको समितिमा छलफल भएर टुंगिएको विधेयकले पनि पास हुनका लागि प्रदेशसभामा प्रवेश पाएन ।

कानुन निर्माण गर्ने थलोमा कानुनकै विषयमा मात्रै छलफल हुनुपर्ने सत्रमा एउटा पनि विधेयकमाथि छलफल नहुनु निकै लज्जास्पद विषय भएको विपक्षी दलहरूले टिप्पणी गरेका छन् । ‘सरकार टिकाउने र गिराउने खेलमा यो अधिवेशन सकियो । यो बीचमा हुनै पर्ने अन्य महत्त्वपूर्ण छलफलहरू पनि हुन सकेन । छलफलको विषय सत्ताकै वरिपरि केन्द्रित रह्यो,’ कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले वैशाख ७ सम्म तीन महिना चलेको हिउँदे अधिवेशनमा जम्मा ६ वटा बैठक मात्रै बस्नु झनै लज्जाको विषय भएको टिप्पणी गरे ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार संसद्बाट भागिरह्यो । यसमा सभामुखको भूमिका पनि शंकाको घेरामा परेको छ । ‘प्रदेश सरकार गठनको तीन वर्ष पूरा भएको छ । बाँकी रहेको २ वर्षमा धेरै काम गर्न सकिन्थ्यो । प्रदेशसभाको सातौं अधिवेशन पूरै अनुत्पादक रह्यो । यसमा न कानुनको विषयमा छलफल भयो, न त जनताका मुद्दाहरू सांसदहरूले उठाउन पाए ।’ विपक्षी विवेकशील साझाका सांसद रमेश पौड्यालले भने, ‘सरकारको जवाफदेहिता पनि संसद्प्रति रहेन । सरकार आफै. संसद्बाट भागिरह्यो ।’

प्रकाशित : वैशाख १२, २०७८ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×