गर्भावस्था गर्वकै विषय- विचार - कान्तिपुर समाचार

गर्भावस्था गर्वकै विषय

कुनै मायालु पतिले सपत्नी उभिएर ‘वी आर प्रेग्नेन्ट’ भन्नु अपराधै हो र ? के त्यस्तो लज्जाजनक काम हो र ?
दीप्स शाह

हाल सामाजिक सञ्जालमा एउटा सुन्दर तस्बिर चर्चामा रह्यो । नेपाली सिनेजगत्की एक चर्चित नायिकाले आफू गर्भवती भएको खुसी व्यक्त गर्दै पोस्ट गरेको उक्त तस्बिरमा उनका पतिले पछाडिबाट बडो प्रेमले सहारा दिएर आफ्नी श्रीमतीलाई समातिरहेका देखिन्छन् भने नायिका गर्वानुभूतिले आह्लादित हुँदै आकाशतिर अनुहार फर्काएर मुस्कुराइरहेकी छन् ।

खुसी र आनन्दले भरपूर उक्त तस्बिर नियालिसकेपछि त्यसैमाथि आएका अनगिन्ती टीकाटिप्पणीतिर मेरा आँखा पुगे, जो तस्बिरसँगैको क्याप्सन ‘वी आर प्रेग्नेन्ट’ मा केन्द्रित थिए । लगभग दुईतिहाइ टिप्पणी नकारात्मक थिए, तीमध्ये कतिपय त अत्यन्तै भद्दा र लाजलाग्दा थिए । मलाई जति प्रसन्नता तस्बिरले दिएको थियो, त्योभन्दा हजार गुणा बढी पीडा ती भद्दा र सस्ता टिप्पणीले दिए, जसले गर्भावस्था र मातृत्वप्रति नै प्रहार गरेका थिए । ज्यादाजसो टिप्पणी नायिकाका पतिप्रति लक्षित थिए । ‘वी आर प्रेग्नेन्ट’ शब्दावली नै सबैजसो प्रतिक्रिया दिनेहरूको केन्द्रमा थियो । मानौं ‘हामी गर्भवती छौं’ भनेर ती दम्पतीले, खासगरी पतिचाहिँले असाध्यै लज्जास्पद काम गरिदिए ।

त्यो अतीव सुन्दर तस्बिर र त्यसमा आएका त्यतिविघ्न नकारात्मक टिप्पणीले मलाई आफ्नै विगतमा पुर्‍याए । कुनै बेला म आफैं पनि गर्भावस्थामा समसम्ती फुलेको पेट देख्नु र देखाउनु बडो लज्जाको कुरो मान्थेँ। पहिलोपटक कसैको बडेमानको पेट, त्यो पनि पतिचाहिँले खुलेआम सार्वजनिक पार्कमा बसेर सुमसुम्याउँदै, चुम्दै गरेको देख्दा म आफैं लाजले रातोपिरो भएर खुम्चिएकी थिएँ, मानौं त्यो गर्भवती मै थिएँ र त्यसो गरेर मैले ठूलै सामाजिक अपराध गरेकी थिएँ । जीवनका केही वर्ष वैदेशिक रोजगारीमा रहँदा, त्यसअघि कहिल्यै नदेखेका/नसुनेका/नभोगेका त्यस्ता कैयौं दृश्य र घटनाहरूसँग साक्षात्कार भएको थियो । तीमध्ये त्यो गर्भवती जोडीको त्यसखाले प्रेम–प्रकटीकरण पनि एक थियो । हुन त त्यसबेलासम्म म आफैं पनि मातृत्व सुख अनुभव गरिकन दुधेबच्चा छोडेर पैसो टिप्न इजरायलसम्म पुगिसकेकी एक परिपक्व आमा थिएँ । तर त्यतिन्जेल मैले बाँचेको सामाजिक परिवेश र चालचलनले गर्भवती महिलाको त्यहाँसम्मको उदाङ्गोपन, त्यो पनि सार्वजनिक पार्कमा सामान्य मान्न दिँदैनथ्यो । ओहो, त्यो त असम्भवको उपल्लो चुली भइहाल्यो मेरा लागि ! कहाँ यता आफैं गर्भवती हुँदा अरूले देख्लान् भनेर टनटनी पेट कसेर, सास तानेर त्यसमाथि भ्याङ्ले म्याक्सीले छोपेर कुनै ठूलै कसुरदारझैं खुम्चिएर लुक्दै हिँडेको अनुभव ! कहाँ ती आमा हुनलागेका विदेशी महिलाहरू तुम्बोजस्तो फुलेको पेट मुसार्दै साना कट्टु र गन्जी लगाएर पार्क र बजार डुलिराखेका ! त्यहींमाथि तिनका पतिले खुलेआम त्यही भुक्के पेट मुसार्दै चुम्मा खाँदै हिँडिरहेका ! म त तिनीहरूलाई देख्दैमा आफैं शरमले हायलकायल भइहालेँ । तर बस्दै जाँदा त्यसखाले दृश्य बाक्लै देख्न थालेपछि भने मलाई पनि सामान्य लाग्न थाल्यो ।

अलिपछि मिरी नाम गरेकी एउटी गोरी गर्भवतीसँग मेरो मित्रता भयो, जो बेलाबखत सडक र पार्कतिर देखिन्थिन् । कहिलेकाहीं उनका पति जोसेफ पनि पत्नीको फुलेको पेट मुसार्दै चुम्दै हिँडिरहेका देखिन्थे । तर तिनको त्यो कृत्य देखेर न कसैले जिब्रो टोक्थे न अचम्म मानेर खासखुस गर्थे । एकदिन मौका पारेर मैले मिरीसँग खसखस मेटाउन खोजेँ— त्यसरी कट्टु लगाएर फुलेको भुँडी देखाउँदै हिँड्दा लाज लाग्दैन ? झन् पतिले त्यसरी चुम्माचाटी गर्दै हिँड्दा अप्ठ्यारो लाग्दैन ? दुनियाँले कुरा काट्दैनन् ? उनले मतिर हेर्दै प्रतिप्रश्न गरिन्, ‘आफू आमा हुँदा तिमीलाई चाहिँ लाज लाग्या थियो र ?’ मैले आफ्नो अनुभव र भोगाइ सुनेपछि मिरीले बडो विस्मय र अविश्वासको भावमा भनिन्, ‘त्यही भएर तिमीहरूकोमा आमा र बच्चाको मृत्युदर धेरै हुन्छ । सृष्टिको सुन्दरतम र बहादुरी काम हो, आमा हुनु भनेको । त्यही कामलाई पनि लाजको टुप्पामा राख्ने ?’ मभन्दा केही वर्ष सानी तर हुनैलागेकी आमाले मलाई मातृत्व र त्यसको महानताबारे लम्बेतान तर र गहन लेक्चर पनि दिइन्, ‘आफ्नो जिन्दगीलाई मृत्युको ढोकामा पुर्‍याएर, आफैंभित्र अर्को जीवन धारण गरी त्यसलाई सकुशल पृथ्वीमा ओराल्नु जस्तो महान् कामलाई किन लुकाउने ? एउटी नारीको जीवनकै सबैभन्दा नाजुक र संवेदनशील समयलाई किन झन् जटिल बनाइदिएर खुम्च्याउने ? अझै त्यस समयमा उसलाई पतिको साथ र सहाराको कति जरुरत हुन्छ ! त्यस्तो बेला पत्नीको साथ, भरोसा हुनुपर्ने उसको कर्तव्य नै हो । त्यो उमंग, आनन्द र कष्टलाई नजिकबाट नियालेर साझा गर्नु कसरी शरमको कुरा हुन्छ ? के तिमी त्यो अवस्थाबाट गुज्रिँदा तिमीलाई आफ्नो पति साथमा भइदेओस् भन्ने लागेको थिएन ?’ सन्तान जन्माइसकेर त्यो प्रसव–कष्ट सहिसकेर पनि मैले गर्भावस्थाको संवेदनशीलतालाई त्यसरी त हेरेकै पो रहिनछु । हुन पनि आफ्नो शरीरभित्र अर्को जीवात्मा धारण गरेर अनेक कष्ट सहंँदै मृत्युसँग लाप्पा खेल्दै आफ्नै रगतमासुको डल्लोलाई धरतीमा ओराल्नु चानचुने कुरो होइन ।

काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालको म्याटर्निटी वार्डमा प्रसवको भयानक त्यो पीडाले अत्तालिएर मैले नर्सलाई भनेकी थिएँ— यदि म पीडाले मरिहालेँ भने मैले जन्माउने बच्चालाई पनि मारिदिनु ल !’ त्यसबेला मलाई लागेको थियो— मै मरेँ भने नवजात शिशु कसरी हुर्केला यो दुनियाँमा, ‘आमा टोकुवा’ को ठप्पा टुहुरो निधारमा बोकेर ! ओहो, कस्तो डरलाग्दो कामना थियो मेरो ! कति त्रस्त थिएँ म ! त्यत्रो पीडाबाट गुज्रेर भुइँमा ओराल्दिसकेको बच्चालाई काखमा राखेर म्वाइँ खानुजस्तो सजिलो हो, गर्भावस्था पार गर्नु ? होइन भने त्यो सारा कष्ट र दर्दको समयमा ‘म पनि साथै छु, तिमी एक्ली छैनौ, तिम्रो पीडा म पनि अनुभव गरिरहेछु, जसको कारक म पनि हुँ’ भनेर माया र आफ्नोपन अनि साझेदारीको हकले, कर्तव्यले कुनै मायालु पतिले सपत्नी उभिएर ‘वी आर प्रेग्नेन्ट’ भन्नु अपराधै हो र ? के त्यस्तो लज्जाजनक काम हो र ?

हामी यस्तो समाजमा बाँचिरहेछौं, जहाँ छाउको नाममा, दाइजोको नाममा, छोरी भ्रूणको नाममा, बलात्कारको नाममा, कथित तल्ला जातको नाममा, गरिबी र अभावको नाममा, माथिसम्मको पावर र पहुँचको नाममा मानवसमाजकै कलंकित, दुर्गन्धित र सर्वथा वर्जित कुकृत्यको दैनिक साक्षी हुनु परिरहेको छ । लाजले मरेतुल्य हुन यिनै विषय काफी छैनन् ? यी सबमा हामी लाजै पचाएर हाँसिरहेछौं त एउटा प्रेमिल दम्पतीले निष्कलंक आफ्नो खुसी सार्वजनिक गर्दा किन यत्रो आपत्ति ? होला, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अनेकानेक बेथितिले बिथोलिएर हाम्रो पुस्ता सर्वाधिक निराश छ । तर ती सारा नैराश्य र कुण्ठा पोख्न हामी कसैको अलौकिक खुसीमा मनलाग्दी हिलो छ्याप्न स्वतन्त्र छौं र ? कुण्ठा या अर्ती–उपदेशको नाममा त्यसरी मातृत्व र वात्सल्यमाथि नै भद्दा मजाक गर्ने अधिकार कसले दियो हामीलाई ?

deepssanu@gmail.com

प्रकाशित : वैशाख ९, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

कम्युनिस्ट आन्दोलनको पुनर्गठन

प्रेमलकुमार खनाल

लेनिनको जन्मदिन पारेर २००६ सालको वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यस हिसाबले नेपालमा संगठित तवरले कम्युनिस्ट आन्दोलनको सुरुआत भएको ७२ वर्ष पूरा भएको छ ।

यो अवधिमा कम्युनिस्ट आन्दोलनको विकास र विस्तारबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्, सँगसँगै गम्भीर चुनौती पनि देखापरेका छन् । २००८ असोज ११–१६ गते सम्पन्न प्रथम सम्मेलनमा महासचिव पुष्पलालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मुलुकमा नयाँ जनवादी क्रान्ति गरेर अर्ध–सामन्ती र अर्ध–औपनिवेश स्थितिको अन्त्य गर्ने उल्लेख छ ।

२०६३ सालसम्म आइपुग्दा कम्युनिस्टहरूको सामन्तवादविरोधी आन्दोलन उत्कर्षमा पुगेको थियो, यही वर्ष राजतन्त्रले घुँडा टेक्यो । पुष्पलालले पार्टी स्थापनाका बेला अगाडि सार्नुभएको संविधानसभाको एजेन्डा २०६५ सालमा पूरा भयो । झन्डै ७ वर्ष लगाएर दोस्रो संविधानसभाबाट संविधान घोषणा भयो । नेकपा एमाले, माओवादी केन्द्र लगायतका वामपन्थी दलहरूको सहकार्यबाट जनता सार्वभौमसत्ता सम्पन्न रहने र समाजवादको आधार निर्माण गर्ने संविधान बनाउन सफल भइयो । संविधानअनुसार निर्वाचनबाट संघ र प्रदेशका संसद् तथा स्थानीय तहमा झन्डै दुईतिहाइ हाराहारीमा वामपन्थीहरू विजयी भए । वाम गठबन्धनको नेतृत्वमा संघ तथा प्रदेशहरूमा सरकार गठन भए । यसबाट, एक अर्थमा, पुष्पलालले अगाडि सार्नुभएको जनवादी राजनीतिक क्रान्तिको लक्ष्य पूरा भएको छ । अब नेपाली क्रान्तिलाई पूर्णता दिन समाजवादी क्रान्ति गर्दै मुलुकलाई समाजवादी बाटामा अगाडि बढाउनुपर्ने दायित्व वामपन्थी दलहरूसामु छ ।

यो कालखण्डमा नेपाली समाजमा विकास भएको चेतनाको जगमा द्वन्द्वात्मक भौतिकवादी एवं मार्क्सवादी विचारले बहुसंख्यक मानिसलाई समेट्दै लगेको छ । कुल मतदातामध्ये झन्डै ६० प्रतिशतले कम्युनिस्ट पार्टीका नीति, विचार, कार्यक्रमबाट आकर्षित भएर निर्वाचनमा वामपन्थी उम्मेदवारहरूलाई मत दिए । सुरुमा ५ जनाबाट स्थापना भएको कम्युनिस्ट पार्टीमा आज लाखौंलाख मानिस आबद्ध छन् । यसका साथै पार्टीभित्रका युवा, महिला, किसान, मजदुर लगायतका पेसागत संगठन र ट्रेड युनियनहरूमा पनि लाखौं मानिस संगठित छन् ।

कम्युनिस्ट नेतृत्वमा पहिलो महाधिवेशनदेखि नै दक्षिणपन्थी रुझान देखापरेको थियो । दोस्रो महाधिवेशनमा राजापरस्त केशरजंग रायमाझी नेतृत्व नै हत्याउन सफल भए । त्यसपछि कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी एवं आत्मसमर्पणवादी चिन्तन तथा प्रवृत्तिहरू बढ्दै गए । यस्ता प्रवृत्तिलाई परास्त गर्दै २०३० सालको दशकमा पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढ्यो । २०६२/६३ को आन्दोलनमा प्रकट भएका गणतन्त्रको कार्यदिशाविरुद्ध दक्षिणपन्थी, यथास्थितिवादी सोच, चिन्तन र विचारहरूलाई आन्दोलनको रापतापले परास्त गर्‍यो ।

नेपालको कम्युनिस्ट आन्दोलन अब नयाँ कार्यदिशाका साथ अगाडि बढ्दै छ । नेपाली अर्थराजनीतिमा हावी हुँदै गएको दलाल पुँजीवादलाई नियन्त्रण गरेर राष्ट्रिय पुँजीको निर्माण गरी उत्पादन र रोजगारी वृद्धि हुने क्षेत्रमा व्यापक लगानी, औद्योगिकीकरणको थालनीसँगै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटामा अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व वामपन्थीहरूका सामु आएको छ ।

राष्ट्र र जनताको यही अभिभारालाई पूरा गर्न नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर दुईतिहाइ नजिकको सरकार गठन भएको थियो । तर, सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको बाटो लिएपछि नेकपाभित्र अन्तरसंघर्ष तीव्र रूपमा अगाडि बढ्यो । पार्टीको अन्तरसंघर्षलाई सामना गर्नुको सट्टा गत पुस ५ मा पार्टीको परामर्शबिनै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र असामान्य अवस्था सिर्जना भयो । प्रधानमन्त्रीको यो कदम प्रतिगामी भएको पार्टीले ठहर गर्‍यो र यसका विरुद्ध आन्दोलन गरियो । अन्ततः सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापन गर्‍यो । तर, फागुन २३ को अर्को फैसलाले नेकपाको दर्ता खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगे ।

ओलीले फागुन २८ मा आफ्नो गुटका व्यक्तिहरू मात्रै बोलाई विधानविपरीत बैठक बसेर विभिन्न निर्णय गरी पार्टी अवैधानिक हिसाबले कब्जा गरेपछि एमालेभित्र राजनीतिक विभाजन भएको छ । झलनाथ खनाल–माधव नेपाल समूहले क्रान्तिकारी धारको नेतृत्व गरेर पार्टी पुनर्गठनको अभियानलाई अगाडि बढाएको स्थिति छ भने ओलीले दक्षिणपन्थी बाटोलाई । एमसीसी सम्झौता जसरी पनि संसद्बाट अनुमोदन गराउन ओलीले कांग्रेस र मधेसवादी दलसँग गरेको सहकार्यले गर्दा पनि पार्टीभित्र स्पष्ट दुई लाइन देखिएका छन् । र, एमालेको अन्तरसंघर्ष अब पुनर्गठनको दिशातर्फ अगाडि बढिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा देखापरेको अन्तरसंघर्ष तेस्रो महाधिवेशनमा पुग्दा पुष्पलालले रायमाझीलाई निष्कासन गरेर पार्टी पुनर्गठन प्रक्रिया अगाडि बढाउनुभएको थियो । अहिले त्यही स्थिति देखिएको छ ।

प्रधानमन्त्री ओलीको व्यक्तिवादी, सर्वसत्तावादी, अवसरवादी र दक्षिणपन्थी सोच अनि व्यवहारका कारण एकीकृत कम्युनिस्ट पार्टी तीन वर्ष नपुग्दै विभाजित भयो । एमालेसमेत विभाजित भएको छ । कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि यो दुःखद पक्ष हो । यस घटनाले मुलुकको लोकतन्त्रीकरण प्रक्रिया र समाजवाद स्थापना गर्ने युगीन अभिभारा पछाडि धकेलिएको छ । कम्युनिस्ट पार्टीमा विचार एउटाको पारित हुने तर नेतृत्व अर्को हुने जुन स्थिति हुन्छ, यसैको परिणाम हो— अहिलेको परिस्थिति । ओली गणतान्त्रिक आन्दोलनमा असहमत हुँदाहुँदै पनि जनताको आँधीबेहरीले गणतन्त्र आयो । आन्दोलनको बलमा वामपन्थीहरूकै सहकार्यमा संविधान बन्यो । एमालेको नवौं महाधिवेशनले समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने कार्यदिशा अगाडि सार्‍यो, जसलाई ओलीले महाधिवेशन हलभित्रै अस्वीकार गरेका थिए । तर, अध्यक्षमा निर्वाचित भए पनि ओलीले त्यो कार्यदिशा अनुरूप पार्टी र सरकार सञ्चालन नगरेकै कारण समस्या उत्पन्न हुँदै गए । पार्टीलाई विधानविपरीत सञ्चालन गरेर वरिष्ठ नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारीबाट मुक्त गर्ने र आफू बहुमतमा रहेको देखाउन अन्य पार्टीबाट आएकालाई जिम्मेवारी दिने काम गरे ।

नेपालका वामपन्थीहरूका सामु हजारौं जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढ गर्ने र संविधानको प्रभावकारी कार्यान्वयन गरेर परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्ति अगाडि बढाउने अभिभारा छ । यसका लागि वाम आन्दोलनभित्र क्रान्तिकारी ध्रुवीकरण गरेर दक्षिणपन्थी अवसरवाद र विसर्जनवादविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गर्दै आन्दोलनलाई विचार, संगठन र कार्यशैलीका क्षेत्रमा व्यापक पुनर्गठन गरी नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्नु जरुरी छ । साथसाथै अब नेपाली क्रान्तिलाई अगाडि बढाउन समाजवादी क्रान्तिका सही कार्यक्रम र कार्यदिशा तय गर्नतर्फ ध्यान दिनु आवश्यक छ ।

अब कम्युनिस्ट पार्टीलाई व्यक्तिवादबाट मुक्त गर्न पार्टीभित्र लोकतान्त्रिक पद्धतिको जीवन्त अभ्यास, अनुशासन र स्वतन्त्रताको दृढता, सामूहिक निर्णय, संवाद र जवाफदेहीमा आधारित जनवादी केन्द्रीयताको अभ्यास जरुरी छ । यसो भए मात्रै पार्टी, समाज र राष्ट्र लोकतन्त्रीकरणको दिशातिर बढ्छन् । कम्युनिस्टभित्र हुर्किएको विकृति, विसंगति र दक्षिणपन्थी सोच–चिन्तन–प्रवृत्तिविरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गरेर यो आन्दोलनलाई मार्क्सवादीकरण र क्रान्तिकरण गर्ने अनि पार्टीभित्र सर्वहाराकृत वर्ग दृष्टिकोण, कार्यशैली र जीवनशैलीको विकास गर्नुपर्ने खाँचो पनि उत्तिकै छ । आन्दोलनभित्र नेतृत्व निर्माण, विकास र हस्तान्तरण पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । खासगरी नयाँ पुस्तालाई पार्टीभित्र उन्नत वैचारिक स्तरका साथ भर्ती गर्न, उनीहरूलाई मार्क्सवादी चेतना र विचारले ओतप्रोत गराउन र नेतृत्व विकासका लागि संरचनागत व्यवस्था गर्दै नेतृत्व हस्तान्तरणलाई सहज बनाउन आवश्यक छ । पार्टीभित्र विद्यमान दक्षिणपन्थी सोच, चिन्तन र गुट–उपगुटलाई अन्त्य गर्न कार्यसम्पादनमा आधारित नेतृत्व छनोटको विधिलाई सँगसँगै अवलम्बन गर्नुपर्छ ।

(खनाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित : वैशाख ९, २०७८ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×