परिवार नियोजनका साधनका असर- विचार - कान्तिपुर समाचार

परिवार नियोजनका साधनका असर

एकतिर नचाहिने ठाउँमा परिवार नियोजनको साधन प्रयोग गरेर महिलाको प्रजनन स्वास्थ्यमै नराम्रो असर परेको छ, अर्कोतिर महिलाले बच्चा नहोस् भन्ने चाहेर पनि परिवार नियोजनका साधन प्रयोग गर्न पाएका छैनन् ।
अरुणा उप्रेती

केहीअघि अछाम पुग्दा मेरो भेट त्यहाँको स्वास्थ्यकर्मीसँग भयो । एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको पाँच वर्ष भयो, बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा (परिवार नियोजनको सुई) लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’

यति भनिसकेपछि मैले उनलाई सोधें, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो, तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’

उनको जवाफले म अवाक भएँ । कुराकानी अगाडि बढाउँदै मैले भने, ‘हामी पनि परिवार नियोजनका साधन प्रयोग गर्न सिकाउँछौं तर एउटा बच्चा पाएपछि मात्र । जसले तपाईंलाई यो सिकायो उसले आफ्नो छोरी, बुहारी, भान्जी कसैलाई पनि एउटा बच्चा नजन्माई परिवार नियोजनको साधन प्रयोग गर्न लगाउँदैन । यो तपाईंप्रति गरिएको अन्याय हो ।’

परिवार नियोजनको साधनले महिलालाई गर्भवती हुनबाट रोक्छ । उनको जीवनको रक्षा गर्छ तर जथाभावी प्रयोग गर्दा यसले महिलाको स्वास्थ्य जीवनमा नराम्रा असर पर्न सक्छन् भन्नेबारे के स्वास्थ्य मन्त्रालयले विचार गरेको छ ? एउटा पनि बच्चा नभई यसरी महिलाले परिवार नियोजनको सुई प्रयोग गर्दा कहिलेकाहीँ लामो समयसम्म बच्चै नहुने सम्भावना बढ्छ । सुदूरपश्चिमका महिलाहरूले गर्भ नरहोस् भनेर पहिलो बच्चा नहुँदै यसरी अनेक साधन प्रयोग गर्दा उनीहरूको बच्चा जन्मन ढिलो हुन्छ । यसले गर्दा उनीहरूलाई घर–समाजले अपमानित गरिन्छ । श्रीमान्ले ‘बाँझी भई’ भनेर अर्को विवाह गर्छन् । अनि ती महिलाका जीवनमा अनेक दुःख आइपर्छ ।

सुदूरपश्चिममा मात्र होइन, नेपालका विभिन्न ठाउँमा पनि यसरी एउटा पनि बच्चा नपाई हर्मोनयुक्त परिवार नियोजनको साधन प्रयोग गरे हुन्छ भनेर स्वास्थ्य मन्त्रालयले सिकाउने रहेछ । महिलाको शरीरलाई केवल यन्त्र ठान्ने मानसिकताले गर्दा तराई र सुदूरपश्चिमका महिलाहरूले कति गाह्रो जीवन बिताउनुपर्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयका पदाधिकारी केही दिन त्यहीँ गएर बसे थाहा भइहाल्छ ।

सुदूरपश्चिमकी साउद थर गरेकी २० वर्षीया महिलाको सरकारी जागिरमा नाम निस्केको रहेछ । त्यतिबेला उनको ३ महिनाको गर्भ रहेछ । गर्भवतीलाई तालिम दिँदैनन् भन्ने थाहा पाएपछि उनले १२ हप्तामा गर्भ तुहाउने औषधि खाइछन् । औषधि सेवनपछि अत्यधिक रगत बगेछ । परिवारले अस्पताल लग्यो भने स्वास्थ्यकर्मीले गाली गर्छन् कि भन्ने डरले घरमै राखेछन् । दुई दिनपछि रगत धेरै बगेकाले उनको मृत्यु भएछ । त्यहीँको एक सामुदायिक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले यो घटना बताउँदा म झसंग भएकी थिएँ । २० वर्षीया साउदको मृत्यु सायद मातृ मृत्युमा दर्ता गरिएन, किनकि उनी गर्भ रहेपछि जाँच गराउन गएकी थिइनन् । यदि गएको भए उनलाई स्वास्थ्यकर्मिले ‘पहिलो गर्भ’ सकेसम्म तुहाउनु हुँदैन भनेर सल्लाह दिन्थे होलान् । तर यस्तो जानकारी गाउँघरमा कसले दिने ?

यति सुनाइसकेपछि ती स्वास्थ्यकर्मीले त्यहीँको अर्को यस्तै घटनाबारे बताइन् । बुढा थर गरेकी महिलाका छवटा बच्चा भइसकेका रहेछन् । श्रीमान्ले गर्भनिरोधक साधन प्रयोग गर्न नदिएर सातै बच्चा पाउँदा उनको मृत्यु भएको रहेछ । परिवार नियोजनको साधन प्रयोग गरे ‘म नहुँदा अरूसँग पल्किन्छे’ भन्ने धारणा त्यहाँका पुरुषहरूमा रहेछ । उनी त्यतिबेला एकदमै पातली थिइन् रे ! उनले स्वास्थ्यकर्मीलाई भनेकी पनि रहिछन्, ‘मलाई, जतकाल (यो गर्भ) त मेरो काल नै हुन्छ कि क्या हो, जस्तो लाग्छ ।’ उनी कतै जँचाउन पनि गइनछन् । घरमै बच्चा पाएपछि उनको रगत धेरै बगेछ । ती स्वास्थ्यकर्मीले यो खबर पाएपछि अस्पताल लौजाने तयारी गर्दै थिइन् तर उनी नपुग्दै ती महिलाको ज्यान गएछ । स्वास्थ्यकर्मीले भनिन्, ‘मैले कति प्रयास गर्दा पनि उनलाई गर्भवती हुनबाट रोक्न सकिनँ उनको ज्यान बचाउन सकिनँ ।’ त्यसपछि उनको आँखाबाट आँसु झर्‍यो । लोग्नेको कुरा काट्ने साहस नभएकाले ती महिलाको मृत्यु भयो । सायद ती महिलाको पनि मातृ मृत्यु दर्तामा नाम चढेन ।

एकतिर नचाहिने ठाउँमा परिवार नियोजनको साधन प्रयोग गरेर महिलाको प्रजनन स्वास्थ्यमै नराम्रो असर परेको छ, अर्कोतिर महिलाले बच्चा नहोस् भन्ने चाहेर पनि परिवार नियोजनका साधन प्रयोग गर्न पाएका छैनन् । दुवै अवस्थामा महिलाको जिन्दगी खतरामा परिरहेको छ । महिलाको प्रजनन स्वास्थ्यलाई केवल औषधिले मात्र उपचार गर्छ भन्ने आमबुझाइ छ । महिलाप्रति गरिने व्यवहारले पनि महिला स्वास्थ्यमा असर पार्छ । प्रजनन स्वास्थ्यका समस्या सामाजिक कुरीतिसँग पनि गाँसिएका छन् ।

सुदूरपश्चिमका महिलाहरूलाई दिनदिनै यस्तो समस्या पर्छ तर भन्ने ठाउँ नभेटेर उनीहरू चुप बस्छन् । जनस्वास्थ्य कार्यालयको अनुगमनमा सायद यस्ता समस्याका बारे छलफलै हुँदैन । अनि महिला भएर जन्मनु श्राप नै होजस्तो हुन्छ, सुदूरपश्चिममा ।

प्रकाशित : चैत्र २७, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

एनभीए क्लब लिग : न्यु डायमन्ड च्याम्पियन

चोटबाट फर्केको पहिलो आधिकारिक प्रतियोगितामै प्रतिभा माली सर्वोत्कृष्टसमेत भइन्
कुशल तिमल्सिना

काठमाडौँ — अघिल्लो वर्षको माघमा आरबीबी–एनभीए क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा घुँडामा चोट बोकेपछि न्यु डायमन्ड स्पोर्ट्स क्लब तथा राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभा माली एक वर्ष कोर्टबाहिर रहिन् । कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बन्द भएको समयलाई उनले चोटबाट तंग्रिन खर्चिइन् । 

एनभीए क्लब लिगको महिला च्याम्पियन न्यु डायमन्ड क्लब तस्बिर : केशव थापा/कान्तिपुर

कोरोनापछि खेल गतिविधि सुरु हुँदा प्रतिभा खेल्न सक्ने भइसकेकी थिइन् । पोखरा टाइगर कप र नेपालगन्जको प्रधानमन्त्री कपपछि एनभीए लिग भलिबलमा त उनले कमालै गरिन् । कोर्टभित्र प्रतिभाको चातुर्यता र प्रेरणादायी प्रदर्शनकै कारण न्यु डायमन्डले प्रतियोगिताको उपाधि जितेको छ । चोटबाट फर्केको पहिलो आधिकारिक प्रतियोगितामै उनी सर्वोत्कृष्टसमेत भइन् ।

न्यु डायमन्डले पुलिसलाई लिग चरणमै सोझो सेटमा हराएको थियो । आर्मीसँग पहिलोपल्ट हारे पनि एपीएफलाई हराएर टोली फाइनल पुगेको हो । युवास्टार उषा भण्डारी, कामना विष्ट र अनुभवी खेलाडी कोपिला उप्रेतीप्रेरित पुलिस क्लबलाई न्यु डायमन्डले ५ सेटको रोमान्चक प्रतिस्पर्धामा हराएको हो ।

रिसिभमा कमजोरी दोहोर्‍याउनुको असरले न्यु डायमन्ड पहिलो सेटमा हार्‍यो । दोस्रो र तेस्रो सेटमा पुनरागमन गरे पनि चौथो सेट गुमायो । निर्णायक सेटमा उनै प्रतिभाले आफूलाई सशक्त साबित गरिन् । अघिल्लो वर्ष फाइनलमा चोट बोकेपछि उपाधि जित्न नसकेको सपना यसपल्ट पूरा गरिन् ।

२२–२५, २५–११, २५–१९, २१–२५, १५–११ को सेट जितेको न्यु डायमन्डले खेलमा १ सय ८ अंक जोड्यो । त्यसमध्ये ४४ अंक प्रतिभा एक्लैले बटुलिन् । पावर स्पाइक, सर्भ र चलाखीपूर्ण प्लेसिङ, सबै जिम्मेवारीमा उनी पोख्त देखिइन् । जबकि उनी अझै पूर्ण फिट भइसकेकी छैनन् । ‘प्रतिभा हाम्रो मुख्य खेलाडी हुन् । उनले आज आफ्नो जिम्मेवारी पूर्ण रूपमा निभाइन् । तर अझै राम्रोसँग फिट भइसकेकी छैनन्,’ २०६९ सालमा आयोजित यही प्रतियोगिताको पहिलो संस्करण विजेता न्यु डायमन्डका प्रशिक्षक कुमार राईले भने, ‘उनलाई लगभग निको भइसकेको छ । इन्ज्युरीपछि शतप्रतिशत रिकभरी चाहिँ नेपाली खेलकुदमै दुर्लभ उदाहरण हो । हामी यसमा खुसी छौं ।’

महिलातर्फको मोस्ट भ्यालुएबल प्लेयरको अवार्डसहित प्रतिभा माली

विभागीय टोलीलाई चुनौती दिने एकमात्र टिम हो न्यु डायमन्ड । पहिलो संस्करण जिते पनि उपाधिका लागि करिब ८ वर्ष प्रतीक्षा गर्नुपर्‍यो । न्यु डायमन्ड २०७५ वैशाखमा सम्पन्न चौथो संस्करणमा फाइनलमा एपीएफसँग पराजित थियो । ‘यो सफलता गर्व गर्न लायक किन छ भने मेरा खेलाडीको पढाइबाट बचेको समयमा दिनको ५/६ घण्टा प्रशिक्षण गराएर तयार टोलीलाई हराउँदा स्वर्ग पुगेजस्तो हुँदोरहेछ,’ प्रशिक्षक राईले ठट्टा गरे ।

पहिलो सेटमा पुलिसका स्पाइकर उषा र कोपिलाले ४–४ र कामनाले ३ स्कोर गरेका थिए । प्रतिभाले १२ स्कोर गर्दा पनि सेट गुमायो । दोस्रो र तेस्रो सेटमा न्यु डायमन्डको आक्रमण हेर्दा खेल ५ सेटमा पुग्ने अनुमान थिएन । यो दुवै सेटमा प्रतिभाले ७–७ अंक जोडेकी थिइन् । न्यु डायमन्डको आक्रमणभन्दा पुलिस आफ्नै कमजोरीले पछि परेको थियो । दुवै सेटमा पुलिसले १३–१३ नकारात्मक अंक दियो । चौथो सेटमा पुलिसका मिडिल ब्लकरले लोभलाग्दो प्रदर्शन गरे । यो सेटमा मनीषा चौधरीले ६ र कोपिला रानाले ४ स्कोर गरेका थिए । स्पाइकर उषा र कामनाले पनि ४–४ स्कोर गरे ।

पाँचौं सेटमा कुनै समय पुलिसले ६–५ को अग्रता बनाएको थियो । कप्तान अरुणा शाहीको सर्भमा पुलिसका खेलाडीको रोटेसन बिग्रिएपछि अंक न्यु डायमन्डलाई आयो । लगत्तै अर्को सर्भमा उनले अंक लिएपछि न्यु डायमन्ड ७–६ को अग्रतामा पुग्यो । त्यसयता उसले अग्रता गुमाउनुपरेन । ‘आज प्रतिभा र मेरो छोरी (पनामिका) ले राम्रो खेले । हामीलाई दोस्रो एट्याकरको अभाव खड्कियो । आजलाई लागि झरना (श्रेष्ठ) लाई जसरी तयार पारेको थिएँ, उनले त्यसरी खेल्न सकिनन् । उनको खेल राम्रो भइदिएको भए यो खेल पाँच सेटमा जाँदैनथ्यो,’ प्रशिक्षक राईले भने ।

फाइनलमा पुलिस मुख्य गरी उषामा निहित थियो । पहिलो सेटमा उनको आक्रमण सफल भइरहेको थियो । त्यसैले सेटर कमला पुनले उनै लक्षित बल मिलाइदिएकी थिइन् । दोस्रो सेटपछि उषालाई रोक्ने न्यु डायमन्डको रणनीति सफल हुन थाल्यो । उनको प्रहार कोर्टबाहिर पुग्ने या ब्लक भएर आफ्नै कोर्टमा खस्ने हुन थाल्यो ।

‘सुरुमा राम्रो भइरहेको थियो । दोस्रो र तेस्रो सेटमा हाम्रो बीचको एट्याकर चल्न सकेन । त्यसबाहेक रेफ्रीको निर्णयप्रति पनि म आज धेरै नै असन्तुष्ट छु,’ पुलिसका प्रशिक्षक रुपेश विष्टले भने । उनले उषा चोटग्रस्त रहेको खुलाए, ‘उषाले घुँडा र गोलीगाँठाको चोटकै बीचमा खेलेकी हुन् । विपक्षीले उनीलक्षित गरी रणनीति बनाए । त्यसैले हार्नुपर्‍यो ।’ यसअघि पोखरा र नेपालगन्जमा भएको प्रतियोगितामा पुलिसले न्यु डायमन्डलाई हराएको थियो ।

पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

आफैंले रोजेको फाइनल प्रतिद्वन्द्वी एपीएफमाथि हेल्प नेपाल स्पोर्ट्स क्लबको जित अपेक्षित थियो । लिग चरणको अन्तिम खेलमा दोस्रो रोजाइको टिम खेलाएर हेल्प नेपालले एपीएफलाई फाइनलमा पुर्‍याएको थियो । भारतीय राष्ट्रिय टोलीका कप्तान विनित कुमारसहित रोहित कुमार र विकास तमाकको जादुयी प्रदर्शनमा हेल्प नेपालले २५–१४, २५–२०, २५–२२ को सहज सेटमा जित पाएको हो ।

लिग चरणमा हेल्प नेपालले एपीएफसँग जानीजानी हारेको भन्दै सामाजिक सञ्जालमा समर्थकले विरोध गरे पनि उपाधि जितेपछि प्रशिक्षक रमेश केसीले भने आफ्नो रणनीति सफल भएकोमा खुसी व्यक्त गरे ।

पुरुषतर्फको उपाधिसहित हेल्प नेपाल

उपाधिसँगै न्यु डायमन्ड र हेल्प नेपालले ३–३ लाख रुपैयाँ नगद पुरस्कार पाए । महिलातर्फ उपविजेता पुलिस र पुरुषतर्फ एपीएफले १ लाख १५ हजार पुरस्कार पाए । महिलातर्फ तेस्रो र चौथो हुने क्रमशः एपीएफ र त्रिभुवन आर्मीले ७५ हजार र ३७ हजार ५ सय पुरस्कार पाए । पुरुषतर्फ तेस्रो बुलबुले रारा भलिबल क्लबले ७५ हजार र चौथो पुलिसले ३७ हजार ५ सय पुरस्कार पाए । पुरुषतर्फ साबिक विजेता त्रिभुवन आर्मी यसपल्ट शीर्ष चारभित्र पर्न सकेन ।

पुरुषतर्फको मोस्ट भ्यालुएबल प्लेयरको अवार्डसहित विनित कुमार

विधागत पुरस्कारमा महिलातर्फ पुलिसकी उषा भण्डारी (स्पाइकर), पुलिसकै मनीषा राई (ब्लकर), पुलिसकै कमला पुन (सेटर), न्यु डायमन्डकी सलिना श्रेष्ठ (लिबेरो), न्यु डायमन्डकी ललिता नाथ (सर्भर) र न्यु डायमन्डका कुमार राई (प्रशिक्षक) मा उत्कृष्ट चुनिए ।

पुरुषतर्फ विधागतमा बुलबुले राराका पाकिस्तानी खेलाडी मुराद जियान (स्पाइकर), पुलिसका दीपकराज जोशी (ब्लकर), हेल्प नेपालका भारतीय खेलाडी विकास कुमार तमाक (सेटर), बुलबुलेका धनश्याम चौधरी (सर्भर), एपीएफका विनोद चन्द (लिबेरो) र हेल्प नेपालका रमेश केसी (प्रशिक्षक) उत्कृष्ट चुनिए । विधागतमा महिला र पुरुषतर्फ विजेताले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडी न्यु डायमन्डकी प्रतिभा र हेल्प नेपालका विनित कुमारले जनही २५ हजार पुरस्कार पाए ।

प्रकाशित : चैत्र २७, २०७७ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×