कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली कांग्रेस कता ?

बाह्रबुँदेदेखि हालसम्मका सबै उपलब्धि निरर्थक र लोकतान्त्रिक गणतन्त्र पराजित हुने परिस्थिति उत्पन्न हुन नदिन कांग्रेस कसरी अगाडि बढ्छ, यसैमा धेरै कुरा निर्भर हुन्छ ।
चन्द्रकिशोर

महान् वामपन्थी एकता’ गर्न हिँडेका पार्टीहरू सर्वोच्च अदालतको एक फैसलाबाट साबिककै अवस्थामा पुगेका छन् । यी पार्टीहरूले यसरी छुट्टिएर पनि गृहकलह निभाउन सकिरहेका छैनन् । एमालेमा सल्केको भुसको आगोले डढेलोको रूप लिएको छ ।

नेपाली कांग्रेस कता ?

संसदीय दलदलमा प्रचण्ड यति भासिँदै गएका छन्, उम्कन जति हातखुट्टा चलाउँदै छन् त्यत्ति नै धसिँदै छन् । यी कम्युनिस्टहरूको दन्तबझान र एकअर्कालाई सिद्ध्याउने खेलका कारण नेपाली कम्युनिस्ट राजनीति इतिहासकै कठिन मोडमा पुगेको छ । जति राजा महेन्द्रले सत्ताको प्रलोभनमा पारी कम्युनिस्टहरूलाई सखाप पार्न सकेनन्, त्योभन्दा विनाशकारी नियति यी कम्युनिस्ट कहलिनेहरूले यतिखेर भोगिरहेका छन् । छिमेकी भारतीय राज्य पश्चिम बंगालमा त्यहाँको प्रादेशिक चुनावलाई लिएर हुँदै गरेको घम्साघम्सीमाझ एउटा नाराले निकै चर्चा पाएको छ— ‘खेला हबे, भयंकर खेला हबे, ई माटी तेई खेला हबे ।’ अर्थात्, खेल हुन्छ, खतरनाक खेल हुन्छ र यसै भूमिमा खेलिनेछ । नेपालका कमरेडहरू ‘खेला हबे’ मै मग्न छन् ।

यी कमरेडहरूको राजनीतिक आत्मदाहको रापले अन्य राजनीतिक पार्टीहरू पनि पिल्सिँदै छन् । यसमा पहिलो हो— जसपा । जसपाको अहिलेको भूमिकालाई लिएर देहातमा भन्ने गरिन्छ, ‘कुछ ड्रामा, कुछ सच ।’ त्यसभित्र जे हुँदै छ, त्यसको पटकथा निश्चित छ । कथाले सधैं पटकथाअनुसार गति नलिन पनि सक्छ, तैपनि जसपाले कतै सत्ताकेन्द्रित राजनीति त गरिरहेको छैन ? यसका पूर्वघटक पार्टीहरूले एजेन्डाको राजनीतिभन्दा पनि सत्ताका लागि विभिन्न शक्तिसँग गठजोड गर्दै आएको विगत छ । यसले गर्दा तिनीहरू खडा भएको जमिन र थाम्न बढाएको हातबीच विरोधाभास देखिन्छ । विरोधाभासहरूमाझ राजनीतिक डुंगा खियाउँदै जानु तिनको नियतिमा अभिरेखांकित हुँदै आएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग कति नजिकिने, प्रचण्डलाई कति भरोसा गर्ने, शेरबहादुर देउवातिर ढल्किँदा हातमा कति आउँछ, त्यसको लेखाजोखा त हुने नै भयो । निकट अतीतमा खड्गप्रसादको शरणमा उपेन्द्र यादव किन पुगे र अहिलेको अवस्थामा वस्तुगत बदलाव के भयो ? राजनीति सधैं एउटै गोरेटोबाट मात्र हिँड्दैन भनेर उपेन्द्र–बाबुराम भट्टराईहरूलाई कसले सम्झाउने ? यो विषम परिस्थितिमा अन्योलग्रस्त रहेर जसपा सांगठनिक रूपमा कुहिन थालेको छ । यता महन्थ ठाकुरका एक भक्त बडो तन्मयताका साथ चैतावर गाउँदै देखिए, ‘आरे हमरी अटरिया हो, रामा सुगना बोले हो ।’

भुइँतहबाट हेर्दा, मुलुकमा अहिले संघीय सरकार छैन । सरकार भनेको प्रधानमन्त्री र मन्त्रीहरूको झुन्ड मात्र हैन । वर्तमान नेपाल अँध्यारो चौबाटामा उभिएको छ । सरकारले दैनिक प्रशासन, शान्ति–सुरक्षा र विकास–निर्माण कुनै पनि क्षेत्रमा अस्तित्व देखाउन सकेको छैन । अर्कातिर, जटिल राजनीतिक परिस्थिति, निष्क्रिय संसदीय गतिविधि र अपरिहार्य राष्ट्रिय विमर्श निर्माणको सेरोफेरोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि चरम द्विविधामा छ । लाग्छ, कम्युनिस्ट एकाधिकारविरुद्ध आवश्यक, सबल र रचनात्मक प्रतिपक्ष देशले पाएको छैन । कांग्रेस कति द्विविधाग्रस्त छ भनी अनुमान लगाउन यसका पछिल्ला केही निर्णय हेरे नै काफी हुन्छ । जनताले आफूहरूलाई वैकल्पिक नेतृत्वका रूपमा लिएका छन् भन्नेमा कांग्रेसका नेताहरू सचेत त छन् ?

भनिन्छ, राजनीतिमा वर्तमान हुँदैन, भूत र भविष्य मात्र हुन्छ । कांग्रेस सभापति देउवाका आलोचकहरू भन्छन्, ‘कम्युनिस्टहरूले आफ्नो महलमा लगाएको आगो टुलुटुलु हेरिरहनुमै कांग्रेसको गतिशीलता निहित छ । निष्क्रियता नै देउवाको रणनीतिक चातुर्य हो । केही नगर्नुमै कांग्रेसको बल लुकेको छ ।’ तर कांग्रेसले के बुझेको छैन भने, कम्युनिस्टहरूको कलहले उसको सफलताको पूर्ण ग्यारेन्टी गर्दैन, अवसर मात्र प्रदान गर्छ । यसमा थुप्रै जोखिम र चुनौती पनि छन् । एकातिर आफ्ना कार्यकर्तालाई सुरक्षित भविष्यको प्रत्याभूति दिने परिस्थिति निर्माणको अपरिहार्यता देखिएको छ, अर्कातिर पारम्परिक मतदाताहरूलाई ढुक्क पार्नुपर्ने र बहकिएका मतलाई फर्काउनुपर्ने छ । समयलाई चिन्न सक्ने क्षमताले नै राजनीतिकर्मीलाई नेता बनाउने गर्छ ।

मधेसतिर एउटा आहान चल्तीमा आएको छ, ‘कांग्रेसलाई कांग्रेसीहरूबाट जोगाऊ ।’ यो किनभने, कांग्रेसले आन्तरिक लोकतन्त्रलाई स्पन्दित गर्न महाधिवेशनको घोषणा गरेको छ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको महाधिवेशनले संगठनको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा पनि स्वाभाविक रूपमै प्रभाव पार्नेछ । महाधिवेशन कुन विचारका लागि र कस्तो नेतृत्व निर्माणका लागि हुँदै छ, चासोको विषय हो यो । यसले स्थापित र नवोदित दुवै खालका मानिसहरूलाई अवसर दिने अपेक्षा नाजायज छैन । तर जिल्ला राजनीतिमा स्थापित कांग्रेसीले अर्कोलाई जरैदेखि समाप्त पार्ने बाघचाल सुरु भएको छ । कस्ता मान्छे भुइँ संगठनबाट छानिएर आउँछन् ? छल र पैसाको प्रभावले तल्लो तहलाई कत्तिको गाँज्छ ? आन्तरिक निर्वाचन कत्तिको खर्चिलो हुन्छ ? आन्तरिक निर्वाचनका बखत हुँदै लागेको घात–प्रतिघातको घाउ कतिन्जेल रहन्छ ? पछिल्ला आमचुनावहरूमा हाकाहाकी अन्तर्घात गरेकाहरू कुनै न कुनै नेताको आशीर्वाद पाएकै छन् । अन्तर्घात दण्डहीनताको एउटा खुट्टो हो भने अराजकता अर्को । नेतृत्वको पहिलो कर्तव्य प्रत्येक कार्यकर्ताको सरोकार, सम्मान र स्वतन्त्रताको रक्षा गर्नु हो । पार्टीको आन्तरिक जीवनमा अनुशासनलाई फगत भागबन्डाका दृष्टिले हेर्ने उपक्रम भइरहे कांग्रेसलाई कमजोर पार्न अर्को संगठन चाहिँदैन ।

राष्ट्रिय राजनीति यतिखेर खड्ग पुराणवाचनमा सीमित भएको छ । मन पराएर वा नपराएर सबै त्यसैमा अल्झिएका छन् । प्रतिनिधिसभा विघटनपूर्व कांग्रेस महाधिवेशन चर्चामा थियो, जुन अहिले ओझेलमा परेको छ । योसँगै ओझेलमा परेको छ, कांग्रेसको आन्तरिक जीवन । अहिले कांग्रेसप्रति सबैको जिज्ञासा उसले वैकल्पिक सरकारको नक्सा कोर्न सक्छ कि सक्दैन भन्नेमा सीमित भएको छ । क्रियाशील सदस्यता वितरणको निहुँमा हुने कपटको खेल ओझेलमा पर्दै गएको छ । यसैकारण जिल्ला–जिल्लाबाट असन्तुष्टिको पोको बोकेर स्थानीय नेताहरू संघीय राजधानीमा ओइरिएका छन् ।

कांग्रेससामु केही प्रस्ट चुनौती छन् । पहिलो, नेतापिच्छे बोली र व्यवहारमा देखिने अन्योल र द्विविधा । दोस्रो, संसद्को प्रभावकारिताका लागि गर्नुपर्ने सक्दो प्रयास । संसद् पुनःस्थापनाको नयाँ आयामलाई प्रस्ट रूपमा आत्मसात् गर्नका लागि आत्मविश्वासका साथ कांग्रेस परिचालन गर्न सक्ने नेतृत्वको खाँचो छ । कथंकदाचित् ताजा मतादेशका लागि छिट्टै चुनावमा जाने घोषणा गर्नुपर्ने परिस्थिति उत्पन्न भयो भने लोकतान्त्रिक पार्टीको हैसियतले निर्वाचनको माहोल बनाउन तत्पर हुनुपर्छ । निकट इतिहासको सम्मानपूर्वक मूल्यांकन नगरी कांग्रेसले न आफ्नो नेतृत्वमा ल्याएको भनेर दाबी गर्ने संविधान जोगाउन सक्छ, न त संघीय गणतन्त्रमा पर्ने प्रहारहरूको सामना गर्न सक्छ । कांग्रेसको मौलिक सामर्थ्य भनेको उसको मध्यमार्गी धार हो, यसबाटै उसले राष्ट्रियता बचाउनका लागि डटेर मुकाबिला गर्न सक्छ ।

नेपालको अनुभवमा जहिले पनि वामपन्थले दक्षिणपन्थलाई मौलाउने अवसर जुराइदिएको छ । दक्षिणपन्थीसँग साँठगाँठ गरेर भए पनि कांग्रेसलाई पछार्ने उसको विगत रहेको छ । कृत्रिम राष्ट्रवादको हल्लामाझ उसको ‘राष्ट्रियता’ ले यथास्थितिकै चक्कर काटिरहेको छ । कांग्रेसलाई नेपालको भावी राजनीतिमा अझै महत्त्वपूर्ण भूमिका खेल्नु छ भने उसले वर्तमानका केही मौलिक प्रश्नहरूको जवाफ दिनैपर्छ । कांग्रेसले विभिन्न सीमान्तीकृत समुदायका जायज उकुसमुकुसप्रति कसरी आफूलाई आश्वस्तकारी शक्तिका रूपमा देखाउन सक्छ ? एमालेको चिन्तनकै भुमरीमा डुबुल्की मार्न कांग्रेसीजन हौसिइरहे कांग्रेस हुनुको के अर्थ ? समय र परिस्थितिअनुसार राष्ट्र र नागरिकलाई बुझ्ने मानसिकतामा परिवर्तन हुन जरुरी छ ।

कम्युनिस्टहरूको गृहकलह भनेको कांग्रेसी रूख जन्माउने करेसाबारी हो भन्नु हावादारी हो । अहिलेकै तालमा अघि बढिरहे कांग्रेस भूमिकाशून्य र कमजोर हुँदै जान्छ । मधेसको मूल्यमा पहाड–हिमाललाई गुमाउने, पहाड–हिमाल रिझाउने लोभमा फस्ने खालको वैचारिक अन्योल रहिरहेसम्म कांग्रेसलाई सबै नेपालवासीको साझा पार्टी हो भनेर कसले पत्याउँछ ? सोह्रबुँदे सहमति गर्ने नाममा किन नेपालको आन्तरिक राजनीतिलाई कम्युनिस्टहरूकै पोल्टामा पुर्‍याइयो र त्यसपछि लज्जास्पद ढंगले संविधान कार्यान्वयन कालमा तिनको मनपरीतन्त्रलाई फैलिन मौका दिइयो ? बाह्रबुँदेदेखि हालसम्मका सबै उपलब्धि निरर्थक र लोकतान्त्रिक गणतन्त्र पराजित हुने परिस्थिति उत्पन्न हुन नदिन कांग्रेस कसरी अगाडि बढ्छ, यसमा धेरै कुरा निर्भर हुन्छ ।

पार्टीको आन्तरिक जीवनमा राज्यशक्तिहरूको अनपेक्षित प्रवेशप्रति कांग्रेस मौन बस्न मिल्दैन । लोकतन्त्रमा पार्टी व्यवस्था र राज्य व्यवस्थाका आफ्नै सरोकार र सीमाहरू हुन्छन् । तिनको सञ्चालन र कामकारबाहीका आआफ्नै परिपाटी हुन्छन् । खेलका आफ्नै नियमहरू हुन्छन् । नेपाल कम्युनिस्ट पार्टीको एकीकरणबारे सर्वोच्च अदालतको निर्णय र त्यसपश्चात् माधव नेपाल–प्रचण्डहरूले बेहोर्नुपरिरहेको चुनौतीलाई कुनै पार्टीको आन्तरिक मामिला मात्र मान्ने वा प्रतिस्पर्धीहरू आफैं सकिँदै छन् भनेर मनमनै मुग्ध हुने ? संसदीय लोकतन्त्रको एउटा कुशल र पन्छाउन नहुने खेलाडी कांग्रेसले अहिलेको द्विविधाग्रस्त मनस्थितिबाट यथाशीघ्र मुक्त हुनुपर्छ । उदार लोकतन्त्रप्रतिको आफ्नो आस्थालाई कांग्रेसले डगमगाउन दिनु हुँदैन ।

प्रकाशित : चैत्र १९, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?