कोभिड भ्याक्सिन र अफवाह- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड भ्याक्सिन र अफवाह

डनिङ क्रुगर इफेक्टबाट प्रभावित व्यक्तिहरू आफूले संकलन गरेका भ्रामक सूचनाहरूलाई वैज्ञानिक प्रमाणले गलत सावित गरिदिए पनि तथ्य स्विकार्नेभन्दा षड्यन्त्रको सिद्धान्तको लेप लगाएर थप शंकास्पद बनाउन उत्प्रेरित हुन्छन् ।
सचिन घिमिरे

विश्वका सम्पूर्ण मानिस सुरक्षित रहून् भनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरिब तथा विकासोन्मुख देशहरूमा समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन सहज उपलब्ध गराउन तदारुकता देखाएको छ । डब्लूएचओबाट आपत्कालीन प्रयोगको स्वीकारोक्ति पाएका विभिन्न भ्याक्सिनमध्ये कोभिसिल्ड भ्याक्सिन लगाएर आफूलाई सुरक्षित बनाउन नेपाल सरकारले पनि आमजनमा अनुरोध गरिरहेको छ ।

खुला सिमानाका कारण नेपाली जनता कोभिडबाट सुरक्षित नभएसम्म ‘ट्रान्स बोर्डर इन्फेक्सन’ को सम्भावनालाई न्यूनीकरण गर्न भारतले पनि जनस्वास्थ्य कूटनीतिअन्तर्गत नेपाललाई पहिलो चरणमा १० लाख खोप उपलब्ध गराएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूलाई खोप लगाइसकेपछि नेपाल सरकारले बाँकी जनसंख्यालाई भ्याक्सिन किनेरै खोप लगाउने नीति अवलम्बन गरे पनि आमजनमा यसबारे हिचकिचाहटसमेत उत्तिकै देखिन्छ ।

डब्लूएचओको सन् २०१९ को प्रतिवेदनअनुसार, खोप लगाउन गरिने हिचकिचाहट (भ्याक्सिन हेसिटेन्सी) विश्वका दस जनस्वास्थ्य खतरामध्ये पर्छ । भ्याक्सिन उपलब्ध भएपछि पनि ढिला लगाउनु वा भ्याक्सिनले रोगप्रतिरोधी क्षमता बढाउने वैज्ञानिक आधारहरूमा विश्वास नगर्नु ‘भ्याक्सिन हेसिटेन्सी’कै संकेत हो । यद्यपि विकसित देशहरूमा समेत स्वास्थ्य विज्ञानमा भएका नयाँ आविष्कारहरूको प्रयोगमा सशंकित हुनेहरू उत्तिकै हुन्छन् । अमेरिकामा कोभिड–१९ विरुद्ध भ्याक्सिन उपलब्ध भइसकेपछिको अवस्थामा गोराभन्दा काला जातिका मानिस भ्याक्सिन लगाउन ज्यादा अनकनाउने गरेको जनवरी २०२१ मा ‘ल्यान्सेट’ जर्नलमा प्रकाशित लेखमा उल्लेख छ । ड्याले र डानियल ओकोरुडुडुको उक्त संयुक्त लेखअनुसार, सदियौंदेखिको संरचनागत हिंसाका कारण बहिष्कृत हुनुपर्दाको पीडा वा इतिहासमा आफूहरूमाथि गरिएको चिकित्सकीय ट्रायलका कारण रुष्ट भएर पनि कोभिड भ्याक्सिनलाई लिएर काला जातिहरूमा त्यस्तो हिचकिचाहट देखिएको हो । सन् २००९ मा फ्रान्समा पनि इन्फ्लुएन्जा ए (एएचवान एनवान) विरुद्ध भ्याक्सिन लगाउन त्यहाँका नागरिक लामो समयसम्म उत्सुक देखिएका थिएनन् । ‘ल्यान्सेट’ मै प्रकाशित मानिसहरूको आनीबानीमा आधारित भएर गरिएको एक प्रक्षेपणअनुसार, फ्रान्समा कामकाजीमध्ये झन्डै २९.४ प्रतिशत मानिस कोभिडविरुद्ध भ्याक्सिन लगाउन सशंकित देखिएका छन् ।

आममानिसमा यस्तो हिचकिचाहटका पछाडि थुप्रै तत्त्वले काम गरिरहेका हुन्छन्, जसमध्ये डनिङ क्रुगर इफेक्ट पनि एक हो । विज्ञानमा जुनसुकै अवधारणा तथ्य हो वा होइन भन्न प्रमाणको आवश्यकता हुन्छ । आफूसँग कुनै वैज्ञानिक प्रमाण नभईकन आफूलाई सम्बन्धित विषयविज्ञलाई भन्दा बढी ज्ञान छ भन्ने भ्रम लिएर हिँड्ने व्यक्ति वा समूहलाई डनिङ क्रुगर इफेक्टबाट प्रभावित भएको मानिन्छ । डेभिड डनिङ र जस्टिन क्रुगरजस्ता मनोविद्हरूले सन् १९९९ मा मानिसको सोच्ने प्रणालीबारे गरेको अनुसन्धानमा आधारित भएर यस अवधारणाको प्रतिपादन गरेका थिए । समाजमा प्रवाह भइरहेका गलत तथ्य तथा समाचारहरूका साथै अधुरोर बंग्याइएका तथ्यहरूमा आधारित सूचनाहरूबारे संश्लेषणात्मक विचारहरू राख्न नसक्नु नै डनिङ क्रुगर इफेक्टको लक्षण हो । नयाँ र फरक सूचनाहरूप्रति आकर्षित भएर आफूलाई अरूभन्दा पृथक् सोचयुक्त व्यक्तिको रूपमा समाजमा स्थापित गर्ने होडबाजीमा त्यस्ता व्यक्तिहरूले समाजलाई दिग्भ्रमित तुल्याई डरको खेती गरिरहेका हुन्छन् । अल्पज्ञानले मनमस्तिष्कमा शासन गरिसकेपछि तथ्यमा भन्दा मिथ्यामा विश्वास गर्ने जमातहरूका कारण यस्तो सन्देहवाद हाबी हुने गर्छ । अमेरिकाकै सन्दर्भमा पनि दादुरा (मिजल्स), हाँडे (मम्स) र रुबेला जस्ता भ्याक्सिनहरूले बालबालिकामा अटिजम (मस्तिष्क पक्षाघात) जस्ता रोगहरू लगाउन सक्छन् भन्ने दाबी गरिएको ‘वैज्ञानिक लेख’ लाई सम्बन्धित जर्नलले हटाउनुपरेको दृष्टान्त छ ।

कोभिडसम्बन्धी थुप्रै सूचना तथा भ्याक्सिनको सवालमा प्रवाह भइरहेका विचारहरूको पनि वैचारिक संश्लेषण आवश्यक हुन्छ । संज्ञानात्मक ज्ञान (मेटाकग्निटिभ) को अभावमा आफ्नो ज्ञानको सीमालाई मूल्यांकन गर्न नसक्दा पनि डनिङ क्रुगर इफेक्टको भुमरीमा फसिने सम्भावना हुन्छ । यसबाट प्रभावित व्यक्तिहरू आफ्नो ज्ञानको सीमितताको मात्र नभई अरूमा निहित ज्ञानको दायरा पनि मूल्यांकन गर्न असमर्थ हुन्छन् । त्यस्ता व्यक्तिहरू भ्याक्सिनको प्रयोगलाई के–कति कारणले सुरक्षित र प्रभावकारी दावा गरिएको हो भनी वैज्ञानिक प्रमाणहरूको खोजी गर्नुभन्दा भ्याक्सिनले मानव स्वास्थ्यमा पार्न सक्ने नकारात्मक असरसम्बन्धी सूचना संकलन गर्न बढी आकर्षित हुन्छन् । फलस्वरूप उनीहरू भ्याक्सिनविरोधीले चलाएका अफवाहहरू संकलन गरेर आफूनजिकका व्यक्तिहरूलाई समेत भ्रममा राख्न सफल भएको देखिन्छ । यस्ता व्यक्तिहरू आफूद्वारा संकलित भ्रामक सूचनाहरूलाई वैज्ञानिक प्रमाणहरूले गलत साबित गरिदिएको अवस्थामा तथ्यहरूलाई स्वीकार गर्नेभन्दा षड्यन्त्रको सिद्धान्तको लेप लगाएर तथ्यलाई थप शंकास्पद बनाउन उत्प्रेरित हुन्छन् ।

कोभिड सिर्जित जनस्वास्थ्य संकट र भ्याक्सिनलाई शक्तिराष्ट्रहरूले नाफा आर्जनकै लागि फैलाएको विश्वव्यापी जालोका रूपमा अर्थ्याउन पनि पछि पर्दैनन् । यस्ता व्यक्तिहरूले केही मानिसमा देखापर्ने एकाध सबुत (एनेक्डोटल इभिडेन्स) हरूलाई जम्मा पारेर, भ्याक्सिन लगाएपछि अन्य कारणले भएको मृत्युका घटनाबारे भावनात्मक सन्देशहरू प्रवाह गरी भ्याक्सिनविरोधी जनमत तयार गर्ने कोसिस गर्छन् । स्वास्थ्य विज्ञानले चरणबद्ध अनुसन्धानका विधिहरू पछ्याएर विकास गरेको प्रमाणमा आधारित तथ्यहरूलाई आलोचनात्मक प्रश्नहरूको कसीमा संश्लेषण गर्नेभन्दा त्यस्ता व्यक्तिहरू आफू निरपेक्ष रूपमा सही भएको र अरूलाई पूर्णरूपमा गलत देख्ने भ्रमबाट गुज्रिरहेका हुन्छन् ।

सामाजिक सञ्जालहरूबाट फैलाइएका मिथ्या सूचनाहरूलाई चिर्न सक्ने आलोचनात्मक ज्ञानको तह सीमित रूपमा प्रवाह हुँदा पनि वैज्ञानिक आविष्कारलाई स्वीकारभन्दा निषेध गर्ने सोचले बढी महत्त्व पाउन थाल्छ । विश्वभर झन्डै २५ लाख मानिसको ज्यान लिइसकेको कोभिडको खतरनाक अस्तित्वलाई स्वीकार गर्न हिचकिचाउने वा त्यस्तो जोखिमलाई न्यूनीकरण गर्न भ्याक्सिनजस्तो वैज्ञानिक उपलब्धिलाई आत्मसात् नगर्ने व्यक्ति तथा समूहहरू नेपालमा पनि प्रशस्त छन् । केही अनलाइन सामग्री वा भ्याक्सिनविरोधी ब्लगहरू वा युट्युबका भिडियो हेरेर सम्बन्धित विषयविज्ञहरूले पेस गरेका तर्क वा प्रमाण नै अपुरो देख्ने प्रवृत्तिले फैलाएको कोभिडजन्य अफवाहहरूको सिकार नेपाली जनमानस पनि भइसकेको छ । आफूलाई प्रगतिशील भन्न रुचाउने तर समाजमा अप्रगतिशील भ्रमहरू छर्न उद्यत केही व्यक्तिले कोभिड केही पनि होइन भनेर प्रमाणित गर्न फैलाइएको अफवाहका कारण भ्याक्सिनको सहज स्वीकारोक्तिलाई लिएर आममानिसमा अन्योल व्याप्त छ ।

समाजमा आलोचनात्मक ज्ञानको प्रवाह गर्ने व्यक्तिहरूले आफ्नो अनुकूलतामा अभिव्यक्त गर्ने अवसरवादी प्रगतिशीलताजस्ता वैचारिक रुझानहरूका कारण पनि आमजनको वैचारिकीमा ठूलो प्रभाव परिरहेको हुन्छ । उदाहरणका लागि, जनभावनालाई प्रतिनिधित्व गर्नुपर्ने नागरिक आन्दोलनले ‘सेक्युलर’ अभ्यासहरू गर्नुभन्दा पनि संरचनागत लाभ प्राप्त गरेका जातविशेषका संस्कारजन्य अभ्यासहरूलाई ज्यादा महत्त्व दिने गरी जनैको प्रदर्शन गर्नु सैद्धान्तिक र व्यावहारिक दृष्टिले नै उचित होइन । ‘पोलिटिकल्ली करेक्ट’ भएरै सोच्ने हो भने नागरिक आन्दोलनको त्यो अभ्यास पनि गलत हो र समाज आक्रान्त भइरहेका बेला कोभिडबारे अफवाह फैलाउने प्रवृत्ति पनि सही होइन । तर अवसरवादी प्रगतिशील रुझानले नागरिक आन्दोलनको जनै प्रदर्शनलाई मात्र सर्वथा गलत देख्छ र आफ्नो पार्टीनिकट व्यक्तिहरूले कोभिड केही होइन भनेर अफवाह फैलाउँदा पनि इतिहासको संगीन घडीमा मौन बसेर प्रत्यक्ष्य वा परोक्ष रूपमा तिनै प्रवृत्तिलाई मलजल गरिरहन्छ ।

जनस्वास्थ्यको आमूल रूपान्तरणको सवालमा नेपालको कुनै पनि पार्टीमा न्यूनतम मार्गचित्र पनि नभएकाले अवसरवादी प्रगतिशीलहरूको बोलीमा पनि मौसमी फेरबदल हुनु खासै नौलो नहुन सक्छ । तसर्थ राजनीतिक रूपमा आफूलाई प्रगतिशील दाबी गर्नेदेखि लिएर सरकारी ओहोदामा बसेका र जनस्वास्थ्य तथा चिकित्सा विज्ञान अध्ययन गरेकाहरूसम्मले जति धेरै गलत र भ्रामक सूचना उपभोग गर्छन्, त्यति धेरै डनिङ क्रुगर इफेक्टबाट ग्रस्त हुने सम्भावना रहिरहन्छ ।

नेपाल सरकारले विभिन्न चरणमा भ्याक्सिन लगाउने कार्यक्रमहरू सार्वजनिक गरिरहँदा भ्याक्सिनलाई लिएर जनस्वास्थ्य सचेतनामा भने निकै कमी देखिएको छ । नयाँ वैज्ञानिक उत्पादनहरूप्रति आमजनले कस्तो विश्वास गर्छन् भन्ने कुरा जनस्वास्थ्य प्रणालीले कुन तहको वस्तुनिष्ठ सूचना प्रवाह गर्छ भन्ने पाटोले पनि निर्धारण गर्छ । प्रक्रियागत समग्रवादको दृष्टिले व्यक्ति तथा समूहहरूमा निहित मिथ्या विचारहरूलाई वस्तुनिष्ठ सूचना प्रवाह गरेर हटाउनु राज्यको जनस्वास्थ्य प्रणालीको कर्तव्य हो । राजनीतिक नेतृत्वले जनतालाई गर्ने दिशानिर्देशले पनि विज्ञानले उपलब्ध गराएको सुविधालाई सहर्ष कि सन्देहका साथ स्वीकार गर्ने भन्नेमा भूमिका खेलिरहेको हुन्छ । सञ्चारमाध्यममार्फत समाजमा प्रवाह भएका ज्ञान तथा सूचनाका आधारमा आमजनले आफ्नो

साक्षरताको तहअनुसार जनस्वास्थ्यसम्बन्धी निर्णयहरू लिने गर्छन् । भ्याक्सिन लगाएर ‘हर्ड इम्युनिटी’ विकास गर्नु आजको आवश्यकता हो भने, सरकारले पनि यसको वैज्ञानिक महत्त्वबारे बुझाउन बहुविधिमार्फत यथेष्ट सूचना प्रवाह गर्नुपर्छ । युवा जनसंख्या बढी भएको हाम्रो जस्तो देशमा कम जोखिम समूहले भ्याक्सिन लगाई हर्ड इम्युनिटीको विकास गरेर चिकित्सकीय कारणले भ्याक्सिन लगाउन उपयुक्त नमानिने समूहलाई बचाउनका लागि सामाजिक उत्तरदायित्त्व वहन गर्नुपर्छ । भ्याक्सिनको प्रभावकारिता र उपयोगिताबारे यथेष्ट जानकारी नै प्रवाह नगरी लगाउनुपर्छ भन्ने सुगारटानले मात्र आमजनको यसप्रतिको हिचकिचाहट कम हुने देखिँदैन ।

कुनै पनि व्यक्ति तथा समुदायका सामाजिक–सांस्कृतिक विश्वास पद्धति तथा धार्मिक मूल्यमान्यताहरूको मर्मलाई मनन गरेर स्वास्थ्यकर्मीहरूले गर्ने प्रभावकारी परामर्शहरूबाट समेत भ्याक्सिनलगायतका नयाँ वैज्ञानिक आविष्कारहरूलाई सहर्ष स्वीकार गर्ने वा नगर्ने भन्ने तय हुन्छ । यस अवस्थामा सरकारले देशभरका लागि एकै किसिमको सूचना प्रवाह गर्नेभन्दा समाजमा निहित ‘भ्याक्सिन हेसिटेन्सी’ लाई न्यूनीकरण गर्न सूचनाको समतामूलक प्रवाहको अवधारणाबाट अतिरिक्त कसरत गर्नुपर्ने देखिन्छ ।

प्रकाशित : फाल्गुन २६, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

सिनेमाको बौद्धिक चिन्तन

सिनेमाले संस्कृतिको तरलतालाई दस्तावेजीकरण गर्दै भविष्यका लागि वर्तमानमा सिर्जना गरिएको स्थिर र गति दुवै चित्र जगेर्ना गर्छ ।
सचिन घिमिरे

कोरोनाको कालो बादलले नेपाली सिनेजगत् ढपक्कै भएको समय लेखक मनोज पण्डितले पुस्तक निकालेका छन्– ‘सिनेमा मन्थन’ । यो पुस्तक एक सिनेफिलिकले सिनेमासँगको प्रेममा रचेको बौद्धिक प्रेमपत्रजस्तै लाग्छ ।

सिनेमामा प्रयोग हुने दर्शनको तत्त्वमीमांसाको व्याख्या गर्दै पुस्तकमा पण्डित लेख्छन्, ‘जीवन बुझ्न कथा बुझ्नुपर्दछ र कथा बुझ्न जीवन बुझ्नुपर्छ । जीवन र कथाको यही अन्तरसम्बन्धबाट नै सिनेमाको कथा जन्मिन्छ ।’ मलाई लाग्छ– मानिसको जीवनलाई सिनेमाको कथामा प्रभावकारी तरिकाले रूपान्तरण गर्न सिनेमाका दिग्दर्शक (दर्शनको ज्ञान भएका निर्देशक) हरूमा निहित सिनेमासम्बन्धी ज्ञान, सौन्दर्यशास्त्र र कलात्मक चेतको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ ।

सिनेमाका पात्रहरू कसरी जन्मिन्छन् ? सिनेमा निर्देशकसमेत रहेका पण्डितको मत छ, ‘असामान्य परिस्थितिले नै सामान्य मानिसलाई असामान्य पात्र बनाउँछ । कारण असामान्यता आधारभूत तहमा क्रियाशीलताको परिणाम हो र क्रियाशीलता सोचको परिणाम ।’ मेरो विचारमा निष्क्रियभन्दा सक्रिय क्रियाशीलता र उद्देश्यकेन्द्रित संघर्षशील उल्झनहरूले मात्र सामान्य मानिसलाई असामान्यतातिर धकेल्छ । यद्यपि, सिनेमाका कथाहरूमा उद्देश्यविहीन पात्रहरू पनि परिस्थितिको जटिलतामा फस्दै गएर अन्य अस्तित्वहरूसँगको उल्झनमा जीवनको लक्ष्य हासिल गरेको पनि देखाइन्छ । यस सन्दर्भमा लेखकले सुझाउन खोजेको क्रियाशीलता मूलतः दिग्दर्शक (निर्देशक) कै सोचको क्रियाशीलता हो भन्ने अर्थ लाग्छ । त्यसको अर्थपूर्ण रुझानहरूले असामान्य परिस्थितिको बाटो गरेर पात्रले गर्ने संघर्षशील यात्राको कारण सामान्य मानिस सिनेमाको कथाभित्र असामान्य पात्रको भूमिकामा प्रस्तुत हुन पुग्छ ।

लेखकको बुझाइमा जीवनको अवरोधले कुण्ठित मानिसका चाहना पूरा गर्न नै कथाको परिकल्पना गरिन्छ । यो अवधारणामा अर्को आयाम थपेर भन्नुपर्दा कुनै पनि पात्र आफैंमा सिनेमाको दिग्दर्शकको देखाइ र भोगाइको अभिव्यक्ति, उसमा निहित प्रगतिशील, यथास्थितिवादी वा पिछलग्गू सोच, गर्व र कुण्ठा, उच्चताभास र लघुताभासजस्ता अनुभूतिहरूको सम्मिश्रण मिलेर तयार भएको हुन्छ । तसर्थ, यस सन्दर्भमा लेखकले व्याख्या गरेको पात्रको चाहना र विश्वासजस्ता आयामलाई सर्जक बाँचेको समयको अनुभूति, विचार र उसमा निहित सौन्दर्यचेतले प्रभावित बनाउँछ ।

पण्डित लेख्छन्, ‘पात्रभित्र अन्तरनिहित सकारात्मक र नकारात्मक गुणहरूको कारण पात्र आफैंमा द्वन्द्वात्मक हुन्छ । फलस्वरूप कथामा अनिश्चितता र जटिलता सिर्जना हुन्छ । जटिलता त्यस्तो अवस्थाहरूको संयोजन हो, जहाँ जीवनका मूलतत्त्व एकआपसमा टकरावको उच्चतम विन्दुमा पुग्छ । द्वन्द्वले नै पात्रको अस्तित्व सम्भव तुल्याउँछ र कथालाई आवश्यक परिस्थितिजन्य जटिलताहरूको शृंखला निर्माण गर्छ ।’ लेखकले आफ्नो पुस्तकमा अर्थ्याएका पात्रको द्वन्द्वात्मक जटिलताको सामाजिक, आर्थिक, सांस्कृतिक, भावनात्मकजस्ता अनगिन्ती आयाम हुन्छन् । पात्रको जीवनमा आउने हरेक प्रकारको मनोवैज्ञानिक जटिलताको सामाजिक निर्धारकहरू हुन्छन् । मानिसको जीवनमा व्याप्त असन्तुष्टि, बेखुसी, गरिबी, अशिक्षा, भोकमरी, युद्ध, त्रासदी तथा महामारीजस्ता जटिलताले पात्रको मनोवैज्ञानिक पाटोमा गहिरो असर पार्ने हुनाले जटिलता अवश्य पनि एकांकी नभईकन बहुआयामिक र द्वन्द्वात्मक हुन्छ ।

यस परिस्थितिमा समाजमा बेथितिहरूलाई सिनेमाको कथामा उतार्नका लागि सिनेमाका दिग्दर्शकहरूमा निहित सामाजिक संवेदनशीलताको पाटोले अहम् भूमिका खेल्छ । यही सन्दर्भलाई थप प्रस्ट्याउँदै पण्डित लेख्छन्, ‘चुनौती स्वीकार गर्दै अनिश्चतताको मार्गमा पात्रलाई हिँडाउँदा आउने अनिश्चित अवरोधहरूको कारणले कथालाई जटिलता उपलब्ध गराउँछ ।’ लेखकले भन्न खोजेको त्यस किसिमका जटिलता एकरेखीय मात्र नभई बहुरेखीय र तहगत हुन्छन् । कथामा उपलब्ध हुने बहुरेखीय तहगत जटिलता नै सिनेमाका मेरुदण्ड हुन्, जसले सिनेमालाई एकपछि अर्को घटनाको बहावमा लगेर सिनेमारूपी श्रव्यदृश्य रूपको परिकल्पना सम्भव गराउँछ । सिनेमामा पात्रहरूबीच मात्र द्वन्द्व हुँदैन, संवेदनशील सिनेमा निर्माणको क्रममा कथाले बोकेको विषयवस्तु दबाउन चाहने र देखाउन चाहने दुई फरक ध्रुवहरूको बीचमा पनि द्वन्द्व हुन्छ । यसका लागि दिग्दर्शकमा चुनौती मोल्न सक्ने साहस हुनुपर्छ । एक सर्जक पनि सिनेमा निर्माणको क्रममा आफूले सिर्जना गरेको पात्रमार्फत आफ्नो अस्तित्व प्रमाणित गर्न संघर्ष गरिरहेको हुन्छ ।

सर्जकले आत्मगत र वस्तुगत दुवै रूपका द्वन्द्वहरूसँग संघर्ष गरेर नै एक सजीव पात्र जन्म दिन्छ । पुस्तकमा पण्डितले गरेको दृश्यहरूको ज्ञान–मीमांसाका अनुसार, सिनेमाका दृश्यहरूको संयोजन केवल दृश्यहरू जोड्ने नभई अर्थहरूको उत्पादन प्रक्रिया हो । दृश्य सृजनाको दौरान कस्तो अर्थसँग सम्बन्धित गरिन्छ, पात्रको संघर्ष कस्तो अर्थ प्राप्तिका लागि भइरहेछजस्ता पाटाहरूको अर्थ खोजेर नै सिनेमाका दृश्यहरूको सिर्जना हुन्छ । दृश्यमा पृष्ठभूमि, भूगोल तथा समय हुन्छ अनि यी दुईले बनाएको परिस्थितिको नियति हुन्छ । निर्देशकले नै कथालाई दृश्यमा रूपान्तरण गर्ने मात्र नभई दृश्यलाई कथामा पनि रूपान्तरण गर्न सक्नुपर्छ । यस क्रममा छायाकार र सम्पादकको भूमिका पनि अहम् हुन्छ । मलाई लाग्छ– चलचित्रमा दृश्य निर्माणको क्रममा सिनेमाको दिग्दर्शकले ध्वनिसँगको सम्बन्धमा पनि आफ्नो जीवनको परावर्तित अर्थ खोजिरहेको हुन्छ ।

सिनेमामा दृश्य कथाको पात्र, पृष्ठभूमि, द्वन्द्व, संघर्षको उतारचढाव, संवेदना आदिले निर्माण गर्छ । कथाको मनोविज्ञानले निर्माण गर्छ, अझ गहिरिएर भन्दा कथाको संस्कृतिले निर्माण गर्छ । लेखकले पुस्तकमा व्याख्या गर्न खोजेको असामान्यता आफैंमा तरल अवस्था हो जसले समय र परिस्थितिसापेक्ष अर्थ ग्रहण गरिरहेका हुन्छन् । साथै, कथाको संस्कृति निर्माणमा पनि अवधारणात्मक तरलता निहित हुन्छ कारण संस्कृति एकै ठाउँमा स्थीर भएर बस्दैन । यद्यपि, सिनेमाले संस्कृतिको तरलतालाई दस्तावेजीकरण गर्दै भविष्यका लागि वर्तमानमा सिर्जना गरिएको स्थिर र गति दुवै चित्र जगेर्ना गर्छ ।

पण्डित आफ्नो पुस्तकमा मूल्य–मीमांसा अर्थात् एक्जियोलोजिकल पाटोको चर्चा गर्छन्– ‘पात्रले कस्तो समस्या समाधान गर्न संघर्ष गरिरहेछ भन्ने आधारमा सिनेमाको कथाले समाजमा कस्तो राजनीति गरिरहेछ, त्यसको मूल्यांकन गरिन्छ । पात्रमार्फत निर्देशकले उठाउने प्रश्न उसका नियतपूर्वक राजनीतिक अभिव्यक्ति हुन् । दर्शकहरूको मनोविज्ञानमा कुनै अवधारणा प्रवेश गराउनु नै गहकिलो राजनीति हो । हरेक पात्र इतिहास संस्कृति, राजनीति, धर्म र बजारले निर्माण गरेको नियतिमा जन्मन्छ र आफ्नो अनुभवको आधारमा नियत निर्माण गर्दै हुर्कन्छ ।’ पात्रको जीवनमा आउने नियतिहरूलाई व्यक्तिगत, सामाजिक र अर्थराजनीतिगत आयामले प्रभाव बनाउँछ ।

जीवन संघर्षको क्रममा प्रत्येक दिन भोग्नुपर्ने बाध्यतारूपी नियतिहरूसँग जुधेर पनि एउटा सर्जकले आफूलाई पात्रको रूपमा अभिव्यक्त गर्छ । कारण सिनेमाबाहिर सर्जक आफैंमा एउटा त्यस्तो पात्र हो, जसले जीवनका यावत् नियति भोगेको हुन्छ । यही सन्दर्भलाई थप अर्थ्याउँदै पुस्तकले भन्छ, ‘सिनेमा जीवनको प्रोटोटाइप सिर्जना गरेर कथामार्फत जीवनलाई बुझ्ने एक प्रयत्न हो । जीवन आखिर कथा नै त हो सिनेमाले देखाउने पनि कथा नै हो । तसर्थ हरेक सिनेमाको जन्म एउटा जीवनको जन्म हो ।’ पुस्तक भन्छ– ‘सिनेमाको हरेक दृश्यको उद्देश्य प्रभाव सिर्जना गर्नु हो, जुन प्रभावको आयतनमा सर्जक र दर्शकबीचको सम्बन्ध स्थापित हुन्छ ।

सिनेमाको अस्तित्वको एउटा महत्त्वपूर्ण पक्ष दर्शकको ज्ञान हो । दर्शक हरेक समय प्रश्न बोकेर उत्तर खोजिरहेको हुन्छ । तसर्थ, दर्शक निरपेक्ष र निष्क्रिय हुँदैन ।’ मलाई लाग्छ, दर्शक पनि सक्रिय र निष्क्रिय वा अर्ध सक्रिय वा अर्ध निष्क्रिय धेरै रूपमा विभाजित अस्तित्व हो । वास्तवमा दर्शक एक हेटोरोजनस अस्तित्व हो, जसको कुनै खास रूप हुँदैन र एकै किसिमको चाहना पनि हुँदैन । दर्शकको खास स्वरूपको निश्चितता वा ठोस आकारको आकलन गरेर सिनेमा बनाइँदैन । सर्जकले आफूलाई अभिव्यक्त गर्न सिनेमा निर्माण गर्छ र दर्शकले आफ्नो समय, आवश्यकता र परिस्थितिअनुसार सक्रिय वा निष्क्रिय रूपमा सिनेमाले पस्किएको भाव र सौन्दर्य ग्रहण गर्छन् ।

लिबरेटरी सिनेमा मानिसलाई आफ्नो यथास्थितिबाट रूपान्तरण गर्न सक्ने गुण बोकेर जन्मिएको हुन्छ । समयचेत र युगचेतको प्रतिनिधित्व गर्ने त्यस्ता सिनेमाले आफूभित्र निहित अन्तरवस्तु र शिल्पको गुणतत्त्वमा अमरत्व प्राप्त गर्छन् । कालजयी सिनेमा निर्माण आफैंमा ज्ञान, दर्शन, कला र प्रविधिको कठोर साधनाबाट तयार हुने कलात्मक सम्मिश्रण हो । विश्व सिनेमाले आफ्नो दार्शनिक अस्तित्व प्रमाणित गरेर थुप्रै नजिर प्रस्तुत गरिसकेको अवस्थामा सिनेमाको दार्शनिक चिन्तनबिना नेपाली सिनेमाको बौद्धिक रूपान्तरणको बहस अपुरो हुन्छ । अहिले नेपाली सिनेजगत्को दार्शनिक खडेरीमा जलसिञ्चन गर्ने मनोज पण्डितको प्राज्ञिक सक्रियता नेपाली सन्दर्भमा आफैंमा नवीनतम् र बहसयोग्य छ ।

प्रकाशित : पुस ११, २०७७ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×