कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सफोर्डबाट नेपाल सम्झँदा

अक्सफोर्डमा विद्यार्थी युनियन छ, चुनाव हुन्छ, त्यसले राष्ट्रिय महत्त्व पनि पाउँछ तर विद्यार्थी युनियनको क्रियाकलापका कारण कक्षा बन्द हुँदैन ।
कुलरत्न भुर्तेल

वास्तवमा, मुलुकको माया विदेशमा छँदा झन् धेरै लाग्छ । त्यहाँका कलेज र विश्वविद्यालय, अस्पताल हेरेपछि हामी कहाँ पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ; हाम्रो पद्धतिमा कहाँ परिमार्जन र सुधार गर्नुपर्ने हो भन्नेबारे मनमा कुरा खेल्न थाल्दो रहेछ ।

अक्सफोर्डबाट नेपाल सम्झँदा

यसो भनेर हाम्रा शैक्षिक संस्थाबारे नकारात्मक टिप्पणी गर्न खोजिएको होइन । हाम्रा मुलुकका शैक्षिक संस्था नराम्रा मात्रै हुँदै होइनन् । यहाँबाट उत्पादित विद्यार्थीहरू संसारका विभिन्न कुनामा आफ्नो शैक्षिक क्षमता प्रदर्शन गर्दै पढाइमा अब्बल देखिएका छन्; अन्तर्राष्ट्रिय स्तरमा विभिन्न मर्यादापूर्ण काममा संलग्न छन् । युरोप–अमेरिकाका विश्वविद्यालयहरूमा कति नेपालीको पढाइ लोभलाग्दो छ । संसारका प्रख्यात विश्वविद्यालयहरूमा नेपाली अध्ययनरत छन् ।

तथापि हाम्रो वर्तमान प्रशिक्षण पद्धति, शैक्षिक क्यालेन्डर, विश्वविद्यालयमा राज्यको लगानीजस्ता पक्षमा केही सुधार भएमा भविष्यमा हाम्रा विद्यार्थीहरूले संसारका उत्कृष्ट विश्वविद्यालयहरूमा अझ बढी अवसर पाउने आशा गर्न सकिन्छ । यसै सन्दर्भमा लेखकले अक्सफोर्ड विश्वविद्यालयमा मानव अधिकार विषय अध्ययन गर्दाका अनुभवका आधारमा यो लेख तयार पारेको हो । यो सानो लेखमा अक्सफोर्ड विश्वविद्यालयको विस्तृत चर्चा सम्भव नहुने भएकाले हामीले अनुकरण गर्न सक्ने केही सकारात्मक पक्षहरू मात्र उल्लेख गर्ने प्रयत्न गरिएको छ । यद्यपि उनीहरूको विश्वविद्यालयको भौतिक सम्पत्ति, कलेजमा भौतिक सुविधा, शिक्षकहरूको आकर्षक पारिश्रमिक हामीले सोचेभन्दा धेरै माथि छन्, तथापि उनीहरूले असल शैक्षिक वातावरण निर्माण गर्न गरेका काम हामीले अनुकरण गर्न नसकिने होइनन् ।

विश्वविद्यालय किन उत्कृष्ट ठहरिन्छ भन्ने प्रश्नको उत्तर त्यति सजिलो छैन । यसका लागि धेरै कुरा अगाडि आउने भए पनि मूलतः शैक्षिक वातावरण निर्माण हो । शैक्षिक वातावरण भन्नेबित्तिकै कुनै एउटा कुरा मात्रै बुझ्न मिल्दैन । स्पष्ट रूपले वार्षिक क्यालेन्डर तोकिई सोहीअनुसार कक्षाको पढाइ र परीक्षा सञ्चालनले शैक्षिक संस्थामा एक प्रकारको कडा अनुशासनको सृजना हुने रहेछ । त्यही नै शैक्षिक उत्कृष्टता निर्माण गर्ने मूल आधार हुन जाँदो रहेछ । अध्ययन–अध्यापनको अर्थ र दायरा व्यापक भए पनि भन्दा शैक्षिक संस्थाहरूमा मूलतः शिक्षकहरूले पढाउने र विद्यार्थीहरूले पढ्ने नै हो । यही पनि सबै संस्थामा सोचेअनुसार नहुनुका केही कारकमध्ये एउटा शैक्षिक क्यालेन्डर नै हो ।

अक्सफोर्डमा अध्यापन गर्ने शिक्षकहरूका लागि आकर्षक सुविधाहरू छन् । उनीहरू अध्यापनबाहेक अन्य संस्थामा पढाउने वा अरू काम गर्दैनन् । प्रत्येक शिक्षक अनुसन्धान कार्यमा संलग्न हुनुपर्छ । यो उनीहरूको करिअरको अभिन्न अंगजस्तै हो । कुन दिन कुन क्लास हुन्छ र सो दिन के विषयमा पढाइ हुन्छ, पहिल्यै शैक्षिक क्यालेन्डर तय भएको हुन्छ । दिनविशेषमा पढाइ हुने विषयमा विद्यार्थीहरूले क्लासमा बस्नुपूर्व नै पढिसकेका हुन्छन्, जसले गर्दा शिक्षकले पढाएको बुझ्न गाह्रो पर्दैन, क्लासमा अन्तरक्रियामा भाग लिन असजिलो हुँदैन । क्लासमा पढाएको कुराको नोट गर्न सजिलो हुन्छ । हामीकहाँ अझै पनि धेरै विद्यार्थी शिक्षकले पढाएको कुरा नोट गरी त्यसैमा भर पर्ने गर्छन् । अक्सफोर्डका विद्यार्थीले भने क्लासमा टिपेको नोटलाई लाइब्रेरी अध्ययनपश्चात् परिमार्जन गर्ने गर्छन् ।

अक्सफोर्डमा विद्यार्थी युनियन छ, चुनाव हुन्छ, त्यसले राष्ट्रिय महत्त्व पनि पाउँछ तर विद्यार्थी युनियनको क्रियाकलापका कारण कक्षा बन्द भने हुँदैन । त्यहाँ पढेका व्यक्ति राष्ट्रिय स्तरका राजनीतिक नेता पनि बनेका छन् तर विद्यार्थीहरू राजनीतिक दलका कार्यकर्ताहरूजस्तो हुने अपेक्षा गरिँदैन । इमानदारीपूर्वक भन्ने हो भने पढाइलाई राजनीतिबाट अछुतो राख्नैपर्छ ।

पुस्तकालयहरू विश्वविद्यालयका अभिन्न अंग हुन् भन्नेमा द्विविधा छैन । यिनलाई राष्ट्रको सम्पत्तिको हिसाबले पनि हेरिनुपर्छ । पुस्तकालय निर्माण र विकासमा राष्ट्रको विशेष ध्यान पुग्नुपर्छ । धेरै विदेशी विश्वविद्यालयहरूमा पुस्तकालय चौबीसै घण्टा खुला हुन्छन् । विश्वविद्यालयको पुस्तकालयमा ठूलो लगानी हुन्छ । अक्सफोर्डको पुस्तकालयमा प्रायः खोजेको सामग्री पाइन्छ । विद्यार्थीले खोजेको सामग्री रहेनछ भने सानो स्लिप भरेर दिएपछि सो सामग्री अन्यत्रबाट मगाइदिने व्यवस्था छ ।

अक्सफोर्ड विश्वविद्यालयमा चलनमा रहेको ट्युटोरियल पद्धति साह्रै प्रभावकारी छ । यस्तो पद्धति धेरै एसियाली मुलुकहरूमा प्रचलनमा छैन । प्रत्येक हप्ता दुई वा तीन विद्यार्थीको समूहले आफ्नो तोकिएको ट्युटरसँग एकाध घण्टा बिताउने गर्छन् । यो बेला आफ्नो पढाइका बारेमा छलफलका अतिरिक्त अन्य कुनै विषयमा गहन छलफल गर्ने गर्छ । यस्तो पद्धतिले विद्यार्थीलाई अनौपचारिक वातावरणमा छलफल गर्न, विचार निर्माण गर्न सहयोग पुर्‍याउँछ । हाम्रो सन्दर्भमा यो पद्धति नौलो त छँदै छ, केही खर्चिलो पनि होला तर दीर्घकालीन रूपमा यस्तो पद्धतिबाट शिक्षामा गुणात्मक परिमार्जन गर्न सहयोग नै पुग्ने देखिन्छ ।

अक्सफोर्डसहित पश्चिमी मुलुकका अधिकांश विश्वविद्यालयहरूमा क्लासमा भर्ना भएपछि परीक्षा नसकिउन्जेल सधैं अनवरत पढिरहनु, पुस्तकालयमा गइरहनु विद्यार्थीहरूको दिनचर्या हुने गर्छ । विद्यार्थीहरूले पुस्तकालयमा बिताउने समय लोभलाग्दो छ । यसले उनीहरूको पढाइमा निखार ल्याउने मात्रै नभई परीक्षाप्रति डर पनि घटाइदिन्छ । थेसिस, अनुसन्धानमूलक निबन्ध लेख्नैपर्ने अनिवार्यताले विद्यार्थीको लेख्ने बानी बढेर सृजनशीलता विकास हुन्छ । यसका लागि नियमित रूपमा पुस्तकालय जानुपर्ने हुन्छ, जुन विद्यार्थीका लागि बहुउपयोगी हुन जान्छ ।

कुनै पनि नेपाली विद्यार्थीले पश्चिमी विश्वविद्यालयहरूमा अनुभव गर्ने पहिलो कुरा अनुशासन पनि हो । अनुशासन जीवनकै अभिन्न अंग हो । धेरै पर जानैपर्दैन, कुनै पनि नेपालीले एसियाली मुलुक सिंगापुर पुगेपछि प्रत्यक्ष अनुभव गर्छन्, अनुशासन भनेको के हो । विद्यार्थीको काम पढ्ने हो, शिक्षकको काम पढाउने हो भनेजस्तै विश्वविद्यालयका कर्मचारीको काम सेवा प्रदान गर्ने हो । यो कुरा अक्सफोर्डमा स्पष्ट अनुभूति गर्न पाइन्छ । हुन त अनुशासन विद्यार्थी जीवनमा मात्र नभएर व्यावसायिक जीवनमा पनि उत्तिकै जरुरी हुन्छ । अनुशासनमा प्रतिबद्ध व्यक्ति आफ्नो जीवनमा सबभन्दा बढी सफल हुन्छन् । त्यसैले यसलाई जीवन पद्धतिकै अंग बनाउनु उपयुक्त हुनेमा द्विविधा छैन ।

(भुर्तेल उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हुन् ।)

प्रकाशित : माघ २७, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?