कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशले खोजेको दस्ता

कतै राजनीतिक नेता, सुरक्षादस्ता, आक्रामक दस्ता, बिनाकाम पाल्नुपर्ने समूह तथा नुन एउटाको खाने अनि काम अर्काको गर्नेहरूले एकपटक आत्मालोचना गर्ने कि ?

सुरक्षा/आक्रामक वा समालोचक दस्ता खोज्ने ?
हो र हैन भन्नेहरू सुरक्षादस्ता (भ्यानगार्ड) हुन् । राजनीतिक नेताका संरक्षक । तिनका विचार तथा गराइका संरक्षक । लेनिनले खोजेको त्यही हो । माओले हुर्काएको आक्रामक दस्ता (रेडगार्ड) पनि त्यही हो । उनको सुरक्षादस्ता पनि त्यही हो । नेताको भत्खौरो पनि त्यही हो । मार्क्सले खोजेको पनि पुँजीपति वर्गविरुद्ध लाग्ने दस्ता हो । त्यो पनि संरक्षक दस्ता हो । आक्रामक दस्ता हो । भत्खौरा हो । यसको अर्थ हो— साम्यवादी सिद्धान्त तथा व्यवहारले राजनीतिक दलको क्लास लाइनका लागि सुरक्षादस्ता चाहन्छ ।

देशले खोजेको दस्ता

आक्रामक दस्ता चाहन्छ । निश्चित उद्देश्यका लागि नेताले भनेको मान्नेहरूको जमात चाहन्छ । इसाईको शब्दावलीमा ‘विश्वासी’ चाहन्छ । हिन्दुको शब्दमा ‘भक्त’ चाहन्छ । गुरु–आदेश शिरोपर गर्ने व्यक्ति चाहन्छ । ‘विश्वासी’ को विशेषता हो— पत्याउनु । ‘भक्त’ को विशेषता पनि त्यही हो । प्रश्न नगर्नु । आदेश मान्नु । यहीँ प्रश्न हुन्छ— के ‘विश्वासी’ वा ‘भक्त’ हरू समालोचक दस्ता (क्रिटिकल मास) हुन सक्छन् त ? सुरक्षा/आक्रामक दस्ता पाल्ने–पोस्ने राजनीतिक दलहरू समालोचक दस्ता रुचाउँछन् त ? हुर्काउँछन् त ?

समालोचक दस्ताका पनि अनेक पुस्ता छन् । पश्चिमी दुनियाँका सुरुका पुस्ताले आणविक भौतिकशास्त्र (न्युक्लियर फिजियोलाजी) बाट शब्द जुराए— अणुहरूको ‘क्रिटिकल मास’ । उनीहरूले भने— परिवर्तनलाई पर्याप्त अणुहरू चाहिन्छन् । अणुहरू पुगेपछि परिवर्तन स्वचालित हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय शब्दमा अणु मान्छे हो । नेताको परिवर्तनसम्बन्धी एजेन्डा कार्यान्वयन गर्न ती मान्छेहरू पर्याप्त हुन् । यसैले नेताहरूले अपेक्षित ‘अणु’ हरू खोजे । हाइड्रोजनका निश्चित संख्याका अणु । अक्सिजनका निश्चित संख्याका अणु । त्यति भएपछि निश्चित रूपमा पानी बन्छ । यसको अर्थ हो— यस्ता सोचका मान्छेहरू यान्त्रिक हुन्छन् । सोचहीन हुन्छन् । अह्राएको काम गर्छन् । विश्वासी हुन्छन् । भक्त हुन्छन् । संरक्षक दस्ताजस्तै । आक्रामक दस्ताजस्तै । नाम भने समालोचक दस्ता नै हुन्छ । के हाम्रा दलीय दस्ताहरू यही पुस्ताका हुन् त ? कुरा आधुनिक गर्ने । कामचाहिँ पुरानै पुस्ताको गर्ने ।

दोस्रो पुस्ताको समालोचक दस्ताले भुइँमान्छेका मुद्दा ल्याउँछ । दलितका जातजातीय छुवाछुतका मुद्दा । उनका परम्परागत सीपहरूको उद्यमीकरणको मुद्दा । उनका आर्थिक विकासको मुद्दा । त्यस्तै जनजातिका मुद्दा । महिलाका मुद्दा । अपांगता भएकाहरूको मुद्दा । यौनिक अल्पसंख्यकका मुद्दा । सीमान्त ज्येष्ठ नागरिकका मुद्दा । त्यसका लागि यो पुस्ताको समालोचक दस्ता क्रियाशील हुन्छ । स्वाज्दनोभ्स्की तथा क्रेज्स्की (सन् २०१९) ले भनेअनुसार, समालोचक दस्ताले भुइँमान्छेका समस्या अनवरत रूपमा उठाइरहन्छ । पामेला ओलिभर तथा साथीहरू (सन् १९८५) को भनाइमा, जनभलाइका लागि यो दस्ता सदैव क्रियाशील हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालका लागि क्रियाशील हुन्छ । बेलाबेलाको भुल्काबाहेक के यो खाले सामाजिक दस्ता हामीसँग छ त ?

फ्रयांकफर्ट स्कुलका विद्वान्हरूले दुई धार समाते । पहिलो धारले हावरमास समात्यो । यसो गर्दा मुद्दाकेन्द्रित सञ्जाल बन्यो । बनाइयो । दोस्रो धारले सीमा भत्कायो । हर मुद्दालाई अन्तर्राष्ट्रिय कसीमा हेर्‍यो । यी विभाजित सोचहरूले भन्छन्— कुनै समालोचक दस्ताले समस्याको समाधान घरमै खोज्छ । कुनैले अन्तर्राष्ट्रिय जगत्मा खोज्छ । के हाम्रा समालोचक दस्ता फ्रयांकफर्ट स्कुलका विद्वान्हरूले भनेजस्ता छन् त ?

नेपाली दस्ताको संस्कार के छ ?

सबै राजनीतिक दलका दस्ता छन् । नेताका दस्ता छन् । कसैका स्वयंसेवी । कसैका किनुवा । कसैका अर्धतलबी (पार्ट टाइमर) । कसैका पूर्ण तलबी (होल टाइमर) । ती सबै दलका तथा तिनका नेता संरक्षणका लागि बनेका छन् । बनाइएका छन् । नेताको विरोध गर्नेविरुद्ध ‘अरिंगाल’ बनाइएका छन् । यसको अर्थ हो— हाम्रा राजनीतिक दलले संरक्षक दस्ता खोजे । आक्रामक दस्ता खोजे । साम्यवादी राजनीतिक दलले त लेभी उठाएर दस्ता पाल्ने तलबी संस्कार नै बनायो । अरू दलका नेताहरूले पटके सहयोग गर्ने नीतिगत संस्कारलाई निरन्तरता दिए । मगन्ते दस्ता । दानी नेता बनाउने संस्कार । हाम्रो संस्कार यही होइन र ?

तत्कालीन माओवादीका शीर्षस्थ नेता प्रचण्डले उत्पादन–दस्ता बनाउने प्रस्ताव गरेका थिए । हेटौंडा सम्मेलन साक्षी छ । यो चिन्तन कार्यान्वयन भएन । भियतनामका नेता हो ची मिन्हले भारत भ्रमणमा त्यहाँका राजनीतिक नेताहरूलाई सोधेका थिए, ‘तपाईंहरूको पेसा के हो ?’ भारतीय नेताहरूले एकसाथ भने, ‘हाम्रो पेसा राजनीति हो ।’ हो ची मिन्हको जवाफ थियो, ‘मेरो पेसा कृषि हो । खेतमा काम गर्छु । राजनीति मेरो सेवा हो ।’ यी दुई उदाहरणले भन्छन्— हाम्रा राजनीतिज्ञ तथा तिनका दस्ताहरू पराश्रयी जीव हुन् । त्यही पराश्रयी जीवनशैलीले गर्दा उनीहरू धनसेवी भएका हुन् । सुविधासेवी भएका हुन् । बिचौलियासेवी भएका हुन् । भ्रष्टाचारीसेवी भएका हुन् । दुई नम्बरीका सेवी भएका हुन् । ‘धन्दा’ का सेवी भएका हुन् । माफियाका सेवी भएका हुन् । भौतिकवादी चिन्तन मात्र बोक्ता वा बोकाउँदा लेखनाथ पौड्यालको ‘म खाऊँ मै लाऊँ’ भन्दा पर गएका छैनन् । जान पनि सक्तैनन् । अर्थात्, चाणक्यले देशको काम गर्दा देशकै तेल खर्चने बत्ती बालेको तथा चिनियाँलाई भेट्ता आफ्नो कमाइको बत्ती बालेको सन्दर्भ बुझ्दैनन् । बुझे पनि बुझ पचाउँछन् । हाम्रो संस्कार यही होइन र ?

किनुवा, अर्धतलबी, तथा पूर्ण तलबी कार्यकर्ताहरू सुरक्षादस्ता बन्न सक्छन् । आक्रामक दस्ता बन्न सक्छन् । दूधको दूध पानीको पानी छुट्याउने समालोचक दस्ता बन्न सक्तैनन् । यहाँ नुन खाएपछि बैगुन नगर्ने चिन्तनले काम गर्छ । गरेकै छ । तर नुन खाएर पनि समालोचक बन्ने हाम्रो पुर्ख्यौली संस्कार छ । महाभारतका भीष्म पितामहले कौरवको नुन खाए । तैपनि उनले भने, ‘तिमी जित्दैनौ । जित पाण्डवको हुन्छ ।’ विदुरले पनि त्यसै भने । नुन खाँदा पनि लडाइँमा तिम्रो हित छैन भन्ने तागत उनीहरूको विद्वत्ताले दिएको थियो । तर दल तथा नेताका सुरक्षा/आक्रामक दस्तामा त्यो विद्वत्ता छैन । किनुवा दस्तामा त हुने नै भएन । यो स्थितिमा अर्को सम्भावना थियो । त्यो हो— नेताहरूले जनस्तरका एजेन्डाहरूमा दस्ता परिचालन गर्नु । त्यो चिन्तनचाहिँ नेताहरूमै रहेन । उनीहरूले स्वार्थमा दस्ता परिचालन गर्ने संस्कार बनाए । लहडमा परिचालन गर्ने संस्कार बनाए । तेस्रो सम्भावना पनि थियो । त्यो हो— उत्पादन–दस्ता बनाउने । यो दस्ता पराश्रयी हुँदैनथ्यो । किनुवा हुँदैनथ्यो । पूर्ण तथा आधा तलबी हुँदैनथ्यो । उल्टै आफ्नो दललाई लेभी बुझाउने हैसियत राख्थ्यो । त्यसो भएको भए ऊ नुनको बोझले किचिँदैनथ्यो । नुन खुवाउनेको दम्भले थिचिँदैनथ्यो । परिणामतः त्यो दस्ता समालोचक बन्न सक्थ्यो । राम्रोलाई राम्रो भन्न सक्ने । नराम्रोलाई नराम्रो भन्न सक्ने । नुन खाँदा विदुर र भीष्म पितामहजस्तो । निष्पक्ष बन्दा पौराणिक यमराजजस्तो ।

केका लागि दस्ता ?

केका लागि दस्ता बनायौं ? अब तिनलाई केका लागि परिचालन गर्ने ? सबै राजनीतिक नेताहरूले सोच्नैपर्ने कुरा यही हो । आफ्नो सुरक्षाका लागि ? आफ्ना विरोधीलाई आक्रमण गर्नका लागि ? सीमान्तीकृत समुदायका समस्याको समाधानका लागि ? उनीहरूले बुझ्नुपर्ने हो— सुरक्षादस्ता भूमिगत राजनीतिज्ञले खोज्छन् । आक्रामक दस्ता क्रान्ति गर्नेले खोज्छन् । यस अर्थमा अहिलेका सत्ताधारी तथा विरोधी दलहरूले सुरक्षा/आक्रामक दस्ता बनाउनु वा तिनका दस्ता बन्न युवाहरूले स्विकार्नु भनेको घातोन्मुख बाटो समात्नु हो । किनकि दस्ताले थप दस्ता माग्छ । सैन्यकरणसम्बन्धी अध्ययनहरू त्यसै भन्छन् । सैनिक खर्च बर्सेनि बढ्ने कारण त्यही हो । संरचनाले गर्दा बढ्ने । व्यक्तिले गर्दा बढ्ने । सुरक्षा/आक्रामक दस्ता प्रकारान्तले बिनाबर्दीका सैन्य हुन् । चलायमान सदस्यको बढ्दो संख्याले त्यही संकेत गर्छ । पराश्रयी ती बिनाबर्दीका दलीय सैन्य पाल्नुपर्दा दलहरूको खर्च बढ्छ । परिणामतः त्यही दस्ता आर्थिक बेइमानीका लागि राजनीतिक नेतृत्वलाई बाध्य पार्ने समूह बन्छ । यसको अर्थ हो— तीन कारणले दस्ता पाल्नुको औचित्य छैन । पहिलो, सत्ताधारी वा विरोधी दलका नेताहरूले सरकारबाटै सुरक्षादस्ता पाएका छन् । लिने–खाने मामिलामा सबै दलका नेतृत्वहरूबीच एकस्वर छ । अपवादवालाहरूको स्वर मसिनो (मर्मरिङ साउन्ड) छ । दोस्रो, विरोधीहरूले पनि संवाद गर्ने संस्कार बनाउन थालेका छन् । त्यसैले तिनलाई आक्रमण गर्नुपर्ने स्थिति छैन । तेस्रो, ती दस्ताहरूले सीमान्तीकृत समूहका मुद्दा उठाएको उदाहरण पनि छैन । छ जना दलित युवाको अमानवीय तरिकाले ज्यान लिने रुकुमको घटनामा दलीय मौनता यसको संकेत हो । कोरोना अवधिमा ८७ लाख विद्यार्थीले १० महिनाको पढाइ गुमाउँदा पनि एक शब्द नबोल्ने दलीय दस्ताको सोचले यसलाई प्रमाणित गरेको छ । उखु किसानहरूलाई ज्यान लिनेसम्मको दुःख दिने उद्यमीविरुद्ध आवाज नउठाउने दस्ताको व्यवहार यसको थप प्रमाण हो । यस अर्थमा दलहरूलाई मार्क्सले भनेजस्तो सहरी कामदारहरू (प्रोलेटारियट अर्बन वर्किङ क्लास) को दस्ता चाहिन्न । माओले भनेजस्तो ज्यालादारीमा काम गर्ने किसान तथा साना किसानको जनदस्ता (पिजेन्ट्स पपुलर मास) पनि काम छैन । न त दलैपिच्छे बने–बनाइएका शिक्षक, विद्यार्थी, कर्मचारी, मजदुर, ट्रेड युनियन, मानवाधिकारकर्मी आदिकै दस्ता जरुरी छ । सत्ताधारी नेताहरूले यसको अनुभूति गरेका छन् । तिनैले आफूलाई लाचार छाया बनाएको अनुभूति गरेकै छन् ।

अब के गर्ने ?

दस्ताको बनोटले भन्छ— हामीसँग किनुवा दस्ता छ । घरपालुवा दस्ता छ । रोजगारदाताभन्दा दलको काममा सम्मान देख्ने जागिरे दस्ता छ । किनुवा दस्ता साझा हुन् । घरपालुवा दस्ता बोझ हुन् । रोजगारदाताभन्दा दलको काममा सम्मान देख्ने दस्ता नमकहराम हुन् । यी तीनैथरीलाई हो ची मिन्हको प्रश्नले उत्तर दिन्छ । पेसा खोज । राजनीतिलाई सेवा मान । प्रचण्डको उत्पादन ब्रिगेडले काम दिन्छ । आंशिक तथा पूर्णकालीन कार्यकर्ता पाल्ने पैसाका लागि नेताहरूले बाहिर साखुल्ले बन्दै भित्र अपराध गर्नुपर्दैन । अन्यथा केपी पाण्डे (कान्तिपुर, २०७७ माघ ९) ले भनेझैं प्रतिव्यक्ति ३०,००० रुपैयाँ ऋण बोकेको नेपालीले थप ऋण बोक्नुपर्छ । गार्हस्थ्य उत्पादनको ४.५ प्रतिशत सामाजिक सुरक्षा खर्च बेहोर्नुपर्ने देशका युवाले हो ची मिन्हको प्रश्नको भारी बोक्नुपर्छ ।

भगवान् कृष्ण काममा व्यस्त थिए । नारदलाई अचम्म लाग्यो र सोधे, ‘तपाईं किन काम गर्नुहुन्छ ?’ उनको उत्तर थियो, ‘मजस्तै हुने रहरमा तिमीले पनि काम गर्दैनौ कि भन्ने डरले ।’ कृष्णको इसारा बुझेका हो ची मिन्ह दिनको तीन घण्टा खेतीपातीको काम गर्थे । महात्मा गान्धी दिनहुँ चर्खा कात्थे । त्यसैले भन्ने गर्थे, ‘काम नगरी भोजन गर्ने व्यक्ति चोर हो ।’ यसको अर्थ हो— बिनाकाम भत्ता दिने कार्यक्रम बन्द गर्नुपर्छ । काम गर्न सक्ने ज्येष्ठ नागरिक (१५ लाख), अपांगता भएका व्यक्ति (१.२५ लाख), एकल पुरुष र महिला (७.२ लाख), लोपोन्मुख जातजाति आदिलाई के काम दिने भनी अस्ट्रेलियासँग सोधे हुन्छ । राजनीतिक दलले पालेका घरपालुवा दस्ता तथा बालबालिका (९ लाख) लाई के काम दिने, चीनसँग सोधे हुन्छ । निवृत्तिभरण पाउनेहरूलाई पनि सीप र क्षमताअनुसार काम लगाउनुपर्छ । यसो गर्नाले काम नगरी दाम खाने संस्कारको अन्त्य हुन्छ । भोलिका युवाले पाल्नुपर्ने समुदायबाटै पनि केही प्रतिशत आर्जन हुन्छ । यसो गर्ने हो भने दिनेको घमण्ड हट्छ । लिनेको हीनताबोध हट्छ । देशको ढुकुटी सित्तैंमा खाने बानीको अन्त्य हुन्छ । क्रमशः आवश्यकताअनुसार दाम दिने समतामूलक चिन्तन अगाडि आउँछ । काम गर्न नसक्ने समूहको हकमा चाहिँ यो नियम लागू गर्नु हुँदैन ।

काम के दिने ? प्रश्न अगाडि आउँछ । यसका निम्ति भत्ता लिनेसँगै जवाफ हुन्छ । उनैले भन्छन्— यो काम गर्न सक्छु । गरिरहेको छु । भत्ता लिएबापत यति दिन यसरी काम गर्छु । शारीरिक काम । बौद्धिक काम । कारिन्दे काम । चिन्तनको काम । अनुसन्धानको काम । एउटा तरिका हो यो । दोस्रो तरिका हो— यो काम खुलेको छ, गर भन्न पनि सकिन्छ । अस्ट्रेलियाले जस्तो । तेस्रो तरिका नाङ्लो रेस्टुरेन्टको उपाय हुन सक्छ— बहिराहरूलाई रोजगारी दिनेजस्तो । पुलिस सिपाहीलाई सुरक्षा गार्डका रूपमा रोजगारी दिने फोरजीजस्ता संस्थाको उपाय हुन सक्छ । निवृत्तिभरण पाएकाहरूलाई मेन्टरिङको काम लगाउने स्याङ्जाको वालिङ नगरपालिकाले अपनाएको तरिका हुन सक्छ । यस्ता संस्थाहरूको सिर्जना पो गर्ने कि ? यस्ता सर्जकहरूलाई प्रोत्साहित पो गर्ने कि ?

सुरक्षा/आक्रामक दस्तालाई उत्पादन ब्रिगेडका रूपमा विकसित गर्नुपर्छ । लिजको जग्गामा खेती गराएर । पशुपालन गराएर । चीनले जस्तो सरकारका कामको रेखदेखमा लगाएर । सीप छ भने उत्पादन गर भन्ने अभियान चलाएर । उत्पादित वस्तु किनिदिने बंगलादेशको ब्राकको आरोङजस्तो संस्था बनाएर । उनीहरूको रुचिअनुसारको सीप दिएर । हाम्रै परम्परागत उद्यमहरूलाई उद्यमीकरण गर्न लगाएर । अन्य उपाय गरेर ।

दलीय बफादार तर रकम अर्कैको खाने शिक्षक, कर्मचारी, प्राध्यापक आदिलाई अब नुनको सोझो गर भन्नुपर्छ । अनि मात्र भीष्म पितामह तथा विदुरको जस्तो गरी भन्न सक्ने तागत आउँछ । देशले निश्चित बाटो लिन्छ । यसका निम्ति समालोचक दस्ता चाहिएको हो । कतै राजनीतिक नेता, सुरक्षादस्ता, आक्रामक दस्ता, बिनाकाम पाल्नुपर्ने समूह तथा नुन एउटाको खाने अनि काम अर्काको गर्नेहरूले एकपटक आत्मालोचना गर्ने कि ? हो ची मिन्ह सम्झने कि ? भीष्म पितामह तथा विदुर सम्झने कि ? देशले कस्तो दस्ता खोजेको छ ? प्रश्न युवा, राजनीतिक दल, विज्ञ तथा सरकारको आडमा छोडें ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : माघ २२, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?