कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना : थप सतर्कताको खाँचो

सम्पादकीय

संसारभर तीन दर्जनभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरसको नयाँ प्रजाति ‘यूके भेरियन्ट’ (बी.१.१.७) नेपालमा पनि देखिइसकेको छ । पहिलेको तुलनामा ५० प्रतिशतसम्म बढी संक्रमण फैल्याउन सक्ने भनिएको यो भाइरसका कारण मुलुकमा कोभिड–१९ को दोस्रो लहर नफैलियोस् भनेर सरकार र नागरिक दुवै सचेत रहनुपर्छ ।

कोरोना : थप सतर्कताको खाँचो

सरकारले रोकथाम र नियन्त्रणका आफ्ना गतिविधिलाई चुस्त–दुरुस्त राख्नुपर्छ । र, नागरिकले पनि पहिलेझैं सम्पूर्ण रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्छ ।

कोरोना ‘आरएनए भाइरस’ भएकाले यसमा आनुवंशिक परिवर्तन भइरहन्छ, जुन अनौठो होइन । अहिले नै पनि यसका ‘यूके भेरियन्ट’ (बी.१.१.७), ‘साउथ अफ्रिकन भेरियन्ट’ (५०१.भी२) र ‘ब्राजिलियन भेरियन्ट’ (पी.१) संसारभरि फैलिरहेका छन् । यीमध्ये यूके भेरियन्ट यहाँ पनि देखिएको हो । खासमा अनुवंशिक परिवर्तन भएका यस्ता भाइरसले कस्तो व्यवहार देखाउँछन् भन्ने सवाल मुख्य हो । अहिलेसम्म यो प्रजाति बढी फैलिने पुष्टि भए पनि पहिलेको तुलनामा घातक रहेको भने पाइएको छैन । तर जे नै भए पनि, योसँग डराउने वा यसलाई बेवास्ता गर्नेभन्दा जनस्वास्थ्यका नियमहरू पालना गरेर संक्रमणबाट जोगिने नै प्रभावकारी उपाय हो । उचित स्वास्थ्य सतर्कता अपनाइएको खण्डमा अहिलेसम्म पुष्टि भएका जुन भाइरसबाट पनि जोगिन सकिन्छ ।

सर्वप्रथम त, सरकारले यी प्रजातिहरू फैलिएका मुलुकबाट आएका नागरिकहरूलाई अनिवार्य ‘क्वारेन्टिन’ मा राख्ने वा घरमै पनि ‘आइसोलेसन’ मा बसे–नबसेको निगरानी गर्ने व्यवस्था गर्नुपर्छ । अहिलेसम्म सरकारले बेलायतबाट आएकाहरूलाई मात्र चासो दिइरहेको देखिन्छ । अरू देशमा पनि यी प्रजाति फैलिसकेकाले सम्बद्ध सबै मुलुकबाट आउनेहरूको हकमा निश्चित दिनसम्म अलग्गै बस्नुपर्ने नियमको पालना बाध्यकारी गरिनुपर्छ । नेपालसित खुला सीमा भएको दक्षिणी छिमेकी भारतमा पनि यो प्रजाति देखा परिसकेकाले सीमानाकामा थप सतर्कता अपनाउन जरुरी छ । कोरोना भाइरस फैलिएको सुरुआती चरणमा यस्तै सावधानी अपनाउन चुक्दा मुलुकभर संक्रमण विस्तार हुन पुगेको तथ्य यतिबेला भुल्नु हुँदैन ।

अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या र संक्रमण दर मात्र होइन, मृत्यु दर पनि घटेको देखिन्छ । तर पछिल्लो समय बढेको राजनीतिक सरगर्मीसँगै सभा, समारोह र जुलुसका नाममा जुन रूपमा स्वास्थ्य मापदण्डको धज्जी उडाउने काम भैरहेको छ, यसले संक्रमणको दोस्रो लहर भयावह रूपमा नफैलिएला भन्न सकिने अवस्था छैन । त्यसैले, सरकार र नागरिक कसैले पनि लत्तो छाड्ने काम गर्नु हुँदैन । सत्ताको समर्थनमा गरिएको भेला–जुलुस होस् या विपक्षमा, सर्वत्र जनस्वास्थ्य नियमको पालना गर्नु–गराउनुपर्छ । यस्तो दायित्व सम्बन्धित कार्यक्रम आयोजकहरूको पनि हो । यसमा सरकारले पनि भूमिका खेल्नुपर्छ, त्यसको सुरुआत सत्ताको समर्थनमा गरिएका कार्यक्रममा व्यक्तिगत दूरी कायम गर्न लगाएरै गरियो भने बढी उदाहरणीय हुन सक्छ ।

अहिलेसम्म मुलुकमा कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म आइपुग्छ भन्ने कुनै टुंगो लागेको छैन । खोप आइपुगिसकेपछि पनि सर्वसुलभ हुन कति समय लाग्छ, यसै भन्न सकिँदैन । र, नयाँ प्रजातिका भाइरसको हकमा खोपले कति काम गर्न सक्छ भन्ने पनि यकिन भैसकेको छैन । त्यसैले वर्तमान संक्रमणलाई थप फैलिनबाट रोक्न यथाशीघ्र खोप ल्याउने तदारुकता देखाउन जति जरुरी छ, त्यति नै अनिवार्य छ— स्वास्थ्य नियमहरूको निरन्तर पालनाको । यसका लागि, सरकारले दोस्रो लहर आउन नदिन हरसम्भव उपाय त अपनाउनुपर्छ नै, कथं संक्रमण फैलिइहाल्यो भने आवश्यक पर्ने उपचार व्यवस्था पनि मिलाइराख्नुपर्छ ।

यस्तो अवस्थामा हरेकले आफ्नो नागरिक दायित्व भुल्नु हुँदैन । खासगरी विदेशबाट आउनले आफ्ना कारण परिवार र समुदायमा संक्रमण नफैलियोस् भनेर आवश्यक सावधानी अपनाउनुपर्छ । र, अहिले सबैजसो स्थल खुलिसकेकाले देशभित्रै बसेकाले पनि घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क पहिरिनेदेखि व्यक्तिगत दूरी कायम राख्ने र समय–समयमा हात धुने वा ‘स्यानिटाइजर’ प्रयोग गर्नेजस्ता नियमहरूको पालना गरिरहनुपर्छ । हरेक व्यक्ति सतर्क रहने हो भने, कसैमा संक्रमण रहेछ भने पनि अरूमा फैलिन पाउँदैन ।

सरकारले ध्यान दिनुपर्ने अर्को पक्ष भनेको कोरोना भाइरसको ‘जिनोम सिक्वेन्सिङ’ गरेर अध्ययन गर्नु पनि हो । कोरोना भाइरसले विश्वभर नै आफ्नो अनुवंशिक गुण परिवर्तन गरिरहेको सन्दर्भमा नेपालमा पनि छुट्टै प्रकारको भेरियन्ट विकास नभएको होला भन्न सकिने अवस्था छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोरोना संक्रमित बिरामीहरूको सार्स–कोभ–२ भाइरसको अनुवंशिक अनुक्रमीय व्याख्यासम्बन्धी अध्ययनमा यहाँ भेटिएका भाइरसमा पनि केही अनुवंशिक परिवर्तन भएको पाइएको थियो । यस्तोमा कोरोना भाइरसमा कस्तो प्रकारको परिवर्तन भइरहेको छ र मुलुकमा यसका कुन–कुन प्रजाति आइरहेका छन् भनेर अध्ययन गर्न यसको नमुना सधैं विदेश पठाएर सम्भव हुँदैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उक्त अध्ययन गर्दा नेपालकै एक निजी प्रयोगशालामा नमुना परीक्षण गरी त्यसलाई थप प्रमाणित गर्न हङकङ प्रयोगशाला पठाइएको थियो । यस्तै पुसको पहिलो साता बेलायतबाट फर्किएका तीन जनामा बी.१.१.७ कोरोना भाइरसको संक्रमण रहे/नरहेको पुष्टि गर्नका लागि पनि संक्रमितहरूबाट लिइएको स्वाब नमुना हङकङ पठाउनुपरेको थियो । यही अवस्था विद्यमान रहिरहनु हुँदैन, मुलुकमै यस्तो परीक्षणका लागि यथोचित व्यवस्था मिलाइनुपर्छ । र, यसप्रकारको अध्ययनलाई निरन्तरता दिइनुपर्छ । मुख्य कुरा, भाइरसका जुनसुकै प्रजातिसित जुध्ने उपाय भने फेरि पनि एउटै हो– हरेकले यथोचित स्वास्थ्य सतर्कता अपनाउनैपर्छ ।

प्रकाशित : माघ ७, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?