पर्यटकलाई कसरी टिकाउने लुम्बिनीमा ?- विचार - कान्तिपुर समाचार

पर्यटकलाई कसरी टिकाउने लुम्बिनीमा ?

७० प्रतिशत पर्यटक आएकै दिन फर्किने गरेका छन् । ३० प्रतिशतको बसाइ एक दिन मात्रै हुने गरेको छ ।
अमृता अनमोल

काठमाडौँ — कुनै भवितव्य नभए अब छ महिनाभित्र भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ । लुम्बिनी आउने पर्यटकलाई सोझै बुद्ध जन्मस्थल ल्याउने प्रमुख उद्देश्यले यो विमानस्थल बनाइएको हो ।

अन्तर्राष्ट्रिय उडान सुरु हुनासाथ बाह्य मुलुकका पर्यटक सीधै भैरहवा हुँदै लुम्बिनी आउनेछन् । बुद्ध जन्मस्थलमा बाह्य पर्यटकको चहलपहल बढ्नेछ । उनीहरूलाई एकै छिन लुम्बिनी पुगेर मायादेवी मन्दिर र केही गुम्बा घुमाएर फर्काउने कि रोक्ने ? भुलाउन र बास बसाउन के गर्ने ? पर्यटक व्यवस्थापन कसरी गर्ने ? त्यसबाट स्थानीय बासिन्दाले फाइदा कसरी लिने ? लुम्बिनीवासीका लागि यो अहिलेको प्रमुख चुनौती हो ।

लुम्बिनीमा पर्यटकको पहिलो गन्तव्य मायादेवी मन्दिर हो, जहाँ बुद्धको दरबार र उनको पाइला छन् । मन्दिरबाहिर अशोकस्तम्भ र पोखरी छन् । पर्यटकलाई केही बेर भुलाउन बुद्ध जन्मस्थलआसपास केही भौतिक पूर्वाधारको विकास भएको छ । विभिन्न देशले कलात्मक गुम्बाहरू बनाएका छन्, जसले पर्यटकको ध्यान खिच्नेछन् । शान्ति स्तूप, बुद्ध स्मारक, संग्रहालय घुम्दा केही समय बित्नेछ । लुम्बिनीमा अहिले भएका संरचनाहरू राम्रोसँग अवलोकन गर्न झन्डै दुई दिन लाग्छ । अर्थात्, एक पर्यटकलाई लुम्बिनीभित्र मात्रै घुमाउन सके पनि दुई दिन अड्याउन सकिन्छ । बुद्धको मावलीघर देवदह, उनले उनन्तीस वर्ष बिताएको तिलौराकोट एवं कपिलवस्तुका बुद्धस्थल, अस्तिधातु रहेको नवलपरासी पश्चिमको रामग्राम लगायत घुम्न गए थप तीन दिन बित्छ । तर, पर्यटकलाई पाँच दिनसम्म लुम्बिनीमा बसाउने र भुलाउने योजना अहिलेसम्म बनेको छैन । उपर्युक्त सबै ठाउँबारे बताउने कसले ? घुमाउने कसरी ? अन्योलै छ ।

मान्छेले कसरी असल बन्ने, दुःखबाट छुट्कारा पाउने र सबैको भलो हुने काममा केन्द्रित हुने भन्ने बुद्धशिक्षालाई विश्वका साढे २ अर्बभन्दा बढीले धर्मका रूपमा मान्दै आएका छन् । उनीहरूका लागि लुम्बिनी पर्यटकीय स्थल मात्र नभई मुख्य तीर्थस्थल हो । लुम्बिनी, बौद्धनाथ, सारनाथ र कुशीनगर गौतमबुद्धको जीवनसँग जोडिएका चार प्रमुख क्षेत्र हुन् । तीमध्ये लुम्बिनी सबैभन्दा पावन, पवित्र र महत्त्वपूर्ण मानिन्छ । बौद्ध साहित्य अनुसार, स्वयं बुद्धले आफ्ना अनुयायीहरूलाई जीवनकालमा एकपटक भए पनि लुम्बिनी भ्रमण गर्न भनेका छन् । त्यसबाट खराब कर्म पखालिने, पुण्य मिल्ने र असल कर्ममा लाग्न उत्प्रेरणा मिल्ने कथन छ । यही बुद्ध वचन अनुसरण गर्दै बौद्धमार्गीहरू लुम्बिनी आउने गरेका छन्, जुन क्रम अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपछि बढ्ने अपेक्षा छ ।

लुम्बिनी विकास कोषका अनुसार, हाल लुम्बिनीमा वार्षिक करिब १२ लाख स्वदेशी–विदेशी पर्यटक आउने गरेका छन् । तीमध्ये अधिकांश धार्मिक पर्यटक हुन् । विमानस्थल सञ्चालनपछि वार्षिक २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य छ । त्यसका लागि लुम्बिनी आसपासका सडक फराकिला पारिएका छन् । तारे होटल खुल्ने क्रम बढेको छ । पर्यटकमैत्री रेस्टुराँ र बारहरू सञ्चालनमा आएका छन् । लुम्बिनी क्षेत्रभित्र साजसज्जा र आकर्षण बढाइएको छ । तर, भौतिक पूर्वाधार विकासले मात्रै लुम्बिनीमा पर्यटक बढ्ने वा अडिने गर्दैनन् । धार्मिक पर्यटकहरू बुद्ध जन्मस्थलमा बुद्धमय वातावरण चाहन्छन् । बुद्धकालीन संस्कार र परम्परा, बुद्ध ज्ञान र कला हेर्न खोज्छन्, जुन होटल र रेस्टुराँमा होस्, बस्तीमा बस्ने र सडकमा भेटिने नागरिकमा पाइयोस् । विदेशी पर्यटकहरूलाई जे चाहिने हो, लुम्बिनीमा त्यसैको अभाव छ ।

गौतम बुद्ध र विश्वसम्पदामा सूचीकृत लुम्बिनी नेपालका मात्रै होइनन्, विश्वकै गौरव हुन् । तर, स्थानीय बासिन्दाले नै त्यसमा गौरव गर्न सकेका छैनन् । बुद्धबारे उनीहरूलाई राम्ररी बुझाउन सकिएको छैन । लुम्बिनीबाट उनीहरूले फाइदा लिने अवस्था बन्न सकेको छैन । उनीहरूलाई पर्यटकीय गतिविधि र पाहुनाको स्वागत–सत्कारमा लगाउने काम गरिएको छैन । स्थानीय बासिन्दाको अपनत्व नहुँदा बुद्ध जन्मस्थलमै बुद्धमय वातावरण बन्न सकेको छैन । यही कारण पनि पर्यटकहरू एक छिन/दिन मायादेवी मन्दिर र आसपास घुमेर फर्किहाल्ने गरेका हुन् ।

लुम्बिनी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अनुसार, बुद्ध जन्मस्थल आउने पर्यटकमध्ये ७० प्रतिशत त्यसै दिन फर्किने गरेका छन् । बाँकी ३० प्रतिशतको बसाइ एक दिन मात्रै हुने गरेको छ । एक दिनभन्दा धेरै बिताउने भनेका आआफ्ना देशका गुम्बाहरूमा बस्नेहरू मात्रै हुन् । लुम्बिनीको रमणीयता हेर्न आउने पर्यटकलाई लोभ्याउन र अड्याउन भौतिक सुविधा जरुरी हुन्छ । रम्ने–रमाउने र भुल्ने–भुलाउने ठाउँ चाहिन्छ । लुम्बिनीमा त्यसको पनि अभाव छ । लुम्बिनी विकास कोषबाहिरका क्षेत्रमा पर्यटक लैजाने र भुलाउने कुनै क्षेत्र तय गरिएको छैन । यही कारण धार्मिक आस्थाबाहेकका पर्यटकलाई पनि लुम्बिनी अड्याउन मुस्किल छ ।

बौद्ध परम्परामा बोधिसत्त्वले जन्म लिन काल, तिथि, स्थान, कोख र समाजको ठूलो महत्त्व हुन्छ । भनिन्छ, जम्बुद्वीपमा त्यस समय सबैभन्दा उत्तम क्षेत्र छनोट गरेर बुद्धले लुम्बिनीमा जन्म लिएका थिए । तथागतलाई धारण गर्न सक्ने मायादेवीको कोखलाई नारी शक्तिको आधार मानिन्छ । कपिलवस्तु, मावली देवदह, गौतम बुद्धको आठ भागको एक भाग अस्तुधातु रहेको रामग्राम क्षेत्र बुद्ध चरणका पवित्र क्षेत्रहरू हुन् । लुम्बिनीमा पर्यटन प्रवर्द्धनसँगै तिलौराकोट, देवदह, रामग्राम र आसपासका क्षेत्रका बासिन्दामा पनि बुद्धप्रति अपनत्व जगाउनुपर्छ । बुद्धले सिकाएका ज्ञान, बुद्धको जीवनी र बुद्धसँग जोडिएका कुरा सिक्ने र अपनत्व लिएर तिनलाई अरूलाई सिकाउने बनाउन आवश्यक छ । पथप्रदर्शकले धेरै कुरा भन्नुभन्दा स्थानीय बासिन्दाले थोरै कुरा देखाउँदा पनि पर्यटक लालायित हुन्छन् ।

लुम्बिनीमा दिगो पर्यटन तब मात्र सम्भव हुन्छ, जब यस क्षेत्रका नागरिकको मनमस्तिष्कमा बुद्धप्रति गहिरो आत्मसम्मान हुन्छ । बुद्धलाई नबुझी दिगो पर्यटन सम्भव छैन । यसर्थ बुद्धभूमिमा बस्ने समुदायको हरेक गतिविधिमा बुद्धप्रति सम्मान, शिक्षा, मैत्री, संस्कार र उत्साह प्रवर्द्धन गर्न आवश्यक छ । बुद्धको व्यावहारिक ज्ञानलाई जीवनशैलीमा रूपान्तरण गराउनुपर्छ । बुद्ध संस्कार र संस्कृतिको विकास गर्नुपर्छ । केही क्षेत्र र टोललाई पञ्चशीलमैत्री बनाउनुपर्छ । विद्यालय, युवाक्लब, महिला समूह लगायतमा बुद्ध संस्कारमय क्रियाकलाप गराउनुपर्छ । बुद्धप्रति सम्मान जनाउन हरेक पूर्णिमालाई उत्सवका रूपमा मनाउन थाल्नुपर्छ । लुम्बिनी आसपासका बस्ती सफा राख्नुपर्छ । आसपासका क्षेत्रमा समुदायकेन्द्रित होमस्टे सञ्चालन गरिनुपर्छ । होटल रेस्टुरेन्ट र सडक खाना महोत्सवहरूमा बोधिसत्त्व शैलीका परिकार उपलब्ध गराउनुपर्छ । बुद्धसम्बन्धी पोसाक, सामग्री, गहनाहरूको किनबेच र प्रयोग गर्नुपर्छ । होटलहरूमा बुद्धमय अभिवादन (भवतुः सब्ब मंगलम्) प्रयोग गर्नुपर्छ । पर्यटकलाई ठाउँठाउँमा बुद्ध जीवनी बताउने थिएटर, ध्यान अभ्यास र विपश्यनाको सुविधा दिनुपर्छ । अनि मात्र लुम्बिनीमा पर्यटकलाई धेरै दिन भुलाउन सकिनेछ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीमा गरिएको लगानीले सार्थकता पाउनेछ ।

प्रकाशित : माघ ५, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

११ दलसँग आयोगको छलफल

दलका प्रतिनिधिबीच निर्वाचनको विषयमा मत बाझियो
जगदीश्वर पाण्डे

काठमाडौँ — निर्वाचन आयोगले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको नयाँ मिति तोकेपछि आयोगले आइतबार ११ वटा राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर निर्वाचन प्रक्रियाबारे छलफल गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आ–आफ्नो मातहतका प्रदेश, जिल्ला, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ संगठनमार्फत निर्वाचन कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका लागि दलहरूलाई अनुरोध गरे ।

तर आयोगको छलफलमा निर्वाचनलाई लिएर दलका प्रतिनिधिहरूको मत बाझिएको छ । उनीहरूले निर्वाचनको पक्ष–विपक्षमा धारणा राखे । नेकपा (ओली समूह) बाट प्रधानमन्त्रीका कानुनी सल्लाहकारसमेत रहेका बाबुराम दाहालले निर्वाचनको पक्षमा आफ्नो विचार राखेका थिए । बैठकमा सहभागी एक प्रतिनिधिका अनुसार दाहालले सरकारको घोषणाअनुसार निर्वाचन हुनुपर्ने सुझाव दिए । ‘राजनीतिक दलहरू जनतामा जान डराउनुभएन । यो स्वाभाविक प्रक्रिया हो,’ दाहालले भनेका थिए । नेकपा (दाहाल–नेपाल समूह) का नेताद्वय लीलामणि पौडेल र राजेन्द्र पाण्डेले भने निर्वाचन प्रक्रिया नै वैधानिक नभएको दाबी गरेका थिए । ‘आयोगको तयारी आफ्नो ठाउँमा छ । तर यसको प्रारम्भिक प्रक्रियाप्रति पार्टीको असन्तुष्टि हो,’ उनीहरूको धारणा थियो ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले सरकारको निर्वाचन घोषणा विवादित बने पनि निर्वाचनमा कांग्रेस सहभागी हुने र आयोगले यसको तयारी गर्नु स्वाभाविक भएको बताए । आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा मतदाता नामावली दर्ता कार्यक्रम ७७ जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएकामा निर्वाचनको मिति घोषणापश्चात् कानुनी व्यवस्थाबमोजिम उक्त कार्य स्थगन गरिएको जानकारी दिएका छन् । मतदाता नामावली अद्यावधिक कार्य चुस्तदुरुस्त सम्पन्न गर्न/गराउन र मतदानस्थल तथा केन्द्र निर्धारणसम्बन्धी कार्यमा राजनीतिक दलहरूका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका हुन् ।

आयोगले निर्वाचनका लागि मतदान केन्द्र र मतदानस्थल निर्धारण कार्यविधि–२०७७, निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति–२०७७ र निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति–२०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । सामाजिक सञ्जाल व्यवस्थापन नीति, निर्वाचन आचारसंहिता, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोक्नेलगायतका कार्य अन्तिम चरणमा रहेको तथा निर्वाचन व्यवस्थापनका सबै कार्य व्यवस्थित र योजनाबद्ध भइरहेको समेत आयोगले जनाएको छ ।

आयोगका अनुसार बैठकमा उपस्थित दलका प्रमुख एवम् प्रतिनिधिले मतदान केन्द्र र मतदानस्थल निर्धारण गर्दा भौगोलिक विकटता, केन्द्र तथा स्थलको सेवा सुविधा, मतदाताको सहज पहुँचको अवस्था र भौतिक पूर्वाधारको अवस्थालाई समेत ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

मतदाता नामावलीमा उजुरी र दाबी विरोधका लागि निर्धारित समय कम भएकाले थप हुनुपर्ने, प्रचारप्रसार व्यवस्थित बनाउनुपर्ने, १८ वर्ष उमेर पूरा गरेका सबै मतदाताले मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने र निर्वाचन खर्चको पारदर्शिता हुनुपर्ने विषयमा पनि उनीहरूले कुरा राखेका थिए । उनीहरूले विदेशमा रहेका नेपालीले समेत मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्ने, कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल निर्धारण गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

प्रकाशित : माघ ५, २०७७ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×