कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बाढीपहिरोको सकसमा उत्तरी नाका तातोपानी : बाटैमा रोकिए कन्टेनर

अनिश तिवारी

सिन्धुपाल्चोक — उत्तरी तातोपानी नाकाबाट भन्सार प्रक्रिया सकेर सामान बोकेर राजधानी हिँडेका दुई दर्जनभन्दा बढी कन्टेनर बाटैमा रोकिएका छन् ।

बाढीपहिरोको सकसमा उत्तरी नाका तातोपानी : बाटैमा रोकिए कन्टेनर

सोमबारयता कोदारी राजमार्ग (२६ किलोमिटर ) को दशकिलोमा पहिरोले शुक्रबार पनि सडक अवरुद्ध बनाए पछि कन्टेनरहरू बाटैमा रोकिएका हुन् । खाग्दल खोलाले धार बदलेर बिहीबार जोडिएको ह्युमपाइप छेउको संरचना पनि बेलुकीनै बगाइदिएको छ ।


खाग्दल खण्ड अवरुद्ध बनेपछि सामाग्री बोकेका र खाली फर्किएका कन्टेनर वारिपारि थन्किएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतकाअनुसार खोलाले धार बदलेका कारण साबिकमा खोला फर्काएर सडक जोडने प्रयास थालिएको छ । जसमा तीन एक्जाभेटर प्रयोग गरिएको छ ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले खाली कन्टेनर नफर्किएको र आएको कन्टेनरले पार्किङ भरिएकाले समस्या भएको बताए । 'दशकिलो र खाग्दलमा बाढीपहिरो अवरुद्ध बनाएपछि कन्टेनर फर्किन सकेको छैन, सडकले कन्टेनरलाई समस्या बनाएको छ ,उतै थन्किएका छन्,' केसीले भने । उनका अनुसार बिहीबार दुवैतिर सडक खुलेपनि शुक्रबार पुनः बन्द भएपछि व्यवसायी सामाग्री समयमा पुर्‍याउन नसकिने र कुहिने डरमा छन् ।

यस पटक १३ अर्ब ३१ करोड राजश्व संकलन भएको उनले बताए । जसमा असारमा मात्रै ९६ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन लक्ष्य बोकेकोमा ८० लाख १५ हजार संकलन भएको छ ।

नेपाल ट्रक कन्टेनर संघका अध्यक्ष अर्जुन सापकोटाले खासाबाट ६ वटा कन्टेनर मा लसुनसहित फलफूल ल्याइँदै गरिएकोमा बर्खे अवरोधले बाटैमा कुहिने डर भएको दुःखेसो गरे । 'कहिले सकिएला बर्खा ?, करोडौंको सामाग्री बाटोमै अलपत्र परेको छ, यसले हामी सबै व्यवसायी तनावमा छौं,' उनले भने ।

प्रकाशित : श्रावण ४, २०८१ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×