कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिमलताल पहिरो : गोलाघाटमा भेटियो एक यात्रुको शव

चितवन — सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला परेको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा भारत विहार सीतामडी जिल्ला बर्गनिया थानाग्राम जमुवा बस्ने २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको हो । उनी काठमाडौंको जोरपाटीबाट बस चढेका थिए ।

सिमलताल पहिरो : गोलाघाटमा भेटियो एक यात्रुको शव

खोलाले बगाएर बाहिर फ्याँकेको अवस्थामा उनको शव स्थानीयले भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

'शुक्रबार बिहान रातिको घटना हो । त्यसपछि शुक्रबार दिनभर हामीले खोजी गर्‍यौँ । तर कुनै उपलब्धि हासिल भएन,' उनले भने, 'आज हामी थप व्यवस्थितरुपले रणनीतिहरु बनाएर खोजी गरिरहेका छौँ । अहिले गोलाघाटमा ऋषिपाल साहको शव भेटिएको छ भने उहाँको परिवारले सनाखत समेत गरिसकेको छ ।'

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो । दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण समेत सार्वजनिक हुन सकेको छैन । चितवनका प्रजिअ यादवका अनुसार वीरगञ्जबाट हिँडेको बसमा २४ जना यात्रु थिए भने गौर जाँदै गरेको बसमा २७ यात्रु थिए । 'चलानमा उल्लेख भएभन्दा पनि बढी यात्रु रहेको खुलेको छ । को-को थिए भनेर हामी खोजी गरिरहेका छौँ,' उनले भने ।

शनिबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तालिमप्राप्त गोताखोर र विपद् उद्धारको जनशक्ति यहाँ खटिएको छ । त्यस्तै, नदी उद्धारमा काम गर्न सक्ने स्थानीयलाई समेत उद्धारमा सामेल गराइएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

'हामीसँग देशभित्र भएको दक्ष जनशक्ति र प्रविधि यहाँ छ । हिजो दिनभरको खोजी कार्यभन्दा आज हामीले रणनीति बदलेका छौँ । यो नदी साँघुरो, तर धेरै गहिरो छ । पानी धमिलो छ । गति धेरै छ । त्यसकारण गोताखोरहरुले पनि पानी भित्र गएर खोजी गर्न जोखिमपूर्ण अवस्था छ,' प्रमुख जिल्ला अधिकारी यादवले भने, 'आज हामीले पानीमा प्रयोग हुने ड्रोन समेतको प्रयोग गरेर खोजी गरिरहेका छौँ ।

दुरविनको पनि प्रयोग गरिएको छ । साथै वारीपारीबाट मोटरबोटहरु समेत लगाएर खोजी भइरहेको छ । आज हामीले पहिरो भएको ठाउँदेखि गोलाघाटसम्म नै खोजी कार्यलाई अघि बढाएका छौँ ।'

घाम लागेर पानीको सतह घटेका कारण शुक्रबारभन्दा शनिवार खोजीका लागि केही सजिलो महसुस भएको उनले बताए । 'हामीसँग भएको जनशक्ति र प्रविधि यति नै हो । योभन्दा बढी जनशक्ति खटाउनका लागि हामीले वैदेशिक जनशक्तिको सहयोग लिनुपर्ने हुन्छ, त्यो पनि गोताखोरले गर्ने भनेको सतहको पानीमा हो । यस्तो वेगमा रहेकोमा पानीमा गोताखोरले पनि खोजी गर्न सक्ने अवस्था हुदैन रहेछ,' उनले भने ।

उनका अनुसार अहिले यात्रुका आपन्तहरु सम्पर्कमा आइरहेका छन् भने सोधपुछ गर्नेहरुका लागि हेल्प डेस्कको समेत प्रबन्ध गरिएको छ ।

प्रकाशित : असार २९, २०८१ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×