कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बाढीपहिरोले १५ को मृत्यु

वर्षात् सुरु भएयता तीन सातामा ६७ जनाको मृत्यु, ८३ घाइते, ६ जना बेपत्ता
सुदीप कैनी

काठमाडौँ — अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

बाढीपहिरोले १५ को मृत्यु

शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशमा पहिरोका कारण ८ जना तथा बाढीले लुम्बिनीमा ३, वाग्मतीमा २, कोशी र उपत्यकामा १/१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार गण्डकीमा ६० घर डुबानमा परेका छन् भने डेढ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । ३ जना बेपत्ता छन् । बाढीले उदयपुरको बेलका–३ मा एक पुरुष, सुर्खेतको सिम्तामा एक बालिका र पहिरोमा परी स्याङ्जाको भीरकोटमा एक महिला बेपत्ता भएका छन् ।

त्यस्तै स्याङ्जाको बिरुवा–६ र तनहुँको शुक्लागण्डकी–७ मा पहिरोले पुरिएर ३/३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा नै परी पर्वतको फलेबास कार्कीनेटामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीले बगाएर दाङको लमही र राजपुरमा २ जनाको मृत्यु भएको छ भने पाल्पाको माथागढीमा र कोशीमा एक/एक जनाको मृत्यु भएको छ ।

काभ्रेको रोशीमा बाढीमा परी दुई जनाले ज्यान गुमाएका छन् । त्यस्तै काठमाडौंको नागार्जुनमा एक जनाको मृत्यु भएको जनाइएको छ । बाढीपहिरोमा परी पछिल्लो दुई दिनमा मृत्यु हुनेमा ७ पुरुष, ६ महिला र २ बालबालिका रहेका छन् । पहिरोमा परी स्याङ्जामा ७ र तनहुँमा ५ जना घाइते भएको प्रहरी प्रवक्ता कार्कीले जनाए ।सिन्धुपाल्चोकको हेलम्बु, गुल्मीको रुरुक्षेत्र, चितवनको इच्छाकामना र ओखलढुंगामा ६ जना घाइते भएका छन् ।

बाढीमा परी काठमाडौंको दक्षिणकाली र बूढानीलकण्ठमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । वर्षायाम सुरु भएदेखि नै जेठ मसान्तयता देशभर बाढीपहिरो लगायत मनसुनजन्य घटनामा परी ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी तथ्यांकअनुसार यस अवधिमा बाढीपहिरोमा परी मृत्यु हुनेमा २८ पुरुष, २२ महिला र १७ बालबालिका रहेका छन् । त्यस्तै ८३ जना घाइते भएका छन् । घाइते हुनेमा ३९ पुरुष, २९ महिला र १५ जना बालबालिका रहेका छन् । ६ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

हालसम्म बाढीका कारण १ सय २१ घर डुबानमा परेको, ८२ घर, ४६ गोठ, ४१ पुल, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी तथ्यांक छ । १ सय ८८ वटा पशु चौपायाको मृत्यु भएको छ । तीन साताको अवधिमा विपद्‍का घटनाबाट १ हजार ५८ घरपरिवारभन्दा बढी विस्थापित भएका छन् । विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने र विभिन्न ठाउँमा भएका बाटो अवरोध हटाउने काम भइरहेको प्रवक्ता कार्कीले बताए ।

बाढीपहिरोका कारण देशभरका सडक र राजमार्गहरू पनि अवरुद्ध भएका छन् । प्रहरीको तथ्यांकअनुसार केही सडक पूर्ण रूपमा र केही आंशिक रूपमा अवरुद्ध भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले सोमबारसम्मै अधिकांश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान गरेको छ । विभागको मौसम पूर्वअनुमान बुलेटिनमा सोमबार कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबानको समेत जोखिम हुन सक्ने भएकाले विभागले सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रकाशित : असार २४, २०८१ ०५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×