कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विद्यार्थीलाई प्रेरित गर्ने कृष्ण

सन्जु पौडेल

लुम्बिनी — पर्साको छिपहरमाई–५ मा जन्मिएका कृष्ण साह (कानु) परिवारका जेठा छोरा हुन् । सामान्य परिवारमा जन्मेहुर्केका उनका ५ भाइ छन् । बुबाआमाले परिवारको छाक टार्न र सन्तान पढाउन गर्नुपरेको संघर्ष नै उनका लागि मार्गनिर्देश बन्यो । बुबा ठेलामा सिजनअनुसारका फलफूल, तरकारीलगायत उपभोग्य सामग्री बिक्री गर्थे ।

विद्यार्थीलाई प्रेरित गर्ने कृष्ण

ठेलामा व्यापार गर्ने भए पनि बाबुले कृष्णलाई अरूका अगाडि बेखर्चीजस्तो नदेखिनु भनेर बुबाले हरेक बिहान पाँच/दश रुपैयाँ गोजीमा राखिदिन्थे र भन्थे, ‘ठूलाबडाको संगत गर है बाबु ।’

बुबाको आज्ञा शिरोपर गरेका कृष्णले घरनजिकैको श्री मंगल माविबाट २०६८ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि ‘प्लस टु’ पढ्न वीरगन्ज पुगे । सहर पसेपछि पढाइका अलावा थप ज्ञान आर्जनको अवसर जुर्न थाले । गाउँमा छँदा फाट्टफुट्ट तालिममा भाग लिने अवसर पाउँथे उनले । ‘प्लस टु’ पढ्दै गर्दा उनले गैरसरकारी संस्थामा काम गर्ने अवसर पाए । त्यसलाई विभिन्न व्यवसायमा आबद्ध व्यक्तिहरूबीच चिनजान बढाए ।

त्यसबीचमा समाज सेवामा सक्रिय एक संस्थाको सदस्य बने । त्यसपछि देशका लागि काम गर्ने सोचेर रूपन्देहीको सिद्धार्थनगर आए । ‘संस्थाले खाने, बस्नेसहितको सुविधा दिएर यहाँ काम गर्न पठायो,’ उनले भने, ‘चार वर्ष जति काम गरें ।’ त्यसपछि समाजमा सक्रिय हुने विचार गरेका उनी प्राज्ञिक विद्यार्थी परिषद्को सदस्य भएर पनि काम गरे । भैरहवा नमुना क्याम्पसबाट स्नातक सकेका उनी सन् २०१७ मा भारतको गोवामा आयोजित एक कार्यक्रममा भाग लिएपछि भने उनी ‘इभेन्ट म्यानेजमेन्ट’ मा लागे ।

कम बोल्ने स्वभावका कृष्ण उत्प्रेरणात्मक कुरा गर्छन् । खासगरी उनले विद्यार्थी र व्यवसायीलाई लक्षित गरी कार्यक्रम गर्छन् । त्यस्ता कार्यक्रममा उनले ‘मोटिभेसनल स्पिकर×’ लाई सहभागी गराउँछन् । व्यवसायीलाई उत्प्रेरणमूलक कक्षा दिने क्रममा उनले ‘जिनियस इन्साइडर’ नामक संस्था नै दर्ता गरे । चार जना मिलेर स्थापना गरेको संस्थाले भैरहवामा दुईवटा तालिम सञ्चालन गर्‍यो । त्यसपछि उनले काठमाडौंमा गरेको ‘मोटिभेसनल ट्रेनिङ विथ डा. विवेक विन्द्रा’ भव्य सफल भयो ।

प्रज्ञा प्रतिष्ठानमा ठूलो कार्यक्रम आयोजना गर्न सफल भएपछि उनको खुसीको सीमा रहेन । ‘करिब दुई महिना काठमाडौंमा बसेर गरेको मिहिनेत सफल भयो,’ उनले भने, ‘त्यसपछि निराश हुनुपरेको छैन ।’ कार्यक्रम गर्न ५७ हजार रुपैयाँ बोकेर गएका उनी राम्रो कमाइ गरेर फर्किए । त्यस्ता तीनवटा कार्यक्रमबाट उनले झन्डै ७० लाख रुपैयाँ कमाए । उक्त आम्दानीमध्ये केही रकम सहयोगस्वरूप प्रदान गरे ।

लगत्तै पुरानो संस्थाबाट अलग भएयता उनले २०७६ मा ‘जिनियस बिजलाइफ’ संस्था चलाइरहेका छन् । पछिल्लो समय भने उनले विद्यार्थीलाई प्रेरित गर्न न्यूनतम शुल्क लिएर कक्षाहरू सञ्चालन गर्छन् । ‘सकभर निःशुल्क कार्यक्रम गर्छु । लिनै परे पनि खर्च हुनेमध्ये ५० प्रतिशत मात्र लिने गरेको छु,’ उनी भन्छन् ।

हालसम्म उनले १३ जिल्लामा कार्यक्रम गरिसकेका छन् । अब भने उनी एसियामै सबैभन्दा ठूलो ओपन मोटिभेसनल कार्यक्रम गर्ने सोचमा छन् । ‘काठमाडौंको दशरथ रंगशालामा ७ जना वक्ता बोलाएर हजारौं मानिसलाई लक्षित गरेर उत्प्रेरणामूलक कार्यक्रम गर्ने योजनामा छु,’ उनले भने ।

प्रकाशित : असार २३, २०८१ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×