कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छाउगोठमा बलात्कृत किशोरी भन्छिन् : ‘आफन्तले नै अपराध गरे’

अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–२ को छाउगोठमा बलात्कृत १६ वर्षीया किशोरी अहिले जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा भर्ना भएकी छन् ।

छाउगोठमा बलात्कृत किशोरी भन्छिन् : ‘आफन्तले नै अपराध गरे’

मामाघरमा बसेर पढिरहेकी उनी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् । मंगलबार बिहान बेहोस अवस्थामा बारीमा भेटिएकी उनलाई उपचारका लागि अस्पताल पुर्‍याएपछि मात्रै बलात्कृत भएको खुलेको थियो । किशोरीले सोमबार रातिको घटना र आफ्नो पारिवारिक अवस्थाबारे अछाम संवाददाता मेनुका ढुंगानालाई यसरी सुनाइन् :

मेरो घर पञ्चदेवल विनायककै अर्को वडामा पर्छ । करिब १० वर्षअगाडि छैटौं सन्तानलाई घरमै जन्म दिने क्रममा अत्यधिक रक्तस्राव भएर मेरी आमाको मृत्यु भयो । म त्यतिबेला ६ वर्षकी थिएँ । मेरो भाइ एक वर्षको थियो । आमाको मृत्युपछि बुबाको मानसिक सन्तुलन गुम्यो । हाम्रो सहारा कोही भएन ।

त्यसअगाडि मेरा दुई जना दाजुभाइ र एक दिदीको मृत्यु भइसकेको थियो । सबैभन्दा जेठी दिदी एक वर्ष नपुग्दै बितिन्, त्यो घटना मलाई याद छैन । त्यसको एक वर्षपछि ९ वर्षका दाइ बिते । त्यसको करिब एक वर्षपछि भाइ जन्मियो । जन्मेको एक महिना नपुग्दै भाइ पनि बित्यो । त्यसको एक वर्षपछि अहिले मेरो साथमा भएको भाइ जन्मियो । भाइ जन्मेको एक वर्षपछि अर्को सन्तान जन्माउने बेला आमा नै बितिन् । लगातार आफ्नो घरका चार सदस्य गुमाउँदा बुबा मानसिक अवस्था बिग्रिएजस्तै हुनुभएको थियो । बुबाले बिहानैदेखि रक्सी खाने, रुने, कराउने गर्न थालेपछि मलाई पनि त्यही बेलादेखि गाह्रो भइसकेको थियो । गाउँका मान्छेले बेलाबेला बेहोस हुन्छे, यो रोग हो भन्नुका अतिरिक्त मेरो पीडा कसैले महसुस गर्न खोजेनन् ।

घरमा बुबाबाहेक हामीलाई हेर्ने मान्छे अरू कोही थिएन । आमाको मृत्युपछि मामाघरकी बज्यै गएर नाति–नातिनालाई म आफैंसँग राख्छु, ज्वाइँको हालत पनि ठीक छैन भनेर हामीलाई मामाघरमा ल्याउनुभयो । म र भाइ बज्यैको सहारमा मामाघरमा बस्न थाल्यौं । स्कुल जाने–आउने, घरमा सहयोग गर्ने गर्थ्यौं । उता बुबाले अर्को बिहे गरेर मुम्बई गइसक्नुभएको रहेछ । त्यो कुरा धेरैपछि थाहा पाएँ । २ वर्षअघि हजुरआमाको मृत्यु भयो । त्यही बेला म र मेरो भाइ पूरै टुहुरा भयौं । घरमा माइजू हुनुहुन्थ्यो । मामा पनि मुम्बईमै बस्नु हुन्छ । ८ महिनाअघि बिरामी भएकाले जाँच गर्न भन्दै माइजू पनि मामासँगै जानुभयो । घरमा भाइ र म मात्रै भयौं । माइजू पनि मुम्बई गइसकेपछि मलाई आफ्नै मावली खलकका नाता पर्नेहरूले फरक व्यवहार गरेको महसुस पनि भइसकेको थियो । तर आफ्नैबाट यतिसम्मको अपराध ममाथि होला भन्ने सोचिनँ ।

सोमबार साँझ छिमेककै पल्लो घरमा जन्मदिन मनाउने कार्यक्रम थियो । त्यहाँ मलाई पनि बोलाइएको थियो । मावली खलककै एक जना मामा नाता पर्नेबाट पहिलेदेखि नै मैले दुर्व्यवहार भोगिरहेकी थिएँ । उनको मलाई हेर्ने नजर राम्रो छैन भन्ने पहिलेबाट थाहा थियो । जन्मदिन मनाउने घरमा उनी पनि आएका थिए । त्यतिबेला मलाई यतिसम्म गर्न सक्छन् भन्ने शंका भएन । सोमबार राति साढे ९ बजेतिर म आफ्नो घर फर्किएँ । घर पुग्नेबित्तिकै महिनावारी भएँ ।

मसँग भएकी १४ वर्षकी एक बहिनीलाई छाउगोठमा सँगै बस्न भनें । एक जनालाई पनि सहज तरिकाले त्यो गोठमा बस्न मिल्दैन थियो । २ जनालाई असहज भए पनि उनी मसँग गोठमा बस्न तयार भइन् । साढे १० बजेतिर हामी दुवै जना सुतिसकेका थियौं । अरू बेला पनि रातिको समयमा दिसापिसाब गर्न म एक्लै निस्किने गर्थें । त्यस दिन रातिको २ बजेतिर म पिसाब फेर्न बाहिर निस्किएकी थिएँ ।

बाहिर आएको १ मिनेट नहुँदै तिनै मामा नाता पर्ने, सँगै खेल्ने, स्कुलको पनि साथी मेरो नजिक आयो । सबैभन्दा पहिले मेरो मुख थुन्यो । मसँग भएको दोपट्टा घाँटीमा बेर्‍यो । मुख थुन्यो । र, मेरो शरीरमाथि आक्रमण गर्न थाल्यो । त्यही बेला म बेहोस भइसकेकी रहेछु । बलात्कारपछि उसको मार्ने नियत नै हो कि भन्ने लाग्छ । म बेहोस भएँ । उसले मरिसकी भन्ने लागेर छोडेर हिँडेछ । म रातभर छाउगोठ अगाडिको मकैबारीमा लडिरहें । बिहान ८ बजेतिर वरपरका केटाकेटीले देखेर छाउगोठमा लगेर सुताएका रहेछन् । होस आएपछि मात्रै यो कुरा थाहा पाएँ ।

प्रकाशित : असार ७, २०८१ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×