कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिंहलाई सीकेले किन बनाए मुख्यमन्त्री ?

अजित तिवारी

जनकपुर — उपेन्द्र यादव नेतृत्वको दल जसपा नेपाललाई मधेश प्रदेशमा दोस्रोपटक सत्ताको बाग्डोर सम्हाल्ने अवसर आएपछि तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दीले फेरि मुख्यमन्त्री बन्ने इच्छा राखे । मधेश प्रदेश सरकारको पहिलो कार्यकाल ५ वर्ष नै हाँकेका राउत आफैं फेरि मुख्यमन्त्री बन्नेमा आशावादी थिए । 

सिंहलाई सीकेले किन बनाए मुख्यमन्त्री ?

तर, आम–निर्वाचन ०७९ भन्दा करिब एक वर्षअघि जसपा नेपाल रोजेका मधेश प्रदेशका तत्कालीन सभामुख सरोजकुमार यादव पनि मुख्यमन्त्रीको दौडमा देखिए ।

मुस्लिम समुदायका राउत पार्टी अध्यक्ष यादवका विश्वास पात्र हुन् । त्यसैले राउतलाई दोस्रो कार्यकालको मुख्यमन्त्री पनि आफू नै बन्नेमा ढुक्क थिए । जसपाको संसदीय दलको नेता छान्ने क्रममा पार्टी अध्यक्ष यादव भने खुलेर सरोजको पक्षमा उभिए ।

अध्यक्ष यादवले ‘नेता छान्न चुनाव भए सरोजलाई मत दिन’ सांसदहरुलाई दबाब नै दिए । राउतको जोडबल नचलेपछि उनले सरोजलाई ‘सहयोग’ गर्दै संसदीय दलको नेता बन्ने दौडबाट बाहिरिए ।

प्रादेशिक संरचनाको पहिलो चुनाव ०७४ मा मधेश प्रदेशमा सबभन्दा ठूलो दल बनेको जसपा नेपाल दोस्रो चुनाव ०७९ मा भने तेस्रो दलका रुपमा खुम्चियो । जसपा नेपाललाई पछिल्लो चुनावमा सीके राउतको दल जनमत पार्टीले मधेशमा ठूलो धक्का दियो ।

'अलगाववाद' अभियानबाट मूल राजनीति धारमा फर्किएका राउतको दल जनमत मधेशमा १३ सिट जित्दै चौथो ठूलो दल बन्यो । जसपा नेपाल नेतृत्वको सरकारमा मधेशमा जनमतले सत्ता सहकार्य गरेपनि यी दुई दलबीच राम्रो सम्बन्ध रहेन ।

मधेशका ८ जिल्लामा यादव समुदायको जनसंख्या सबैभन्दा धेरै छ । जसपा अध्यक्ष उपेन्द्रमाथि दलमा ‘यादव’लाई च्यापेको आरोप लाग्छ । मधेश प्रदेशमा राउत मुख्यमन्त्रीको आकांक्षी रहे पनि उपेन्द्रले सरोजलाई अघि सारेपछि यादवलाई च्याप्ने उनीमाथि लाग्ने आरोपमा मलजल गर्‍यो ।

मधेशमा जसपा नेपाल र जनमत पार्टीबीच ‘शत्रुता’को सम्बन्ध छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षामन्त्री रहेका बेला उनको मन्त्रालयको कार्यक्षेत्रमा पर्ने राजविराजको कृषि विश्वविद्यालयको भवन शिलान्यस कार्यक्रममा भने तत्कालीन मुख्यमन्त्री सरोजले उपेन्द्रलाई नै प्रमुख अतिथी बनाए । जनमतको विरोध र अवरोधकाबीच शिलान्यस कार्यक्रममा झडप भयो । मुख्यमन्त्री यादवकै उपस्थितीमा प्रहरीले तत्कालीन शिक्षामन्त्री महेशलगायत जनमत पार्टीका नेता–कार्यकर्तामाथि लाठी प्रहार गर्‍यो ।

मधेशमा जसपा नेतृत्वको सरकार ढाल्न जनमतको अभियानमा माओवादीका नेता भरतप्रसाद साह पनि मिसिए । जसपा नेपाल टुक्रिएपछि सरोजकुमार यादव नेतृत्वको सरकारलाई अल्पमतमा पारेर एमाले, माओवादी, जनमत र नेकपा(एस)को गठबन्धनमा नयाँ सरकार बनाउने प्रयास थालियो ।

संघीय सत्ता गठबन्धनले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपछि धेरैको अनुमान थियो, मधेश प्रदेशमा फेरि यादव नै (जनमतका महेशप्रसाद यादव) मुख्यमन्त्री बन्दैछन् । जनमत पार्टीका संसदीय दलका नेता भएकाले महेश पनि आफू मुख्यमन्त्री हुनेमा ढुक्क थिए ।

तर, बुधबार एकाएक मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई अघि सारेको खबर आयो । धेरैलाई आश्चर्यमा पार्ने यो खबर जनमत पार्टीका संसदीय दलका नेता महेशका लागि त झन् स्तब्ध पार्ने खालको थियो । राजपूत(क्षेत्री) समुदायका सतिशभन्दा जनमत पार्टीमा बरिष्ठ नेता अरु पनि छन् । महेश नभए बसन्त कुशवाहा वा चन्दन सिंहलाई मुख्यमन्त्रीमा जनमत पार्टीले अघि सार्ने धेरैको अड्कल थियो ।

जनकपुरका राजनीति विश्लेषक रोशन जनकपुरीले सिंहको सत्तारोहणलाई जातीय कार्डसँग जोडेर हेर्न नमिल्ने बताउँछन् । ‘उपेन्द्रजीमाथि सधैं यादव कार्ड खेलेको आरोप लाग्छ । तर, उनले आफ्नो पार्टी र व्यक्तिगत हितका लागि काम गर्दा त्यसो देखिन आउँछ,’ विश्लेषक जनकपुरीले भने,‘जनमत सानो दल हो । अहिले नै जातीय कार्डमा अल्झियो भने समस्यामा पर्छ । राउतका सिंह पुराना साथी हुन् । केही बुझेरै मुख्यमन्त्री बनाए होला ।’ सिंहलाई अघि सार्नुमा एकपटक अवसर पाइसकेकालाई पुन राजकीय पदमा नदोहोर्‍याउने राउतको नीतिले पनि काम गरेको छ । संघीय सरकारमा पनि यसअघि मन्त्री बन्ने अवसर आउँदा संसदीय दलका नेता आफैं भएपनि सीके सहभागी भएनन् । अहिले मुख्यमन्त्री बन्ने अवसर आउँदा पनि उनले त्यहाँ संसदीय दलका नेताभन्दा अरूलाई नै रोजे ।

प्रकाशित : जेष्ठ २५, २०८१ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×