२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गाउँमै इलम

कोरिया, बहराइनलगायतका देशबाट स्वदेश फर्किएका पाल्पाका युवाहरू पछिल्लो समय आफ्नै व्यवसायमा सक्रिय छन् । तीमध्ये अधिकांशले व्यावसायिक तरकारी खेती, बाख्रापालन, कफी खेती गरेर राम्रो आम्दानी गरेका छन् । 
माधव अर्याल

पाल्पा — वैदेशिक रोजगारबाट फर्केका युवाले गाउँमै बसेर लाखौं कमाइ गरेका उदाहरण प्रशस्त छन् । यस्तैमध्येका केही युवा पाल्पाको रामपुर क्षेत्रमा व्यावसायिक तरकारी खेती, बाख्रापालन, कफी खेती गरेर मासिक ५० हजार बढी कमाइ गरेका छन् ।

गाउँमै इलम

कतिपय युवा विदेशमा सिकेको सीप, अनुभव र कमाइलाई स्वदेशमा फर्केर सिको गरेका गतिला उदाहरण पनि छन् । केही युवा विदेशमा जानुभन्दा गाउँमै बसेर पनि लाखौं कमाइ गर्न सकिन्छ भन्ने उदाहरणीय बनेका छन् ।

आठ वर्ष विदेशमा बसेर फर्किएका पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानका लालबहादुर थापाले तरकारी खेतीबाट मासिक ५० हजार आम्दानी गर्छन् । चार वर्षदेखि १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका लालबहादुरले परिवारसँगै बसेर राम्रो आम्दानी भएको सुनाए । ‘विदेशमा पनि त्यति सजिलो कहाँ हुन्छ र ?’ उनले भने, ‘विदेशमा जस्तै मिहिनेत गर्ने हो भने यहीं राम्रो कमाइ गर्न सकिन्छ ।’

लालबहादुर थापा

परिवारसँग बसेर काम गर्दा छुट्टै आनन्द हुने उनले बताए । विदेशी भूमिमा पैसा भए पनि परिवार सुखी र खुसी नभएको उनको अनुभव छ । उनले तरकारी खेती गरेर राम्रो आम्दानी गरेको सुनाए । ‘हाम्रो आधुनिक कृषि फर्म’ बाट सिमी, बोडी, गोलभेंडा, घिरौंला, करेला, फर्सी, बोडी, काक्रालगायतका तरकारी उत्पादन हुन्छ । यसलाई रामपुर र छिमेकी जिल्लामा बिक्री गर्छन् । फर्मबाटै पनि अधिकांश बिक्री हुन्छ । मौसमीभन्दा बेमौसमी तरकारी खेती गर्दा बिक्रीमा सहज हुने उनले बताए । यसबाहेक फर्ममा दसैं–तिहारका बेला मखमली, सयपत्री जातका फूलसमेत उत्पादन हुन्छ । ‘स्वदेशमा वा विदेशमा काम मज्जाले गर्नुपर्छ,’ उनले भने, ‘आम्दानी पनि नहुने भन्ने कुरै भएन ।’ उनको सुझाव भनेको विदेशमा बगाउने पसिना स्वदेशमै बगाए उच्चतम् हुनेछ ।

रामपुर–१० गेझाका राजु गुरुङले गाउँमै बसेर बाख्रापालन गरेका उनले मनग्य आम्दानी गर्ने गरेका छन् । कोभिड महामारीपछि उनले बाख्रापालन व्यवसायलाई अघि बढाएका हुन् । भलिबल खेलाडी गुरुङ विद्यालयका लेखापालसमेत हुन् । बिहान र बेलुकी उनले बाख्राका लागि समय दिन्छन् । अन्य समयमा हेरालु र घरपरिवारले बाख्राको स्याहारसुसार गर्ने उनले बताए । ‘सबै साथीभाइको सोच विदेश जाने नै छ,’ उनले भने, ‘घरका परिवारलाई पनि रोक्न सकिने अवस्था छैन ।’ त्यसैले गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचेर बोयर जातको बाख्रापालन गरेका हुने उनले ।

राजु गुरुङ

‘मासु पनि धेरै हुने र पाल्न पनि खासै दुःख छैन,’ उनले भने, ‘यसले गर्दा मेरो फुर्सदको समय पनि सदुपयोग भएको छ ।’ उनले २२ वटा ब्राखा पाल्न सुरु गरेकामा अहिले १ सय ७४ पुर्‍याएका छन् । चार वर्षमा बाख्राका लागि ६५ लाख लगानी भइसकेको छ । आधुनिक खोर छन् । दानालगायत अन्य कामका लागि भवन तयार छन् । बाख्रामा लगानी नै बढी छ । एउटा बोयर बोका ३ लाख १२ हजार र अर्को २ लाख ५० हजारको रहेको उनले बताए ।

पछिल्लो समय उनको खोरमा १ सय ५० बढी नै बाख्रा हुने गर्छन् । गुरुङका अनुसार उन्नत जातको बाख्रा बिक्रीमा कुनै समस्या छैन । ‘कतिपय रामपुर नगरपालिकाले नै खरिद गर्छ,’ उनले भने, ‘बाहिर जिल्लाबाट पनि फोन आउने गर्छ । तर मागअनुसार पुर्‍याउनै सकिएको छैन ।’ वार्षिक १५ लाख बढीको बिक्री भएको छ । लागत र मिहिनेत पनि छ । घाँस लगाउन, बाख्रा स्याहार गर्नका लागि धेरैले रोजगार पनि पाएका छन् ।

रामपुर–४ का दिलबहादुर थापाको पनि व्यावसायिक तरकारी खेती छ । उनले तरकारी खेती गरेरै मासिक ५० हजारभन्दा बढी कमाइ गर्छन् । कोभिड संक्रमणपछि विदेशबाट फर्किएका थापाले जग्गा लिजमा लिएर तरकारी खेती गरेका हुन् । ‘नियमित काम गरेर उत्पादन गरेको तरकारी बिक्रीमा कुनै समस्या छैन,’ उनले भने, ‘जसले गर्दा हामीलाई मिहिनेती पनि बनाएको छ ।’

दिलबहादुर थापा

खाडी मुलुक बहराइनमा ८ वर्ष बस्दाको अनुभवले पनि उनलाई थप हौस्याएको छ । उत्पादित तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको उनले बताए । ‘रामपुरका साथै छिमेकी स्याङ्जा बजारमा तरकारी बिक्री गर्ने गरेको छु,’ उनले भने, ‘यसबाट वार्षिक ६ लाख बढी बचत हुने गरेको छ ।’ दिलबहादुरका अनुसार तरकारी सहज रूपमा हुर्कन र बजारभाउ पाए लगानीको ७० प्रतिशत नाफा हुन्छ । ‘तरकारी हुर्काउन, बजारसम्म लैजान अधिकांश समय आफैं खट्ने गरेको छु,’ उनले भने, ‘कहिलेकाहीं आवश्यक परेको खण्डमा बाहिरबाट ज्यामी बोलाउने गरिन्छ ।’ तरकारी उत्पादन र बजारसम्म पुयाउन खट्नुपर्छ ।’ अब विदेश नजाने निधो गरेको उनले बताए । विगत चार वर्षदेखि मौसमी र बेमौसमी तरकारी खेती गरिरहेको उनले बताए । ‘विदेशमा आठ वर्ष बसेर फर्कियो अब विदेश नजाने सोच बनेको छ,’ उनले भने, ‘अहिले तरकारी खेती गरेको छु । घरमै परिवारसँगै बसेर तरकारी खेती गर्दा राम्रो आम्दानी भएको छ ।’ दसैं–तिहारका बेलामा भने उनले फूल खेती पनि गर्छन् ।

रामपुर–५ भम्बकका प्रेमबहादुर सिंह कोरियामा ९ वर्ष अनुभव सँगालेर फर्किएका युवा हुन् । उनले आफ्नै लगानीमा कफी उद्योग सञ्चालनमा ल्याएका छन् । कफी प्रशोधन उद्योगमा २० लाख बढी लगानी भइसकेको छ । उनले कफी उत्पादन, प्रशोधन र बजारीकरण गर्छन् । कफीबाट स्वदेशमै राम्रो आम्दानीको सम्भावना उनले देखेका छन् । ‘त्यसैले उद्योग सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘काँचो कफी उत्पादन गर्ने किसानको संख्या घटेका छन् । त्यसैले अबको अभियान कफी खेती गर्ने किसानको संख्या बढाउने नै हो ।’

प्रेमबहादुर सिंह

घरमा आउने पाहुनलाई कफी तयार गरेर खान दिने र यसबारेमा बुझाउने गर्छन् । प्रशोधन गरेको कफी तानसेन, रामपुर, स्याङ्जा, पोखरासम्म लैजाने उनले बताए । ‘विदेशमा काम गर्दा गुल्मीमा उत्पादन भएको कफी कार्यरत कम्पनी सञ्चालकले प्रशोधन गरी बजारमा बिक्री गरेको थियो,’ उनले भने, ‘त्यस्तो देखेपछि मैले स्वदेश फर्किएर कफी उत्पादन गर्ने सोच बनाएको हो ।’ कफीबाट स्वदेशमै राम्रो आम्दानीको सम्भावना देखेको उनले बताए ।

अघिल्लो वर्ष प्रेमबहादुरले आठ लाख रुपैयाँ बराबरको कफी बिक्री गरेका थिए । यस वर्ष १० लाख रुपैयाँ बराबरको कफी बिक्री गर्ने लक्ष्य लिएको उनले बताए । यहाँ उत्पादित कफी नेपाल, भारत, जर्मनी, जापान र कोरियालगायतका मुलुकमा पठाइएको उनको भनाइ छ । केही वर्षअघि पल्पिङ तथा कफी बनाउने मेसिन भित्रिएकामा अहिले प्रशोधनका सबै सामान राखेका छन् । रामपुर नजिकका गाउँबाट आएका काँचो कफी पल्पिङ गरेर तयारी कफी बनाउँछन् । तयारी कफी बजारमा प्रतिकिलो एक हजार आठ सयसम्ममा बिक्री हुन्छ ।

अधिकांश रामपुरका जनतालाई कफी भन्ने के हो ? भन्ने बुझाउन समय लागेको उनले बताए । २०७८ सालमा घरेलु कार्यालयमा फर्म दर्ता गरेका उनले किसानलाई प्रवर्द्धन गर्ने हो भने फाइदा पनि रहेको बताए । ‘मैले एक हजार कफीका बिरुवा गत वर्ष सित्तैमा वितरण गरे,’ उनले भने, ‘झन्डै तीन सय कृषकले उत्पादन गरेको कफी उचित मूल्यमा खरिद गर्ने गरेको छु ।’ कफी खेतीका लागि पहाडी भूबनोट उपयोगी छ । तीन तहका सरकारले उपयोग गरेमा विदेशी मुद्राको आर्जन गर्ने बलियो माध्यम बन्ने उनको सुझाव छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x