विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

काठमाडौँ — गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सवा अर्ब रुपैयाँ विगो मागदाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

सुरक्षण मुद्रण केन्द्रको दुई पटक कार्यकारी निर्देशक र त्यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेर सार्वजनिक पद धारण गरेका पौडेलविरुद्ध अख्तियारले करिब एक अर्ब २५ करोड रुपैयाँ विगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पौडेल मंगलबारमात्रै सुरक्षण मुद्रण केन्द्रकालागि उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

त्यस्तै, सुरक्षण मुद्रणकै अन्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत सातामात्रै भ्रष्टाचार मुद्दा दायर भएको थियो भने त्यसअघि वैशाख पहिलो साता अख्तियारले नै उनीविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेकै बखत् ढाँटेर सार्वजनिक पदधारण गरेको कसूरमा विशेष दालतमै मुद्दा दायर गरेको थियो ।

बुधबार दायरसहित विकलविरुद्ध अख्तियारले विशेष अदालतमा चार वटा मुद्दा दायर गरेको छ । त्यसमध्ये एउटामा दोषी ठहर भएका छन् भने दुई वटा विचाराधीन छन् ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार उनले भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति विभिन्न व्यक्तिका नाममा जोडेर राखेका छन् । विगो कायम गरेको रकममध्ये घरजग्गा खरिद, विदेशमा बैंक खाता खोली विदेशी मुद्रा जम्मा गरेको, राष्ट्र बैंक राजस्व र सम्पत्ति शुद्दीकरण सम्बन्धी समेत कसूरमा संलग्न देखिएको भन्दै अख्तियारले थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ ।

उनीविरुद्ध कायम गरिएको विगो न्यूनतम विगोमध्ये जम्गा जमीन खरिदका नाममा श्रोत नखुलेको सम्पत्ति सरकारी न्यून मूल्यांकनका आधारमा तय गरिएको अख्तियारले जनाएको छ । श्रोत नखुलेको जग्गाजमीन जफत गर्न समेत अख्तियारले मागदाबी गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x