२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शुक्लाफाँटामा बाघको नामकरण

बाघको संख्या सन् २०२२ मा ३६ रहेकोमा दुई वर्षमा आठ बाघ बढे 
भवानी भट्ट

कञ्चनपुर — भर्खर आमाबाट छुट्टिएर आफ्नो बासस्थान बनाउन जंगल विचरण गरिरहेको करिब ४/५ वर्षको भाले बाघको नाम अब युवराज भएको छ । उस्तै उमेर र अवस्थाको अर्को भालेको नाम राजकुमार राखिएको छ । राजकुमार र युवराज मात्रै होइन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सबै बाघको नामकरण गरिएको छ ।

शुक्लाफाँटामा बाघको नामकरण

उमेर, शारीरिक अवस्था, शरीरमा भएका फरक चिह्न र तिनको विचरणका आधारमा बाघको नाम राखिएको हो ।

निकुञ्ज कार्यालयले नियमित अनुगमन तथा गणनाका क्रममा बाघको पहिचान खुल्ने गरी नाम पनि राखेको हो । धेरै लामो दूरीसम्म विचरण गर्नेलाई घुमन्ते, अरूभन्दा बलियो देखिनेलाई महाराजा, साना धर्का भएकालाई लघुधर्केलगायतका नाम राखिएका छन् । ‘बाघको पहिचान त विभिन्न तरिकाले गरिँदै आएको छ, तर हामीले पहिलो पटक नामकरण पनि गरेका छौं,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘समस्याग्रस्त वन्यजन्तुको नाम राख्ने चलन भने विगतदेखि नै हो, हामीले अहिले अनुगमनका क्रममा तिनले गर्ने विचरण, शरीरका चिह्न र शारीरिक अवस्थाका आधारमा नाम राखेका हौं ।’ निकुञ्ज कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लन्डन, हिमाली नेचरलगायतका संस्थाको सहयोगमा गत वर्ष बाघ र गैंडाको अुनगमन तथा गणना गरेको हो । सोही गणनाका क्रममा तिनीहरूको नाम पनि राखेको हो । यसले बाघको अनुगमनसँगै आगामी दिनमा गणना गर्दा होस् वा निकुञ्जभन्दा बाहिर कुन बाघ रहेछ भनेर पहिचान गर्न सजिलो हुने बताइएको छ ।

गत वर्ष फागुन ५ देखि २२ गतेसम्म क्यामरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार निकुञ्जमा बाघको संख्या २४ भाले, १७ पोथी र ३ विश्लेषणका आधारमा गरी ४४ पुगेको छ । सन् २०२२ मा गरिएको गणनाभन्दा यो संख्या ८ ले बढी हो । त्यतिबेला निकुञ्जमा बाघको संख्या झन्डै दोब्बरले वृद्धि भएर ३६ पुगेको थियो । बाघ गणनाको नतिजा शुक्रबार वन्यजन्तु सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले विगतका वर्षझैं निरन्तर रूपमा बाघको संख्या वृद्धि भइरहेको बताए । यसले संरक्षणकर्मीलाई हौस्याएको बताए । उनले बाघको संख्या वृद्धिसँगै आहारा र बासस्थान व्यवस्थापनमा चुनौती बढ्दै गएको बताए ।

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जलाई २/२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एक/एक जोडी क्यामरा जडान गरिएको थियो । १५ दिनसम्म राखिएका क्यामराको तस्बिर संकलन र विश्लेषण गरेर नतिजा निकालिएको हो । ‘संख्या कम भएको र चोरीसिकार हुन सक्ने जोखिम भएको क्षेत्रमा नियमित रूपमा अनुगमन गर्नुपर्ने हुन्छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘राष्ट्रिय गणनासँगै हामीले नियमित रूपमा हरेक वर्ष पनि गणना र अनुगमन गर्दै आएका छौं ।’ यस पटकको गणनामा निकुञ्जको सबै क्षेत्रमा बाघको विचरण देखिएको छ । दुई वर्षअघिको राष्ट्रिय गणनामा निकुञ्जको विस्तारित क्षेत्रमा बाघको विचरण देखिएको थिएन । यस पटक विस्तारित क्षेत्रमा पनि बाघको विचरण देखिएको छ । तत्कालीन वन्यजन्तु आरक्षको १ सय ५५ वर्गकिलोमिटर क्षेत्र विस्तार गरिएको हो । वन्यजन्तु आरक्षलाई २०७१ सालमा निकुञ्जमा स्तरोन्नति गरिएको हो ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमालेको राष्ट्रिय महिला भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी भएकोबारे तपाईंको बुझाई के छ ?