कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एमालेले राष्ट्रिय सभामा भन्यो : संसद् महासचिव नियुक्तिमा राष्ट्रपतिको चलखेल किन ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेले संघीय संसद्को महासचिव नियुक्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । महासचिवमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका व्यक्तिलाई तत्काल नियुक्त नगरे राष्ट्रपतिविरुद्ध संसद्‍मा कडा शब्द प्रयोग गर्ने पनि एमालेले चेतावनी दिएको छ । 

एमालेले राष्ट्रिय सभामा भन्यो : संसद् महासचिव नियुक्तिमा राष्ट्रपतिको चलखेल किन ?

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभाको सोमबारको बैठकमा संसद्को महासचिव नियुक्त गर्न राष्ट्रपतिलाई चेतावनी दिएका हुन् । घिमिरे र तिमिल्सिनाले महासचिवमा प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरेका छन् । सुरुमा कानुनी प्रक्रिया पूरा नगरेको र रीत नपुगेको भन्दै राष्ट्रपतिले पाण्डेयको नियुक्ति अध्ययनका क्रममा रहेको भन्ने जानकारी गरिएको थियो ।

मंसिर २५ मा भएको सिफारिसअनुसार राष्ट्रपतिले महासचिव नियुक्त नगरेको भन्दै एमालेले नै संसद्‍मा उठाएको हो । 'आज हाम्रो संघीय संसद्को महासचिवको पद खाली छ । अध्यक्षले पद खाली भएको सुनाउनुभयो । तर, यो अधिवेशनको सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? निकै लामो अध्ययन, चिन्तन गर्ने राष्ट्रपतिज्यू तपाईंको अध्ययन चिन्तन बढी भएन र ?,' राष्ट्रपतिलाई प्रश्न र चेतावनी दिँदै दाहालले भने, 'एउटा संसद्को महासिचवमा तपाईंको चलखेल किन ? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिनुहोस् । मलाई विश्वास छ, आगामी बैठकहरूमा हामीले सम्मानित राष्ट्रपतिको विरुद्धमा अलि कडा शब्द प्रयोग गर्नुपर्ने छैन ।'

दाहालले राष्ट्रपति सम्मानित पद भएको र त्यो गरिमा कायम राख्न पनि आग्रह गरेका थिए । महासचिवमा सिफारिस पाण्डेयलाई सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् ।

पाण्डेयले उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकताका आधारमा राहदानी लिएको सार्वजनिक भएको थियो । यस विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले छानबिन गरिरहेको छ । तत्कालीन महासचिव भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेयलाई सिफारिस गरिएको थियो ।

प्रकाशित : माघ २२, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×