कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नक्कली छोरा प्रकरण : सतराजविरुद्ध नागरिकता किर्ते कसूरमा अनुसन्धान सुरु

विद्या राई

काठमाडौँ — छोरा बनेर सम्पत्ति हत्याउन खोजेको अभियोगमा मुद्धा खेपिरहेका सतराज गुरुङविरुद्ध प्रहरीले नागरिकता किर्ते गरेको कसूरमा समेत अनुसन्धान थालेको छ । गुरुङविरुद्ध संगठित रुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखत सम्बन्धी कसुरमा मुद्धा चलिरहेको छ ।उनलाई उच्च अदालत पाटनले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । तर प्रहरीले गुरुङलाई फेरि नियन्त्रणमा लिएर नागरिकता किर्ते कसूरमा अनुसन्धान थालेको हो ।

नक्कली छोरा प्रकरण : सतराजविरुद्ध नागरिकता किर्ते कसूरमा अनुसन्धान सुरु

गुरुङलाई नागरिकता किर्ते कसूरमा अनुसन्धानका लागि शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको एसपी सिताराम रिजालले बताए । मकवानपुरको थाहा नगरपालिका-१२, टिस्टुङ घर भई काठमाडौंको कपन बस्दै आएका सतराजले नक्कली छोरा बनेर मृतक उमादेवी गुरुङको नाममा रहेको कीर्तिपुरस्थित ९९२ वर्गमिटर जग्गा गत बैशाख २७ मा आफ्नो नाममा पारेका थिए ।

किर्ते कागजात खडा गरेर जग्गा हडप्ने उनी सहित २१ जना विरुद्ध उमादेवीका श्रीमान एमसि परेराले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सतराजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असार ३ मा पक्राउ गरेको थियो ।

संगठित रुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखत सम्वन्धी कसुरमा काठमाडौं जिल्ला अदालतको आदेश अनुसार सतराज साउन ३१ यता पुर्पक्षको लागि थुनामा थिए । जिल्ला अदालतको आदेश विरुद्ध सतराजले उच्च अदालत पाटनमा ७३ नं. को निवेदन हालेका थिए ।

गत पुष १९ मा उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएका थिए । न्यायाधीशद्धयले ‘उमादेवी गुरुङ प्रतिवादी सतराज गुरुङको आमा हुन् वा जाहेरवाला एमसि परेराको श्रीमती हुन् भन्ने सम्बन्धमा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने’ भन्दै धरौटीमा छोड्न आदेश दिएका हुन् ।

पीडित पक्षले भने उच्च अदालत पाटनले जग्गा हडपेको कसूरलाई नागरिकता कसूरमा बिषयान्तर गरेर मुद्धालाई फितलो बनाउन खोजेको गुनासो गरेका छन् । झुटा विवरण पेश गरेर नागरिकता लिएकोले नागरिकता ऐन सम्बन्धी कसूरमा सतराज विरुद्ध मकवानपुर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको मुद्धा अनुसन्धानकै क्रममा रहेको छ ।

‘उनी थाहा नगरपालिकाको मान्छे हुन्, मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट किर्ते नागरिकता लिएकाले अब किर्ते नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ्छ,’ मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी रिजालले भने ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको ०८० साउन २८ को अभियोग पत्र पनि ‘संगठित रुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखत सम्बन्धी कसूर’ मा सतराज छुटी जाने भएमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउनुपर्ने उल्लेख गरिएको छ ।

सतराजले मृतक उमादेवीको नाममा रहेका जग्गाहरु हडप्न गरेको प्रयासको फेहरिस्त लामो छ । उनले थाहा नगरपालिका-१२ मकवानुपरबाट नाता प्रमाणित तथा सिफारिस पत्र, मालपोत कार्यालय शिखरकोट मकवानपुर, कंलंकी मालपोत कार्यालय, किर्तिपुर नगरपालिका -१० बाट सर्जमिन मुचुल्का लगायतका कागजातहरु किर्ते गरेर ०७९ असोज १२ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता प्रतिलिपि लिएका थिए ।

यसअघिको नागरिकतामा सतराजले आमाको नाम देवकी गुरुङ थियो । झुटा विवरण राखेर बनाएको नागरिकतामा आमाको नाम उमादेवी बनाएका छन् । नागरिकता किर्ते गर्नुअघिका सतराजका कागजातमा आमाको नाम देवकी गुरुङ छ ।

गृह मन्त्रालयको अभिलेख अनुसार ०७० असार मसान्त, ०७४ भाद्र ५ र ०७९ बैशाख २९ सम्मको सतराजको मतदाता नामावलीको विवरणमा माताको नाम देवकी गुरुङ उल्लेख छ । तर ०८० बैशाख ९ सम्मको मतदाता विवरणदेखि भने आमाको नाम उमादेवी गुरुङ छ । राहदानी विभाग त्रिपुरेश्वरका अनुसार सतराज गुरुङले २०७१ असोज १ मा लिएको राहदानीमा आमाको नाम देवकी गुरुङ छ ।

उक्त राहदानी ‘ड्यामेज’ भएको भन्दै आफ्नी श्रीमतीलाई नजिकको नातेदार सुचक राखेर ०७२ असार २३ मा अर्को राहदानी लिएका छन् । सो राहदानी समेत ‘ड्यामेज’ भएको भन्दै यसपछि किर्ते नागरिकता लिएको १२ दिनपछि (०७९ असोज २४ मा) विधुतिय राहदानी (ई—पासपोर्ट) लिएका छन् । यसमा आमाको नाम उमादेवी गुरुङ उल्लेख गरेका छन् । उनले जग्गा हत्याउनकै लागि देवकी गुरुङलाई जेठी आमा र उमादेवी गुरुङलाई कान्छी आमा बनाएका छन् ।

‘०७९ साल पश्चात मात्र मृत उमादेवी गुरुङको सम्पत्ति अपुताली खान सतराजले विभिन्न सरकारी परिचयपत्रहरुमा आमाको नाम उमादेवी गुरुङ बनाएको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ । ‘यति राम्रो अनुसन्धान गरेर पनि किन फितलो बनाइदैछ,’ पीडित पक्ष भन्छन्, ‘सतराजको अपराधको जरो नै किर्ते नागरिकता हो, जग्गा हडप्ने बेला र हडपिसकेपछि हरेकमा आमाको नाम उल्लेख छ, सिलसिलेवार अपराध गरेको छ, नागरिकता नै बदर हुनुपर्छ ।’

सतराजको नागरिकतामा उनको जन्ममिति २०३५ साल साउन ७ गते खुल्छ । उनले आमा दाबी गर्ने उमादेवीको त्यतिबेला फिलिपिन्समा अध्ययनरत थिइन् । उमादेवी पढाइका लागि फिलिपिन्स जाने क्रममा सतराज जन्मिएको भोलीपल्ट (२०३५ साल साउन ८ गते) जापान पुगेकी थिइन् । उमादेवीले प्रयोग गरेको राहदानीमा जापान अध्यागनले स्ट्याम्प लगाएको हुदा सतराज उमादेवीको कोखबाट जन्मिएको पुष्टि नहुने उमादेवीका श्रीमान एमसि परेरा बताउँछन् ।

सतराजले परेरालाई इमेल गरेर समेत जग्गा किन्ने इच्छा व्यक्त गरेका थिए । त्यतिबेला उमादेवीको नाममा रहेको ललितपुर महानगरपालिका वडा नं. ५ मा कित्ता नं. ३५३ मा ०—८—०—०, कित्ता नं. १४८ मा १—०—०—०, ललितपुरकै सैबुमा कित्ता नं. २१३ को १—४—२—० र सुनाकोठीमा कित्ता नं.२४० को ५—१५—०—० र काठमाडौंको किर्तिपुरमा कित्ता नं. २०३ को ९९२.७० वर्गमिटर क्षेत्रफल जग्गा हडप्न उमादेवीकै दिदी पुर्णिमा गुरुङ र बहिनी मिरादेवीले सक्रिय थिए । यो विरुद्ध परेराले जिल्ला अदालत ललितपुरमा मुद्धा हालेका थिए ।

सतराजले उमादेवीका नाममा रहेका जग्गाहरु अरुले खाइदिन खोजेर अपराध गर्न लागिपरेकाले मुद्धा परेकै अवस्थाका जग्गाहरु खरिद गर्न आफु तयार रहेको इमेल गरेका थिए ।

‘उमादेवी गुरुङको नाममा रहेको जग्गाको मुद्धा हुदा कुनै पनि मुद्धा सहित खरिद गर्न तयार छ, कति मुल्य हो ? सर मलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस् । बसेर हामी सल्लाह गर्न सकिन्छ, बाहिरको मान्छेहरुले घुमाउने र फसाउने काम बाहेक सही तरिका भन्दैन । सरले भेट्न चाहानुहुन्छ भने तलको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्,’ आफु पेशाले व्यापारी रहेको चिनाउदै सम्पर्क नम्बर सहित सतराजले परेरालाई इमेल लेखेर अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार

मृतकको जग्गा हडप्न सक्रिय आफन्त प्रहरी अनुसन्धानको दायरामा

जग्गा हत्याउन आफन्त नै सक्रिय

नक्कली छोरा बनेर सम्पत्ति हत्याउन खोज्ने पक्राउ

नक्कली छोरा बनेर सम्पत्ति हत्याउने सतराज पुर्पक्षका लागि थुनामा


प्रकाशित : पुस २९, २०८० १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×