कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसद् सचिव पाण्डेयले लिएका थिए दोस्रो नागरिकता

पाल्पा/काठमाडौँ — संघीय संसद्को महासचिवमा सिफारिस प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिई १० वर्ष आफूसँगै राखेको पाइएको छ । पाण्डेयले सुरुमा २०२६ असोज १५ गते जन्ममिति भएको नागरिकता लिएका थिए । त्यो हराएको भन्दै २०६६ भदौ ८ मा ६ वर्ष जन्ममिति घटाएर दोस्रो नागरिकता लिए । दोस्रो पटक लिएको नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते उल्लेख छ ।

संसद् सचिव पाण्डेयले लिएका थिए दोस्रो नागरिकता

पाण्डेयको स्थायी बसोबास पाल्पा हो । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट २०४६ असार २८ मा पहिलो नागरिकता लिएका थिए, जसको प्रमाणपत्र नम्बर ३५ रहेको छ । पाल्पा प्रशासनबाट प्राप्त पाण्डेयको नागरिकतासम्बन्धी विवरणमा ६ वर्ष उमेर घटाएर लिएको नागरिकता १० वर्षपछि २०७६ भदौ २३ मा रद्द गरिएको थियो ।

१० वर्षपछि उनले पुरानै नागरिकता कायम गराएको जिप्रका पाल्पाको ‘टिप्पणी र आदेश’ मा प्रस्ट उल्लेख छ । नागरिकता रद्दको टिप्पणी र आदेशमा पाण्डेयका दुवै नागरिकतामा ‘भूलवश विवरण फरक परेको’ उल्लेख छ । पहिलो र दोस्रो नागरिकताका सक्कल प्रति जिल्ला प्रशासन कार्यालयमा पेस गरेपछि दोस्रो पटक लिएको नागरिकता रद्द गरिएको थियो ।

जन्ममिति ६ वर्ष घटाएर लिएको नागरिकताबाट १० वर्षसम्म पाण्डेयले के कस्तो ठाउँमा प्रयोग गरेका छन् भन्ने खुल्न सकेको छैन । पाण्डेयको नागरिकता रद्द गर्ने क्रममा विवादसमेत भएको जिप्रकाका अधिकारीले बताएका छन् । स्रोतका अनुसार पाल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पाण्डेयले ६ वर्ष जन्ममिति घटाएर लिएको नागरिकता रद्द गर्न मानेका थिएनन् । २०७६ वैशाख १२ मा पाल्पाको प्रमुख जिल्ला अधिकारी भएका यादवलाई चार महिनामै २०७६ भदौ ११ मा सरुवा गरियो । त्यसपछि कायममुकायम प्रजिअ भएर उमेशकुमार ढकाल आए । ढकालले भने जिल्ला प्रशासनको नेतृत्व सम्हालेको दुई साता नबित्दै पाण्डेयको नागरिकता रद्द गरिदिए ।

२०७६ भदौ १२ मा हाजिर भएका ढकालले २०७६ भदौ २३ गते टिप्पणी र आदेशमा सही गरेर नागरिकता रद्द गरिदिएका हुन् । ‘अह्राएको काम नगर्दा यादवलाई जिल्लामा बस्नसमेत दिइएन । सोही काम गर्नका लागि ढकाललाई प्रजिअ बनाएर पठाइयो,’ जिप्रकामा कार्यरत एक अधिकारीले उक्त प्रकरणबारे भने ।

आफ्नो कार्यकालभन्दा पहिल्यै नागरिकता रद्दका लागि पाण्डेयको निवेदन आएको तत्कालीन प्रजिअ यादवले बताए । आफू हुँदा निवेदन अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । ‘उक्त विषयमा सबै जानकारी अहिले मसँग छैन,’ हाल गृह मन्त्रालयका सहसचिव यादवले भने, ‘सुरुको नागरिकता र दोस्रो पटक लिएको नागरिकताको विवरण फरक–फरक पाइएमा समान विवरण भएको नागरिकताको जसरी सहजै बदर हुँदैन । विवरण फरक भएको नागरिकताको विषयलाई सिधै बदर गर्ने भन्ने हुँदैन, त्यसका प्रक्रिया हुन्छन् ।’

कानुनतः दुई वटा नागरिकता बनाउन नपाइने र कसैले बनाए कानुनअनुसार दण्डित हुने व्यवस्था रहेको पूर्वसचिव जयमुकुन्द खनाल बताउँछन् । ‘कसैले पनि दुई वटा नागरिकता बनाउन पाउँदैन । यस्तो भएको पाइए पहिले जारी भएको नागरिकता कायम हुन्छ र झुक्यानमा पारेर दोहोरो नागरिकता लिएको कसुरमा सम्बन्धित व्यक्ति कारबाहीको भागीदार हुन्छ,’ उनले भने, ‘नागरिकता अभिलेख प्रणाली व्यवस्थित नहुँदा सम्बन्धित व्यक्तिले आफूअनुकूल जन्ममिति समेटेर एकभन्दा बढी नागरिकता लिने प्रवृत्ति बढेको देखिन्छ । यसलाई रोक्न अभिलेख व्यवस्थित हुनुपर्छ ।’ नागरिकता ऐन २०६३ को दफा १३ मा दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने उल्लेख छ । यो प्रावधानविपरीत दुई थरी नागरिकता लिएमा बिगो कैद र जरिवानाको भागीदार हुने पूर्वसचिव खनालले बताए ।

पाण्डेयले लिएको दुई वटै नागरिकताको नम्बर फरक छ । जिल्ला प्रशासन कार्यालयले दस्ताबेज नष्ट भएको भने पनि पाण्डेयले आफ्नो पुरानो नागरिकताको नम्बर पेस गरेका थिएनन् । २०४६ असार २८ मा उनको नागरिकता नम्बर ३५ थियो भने २०६६ भदौ ८ मा लिएको नागरिकताको नम्बर ३९१०११/१५५ छ । दोस्रो नागरिकता खारेज गरेपछि सुरुको नागरिकता पनि पाल्पा जिल्ला प्रशासन कार्यालयलाई नै बुझाएर उनले नयाँ नागरिकता लिएका थिए ।

उनले संघीय संसद् सचिवालयमा बुझाएको प्रमाणपत्रको फोटोकपीमा नागरिकता जारी मिति २०७६ मंसिर २२ गते उल्लेख छ । उनले सट्टा नागरिकता लिएको बताएका छन्, जसको नम्बर ३९–०१–७६–०५५१५ रहेको छ । हाल उनीसँग यही नम्बरको नागरिकता छ, जसको पछाडिपट्टि पुछारमा लेखिएको छ– ‘२०६२/१०/१८ को घटनाबाट यस कार्यालयको सबै अभिलेख जली नष्ट भएकाले पुरानो ना.प्र.नं. ३५ को सट्टा यो ना.प्र.नं. जारी गरिएको ।’

पाण्डेयले आफूले जन्ममिति फरक परेको नागरिकता लिएको स्वीकार गरेका छन् । जन्ममिति घटाइएको नागरिकता कहींकतै प्रयोग नगरेको उनको दाबी छ । ‘नागरिकता हरायो, प्रतिलिपि बनाउँदा जन्ममिति फरक पर्‍यो । त्यसपछि जिल्लामा बुझाएर पुरानै जन्ममितिअनुसार नयाँ नागरिकता लिएको हुँ,’ उनले भने, ‘नागरिकतामा जन्ममिति फरक परेर केही हुने थिएन । सर्टिफिकेट (शैक्षिक प्रमाणपत्र) र नागरिकतामा जुन मिति चाँडै आउँछ, त्यसैअनुसार रिटायर्ड हुने हो ।’ सरकारी सेवामा प्रवेश गर्दा र अन्य प्रयोजनका लागि २०२६ असोज १५ जन्ममिति भएकै नागरिकता प्रयोग गरेको उनको भनाइ छ ।

उमेर घटाएर लिएको नागरिकता आफूसँग राखेको झन्डै १० वर्षपछि २०७५ फागुन ३० मा उनले उमेर घटाएर लिएको नागरिकता रद्द गरी पुरानै नागरिकता पाऊँ भनेर निवेदन दिएका थिए । त्यतिखेर पाल्पाका प्रजिअ मनोहरप्रसाद खनाल थिए । जिप्रकाको रेकर्डअनुसार निवेदन दिएको ६ महिनापछि २०७६ भदौ २३ मा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरेको भेटिएको छ ।

संघीय संसद्को महासिचवबाट भरतराज गौतमले राजीनामा दिएपछि प्रतिनिधिसभा सचिवमा बहाल पाण्डेयलाई सिफारिस गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसअनुसार पाण्डेयलाई महासचिव नियुक्त गरेका छैनन् ।

प्रकाशित : पुस ३, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×