कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चिसो बढेसँगै त्रिपालमा मुस्किल

जाजरकोटका चार स्थानीय तहमा ५ वर्षमुनिका साढे १० हजारभन्दा बढी बालबालिका भूकम्पबाट प्रभावित
दीर्घरोगी, ज्येष्ठ नागरिक र शिशुलाई चिसोबाट बचाउन धौ–धौ

(जाजरकोट) — भूकम्पबाट घर भत्किएपछि कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरीको परिवार त्रिपालमा बस्दै आएको थियो । रामसिलम दमका बिरामी थिए । वडाध्यक्ष शिवराज गिरीका अनुसार चिसोले गर्दा रामसिलमको दम बढिरहेको थियो । स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी गरियो ।

चिसो बढेसँगै त्रिपालमा मुस्किल

तर, अस्पताल पुर्‍याउन नपाउँदै गत बुधबार उनको ज्यान गयो । ‘पालमा बस्दै आएका दीर्घरोगी, शिशु, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक बिरामी परिरहेका छन्,’ वडाध्यक्ष गिरीले भने, ‘हामीले सामान्य कम्बल र त्रिपाल वितरण गरेका छौं । यत्तिले मात्रै भूकम्पपीडितलाई चिसोबाट बचाउन मुस्किल छ ।’ हिमपातपछि भूकम्पपीडितको अझ बिचल्ली हुने उनले सुनाए ।

भेरी नगरपालिका–२ स्थित पुरानो रिसाङका हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोका कारण निमोनिया हुँदा गएको मंगलबार मृत्यु भयो । उपचारका क्रममा जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो । ‘भूकम्पले घर भत्किएपछि हाम्रो परिवार पालमा बस्दै आएको थियो । अत्यधिक चिसोले छोरी बिरामी भइन् । उनलाई खोकी लाग्ने, श्वासप्रश्वाससँगै पेट फुल्ने समस्या देखियो,’ हुकुमले भने, ‘सञ्चो नभएपछि केही दिनपछि अस्पताल लिएर गयौं । बिहान अस्पताल पुर्‍याएको साँझ उनको मृत्यु भयो ।’ अस्पतालले जिल्लामा उपचार सम्भव नभएपछि जिल्लाबाहिर रेफर गरेको थियो । उनले अहिले २ वटा कम्बल र एक त्रिपालको भरमा ७ जनाको परिवार बस्दै आएको बताए । उनका ४ वर्षका छोरा पनि छन् । ‘छोरीलाई चिसोले लग्यो,’ उनले भने, ‘छोरालाई कसरी जोगाउने भन्ने चिन्ता छ ।’

खलंगास्थित थाप्लेमा त्रिपालमा बसिरहेका अमरबहादुर परियारले एक महिनाको बच्चा अस्पताल भर्ना गरेका छन् । चिसोले गर्दा निमोनिया भएपछि ३ दिनदेखि अस्पताल भर्ना गरिरहेको उनले बताए । ‘घरमा बस्न नमिल्ने भएपछि पालमा बसेका छौं । पालमा बसेपछि बच्चा बिरामी भएको हो । दिन–प्रतिदिन चिसो बढिरहेको छ,’ उनले भने, ‘बच्चालाई कसरी हेरविचार गर्ने भन्ने तनाव छ ।’ उनको ४ वर्षको छोरालाई पनि वान्ता हुने समस्या थियो । अस्पताल लगेर उपचार गरेपछि अहिले सञ्चो भएको उनले बताए ।

थाप्लेमै पालमा बसिरहेकी माया शाहीको २ महिनाको बच्चालाई पनि चिसोले गर्दा पखाला लाग्ने समस्या देखिएको छ । उनी र उनका श्रीमान् आफ्ना ३ र देवरका २ छोराछोरीसहित पालमा बसेका छन् । देवरको भूकम्पमा परी मृत्यु भएको र उनकी एक छोरीको खुट्टा भाँचिएको छ । नेपालगन्जमा उपचार गरी केही दिनअघि मात्र उनलाई जाजरकोट ल्याइएको हो । आफूलाई पनि कम्मर दुख्ने, शरीर दुख्ने र हातखुट्टा दुख्ने समस्याले सताइरहेको उनले बताइन् । ‘अप्रेसन गरेर बच्चा जन्माएकी हुँ,’ उनले भनिन्, ‘चिसोले गर्दा ज्यानलाई गाह्रो भएको छ । पालमा शीत चुहिन्छ । ज्यान जोगाउनै मुस्किल भएको छ ।’

पहिल्यैबाट मुटु दुख्ने, खोकी लाग्ने समस्या झेलिरहेकी ४२ वर्षीया सीता परियारलाई चिसोले झनै मार पारेको छ । ‘पहिल्यैबाट म बिरामी छु । पालमा बस्न थालेपछि अझै समस्या झेलिरहेकी छु,’ उनले भनिन्, ‘स्वास्थ्य दिन–प्रतिदिन बिग्रिरहेको छ ।’ जाजरकोटमा भूकम्पपश्चात् चिसोले मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी रहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । ‘केहीलाई पहिल्यैबाट समस्या थियो, कोही उमेर बढी भएकाहरू पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘पालमा बस्दा चिसोले बढी असर गर्‍यो, त्यसैले मृत्यु भयो ।’

छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढिरहेको बताए । उनका अनुसार चिसोकै कारण दैनिक ३० जनाभन्दा बढी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी उपचारका लागि पुग्ने गरेका छन् । निमोनिया, दम बढ्ने, रुघाखोकीलगायतको समस्या भूकम्पपीडितमा देखिएको उनको भनाइ छ ।

भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको नलगाड नगरपालिकामा पनि दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए । ‘बिरामीको चाप बढेपछि बिहानदेखि रातिसम्म उपचार गर्नुपरेको छ,’ उनले भने, ‘औषधिको मौज्दात पनि सकिँदै छ, पर्याप्त उपकरण र बेड अभावमा उपचारमा समस्या भइरहेको छ ।’

स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन् । अन्य पालिकाको तथ्यांक संकलनकै क्रममा छ ।

रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर ओलीले बताए । उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा देखिएको उनले बताए । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा डेढ सय बढीको मृत्यु भएको थियो ।


प्रकाशित : मंसिर १०, २०८० ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×