२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

सिन्धुका मनमोहक हिमश्रृंखलामा तानिए आरोही र पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — सरकारले सिन्धुका मनमोहक हिमश्रृंखला आरोहण खुलाएयता यस क्षेत्रमा आरोही र पर्यटक तानिन थालेका छन् । चाडपर्वका बीच स्वच्छ मौसमको आनन्द लिने र आरोहणको लक्ष्य बोकेर आन्तरिक तथा बाह्य पर्यटक हिमक्षेत्र घुम्न आइरहेका छन् । 

सिन्धुका मनमोहक हिमश्रृंखलामा तानिए आरोही र पर्यटक

विजया दशमीकै दिन हिमालयन सेपहर्ड नेपालको आरोहण युनिटसँग गायिका सज्जा चौलागाईंसहित निमाग्याल्जेन शेर्पा, जाइसी स्यालिन्साजस्ता ५ जना आरोहीले जुगल हिमालको एघारमध्ये एक (५ हजार ९ सय २२ मिटर) अग्लो जुगल ५ चुचरो सफलतापूर्वक आरोहण गरे । ‘नेपाल यूएस मेक्सिको फ्रेण्डसिप भर्जिन पिक, जुगल एक्सप्रेस २०२३’ कार्यक्रम लिएर आएको टिममा गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेतासमेत रहेकी सज्जाले ‘कलामा महिला’ स्लोगन लेखिएको ब्यानरसहित राष्ट्रिय झण्डा चुचुरोमा फहराइन् ।

०७७ मंसिरमा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ जनाको आरोही टोली र दुई जना माउन्टेन गाईडले दुईवटा हिमाल चढेका थिए । पाँच हजार ३ सय मिटरको पाँच पोखरी क्षेत्रको तिलमान पास पाँचपोखरी पिक र पाँच हजार ५ सय ५६ मिटरको युवा पिक गुरुङको टिमले आरोहण गरेका थिए । त्यही वर्ष गुम्बैगुम्बाको सहर हेलम्बुक्षेत्रको पाँच हजार ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकमा नेरिका एडभेन्चरसका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले आरोहण गरेका थिए ।

जुगल पर्यटन समितिका अध्यक्ष मिलन तामाङकाअनुसार केही समययता मात्रै जुगल गापा हिमक्षेत्रमा सयभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । गायिका सज्जाको टोलीझै दुई समूह हिमाल चढ्न आएका छन् भने अन्य समूह हिमालमुनिका नेपेमासाल घुम्न आएका छन् । ती समूहले ६ हजार ७३७ मिटर अग्लो फुर्वाघेच्यु हिमाल आरोहण गर्न प्रयत्न गरिरहेको उनले बताए । अर्को समूह जुगलका हिमालका एघार चुचरामध्ये ३, ४, ५ मध्ये एक चढ्न प्रयासरत छन् । यी सबै यसअघि कसैले नचढेका हिमाल हुन् । सरकारले गत वर्ष मात्रै यी हिमाल आरोहणको अनुमति खुला गरेको थियो ।

अघिल्ला वर्षमा आरोहण खोलिएसँगै हृयोल्मोभुमी हेलम्बु र जुगल गापाका थुप्रै हिमश्रृंखला आरोहण गरिएका थिए । यसअघि पर्यटन प्रवर्द्धनको उदेश्य बोकेर जुगल हिमश्रृंखलाको ११ वटा मध्येको एक चुचुरो ६ हजार एकसय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भइसकेको छ । ०७५ चैत्र २९ मा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ७ जनाले ‘भर्जिन’ जुगल हिमालमा पहिलो पटक मानव पाइला टेक्दै झण्डा फहराए । लगत्तै सगरमाथा आरोही शर्मिला लामा स्याङ्तानको नेतृत्वमा ५ जनाले सफल आरोहण गरेर देखाए ।

नेपालभरको हिमालको ६१ वर्षे लामो आरोहण इतिहास भएपनि काठमाडौंबाट नजिक (करिब एकसय ४० किलोमिटर) रहेका जिल्लाका अनेकौं हिमश्रृंखला र दर्जनौं पिक अहिले आएर धमाधम आरोहण गरिँदैछन् । विश्वभरका ‘एडभेन्चर’ हिमश्रृखलाका पिकमा सिन्धुको अलग्गै पहिचान भएकाले आरोही र पर्यटकको यहाँको हिमाल हेर्न र आरोहणको आर्कषण बढ्दैछ ।

‘लाङ्टाङ र सिन्धुपाल्चोकका जुगल क्षेत्रभर गरी २६ वटाभन्दा हिमश्रृंखला र दर्जनौं संख्यामा हिमाली पिक छन् । जसप्रति दुई दर्जन आरोहीले उत्साह साथ आरोहण गरिसकेका छन् । स्थानीय तहको चासोपछि अहिले बाँकी अनेकौं हिमश्रृंखलाका ६ हजारभन्दा कम उचाइका पिकको खोज र हिमाली ट्रेकिङ रुट, अन्य मार्गको खोजी थालिएको छ ।

नेपाल पर्वतारोहण संघ, नेपाल (एनएमए)का अध्यक्ष निमा निरु शेर्पाकाअनुसार वाग्मती प्रदेशभर ६१ हिमाल, २५ वटा पिक जसमध्ये ७ वटा पिक आरोहण भइसकेका छन् । जसमा २५ वटा हिमश्रृंखला आरोहण भएकामध्ये जिल्लामा केही नयाँ हिमालको नयाँ रुट खोलेर चढीएका छन् । ‘जिल्लाभर रहेका कतिपय पाँच हजार ८ सय उचाइका अधिकाशं पिकको अझैसम्म प्रवर्द्धन नभएको र खोजी हुन सकेको छैन्,’ उनले भने ।


प्रकाशित : कार्तिक २३, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?