कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘रुट’ फेरेर उत्तरी नाकाबाट सुन तस्करी

चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ
चीनले एक साताका लागि रोङजिया र कोल्दिम नाका खुलाएपछि त्यही मौका छोपेर सुन भित्रिएको प्रहरी अनुमान

दोलखा, काठमाडौं — चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको पुष्टि भएको हो । दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो ।

‘रुट’ फेरेर उत्तरी नाकाबाट सुन तस्करी

सूचनाका आधारमा बिगु–३ जामुनेमा सीता तामाङको घरमा डेरा बस्ने बिगु–१ लामाबगरका २८ वर्षीय केशर तामाङको कोठाबाट ४ केजी सुन प्रहरीले बरामद गरेको थियो । त्यसकै आधारमा बुधबार राति ३ र बिहीबार दिउँसो २ जना गरी ५ जना पक्राउ परेका छन् । तस्करीमा संलग्न आरोपमा तामाङसहित बिगु–१ लामाबगरकै १८ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, लामाबगरकै ५५ वर्षीय नुर्वछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरिएको हो । पेम्बा र माधवले उक्त सुन नेपाल–चीन सीमा रोङजियाबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् । उक्त सुन पेम्बाले केशरलाई दिएको खुलको छ । सुन काठमाडौं लैजान नुर्व र सुनमाला चरिकोट आएका थिए ।

लामाबगरबाट रोङजिया नाका पुग्न एक दिन हिँड्नुपर्छ । बिगु–१ चीनसँग ३ वटा सीमा जोडिएको वडा हो । चीनले एक साताका लागि रोङजिया र कोल्दिम नाका खुलाए पनि लप्ची नाका खुला गरेको छैन । गत आइतबार चीनले उक्त नाका एक साताका लागि खुलाएको थियो । हिमाली क्षेत्रको जंगलको बाटो भएर मात्रै रोङजिया पुगिन्छ । त्यहाँबाट चीनको टिङ्ग्री काउन्टीको फलाक बजार नजिकै पर्छ । बरामद भएको सुन फलाकबाट आएको खुलेको दोलखाका डीएसपी दीपक खड्काले बताए । ‘आरोपितले फलाकबाट सुन बोकेर ल्याएको बयान दिएका छन्,’ उनले भने, ‘पक्राउ परेकाहरू नै तस्कर भए/नभएको बारे अनुसन्धानमै छौं ।’

रोङजिया नाका खुलाउने क्रममा आइतबार चिनियाँ पक्षले स्थानीयलाई नागरिकता र बोर्डर पास लिएर आउन भनेको थियो । जसका कारण तस्करले स्थानीयलाई प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका केशरसहित अन्य स्थानीय पनि उक्त नाका पुगेका थिए । सुन बरामद भएपछि केही स्थानीय सम्पर्कविहीन छन् ।

प्रहरीले बरामद सुनमा चिनियाँ नागरिक नै संलग्न रहेको बताए पनि परिचय खुलाएको छैन । ‘सुन तस्करीमा प्रत्यक्ष रूपमा चिनियाँ नागरिक संलग्न रहेको खुलको छ,’ डीएसपी खड्काले भने, ‘केही भरिया र केही सुन लिन मध्यस्थकर्ता बनेर आएकाहरू पक्राउ परेका छन् । फरारको खोजी जारी छ ।’ पक्राउ परेकाको बयानका आधारमा फरार रहेका स्थानीयसँग पनि सुन रहेको स्रोतको भनाइ छ । प्रहरीले पक्राउ गरेको सुन पेम्बा र माधवले बोकेर आएका थिए । सोही आधारमा तस्करले एक व्यक्ति बराबर २ केजी सुन बोकाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

रोङजिया नाका लामाबगरबाट मात्रै जान सकिन्छ । लामाबगरमा सीमा प्रहरी चौकी, सीमा प्रशासन, सशस्त्रको बीओपी र भन्सार कार्यालय पनि छ । तर स्थानीयको चिनजानको फाइदा उठाएर तस्करले यो रुट प्रयोग गरेको देखिन्छ । लामाबगरभन्दा तल गोगरमा रोल्वालिङ प्रहरी चौकी छ । सोही स्थानमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा आउनेजानेको सोधीखोजी र जाँचका लागि समेत चेकपोस्ट छ । उक्त क्षेत्रमा स्थानीयलाई खासै निगरानी नहुने भएकाले तस्करले स्थानीयलाई प्रयोग गरेको प्रहरीको भनाइ छ । लामबगरका एक स्थानीयका अनुसार महिना दिनदेखि यो क्षेत्रमा फरक खालको गतिविधि भइरहेको थियो । ‘केही चिनियाँ मान्छे पटक–पटक आएका थिए,’ उनले भने, ‘यहाँ आउँदा नुर्वसँग भेट्ने गर्थे, हामीले सिनो हाइड्रोका होलान् भनेर वास्ता गरेनौं ।’ सिनो हाइड्रोले तामाकोशी आयोजनामा सिभिल संरचनाको काम गरेको थियो । तस्करले योजना बनाएरै फलाकबाट रोङजिया नाका हुँदै भरियामार्फत सुन तस्करी गरिरहेको हुन सक्ने प्रहरी स्रोतले बतायो । रोङजियाबाट स्थानीयले चरिकोटसम्म ल्याउने र त्यहाँबाट भरिया परिवर्तन गरेर ओसारिने गरेको पनि खुलेको स्रोतको भनाइ छ ।

पक्राउ परेकालाई दोलखा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको डीएसपी खड्काले बताए । पैदलमार्गबाट ठूलो परिमाणमा अवैध ढंगले सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुरक्षा संयन्त्र नपुगेको उत्तरी विकट भेगबाट भित्रिएको ४ केजी सुन दोलखा प्रहरीले बरामद गरेसँगै यस्तै अन्य नाका पनि तस्करीमा प्रयोग भएको आशंका छ । त्यसलाई रोक्न सरकारी संयन्त्रको उपस्थिति भने शून्यप्रायः छ । नेपालबाट १५ जिल्लाको १ हजार ४ सय १४ किलोमिटर लम्बाइमा चीनसँग सीमा कायम छ । त्यसमध्ये हिउँ पग्लेको अवस्थामा करिब डेढ दर्जन नाकाबाट मानव आउजाउ गर्न मिल्ने सशस्त्र प्रहरी बल (एपीएफ) ले जनाएको छ ।

उत्तरी नाकाबाट हुने आवागमन व्यवस्थापन र निगरानी गर्न न सरकारी संयन्त्र छ, न सरकारी प्रयास नै प्रभावकारी बन्न सकेको छ । त्यसको फाइदा उठाएर गिरोहले तस्करी धन्दा चलाउन थालेको हो । भारततर्फ सीमा समस्या देखिएका कालापानी क्षेत्रबाहेक सबै ठाउँमा सुरक्षा उपस्थिति छ । अन्य सरकारी निकाय पनि भारततर्फका सीमा नाकामा तैनाथ छन् । उत्तरतर्फ राज्यको उपस्थिति कमजोर हुँदा यी नाका तस्करीमा प्रयोग हुन सक्ने जोखिम बढेको हो । केही नाकामा उपस्थिति बढाउन पहल भए पनि स्रोतसाधन र सुरक्षा जनशक्ति थप्न नसकिने कारण देखाएर सरकार पन्छिँदै आएको छ । सीमा सुरक्षा र बीओपी विस्तारकै लागि सशस्त्रले करिब ४ हजार ५ सय जनशक्ति बढाउन गत वर्ष गृहमा प्रस्ताव गरे पनि यो अघि बढेको छैन । बीओपी तैनाथ गरिएका नाकाको संरचना पनि मजबुत छैन ।

सशस्त्रका आईजीपी राजु अर्यालले भारत र चीनतर्फका अन्तर्राष्ट्रिय नाकाको सुरक्षामा सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लगिएको बताए । ‘भारतभन्दा चीनतर्फ भौगोलिक विकटता छ । उत्तरतर्फ सीमानजिकै बीओपी राख्न कतिपय ठाउँमा भौगोलिक समस्या छ, त्यसका बाबजुद हालसम्म जोखिम र प्राथमिकता निर्धारण गरेर नौ ठाउँमा राखिसकेका छौं,’ आईजीपी अर्यालले कान्तिपुरसँग भने, ‘मानव आउजाउ गर्न सक्ने अझै थुप्रै नाका छन्, त्यसलाई समेत मध्यनजर गरेर बीओपी राख्ने नाकाको पहिचान गरिसकेका छौं । साधन/स्रोत र सुरक्षा जनशक्ति व्यवस्थापन गरेपछि ती ठाउँमा बीओपी स्थापना गरिनेछ ।’

पछिल्लो पटक ११ महिनामा त्रिभुवन विमानस्थल हुँदै साढे ३ क्विन्टलभन्दा बढी सुन तस्करी गरी भित्रिएको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । त्यसमध्ये पहिलो चरणको अनुसन्धान टुंगिएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधसमेत ७ वटा कसुरमा चिनियाँसहितका तस्करविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । दोस्रो चरणको अनुसन्धान सीआईबीले गरिरहेका बेला चिनियाँ तस्करकै संलग्नतामा स्थल मार्ग हुँदै भित्रिएको ४ केजी सुन दोलखाबाट बरामद हुनुले उत्तरतर्फका अरू नाकाको निगरानी र सुरक्षा तैनाथीमा सरकारको ध्यान जान आवश्यक छ । चीनतर्फ हाल ९ ठाउँमा मात्रै बीओपी छन् । यीमध्ये पनि धेरैजसो नाकाबाट निकै वर राखिएका छन् ।

हाल दार्चुलाको टिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ (कोरला नाका नजिकै), रसुवाको रसुवागढी/केरुङ, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोला गरी ९ ठाउँमा सशस्त्रको बीओपी छ । यीमध्ये अधिकांश बीओपी नाकाबाट निकै वर नेपालतर्फ तैनाथ गरिएको छ । नाका व्यवस्थापनका लागि रहनुपर्ने भन्सार, अध्यागमन, सीमा प्रशासन, क्वारेन्टिनलगायत सरकारी निकायको उपस्थिति पनि शून्य नै छ । हिउँ पग्लेपछि वैशाख–जेठदेखि कात्तिक अन्तिमसम्म उत्तरतर्फका नाकाबाट आउजाउ गर्न मिल्छ । तर, त्यसरी हुने अवैध आउजाउ र घूसपैठ तथा तस्करका गतिविधि निगरानीमा भने सरकारी ध्यान पुगेको छैन । बझाङको उरै (धुली), डोल्पाको डोल्पो, यालाभन्ज्याङ, मनाङको ग्लाया भन्ज्याङ, गोरखाको लार्के र छेकम्बार, धादिङको रुबी भ्याली, ताप्लेजुङको झिन्साङचुलीलगायत अरू थुप्रै ठाउँबाट हिउँ पग्लेका बेला तस्कर सीमा वारपार गर्न सक्छन् ।

गत वर्ष गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा गठित अध्ययन समितिले सीमा सुरक्षा र सीमा व्यवस्थापन तथा सीमापार अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी प्रतिवेदनमा सीमा इलाकाभन्दा निकै वर तैनाथ सशस्त्र र प्रहरीका युनिटबाट प्रभावकारी रूपमा कार्यसम्पादन हुन नसकेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनले दशगजा नजिकै बीओपी र अरू सरकारी संयन्त्र राख्नुपर्ने सुझाव दिएको थियो । २०७६ कात्तिकमा पनि भारत र चीनतर्फको सीमा व्यवस्थापन गर्न सुझाव कार्यदल गठन गरिएको थियो । उत्तरतर्फको सीमाबारे अध्ययन गर्न परराष्ट्रका सहसचिव कालीप्रसाद पोखरेलको संयोजकत्वमा गठित कार्यदलले काम नै गरेन । किमाथाङ्का, तातोपानी, रसुवाको रसुवागढी/केरुङ, कोरला, हिल्सा र लिमी/लाप्चा क्षेत्र वारि नेपालतर्फका नाका व्यवस्थापन निकै कमजोर छ । बीओपी नभएका अरू नाकाको हालत त मानव र सरकारी संयन्त्रको उपस्थिति नै शून्यप्रायः छ ।

प्रकाशित : आश्विन १२, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×