कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तुम्लिङटारमा ठूलो एटीआरले व्यावसायिक उडान थाल्यो

७० यात्रु क्षमताको एटीआर–७२ पोखरा, सुर्खेतपछि अब तुम्लिङटारमा
सुरज कुँवर

काठमाडौँ — नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा मंगलबारदेखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ले काठमाडौंबाट सिधा उडान थालेको छ ।

तुम्लिङटारमा ठूलो एटीआरले व्यावसायिक उडान थाल्यो

तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झन्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको हो ।

‘सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुने छ,’ विमानस्थल प्रमुख कोइरालाले भने ।

टर्बोप्रोप ट्वीन इन्जिनयुक्त एटीआर छोटो दुरीमा पर्ने क्षेत्रीय सहरहरु जोड्ने विमान हो । नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ ।२०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे । सशस्त्र द्वन्द्वपछी विराटनगर र काठमाडौंबाट हुने उडान रोकिएका थिए । द्वन्द्व सकिएपछि बुद्धले १९ सिटको बिचक्राफ्ट विमानबाट तुम्लिङटारमा उडान थालेको थियो । यात्रुको चाप बढ्दै गएपछि उसले ४७ सिटको एटीआर–४२ बाट उडान गरेको थियो । कोभिड महामारीपछि मकालु हिमाल आरोहण जाने पर्यटक तथा व्यवसायी र स्थानीयको चाप बढेपछि बुद्धले गत वर्ष जेठ २१ मा पहिलोपटक ठूलो जहाजबाट परीक्षण उडान गरेको थियो । उक्त उडानको प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटारमा एटीआर–७२ लाई पनि उडान अनुमति दिएको थियो ।

यो विमानस्थल समुन्द्र सतहबाट १३ सय १६ फिट उचाइमा पर्छ । काठमाडौंबाट ३५ मिनेटको हवाई दुरीमा रहेको यो विमानस्थलको धावनमार्गको लम्बाई १४ सय २० मिटर रहेको छ । तापक्रम वृद्धि हुँदा यहाँ ठूलो एटीआरलाई ‘लोड–रेस्ट्रीकसन’ लाग्ने भनिएको छ । यसो हुँदा तुम्लिङटार–काठमाडौं उडानमा यात्रुको केही संख्या घटाउनुपर्ने हुन्छ ।

प्रकाशित : जेष्ठ २, २०८० १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×