कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूलो एटीआरलाई तुम्लिङटार उडान अनुमति

७० यात्रु क्षमताका एटीआर विमान भित्री उपत्यका पस्दै
सुरज कुँवर

काठमाडौँ — नेपालको सबैभन्दा गहिरो अरुण उपत्यकाभित्र रहेको तुम्लिङटार विमानस्थलमा ७० यात्रु क्षमता भएको एटीआर–७२ विमान उड्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलमा गराएको परीक्षण सफल भएपछि बुद्द एयरलाई काठमाडौं–तुम्लिङटार उडान अनुमति दिएको छ ।

ठूलो एटीआरलाई तुम्लिङटार उडान अनुमति

‘सुर्खेत जस्तै भित्री उपत्यकामा रहेको सखुंवासभाको तुम्लिङटार विमानस्थलमा अब ७० यात्रु क्षमता भएको एटीआर–७२ विमानले उडान गर्न सक्ने भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘दुर्गम र पहाडी भेगका विमानस्थलमा ठूला विमानको सेवा बिस्तार हुनुले यात्रुलाई ६८ सय रुपैया हवाइ भाडामा १५ सयदेखी २ हजार रुपैयासम्म टिकट पनि सस्तो पर्न जाने छ ।’

अरुण र सभा नदीकोबीचमा रहेको तुम्लिङटार विमानस्थल समुन्द्री सतहदेखी १३ सय १६ फिट उचाइमा छ । यो सुर्खेत विमानस्थलको दाँजोमागते ७ सय फिट होचो स्थानमा छ । प्राधिकरणले हालै सुर्खेत र तुम्लिङटार विमानस्थलको धावनमार्ग सुधार गरेपछि ठूलो एटीआरबाट व्यवसायिक उडानकालागि परीक्षण उडान गराएको थियो । प्राधिकरणअघि बुद्ध ०७८ जेठ २१ तुम्लिङटारमा एटीआर–७२ बाट पहिलोपटक परीक्षण उडान गरेको थियो ।

यी दुवैमा ठूलो एटीआरबाट उडान सम्भव देखिएपछि प्राधिकरणले उडान अनुमति दिएको हो । ‘पहिलो चरणमा एटीआर–७२ ले दैनिक एक उडान गर्ने छ,’ भुलले भने,‘तीनमहिनापछि बुद्धले दैनिक दुई उडान गर्ने भनेको छ ।

०२९ सालदेखि सुरु भएको तुम्लिङटारमा सशस्त्र द्वन्द्वअघि नेपाल वायुसेवा निगम, नेपाल एयरवेज र निकोन एयरले ५० सिट क्षमताको एभ्रो र टुइनअटर विमान उडाउँथे ।

द्वन्द्वपछि उडान रोकिएको तुम्लिङटारमा बुद्धले १९ सिट क्षमताको बीचक्राफ्ट विमानबाट व्यवसायिक उडान थालेको थियो । मकालु हिमाल आरोहण तथा पदयात्रा प्रवेशद्धारमा रहेको तुम्लिङटारमा यात्रु चाप बृद्धि भएपछि बुद्धले सुरुका दिनमा दैनिक एउटा उडान १९ सिट क्षमताको बीचक्राफ्ट र ४७ सिट क्षमताको एटीआर–४२ बाट उडान थालेको थियो ।

बुद्धले ठूलो विमानबाट थालेको उडानले तुम्लिङटार र त्यस क्षेत्र आपसापबाट दैनिक धरान, इटहरी हुँदै १५ घन्टा लगाउँदै ३ हजार भाडा तिरेर काठमाडौं आइपुग्ने एक दर्जन बसका यात्रुलाई सहज हुने जनाएको छ ।

प्रकाशित : पुस २९, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?