कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

‘प्रेमको आडमा शृंखलाबद्ध यौन शोषण’

विराटनगर — सुनसरी दुहबी नगरपालिका–४ की १५ वर्षीया किशोरी विराटनगर–६ को एक विद्यालयमा पढ्थिन् । विद्यालयसँगै जोडिएको चस्मा पसल सञ्चालक ३० वर्षीय रिजवान अन्सारीसँग उनको चिनजान भयो । चिनाजानी बिस्तारै मित्रतामा बदलियो । रिजवानले किशोरीलाई उपहार दिएर फकाउन थाले । दुई सन्तानका बाबु रिजवानले किशोरीलाई प्रेमिका बन्न प्रस्ताव गरे । किशोरीले रिजवानको प्रस्ताव इन्कार गरिन् ।

‘प्रेमको आडमा शृंखलाबद्ध यौन शोषण’

मायाको नाटक गरिरहेका रिजवान पछि हटेनन् । नियमित प्रेम प्रस्ताव राख्न थाले । अन्ततः करकापमा किशोरीले प्रस्ताव स्विकारिन् । रिजवानले किशोरीसँग शारीरिक सम्बन्धको पनि प्रस्ताव राखे । किशोरीले ठाडै अस्वीकार गरिन् । एक दिन रिजवानले किशोरीलाई चुम्बन गर्दै फोटो खिच्न भ्याए । पछि त्यही फोटोलाई हतियार बनाएर रिजवानले किशोरीको यौन शोषण गर्न थाले । किशोरीले अस्वीकार गर्दा त्यही फोटो देखाएर ‘ब्ल्याकमेल’ सुरु गरे ।

आफूले भनेअनुसार नगरे फोटो सामाजिक सञ्जाल र इन्टरनेटमा हालेर भाइरल गरिदिने धम्की दिन थाले । लोकलाज र बेइज्जतीका डरले किशोरी पनि बाध्य हुँदै गइन् । किशोरी २०७४ असारदेखि २०७९ फागुनसम्म शृंखलाबद्ध रूपमा रिजवानबाट शोषित भइरहिन् । प्रेमको बहानामा यौनको ध्येय राखेका रिजवानले किशोरीसँग शारीरिक सम्बन्धको पनि सुटुक्क अश्लील तस्बिर र भिडियो लिए । त्यसैको आडमा विभिन्न डर, धम्की दिँदै रिजवानले किशोरीसँग लगातार पाँच वर्षसम्म काठमाडौं र विराटनगरसम्म पुर्‍याएर यौन सम्बन्ध राखे । किशोरी दुई पटक गर्भवती पनि भइन् । रिजवानले दुवै पटक उनको गर्भपतन गराए ।

शृंखलाबद्ध शोषणको अन्त्य नहुने देखेपछि हाल २० वर्ष उमेर पुगेकी किशोरीले पछिल्लो पटक रिजवानको ‘ब्ल्याकमेल’ सामु घुँडा टेकिनन् । यसले रिजवानलाई बेचैन बनायो । उसले फेक प्रोफाइल बनाएर किशोरीका अश्लील फोटो, भिडियो उनका आफन्त र साथीलाई पठाएर चरित्र हत्या गर्न थाले । त्यसपछि किशोरी हारगुहार गर्दै मोरङ प्रहरी कार्यालयमा पुगिन् ।

उच्च शिक्षा अध्ययन गर्न थालेपछि धेरै कुरा बुझेको र साथीहरूको सुझावमा हिम्मत जुटाएर उनले रिजवानविरुद्ध मुख खोलेको प्रहरी बयानमा भनेकी छन् । पीडितको जाहेरीपछि प्रहरीले रिजवानलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर रिजवानविरुद्ध जबर्जस्ती करणी, गर्भ संरक्षणसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान थालेको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार रिजवानले किशोरीलाई १५ वर्षको उमेरदेखि लगातार पाँच वर्षसम्म ब्ल्याकमेल गर्दै शारीरिक एवं मानसिक शोषण गरेको पाइएको छ । अदालती कारबाही र सजायका लागि उनीविरुद्ध पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । १५ वर्षकी बालिकाले चेतना अभावमा आफूमाथि भइरहेको अत्याचारविरुद्ध आवाज उठाउन नसकेको समाजशास्त्री मुकेश सिंह बताउँछन् । ‘ती नानीले प्रहरीको ढोका ढकढकाएर आफूजस्तै अन्य पीडितलाई पनि मुख खोल्ने आँट दिएकी छन्,’ उनले भने । सहमतिमा नै भए पनि नाबालिगसँगको यौन सम्बन्धलाई कानुनले बलात्कार ठहर गरेको छ ।

प्रकाशित : वैशाख १९, २०८० ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?