
काठमाडौँ — सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू सोमबार राति खुलामञ्च अगाडि सडकपेटीमै रात कटाउने भएका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौं पीडितहरूले सडकपेटीमै सुतेका हुन् ।

सोमबार दिनभर खुलामञ्चको गेट अगाडि प्रदर्शन गरेका पीडितहरू रात परेपछि खुलामञ्चभित्र सेल्टर बनाउने भन्दै प्रहरीसँग आग्रह गरे पनि प्रहरीले प्रवेश गर्न नदिएपछि उनीहरूले बाहिरै ओछ्यान लगाए ।
पीडितहरूको प्रदर्शनमा अगुवाइ गरेका अधिकारकर्मी संघर्ष दाहालका अनुसार उनीहरू बासका लागि खुलामञ्चभित्रै रात कटाउने योजनामा थिए । राति अबेरसम्म पनि पीडितहरूले प्रहरीसँग अनुरोध गरिरहेको अधिकारकर्मी दाहालले बताए ।
यस क्रममा प्रहरीसँग उनीहरूको केही बेर धकेलाधकेलसमेत भएको थियो । प्रहरीले प्रवेश नै गर्न नदिएपछि उनीहरू पेटीमै सुतेका छन् ।
बर्दिबासदेखि ११ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । यस क्रममा उनीहरूले 'मिटरब्याजीलाई कारबाही गर', 'सहुलियत दरमा ऋणको व्यवस्था गर', 'तमसुक व्यवस्था खारेज गर', 'मिटरब्याजविरुद्ध कानुन निर्माण गर' लगायतका नारा लगाएका थिए । सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । साथै सरकारले माग पूरा नगरेसम्म आफूहरू घर नफर्किने उनीहरूले चेतावनी दिएका छन् ।
प्रकाशित : चैत्र १३, २०७९ २१:०९मिटरब्याजपीडितलाई न्याय दिलाउन अदालत तगारो !