२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

काठमाडौं उपत्यकामा बर्डफ्लु, मासु खाने कि नखाने ?

‘७० डिग्री सेल्सियसमाथिको तापक्रममा पकाएर खाँदा भाइरस नष्ट हुन्छ । तर कुनै रोग लागेको पशुपंक्षीको भने मासु खान हुँदैन । स्वस्थ पंक्षीबाट उत्पादन गरिएका खानेकुरा मज्जाले पकाएर खान डराउनुपर्दैन ।’ -चिकित्सक
बुनु थारु

काठमाडौँ — हाल काठमाडौं उपत्यकामा बर्डफ्लुको त्रास देखिएको छ । ललितपुरको खुमलटार, नागार्जुन–६रामकोट, तार्केश्वर–७, संगालछाप र शंखमूलमा बर्डफ्लु देखिएको छ ।बर्डफ्लु संक्रमणको डरले धेरैले मासु तथा अण्डा पनि खान छोड्ने गर्छन् । बर्डफ्लूको समयमा कुखुरा र अण्डा खान सकिन्छ? खानु सुरक्षित छ? भन्ने प्रश्न धेरेको मनमा उब्जिन सक्छ । 

काठमाडौं उपत्यकामा बर्डफ्लु, मासु खाने कि नखाने ?

बर्डफ्लु जसलाई ‘एभियन इन्फ्लुएन्जा’ पनि भनिन्छ, एक भाइरल संक्रमण हो। सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड डिभिजन(सीडीसी)का अनुसार पंक्षीसँग काम गर्ने व्यक्तिहरू बर्डफ्लुको संक्रमित हुने सबैभन्दा बढी जोखिममा छन्। यो भाइरसबाट एक संक्रमित व्यक्तिबाट नजिकको सम्पर्कमा फैलिने धेरै दुर्लभ छ र फैलिए पनि कमलाई मात्र फैलिन्छ । यसले घाँटी दुख्ने, मांसपेशी दुख्ने र गम्भीर अवस्थामा श्वास प्रश्वासमा समस्या ल्याउन सक्छ । संक्रमित पंक्षीहरुको र्‍याल, खकार र सुलीको माध्यमबाट भाइरस सर्न सक्छ । मानिसको आँखा, नाक वा मुखमा भाइरस प्रवेश गर्दा बर्डफ्लु भाइरसबाट मानिसमा संक्रमण हुन सक्छ।

मासु र अण्डा खान हुन्छ ?

बर्डफ्लु सुन्नेबित्तिकै मासु र अण्डा खानै नमिल्ने हो त? होइन । हालसम्म अण्डा र मासुजस्ता उत्पादनमार्फत बर्डफ्लु मानिसहरूमा फैलिन सक्छ भन्ने तथ्यलाई समर्थन गर्ने प्रमाणहरू फेला परेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि कुखुरालगायत अन्य पशुपंक्षीको मासु राम्ररी पकाएर खाँदा सुरक्षित नै रहने बताउँछ। कुनै पनि खाद्यवस्तु, अण्डा वा चराको मासु जो राम्ररी धोएर मजाले पकाइन्छ त्यो खान सुरक्षित हुन्छ र भाइरसका वाहकका रूपमा काम नगर्ने अध्ययनहरूले देखाएका छन् ।

डब्ल्यूएचओका अनुसार कुनै पनि मासु वा कुखुरा उत्पादनहरूमा भएका भाइरस तातोको सम्पर्कमा आउँछन्, यसले सतहमा (वा यसको मुनि पनि) हुन सक्ने कुनै पनि कीटाणु, रोगजनक वा भाइरसहरूलाई मार्छ। विज्ञहरूका अनुसार संक्रमणको अवस्थामा मासु र अण्डा खान डराउनु पर्दैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी भेटेरनरी अफिसर डा. रोशिका श्रेष्ठले राम्ररी पकाएर खाँदा भाइरस मर्ने र यसले असर नपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘७० डिग्री सेल्सियसमाथि मजाले पकाएर खाँदा यसमा भएको भाइरस भाइरस नष्ट हुन्छ । कुखुराको मासु र अण्डा भने खानुअघि राम्ररी सफासित पखालेर पकाएर खानुपर्छ।’ उनले अण्डा आधा उमालिएको भन्दा पनि राम्ररी उमालेको खान सुझाइन् ।‘पकाएको भन्दा पनि काँचो मासुबाट संक्रमित हुने सम्भावना रहन्छ । मासु काट्ने मान्छे, विक्रेता, कुखुरापालकलाई संक्रमणको जोखिम हुन्छ,’उनले भनिन् ।

विज्ञहरूका अनुसार यस्तो बेला रेस्टुरेन्टभन्दा पनि घरमै मजाले पकाएर खान तथा विश्वसनीय पसल/विक्रेताबाट मात्र अण्डा र कुखुरा लिनुपर्छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल बर्डफ्लु संक्रमित पंक्षीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति उच्च जोखिममा पर्ने भएकाले उनीहरु सतर्क रहनुपर्ने बताउँछन् ।

डा. ढकाल भन्छन्, ‘फार्ममा काम गर्ने तथा पंक्षी ओसारपसार गर्ने कामदार, मासु काट्ने व्यक्ति, विक्रेता, संक्रमित पंक्षीको उपचार गर्न जाने भेटेनरियन तथा प्राविधिकहरू यसको जोखिममा हुन सक्छन् ।’ उनले मासु खाएर भन्दा पनि त्यसको प्रत्यक्ष सम्पर्कमा रहने संक्रमित हुने बताउँदै मासुलाई राम्ररी पकाएर खाने र काट्दा र पखालेपछि साबुनले राम्ररी हात धुनुपर्ने बताए । उनले भने, ‘बर्डफ्लु लाएर मरेको कुखुरा खाए पनि रोग लाग्दैन तर यसको अर्थ यो होइन कि बर्डफ्लु लागेको कुखुरा खान मिल्छ। कुनै पनि रोग लागेको पशुपंक्षीको मासु खानुहुँदैन । स्वस्थ पंक्षीबाट उत्पादन गरिएका खानेकुरा मज्जाले पकाएर खान डराउनुपर्दैन।’

नेपालमा पहिलो पटक सन् २००९ मा घरेलु पंक्षीमा बर्डफ्लु देखापरेको थियो । कुनै पनि उत्पादन किन्न वा पकाउनु अघि सुरक्षित स्वच्छ अभ्यासहरू अभ्यास गर्न र जैविक, विश्वसनीय ठाउँहरूबाट सामग्रीको स्रोत सुनिश्चित गर्न डब्ल्यूएचओले सुझाव दिँदै आएको छ।

प्रकाशित : माघ २४, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?