२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बालबालिकाकी संरक्षक, संसद्की अभिभावक

समाज सेवामा सक्रिय रानामगर समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिने बेला मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्

काठमाडौँ‚ बिर्तामोड — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । समाज सेवामा क्रियाशील रानामगर राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । 

बालबालिकाकी संरक्षक, संसद्की अभिभावक

उपसभामुखका लागि सत्ता गठबन्धनबाट रानामगर र प्रतिपक्षमा रहेका दलबाट कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभामा शनिबार मत विभाजन गराउँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए । मत विभाजनका बेला २ सय ६४ सांसद उपस्थित थिए । वर्षमान पुन, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्रप्रसाद पाण्डे, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी अनुपस्थित थिए । रानामगरको पक्षमा बहुमत देखिएपछि कांग्रेसकी उम्मेदवार मुक्ताकुमारी यादवका लागि मत विभाजन गराइएन ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् । उनी उपसभामुखमा पनि निर्वाचित भएको खबरले देउनिया बस्तीमा खुसियाली छाएको छ । यहाँको जुनकिरी प्राविमा अध्ययनरत बालबालिकामा उज्यालो छाएको छ । जुनकिरी रानामगरले नै डेढ दशकअघि खोलिदिएको विद्यालय हो, जहाँ जेलमा परेका अभिभावकका सन्तानसमेत पढ्छन् । यो विद्यालय स्थापनाको कथा पनि मर्मस्पर्शी छ ।

रानामगरले आफ्नो गाउँमा बाँसको टाँटीबेराबाट बनेको सानो कटेरामा २०६२ सालमा जुनकिरी पुस्तकालय स्थापना गरेकी थिइन् । गाउँमा पठन संस्कृति विकास गराउन उनले पुस्तकालय खोलेकी थिइन् । उनले देखेभोगेको अर्को टड्कारो समस्या थियो । देउनिया बस्तीनजिकैको बुट्टाबारीमा सरस्वती मावि पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्टि रहेकाले बाटो उत्तरका बालबालिकालाई पढ्न जान सधैं सकस हुन्थ्यो । अभिभावक छोराछोरीलाई विद्यालय पठाउनै डराउँथे । गाउँको यस्तो समस्या हटाउन रानामगरले स्कुल खोल्ने सोच बनाइन् । उनले दाजुहरूसँग जग्गा मागिन् अनि आफैंले पनि जग्गा दिइन् अनि जुनकिरी प्रावि खुल्यो ।

इन्दिराले दिएको डेढ कट्ठा तथा दाजुहरू जगत र रणबहादुर रानामगरबाट प्राप्त एक कट्ठा गरी साढे दुई कट्ठा जमिनमा जुनकिरी प्रावि खुलेपछि चिया बगानमा मजदुरी गर्ने श्रमिकका र विपन्न दलित परिवारका बालबालिकाले गाउँमै पढ्न पाएका छन् । त्यहाँ अहिले जेल परेका अभिभावकका १९ सन्तानसहित १ सय ७ जना अध्ययनरत छन् । जुनकिरी प्रावि सार्वजनिक विद्यालय हो । इन्दिरा रानामगरले सन् २००५ मा प्राप्त ‘अशोका फेलो अवार्ड’ बाट प्राप्त रकम र विभिन्न दाताको सहयोगमा पक्की भवनमा आवाससमेत सुविधा छ ।

२०२७ असार १८ मा देउनिया बस्तीको विपन्न परिवारमा जन्मिएकी रानामगरले शिक्षा प्राप्त गर्न निकै संघर्ष गर्नुपरेको थियो । उमेर बितिसके पनि विद्यालय जान नपाएको अवस्थामा स्थानीय शिक्षक तथा अगुवाको सहयोगमा १० वर्षको उमेरमा मात्र उनले विद्यालय टेक्ने अवसर पाइन् । एकै पटक कक्षा ५ मा पढ्न थालेकी उनले अर्काको घरमा श्रम गरेर पढाइलाई अघि बढाएकी थिइन् । ‘शिक्षा प्राप्त गर्न उहाँले जुन किसिमको दुःख गर्नुभयो । अरूलाई त्यस्तो दुःख नहोस् भनेर झापा र काठमाडौंमा दुईवटा जुनकिरी प्रावि स्थापना गर्नुभएको छ,’ देउनिया बस्तीको जुनकिरी प्राविका प्रधानाध्यापक रञ्जित परियारले भने ।

रानामगरले गृहजिल्ला झापामा तीनवटा बालगृह, एउटा छात्र गार्डेन र एउटा डे केयर सेन्टर सञ्चालन गरेकी छन् । अर्जुनधारा–३ खुदुनाबारी बालगृहमा ७, मनमाया आमा बालगृहमा ५, गंगा जोशी आमा बालगृहमा ५, जंगल गार्डेन छात्र होममा ९ र जुनकिरी डे केयर सेन्टरमा ७ जना बालबालिका छन् । उनीहरू सबै जेल परेका अभिभावकका बालबालिका हुन् । जुनकिरी डे केयर सेन्टर जिल्ला कारागारभित्र सञ्चालित छ । बालगृह र विद्यालयमा अध्ययनरत विद्यार्थीको पालनपोषणका लागि उनले जिल्लामा अढाई बिघा जमिन खरिद गरेकी छन् । उक्त जमिनमा ती बालबालिकालाई सीपमूलक तालिम सिकाउने गरी कुखुरा, बाख्रा, माछापालन, धान र तरकारी खेती गरिन्छ ।

रानामगरकी आफ्नै एक छोरी छिन्, सुवानी । तर, उनलाई सुवानीले मात्र नभई सयौं बालबालिकाले आमा मान्छन् । रानामगर देश र विदेशमा समेत चर्चा बटुलेकी समाजसेवी हुन् । साहित्यकार पारिजातको समाज सेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छन् । उनले सञ्चालन गरेको बन्दी सहायता नेपालमार्फत बाबुआमा जेल पर्दा अलपत्र पर्ने बालबालिकाको स्याहार र शिक्षा दीक्षामा सहयोग हुँदै आएको छ ।

बन्दी सहायता नेपालले विभिन्न जिल्लामा १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ । रानामगरलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले ‘वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड’ प्रदान गरेकी थिइन् । उनी अन्य दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छिन् । उनले २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड पाइन् भने सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको सूचीमा परेकी थिइन् ।

रानामगर प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् । गत असारमा मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ उनलाई पार्टीमा आबद्ध गराउँदै उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभाको पहिलो यात्रामै उनी उपसभामुख भएकी हुन् । सत्ता साझेदार दलमा भागबन्डा हुँदा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको थियो । सभामुखमा सत्ता घटक एमालेबाट देवराज घिमिरे निर्वाचित भएका छन् ।

रास्वपाकी सोविता गौतम प्रस्तावक र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थकमा रानामगरले उम्मेदवारी दिएकी थिइन् । यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे, समर्थकमा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक थिए ।

रास्वपाकी गौतमले उपसभामुखमा रानामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउनु लोकतन्त्रको परीक्षा भएको बताएकी थिइन् । ‘लोकतन्त्र भनेको फगत शासन पद्धति मात्र होइन जनताको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र सम्भव हुन्छ,’ उनले भनिन् । गौतमले लोकतन्त्रको प्रवर्द्धन गर्दै संसदीय परम्पराको मर्यादाभित्र रहेर काम गर्ने बेला आएको पनि उल्लेख गरेकी थिइन् । ‘इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्रै हैन इतिहास लेख्ने पनि कुरा हो । धेरै पढ्यौं अब लेख्नुपर्छ । इतिहास लेख्ने अवसर सबैलाई हुँदैन । इतिहास लेख्ने जनताका आशा र भरोसाका प्रतिनिधि हामीमाथि यो अवसर प्राप्त भएको छ । अब नयाँ इतिहास लेख्नैपर्छ,’ उनले भनिन् ।

रानामगरका समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा र भूमिकाबाट विचलित नभईकन भूमिका निभाउनुपर्ने बताए । सभामुख र उपसभामुखले संसद्मा रेफ्रीको भूमिका असल र इमानदारीपूर्वक निभाउन, पदीय गरिमा र गौरव बचाएर राख्नुपर्ने उल्लेख गरे । ‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन,’ उनले भने, ‘सभामुखज्यू, तपाईं कसैको स्वार्थमा नआउनुहोला, जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ ।’

माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विगतमा भएका क्रान्ति र आन्दोलनकै कारण अहिले सीमान्तकृत समुदाय र महिलाले प्रतिस्पर्धा गर्ने अवस्था बनेको बताइन् । ‘महिला र जनजाति, पछाडि परेको सीमान्तकृत र दलित समुदायलाई प्रतिस्पर्धामा ल्याउन विगतमा गरिएका संघर्ष र आन्दोलनहरूको योगदान छ । म त्यो संघर्ष, युद्ध र आन्दोलनप्रति गर्व गर्न चाहन्छु,’ उनले भनिन् ।

कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले भने सभामुखमा सत्तापक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट चयन हुनुपर्ने जिकिर गरेका थिए । संविधानको मर्मअनुसार पनि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने उनले बताए । ‘सत्तापक्षबाट प्रस्तावित व्यक्ति सभामुखमा निर्वाचित भएपछि प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति उपसभामुखमा निर्वाचित हुँदा संसद्को गरिमा बढ्छ । भौगोलिक विविधताका हिसाबले पनि मुक्ताकुमारी यादवलाई निर्वाचित गर्नुपर्ने हुन्छ,’ उनले भने । एकीकृत समाजवादीका मेटमणि चौधरीले संविधानको व्यवस्थाअनुसार उपसभामुखमा सांसद यादव उपयुक्त हुने बताएका थिए ।

उपसभामुखमा निर्वाचित भइसकेपछि रानामगरले सभामुखसँग समन्वय गर्दै जिम्मेवारी निष्पक्ष रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाइन् । ‘आजबाट ठूलो परिवारमा भित्रिएकी छु । तटस्थ र इमानदारिका साथ संविधानले व्यवस्था गरेको भूमिका निर्वाह गर्नेछु,’ उनले भनिन् ।

प्रकाशित : माघ ८, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?