कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इन्दिरा रानामगर : बालबालिकाको अभिभावकदेखि उपसभामुखसम्म

जसले कटेरोको पुस्तकालयलाई विद्यालय बनाइन्
अर्जुन राजवंशी

बिर्तामोड — डेढ दशकअघि इन्दिरा रानामगरले आफ्नो गाउँमा बाँसको बेराबाट बनेको सानो कटेरामा जुनकिरी पुस्तकालय स्थापना गरेकी थिइन् । गाउँमा पठन संस्कृतिको विकास गराउन स्थापना गरेको पुस्तकालय अहिले विद्यालयमा परिणत भएको छ । 

इन्दिरा रानामगर : बालबालिकाको अभिभावकदेखि उपसभामुखसम्म

अर्जुनधारा नगरपालिका–११ देउनियाबस्तीमा आफ्नो नामको डेढ कट्ठा तथा दाजुहरू जगत र रणबहादुर रानामगरबाट एक कट्ठा गरी दुई कट्ठा दस धुर जमिनमा उनले पुस्तकालयलाई जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका रूपमा विकास गरेकी हुन् । जहाँ जेल परेका अभिभावकका १९ बालबालिकासहित एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय स्थापनापछि चिया बगानमा मजदुरी गर्ने श्रमिकका र विपन्न दलित परिवारका बालबालिकाले अध्ययन गर्न पाएका छन् ।

बन्दी सहायता नेपालको संस्थापक रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि देउनीयाबस्तीमा खुसी छाएको छ । प्रतिनिधिसभाको दुवै पद सभामुख र उपसभामुखमा झापाली नेता नै निर्वाचित भएपछि जिल्लावासी थप उत्साहित बनेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सञ्चालन गरेको झापा अर्जुनधारा नगरपालिका ११ देउनियाबस्तीस्थित जुनकिरी सार्वजनिक प्राथमिक विद्यालय । तस्बिर : अर्जुन/कान्तिपुर

चारआली जंगलनजिकैको देउनियाबस्तीमा करिब दुई सय घर परिवारको बसोबास छ । नजिकैको बुट्टाबारीमा सरस्वती मावि छ । तर, उक्त विद्यालय पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्टि रहेकाले बाटो उत्तरका बालबालिकालाई विद्यालय जान सधैं सकस हुन्थ्यो । अभिभावक छोराछोरीलाई विद्यालय पठाउनै डराउँथे ।

इन्दिरा रानामगर : सयौं बालबालिकाकी 'आमा'

‘गाउँमा यो समस्या देखिएपछि इन्दिरा दिदीले लाइब्रेरीलाई नै स्कुलका रूपमा अघि बढाउने सोच बनाउनुभयो । दाजुहरूसँग अलिकति जग्गा माग्नुभयो र, आफ्नो समेत जग्गा दान गरेर यो स्कुल स्थापना गर्नुभयो,’ जुनकिरी प्राविका प्रधानाध्यापक रञ्जित परियारले भने,‘अहिले यो स्कुलमा चिया बगानमा काम गर्ने मजदुर र विपन्न दलित परिवारका छोराछोरीले सहज रूपमा पढ्न पाएका छन् ।’

नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले २०६२ सालमा कटेरोमा स्थापना गरेको जुनकिरी बालमैत्री पुस्तकालय । तस्बिर : अर्जुन/कान्तिपुर

२०२७ असार १८ मा देउनियाबस्तीमा विपन्न परिवारमा जन्मिएकी रानामगरले शिक्षा प्राप्त गर्न निकै संघर्ष गर्नु परेको थियो । उमेर बितिसकेपनि विद्यालय जान नपाएको अवस्थामा स्थानीय शिक्षक तथा अगुवाको सहयोगमा १० वर्षको उमेरमा मात्र उनले विद्यालय टेक्ने अवसर पाएकी थिइन । एकै पटक कक्षा ५ बाट पढाइ सुरु गरेकी उनले अर्काको घरमा श्रम गरेर आफ्नो पढाइलाई अघि बढाएकी थिइन् ।

‘शिक्षा प्राप्त गर्न उहाँले जुन किसिमको दुःख गर्नुभयो । अरुलाई त्यस्तो दुःख नहोस् भनेर झापा र काठमाडौंमा दुइटा जुनकिरी प्राथमिक विद्यालय स्थापना गर्नु भएको छ,’ प्रअ परियारले भने । उनले २०६२ मा स्थापना गरेको जुनकिरी पुस्तकालयलाई २०६५ बाट जुनकिरी प्राविका रुपमा अघि बढाएका हुन् । रानामगर सन् २००५ मा पुरस्कृत ‘अशोका फेलो अवार्ड’ बाट प्राप्त रकम र विभिन्न दाताको सहयोगमा पक्की भवनमा आवाससहितको विद्यालय सञ्चालित छ ।

रानामगरले गृहजिल्ला झापामा उक्त विद्यालयसहित तीन वटा बाल गृह, एउटा छात्र गार्डेन र एउटा डे केयर सेन्टर सञ्चालन गरेकी छन् । अर्जुनधारा–३ खुदुनाबारी बालगृहमा ७, मनमाया आमा बालगृहमा ५, गंगा जोशी आमा बालगृहमा ५, जंगल गार्डेन छात्र होममा ९ र जुनकिरी डे केयर सेन्टरमा ७ जना बालबालिका छन् । उनीहरु सबै जेल परेका अभिभावकका बालबालिका हुन् । जुनकिरी डे केयर सेन्टर जिल्ला कारागारभित्र सञ्चालित छ ।

बालगृह र विद्यालयमा अध्ययनरत विद्यार्थीको पालनपोषणका लागि उनले जिल्लामा अढाइ बिघा जमिन खरिद गरेकी छन् । उक्त जमिनमा ती बालबालिकालाई सीपमूलक तालिम सिकाउने गरी कृषि उद्योग, कुखुरा, बाख्रा, माछापालन, धान र तरकारी खेती गरिन्छ ।

प्रकाशित : माघ ७, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?