उपसभामुख उम्मेदवार इन्दिरा रानामगर : सयौं बालबालिकाकी 'आमा'

साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बालबालिकाको स्याहार र शिक्षा दिक्षामा गरेको सहयोगले उनलाई नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छन् । उपसभामुखका लागि बिहीबारसम्म रास्वपाकै सोविता गौतमको चर्चा थियो । तर, शुक्रबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले रानामगरलाई अघि सार्‍यो ।

सत्तारुढ दलबाट उम्मेदवार बनेकी रानामगर शनिबारसम्म कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम नभए प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित छ । राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् ।

गत निर्वाचनदेखि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी उनी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनेर अहिले प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनको परिचय भने यत्तिमै सीमित छैन, बरू सिंगो नेपालले गौरव गर्न लायक छ ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

रानामगर देश र विदेशमा समेत चर्चित समाजसेवी हुन् । उनकी आफ्नै छोरी छन् सुबानी रानामगर । तर उनलाई सुबानीले मात्र नभइ सयौं बालबालिकाले आमा मान्छन् । सयौं बालबालिकाले उनको न्यानो काख र ममतामा हुर्किने मौका पाएका छन् भने शिक्षा दिक्षा, सीप र रोजगारीसँग समेत उनले जोडिदिएकी छिन् ।


साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बन्दी सहायता नेपालकी संस्थापक उनले त्यही संस्थामार्फत् बाबुआमा जेल पर्दा अलपत्र पर्ने बालबालिकाको स्याहार र शिक्षा दिक्षामा सहयोग गर्दै आएकी छिन् । त्यही कामले उनलाई नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ ।

सुरुवाति चरणमा काठमाडौं आएर एक विद्यालयमा शिक्षिकाका रूपमा समेत काम गरिन् उनले । त्यतिबेलै मानवअधिकार अभियन्तासमेत रहेकी साहित्यकार पारिजातसँग उनको भेट भयो । पारिजात कारागारमा रहेका राजबन्दीहरूको अधिकारका लागि लडिरहेकी थिइन् । पारिजातले नै आफूलाई कारागारहरूमा लगेर आफ्ना काम चिनाएको इन्दिरा बताउँछिन् । त्यति बेलादेखि नै नेपालको न्याय प्रणालीसँग उनी परिचित भइन् । त्यसपछि उनी कैदीबन्दीको अधिकारका लागि सक्रिय भएर लागिन्।

०२७ सालमा झापाको शनिश्चरेमा सामान्य परिवारमा जन्मिएकी उनी आफैँ भने १० वर्षसम्म विद्यालय टेक्न पाइनन् । ढिला विद्यालय भर्ना भए पनि उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । उनका बुवाआमा उदयपुरबाट झापा बसाइ सरेका थिए । ६ सन्तानमध्ये सबैभन्दा कान्छी उनलाई परिवारले ढिलामात्र विद्यालय पठाएको थियो । उनले अक्षरहरू भने दाजुहरूसँगै सिकेकी हुन् । 'जहाँ इच्छा, त्यहाँ उपाय' भनेझैँ धुलोमा अक्षर कोेरेर प्रारम्भिक शिक्षा हासिल गरेकी इन्दिरा अहिले धेरै बालबालिकाको भविष्य उज्ज्वल बनाइरहेकी छन् । रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।

सन् २००५ मै 'अशोका फेलो' पाएकी उनी दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छिन् । उनले २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड पाइन् भने सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको सूचीमा परेकी थिइन् ।

प्रकाशित : माघ ६, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारीमा देखिएका विकृति र विसंगति अन्त्य गर्छौं : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्त्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्त्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’

प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलूकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । प्रधानमन्त्रीले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु।’

प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे। उनले भने, ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु। यो व्यवसाय संवेदनशील छ। यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ। यसभित्र थुप्रै विकृति र विसंगति छन्, त्यसको अन्त्य गर्नुपर्छ। मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईंहरूको साथ हुनेछ।’

प्रकाशित : माघ ६, २०७९ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×