कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

माइकल फिलिप्सले बुद्ध प्रतिमा नेपाल फर्काउने

‘पाटन, रत्नेश्वर मन्दिरबाट चोरिएको टुँडाल सम्पदा निजी संग्रहमा’

काठमाडौँ — अमेरिकी प्रतिष्ठित फिल्म निर्माता माइकल फिलिप्सले आफ्नो संग्रहमा रहेको बुङमतीस्थित मच्छिन्द्र बहालमा रहेको पुरातात्विक बुद्ध प्रतिमा (स्टेन्डिङ बुद्ध) नेपाल फर्काउने भएका छन् । चोरी भएको झण्डै आधा शताब्दीपछि गत साता फिलिप्सको निजी संकलनमा फेला परेको समाचार सार्वजनिक भएपछि यो प्रतिमा घरफिर्तीको पहल सुरु भएको थियो ।

माइकल फिलिप्सले बुद्ध प्रतिमा नेपाल फर्काउने

हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्टस् अफ नेपाल’ले पहिल्याएको तथ्यमा बुङमतीमा रहेको यो सम्पदा अमेरिकी फिल्म निर्माता फिलिप्सको संकलनमा (सप्रमाण) पाइएपछि न्यूयोर्कस्थित ‘आर्ट क्राइम’ विषयकी प्राध्यापक एरिन एल.थोम्सनले नेपालको सम्पत्ति घर फर्काउने पक्षमा आवाज उठाएकी थिइन् ।

‘मैले हाल क्यालिफोर्नियामा रहेका फिल्मनिर्माता फिलिप्ससँग फोनवार्ता गरेर नेपालको सम्पदाका बारेमा चासो राखेकी थिएँ,’थोम्सनले कान्तिपुरसँग भनिन्,‘कतिसम्म भने निर्माता फिलिप्सलाई यो प्रतिमा (स्टेन्डिङ बुद्ध) नेपालबाट झण्डै ५० वर्षअघि चोरिएको थियो भन्ने पनि थाहा रहनेछ ।’ फिलिप्सले यो प्रतिमा तत्काल नेपाललाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको थोम्सनले जानकारी दिइन् ।

फिलिप्सले यो प्रतिमा स्वेच्छामा नेपाललाई फिर्ता दिने भएपछि यसको ‘उत्पत्तिको पहिचान’ पहिल्याउन जरुरी नभएकाले अब अमेरिकामा रहेको नेपाली कूटनीतिक नियोगले देखाउने तदारुकता आधारमा बुद्ध प्रतिमा चाँडै घर फर्कन सक्नेछ ।

सन् १९७३ मा प्रदर्शनमा आएर विभिन्न ७ विधामा ओस्कार पुरस्कार जित्न सफल फिल्म ‘द स्टिङ्ग’का एकजना निर्मातासमेत रहेका माइकल फिलिप्सको संग्रहमा ‘स्टेन्डिङ् बुद्ध’ प्रतिमा पाइएकोबारे ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो । ‘द स्टिङ्ग’को उत्कृष्ट कथा र निर्माणशैलीका कारण यो फिल्मलाई लाइब्रेरी अफ कंग्रेसको आफ्नो संरक्षणको सूचीमा राखेको छ ।

‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, ‘आर्टस् अफ एशिया’ म्यागजिन (२०१३, जनवरी–फेब्रुअरी)मा प्रकाशित विवरणमा पहिलोपटक फिल्म निर्माता फिलिप्सको निजी संग्रहमा रहेका प्रतिमाको जानकारी आएको थियो । यस्तै, स्वीस अध्येता उर्लिच भोन स्क्रोडरले तयार पारेको ‘नेप्लीज स्टोन स्कल्पचर’ पुस्तकमा पनि बुङमतीका उभिएका बुद्धको प्रतिमा प्रकाशित छ ।

५० वर्षअघि चोरिएको सालभन्जिका भेटियो

पाटनको सुलिमा टोलस्थिथ रत्नेश्वर मन्दिरबाट ५० वर्षअघि चोरिएको सालभन्जिका यक्ष टुँडाल (काष्ठकला) अमेरिकी आर्ट डिलर छिनो रोनकोरोनीको संकलनमा पाइएको छ ।

रत्नेश्वर मन्दिरबाटै चोरिएका अरु दुई टुँडाल यसअघि न्यू साउथ वेल्स आर्ट ग्यालरी (अस्ट्रेलिया) र लन्डनको एक निजी संग्रह (म्याक कुलुग)मा पाइएको थियो । हराएका सम्पदाको खोजविन र घरफिर्तीमा सक्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, १३औं शताब्दीको सिर्जना मानिने टुँडाल सन् ७० दशकको सुरुवातमा हराएको थियो । आर्ट डिलर रोनकोरोनीको सम्पर्क कार्यालय अमेरिका, फ्रान्ससहितका मुलुकमा रहेको वेबसाइटमा देखिएको छ ।


प्रकाशित : माघ ५, २०७९ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?