कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली बुद्ध प्रतिमा अमेरिकी फिल्म निर्माताको संग्रहमा

छैटौं शताब्दीको सिर्जना मानिने ‘उभिएका बुद्ध’ २०२५ सालपछि मच्छिन्द्र बहालबाट चोरिएको थियो

ललितपुर — बुङमतीको मच्छिन्द्र बहालमा रहेको एक पुरातात्त्विक बुद्ध प्रतिमा चोरी भएको झन्डै आधा शताब्दीपछि अमेरिकी एक जना प्रतिष्ठित फिल्म निर्माता माइकल फिलिप्सको निजी संकलनमा फेला परेको छ । छैटौं शताब्दीको सिर्जना मानिने ‘उभिएका बुद्ध’ २०२५ सालपछि मच्छिन्द्र बहालबाट चोरिएको बारे बुङमतीवासीले प्रहरी–प्रशासनमा जानकारी गराएका थिए ।

नेपाली बुद्ध प्रतिमा अमेरिकी फिल्म निर्माताको संग्रहमा

तर, यसबारेमा सोधखोज हुन सकेकै थिएन । हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ ले पहिल्याएको तथ्यमा बुङमतीको यो सम्पदा अमेरिकी फिल्म निर्माता फिलिप्सको संकलनमा (सप्रमाण) पाइएको हो । सन् १९७३ मा प्रदर्शनमा आएर विभिन्न ७ विधामा ओस्कार पुरस्कार जित्न सफल फिल्म ‘द स्ट्रिङ’ का एक जना निर्मातासमेत रहेका फिलिप्सको संग्रहमा ‘स्टेन्डिङ बुद्ध’ पाइएको हो । ‘द स्ट्रिङ’ को उत्कृष्ट कथा र निर्माणशैलीका कारण यो फिल्मलाई लाइब्रेरी अफ कंग्रेसको आफ्नो संरक्षणको सूचीमा राखेको छ ।

‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार ‘आटर््स अफ एसिया’ म्यागजिन (२०१३, जनवरी–फेब्रुअरी) मा प्रकाशित विवरणमा पहिलो पटक फिल्म निर्माता फिलिप्सको निजी संग्रहमा रहेका प्रतिमाको जानकारी आएको थियो । यस्तै, स्वीस अध्येता उल्रिच भोन स्क्रोडरले तयार पारेको ‘नेप्लिज् स्टोन स्कल्पचर’ पुस्तकमा पनि बुङमतीका उभिएका बुद्धको प्रतिमा प्रकाशित छ ।

सन् १९६८ को डेनिस अन्वेषणमा बुद्ध प्रतिमासहितको मच्छिन्द्र बहाल

हालको मच्छिन्द्र बहाल

‘मैले अग्रज पुस्ताबाट थाहा पाएअनुसार २०२४/२५ सालतिर बुङमतीको सम्पदा/सभ्यता अध्ययनमा डेनमार्कबाट केही अध्येताहरू यहाँ आएका थिए, उनीहरू ८ महिना बुङमतीमै बसेका थिए,’ स्थानीय सम्पदा अभियन्ता अनिल तुलाधरले कान्तिपुरसँग भने, ‘उनीहरूले गरेको शोधमा पनि मच्छिन्द्र बहालमा रहेको उभिएका बुद्धको प्रतिमाबारे तस्बिरसहितको बयान छ । त्यो सम्पूर्ण अभिलेख अहिले पनि तारागाउँ म्युजियममा सुरक्षित छ ।’

नेपालबाट चोरिएको महत्त्वपूर्ण सम्पदा र अमेरिकी प्रतिष्ठित फिल्म निर्माताको संग्रहबारेमा सार्वजनिक रूपमा सरोकार बाहिर आइसकेपछि हाल न्युयोर्क बस्ने ७९ वर्षीय फिलिप्सले प्रतिक्रिया जनाएका छैनन् । नेपाली सम्पदामा सरोकार राख्दै सम्पदालाई उत्पत्तिको थलोमा फर्काइनुपर्ने अभियानमा संलग्न ‘आर्ट क्राइम’ विषयकी प्राध्यापक एरिन एल.थोम्सनले पनि नेपाली सम्पदा संग्रहकर्ता फिलिप्सका बारेमा सोधखोज बढाएकी छन् । थोम्सनका अनुसार फिलिप्स स्वयम् एसियन आर्टका संग्रहकर्ता (डिलर) लरेन्स फिलिप्सका छोरा हुन् । उनको परिवारमा यस्तो संग्रहको काम ५० वर्षअघि थालिएको विवरण सार्वजनिक भएको छ ।

निर्माता फिलिप्स आफ्नो निजी संग्रह देखाउँदै


प्रकाशित : पुस २३, २०७९ २३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?