१ अर्ब १५ करोडका उपकरण, एउटै ल्यापटपको ६५ लाख- समाचार - कान्तिपुर समाचार
दूरसञ्चार प्राधिकरणमा सेटिङ

१ अर्ब १५ करोडका उपकरण, एउटै ल्यापटपको ६५ लाख

‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ ल्याइएको ल्यापटपको मूल्य नै प्रतिथान ५० हजार अमेरिकी डलर
सर्भर, ल्यापटप र मोबाइल चार महिनादेखि विमानस्थलको गोदाममा, भन्सार विभाग र अख्तियारले छानबिन गर्दै
मातृका दाहाल, कृष्ण आचार्य

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणको ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ परियोजनाका लागि उपकरण खरिदमा अत्यधिक बढी मूल्य देखिएपछि छानबिन सुरु भएको छ ।

भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाम सिल गरी दूरसञ्चारसम्बन्धी सर्भर, ल्यापटप र मोबाइलमा छानबिन अघि बढाएका हुन् । बिचौलिया र स्वार्थ समूहको सेटिङमा करिब १ अर्ब १५ करोड रुपैयाँमा ती सामग्री खरिद गरेको आशंका गरिएको छ ।

प्राधिकरणले ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम जडानका लागि उपकरण गर्न साइप्रसको सेल कम्पनी भेनराइज सोलुसन्सलाई जिम्मा दिएको थियो, जसअनुसार १ सय ९ थान सर्भर, २ वटा ल्यापटप र ८ वटा मोबाइल सेट लेबनान हुँदै भदौ २१ मा ल्याइएका हुन् । यी सामानको खरिद मूल्य ८८ लाख १२ हजार ८ सय ८६ अमेरिकी डलर (मंगलबारको विनिमय दरअनुसार १ अर्ब १४ करोड ८२ लाख ३० हजार ९ सय १६ रुपैयाँ) देखाइएको छ ।

ल्यापटपको मूल्य मात्रै प्रतिथान ५० हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार ६५ लाख १४ हजार ५ सय रुपैयाँ) देखाइएको छ । त्यस्तै सर्भर भनिएको उपकरणको मूल्य प्रतिथान ७९ हजार ९ सय २० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १ करोड ४ लाख १२ हजार ७ सय ८३ रुपैयाँ उल्लेख छ ।


लेवनानकै कम्पनीबाट खरिद गरिएको ल्यापटप । २ थान यस्ता ल्यापटप ल्याएकोमा प्रतिगोटा मूल्य ५० हजार अमेरिकी डलर देखाइएको छ ।

प्राधिकरणले ल्याएका सामानको मूल्य अत्यधिक रूपमा बढी देखाइएकाले अनुसन्धान गर्नुपरेको जाँचपास भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए । ‘हामीले गुणस्तर र उल्लेख गरिएका सामानको मूल्य अनि वास्तविक मूल्यबारे सोधखोज गर्‍यौं । भन्सारमा पेस गरिएका कागजातअनुसारको मूल्य कतैबाट पनि खुल्दैन । त्यसको पुष्टि नगरेसम्म सामान भन्सारकै नियन्त्रणमा रहन्छन्,’ उनले भने ।

विमानस्थल भन्सारका प्रमुख अरुण पोखरेलले पनि सामान चार महिनाअघि नै भित्रिएको र मूल्य अस्वाभाविक देखिएपछि रोकेर राखिएको पुष्टि गरे । ती सामान रोक्नुअघि भन्सार विभागले दूरसञ्चारसँग सम्बन्धित प्राविधिकहरूबाट जाँच गराएको थियो । पोखरेलका अनुसार सर्भर देखाएर स्विच ल्याइएको छ । ‘सर्भरलाई भन्सार छुट हुन्छ, स्विचलाई पाँच प्रतिशत भन्सार लाग्छ । यो खरिद प्रक्रियामा कर छलीको पनि आशंका छ,’ उनले भने, ‘यो विषय अनुसन्धानकै क्रममा रहेकाले थप बोल्न मिल्दैन ।’

विमानस्थलबाट पहिलो चरणमा ल्याइएका ती सामग्री विमानस्थलबाट छुटेको भए तत्कालै थप सामान लेबनानबाट ल्याउने प्राधिकरण र ठेकेदार कम्पनीहरूको योजना थियो । यो ठेक्का २ करोड ३७ लाख ७० हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार ३ अर्ब ९ करोड ६९ लाख ९३ हजार ३ सय) बराबरको हो ।

यसमा सबैजसो बजेट उपकरण आयातमा खर्च हुने भनिएको छ । उपकरण खरिद सम्झौता भेनराइज सोलुसन्ससँग भएको थियो । ‘भन्सारमा रोकिएका सामान गुपचुप पेस गरेर थप सामान ल्याउने तयारीमा बिचौलिया र स्वार्थ समूह तथा प्राधिकरणकै अधिकारी लागिपरेका थिए । तर भन्सारले सुरुकै लटका सामान नियन्त्रणमा लिएपछि दोस्रो लटका कति सामान कति मूल्यमा ल्याउने तयारी छ भन्ने खुलेको छैन,’ यसबारे अनुसन्धान गरिरहेका एक अधिकारीले भने ।


नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने फोन नियमन/निगरानी गर्न भन्दै लेवनानको भन्राइस कम्पनीबाट खरिद गरेको सर्भर । १ सय ९ वटा सर्भर प्रतियुनिट ७९ हजार ९ सय २०.५ अमेरिकी डलर मूल्य देखाएर ल्याइएकोमा भन्सार परीक्षणका क्रममा यी उपकरण दूरसञ्चार सर्भर नभई अरु नै उपकरण रहेको भेटिएको छ ।

कर छलीका लागि सुरक्षित मानिएका ‘ट्याक्स हेभन’ मुलुकबाट शंकास्पद कम्पनीले काम गरिरहेको तथा सामानको मूल्य पनि ठेकेदार कम्पनी र प्राधिकरणले पुष्टि गर्न नसकेकाले दुई दृष्टिकोणले तत्कालै छानबिन टुंग्याउनुपर्ने ती अधिकारीले बताए । ‘पहिलो त, विदेशी विनिमय सञ्चिति कम भएर आयातित सामग्रीमा सरकारले कडाइ गरिरहेको छ । अर्कातर्फ मुलुकभित्र पुँजी अभाव छ । यही बेला पुँजी पलायन भएको हो कि भनेर स्पष्ट हुन आवश्यक छ,’ उनले भने, ‘दोस्रो, दूरसञ्चार प्राधिकरणको बजेटबाट खर्च हुने यो ठेक्कामा दुरुपयोग भएको छ कि भनेर हेर्नुपर्ने हुन्छ ।’

स्रोतका अनुसार यसअघि विमानस्थलमा रहेका भन्सार प्रमुख महेश भट्टराईकै पालामा चाँडो सामान जाँचपास गराउने तयारी थियो । ‘तर सामान नआइपुग्दै उनको सरुवा भयो । त्यसपछि आएका पोखरेललाई पनि उपकरण छुटाउन दबाब दिइएको थियो । तर उनले अर्थ मन्त्रालयमा सामानको गुणस्तर र खरिदको शंकास्पद गतिविधिबारे रिपोर्टिङ गरे,’ स्रोतले भन्यो, ‘त्यसबीच पनि मन्त्रालयका अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले जाँचपास छिटो गराउन दबाब दिएका थिए । तर अख्तियार लाग्ने डरले भन्सारका अधिकारी छुटाउन तयार भएनन् ।’

त्यहीबीचमा खरिदका सबै कागजात मन्त्रालय र प्राधिकरणबाट अख्तियारले लगेको स्रोतको भनाइ छ । त्यसपछि भने बिचौलिया हच्किए । अर्थ मन्त्रालयका एक अधिकारीले यो ठेक्का प्रक्रियामा धेरैवटा विवादास्पद प्रश्न रहेको बताए । ‘धेरै ठाउँमा प्रश्नहरू उठिसकेका छन् । त्यसमाथि सामानको खरिद प्रक्रिया नै अनियमितता र अपारदर्शितासँग जोडिएको छ,’ उनले भने ।

प्राधिकरणले २०७४ असोज २० मा उपकरण खरिदसम्बन्धी आशयपत्र मागेपछि विदेशी कम्पनीका तर्फबाट स्थानीय एजेन्टहरू प्रतिस्पर्धामा सहभागी भएका थिए । त्यसमध्ये भेनराइज सोलुसन्स २०७५ पुस ३ मा छनोट भएको थियो । तर त्यति बेला उपकरण खरिदको ठेक्का लगाउने बेला कम्पनी विशेषका लागि मापदण्ड परिवर्तन गरिदिएको आरोप पनि लागेको थियो । टेन्डरको कागजातमा प्राधिकरण र बिचौलियाबीच मिलेमतो देखिएको भन्दै अख्तियारले २०७५ पुस ३, चैत १२ र २०७६ वैशाख १७ मा प्राधिकरणलाई पत्र पठायो । तारन्तारको पत्रपछि प्रक्रिया रद्द भयो । त्यसपछि मुद्दा सर्वोच्च अदालत पुग्यो ।

‘खरिद प्रक्रियामा सामेल प्राधिकरणका अधिकारी जसरी पनि ठेक्का अघि बढाउने पक्षमा थिए तरअख्तियारको अनुसन्धानपछि अघि बढ्ने अवस्था थिएन । त्यही क्रममा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा ठेकेदारका स्थानीय एजेन्टलाई प्रक्रियामा चित्त नबुझे कार्यालय प्रमुखसमक्ष पुनरावलोकनका लागि निवेदन दिन पाइनेमा अदालत जान गुपचुप सुझाइयो,’ सरकारका एक अधिकारीले भने ।

अदालत गएपछि ठेकेदार कम्पनीले दाबी गरेअनुसार तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार चुँडालको इजलासले २०७८ वैशाख १४ मा ठेक्का अघि बढाउन निर्देशन दियो । आदेशका विषयमा सार्वजनिक सञ्चारमाध्यम र कानुन व्यवसायीले प्रश्न उठाएका थिए । ‘खरिद प्रक्रिया आफू अनुकूल बनाउन खरिदका प्रक्रिया पूरा नगरी सिधै अदालतको शरणमा पुग्नु, सम्पत्ति शुद्धीकरणका लागि स्वर्ग मानिने देशबाट सामान आउनु र वास्तविक मूल्यभन्दा उच्च लागत देखाइनुलाई आधार मानेर अनुसन्धान गरिरहेका छौं,’ अख्तियार स्रोतले भन्यो ।

चीनमा बनेका उपकरण साइप्रसका एजेन्टमार्फत लेबनान हुँदै भित्र्याइएका हुन् । खरिद प्रक्रियाकै क्रममा प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीको नाम उल्लेख गरेर अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उपकरण खरिदको स्पेसिफिकेसन बनाउँदैबाट प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र सञ्चार मन्त्रालयका अधिकारीहरूको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘त्यसकारण उहाँहरू पनि अनुसन्धानको दायरामा हुनुहुन्छ,’ स्रोतले भन्यो ।

प्राधिकरणका अध्यक्ष खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती सामग्री पहिचान गर्न नसकेका कारण छुटाउन नपाइएको बताए । ‘ल्यापटपलाई नै हेरौं न, भन्सारले साधारण ल्यापटप ठान्यो तर त्यो हाइटेक सफ्टवेयर हो । यो बजारमा पाइँदैन, बनाउन अर्डर नै दिनुपर्छ । त्यसमा मोबाइल राखेपछि मात्रै मनिटरिङको काम गर्छ,’ उनले भने । बढी मूल्यका सामान ल्याइयो भन्नु पनि गलत रहेको खनालले बताए । अन्तर्राष्ट्रिय ठेक्का प्रक्रियाबाट कम मूल्य बोलकबोल गर्ने कम्पनीसँग ठेक्का सम्झौता गरिएको पनि उनको भनाइ छ । ‘आफैं स्पष्ट हुन नसकेपछि भन्सारले १५ प्रतिशत डिपोजिट राखेर सामान लैजान भनेको छ । सप्लायर्सले डिपोजिट राख्ने र सामान छुटाउने तयारी गरिरहेको छ,’ खनालले भने ।

ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमले विदेशबाट आउने फोनलाई नियमन, निगरानी र अनुगमन गर्ने प्राधिकरणले जनाएको छ ।

यसबाट खासगरी भीओआईपी जस्ता कलमार्फत हुने आपराधिक गतिविधि न्यूनीकरण हुने प्राधिकरणको दाबी छ । इन्टरनेटको माध्यमबाट हुने कतिपय भ्वाइस कलको समेत अनुगमन हुने दाबी गरिएको छ । यसबाट राजस्व छलीसमेत नियन्त्रणमा आउने प्राधिकरणको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

हतियार इटालीका, आउँदै चीनबाट, बिचौलिया नेपाली

सरकार, प्रतिपक्ष, संसद्को राज्य व्यवस्था र सार्वजनिक लेखा समितिलाई समेत मुट्ठीमा राखेको दाबी गर्दै आएका दीपक भट्ट बिचौलिया
मातृका दाहाल, कृष्ण आचार्य

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले ८४ करोड रुपैयाँबराबरका हतियार तथा गोलीगट्ठा किन्न तीन विदेशी कम्पनीसँग सम्झौता गरेको छ । सटगन र पिस्तोल इटालीको बेरेटा र फाबार्म कम्पनीका भए पनि नेपाल ल्याउन चीनको पोली टेक्नोलोजिज इन्कलाई प्रयोग गरिएको छ । यसका बिचौलिया दीपक भट्ट हुन्, जसले नेपालको सत्तापक्ष, प्रतिपक्ष, संसद्का राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई समेत आफैं व्यवस्थापन गर्ने दाबी गर्दै आएका छन् । 

प्रहरी प्रधान कार्यालयले एक हजार थान पिस्तोल किन्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको हो । इटालीको बेरेटा डिफेन्स टेक्नोलोजिजमा उत्पादित पिस्तोल ल्याउन चिनियाँ कम्पनी पोली टेक्नोलोजिजसँग सम्झौता भएको छ । त्यस्तै पिस्तोलमा लाग्ने गोली भने चिनियाँ कम्पनीबाटै खरिद गर्ने सम्झौता छ । गोली खरिदका लागि हङकङको निहाल ट्रेडिङमार्फत काम भएको देखिन्छ ।

भट्टले २०७१ मै प्रहरीका लागि डेढ अर्बका हतियार खरिद गर्न जोडबल गरेका थिए । चीन र इटालीबाट हतियार किन्न उनले दबाब दिएका थिए तर प्रहरी प्रधान कार्यालयले तत्कालको प्राथमिकता हतियार नभई भौतिक संरचना निर्माण भएका कारण देखाएर बजेट फ्रिज गराएको थियो । करिब ८ वर्षपछि उनै भट्टले चीन र इटालीबाट ८४ करोडका हतियार खरिद गर्नका लागि एजेन्टका रूपमा ठेक्का हात पारेका छन् । भट्टले नै आगामी केही महिनापछि थप ५१ करोडका हातहतियार तथा सुरक्षा सामग्री किन्न लबिइङ गरिरहेका थिए । १ अर्ब ३५ करोडका सुरक्षा सामग्री किन्ने योजनाअन्तर्गत पहिलो लटमा ८४ करोडका सामान खरिद गर्ने सम्झौता भएको हो ।

प्रहरी प्रधान कार्यालयले असार मसान्तभित्र प्रतीतपत्र (एलसी) खोल्ने गरी १ हजार थान ९–एमएम पिस्तोल, त्यसका १० लाख २० हजार राउन्ड गोली, १२ बोरका १ हजार १ सय ५० थान फोल्डिङ सटगन, त्यसमा लाग्ने २ लाख राउन्ड कार्टिज (छर्रा), १२ बोर सटगनमै लाग्ने ३ लाख राउन्ड रबरका गोली र २४ हजार राउन्ड अश्रुग्यास किन्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । यी हातहतियार तथा गोलीगट्ठाको मूल्य उत्पादक कम्पनीले राखेको अधिकतम खुद्रा मूल्यका आधारमा सामान्य रकम घटाएर सम्झौता भएको स्रोत बताउँछ ।

विदेशी मुद्रा सञ्चितिको अवस्था कमजोर भएका बेला कमिसनको खेलमा हातहतियार खरिद गर्न लागिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विरोधकै बीच प्रतिनिधिसभाको अर्थ समितिले गृह र अर्थ मन्त्रालयसँग हतियार खरिद सम्झौताका सम्पूर्ण कागजात झिकाएको छ । समितिका एक सदस्यले हतियार खरिदका कागजात आएपछि थप छानबिन प्रक्रिया अघि बढाएर खरिद मूल्य र कमिसनमा कसरी खेल भएको छ भन्ने यकिन विवरण बाहिर ल्याउने बताए । संसदीय समितिले खरिदमा आर्थिक घोटालाको आशंका गर्दै फाइल झिकाएपछि प्रहरीले एलसी खोल्ने प्रक्रिया पनि स्थगित गरेको छ । अर्थ समितिले गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिव टेकनारायण पाण्डे र अर्थ सचिव मधुकुमार मरासिनीलाई बोलाएर यस विषयमा जवाफ माग्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पनि बिहीबार मात्रै खरिदसम्बन्धी कागजात गृह मन्त्रालयमा पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले असार मसान्तभित्र एलसी खोल्ने गरी खरिद सम्झौता गरेकामा पछिल्लो पटक खरिद विवाद र कमिसन खेल बाहिरिएपछि यो विषयमा संसदीय समितिले छानबिन अघि बढाएको छ । स्रोतबाट कान्तिपुरलाई प्राप्त खरिद सम्झौताका विवरणअनुसार प्रहरीले इटालीमा उत्पादित ९ एमएम पिस्तोल प्रतिगोटा ६ सय ६९ अमेरिकी डलरमा किन्ने सम्झौता गरेको छ ।

पिस्तोलको गोली खरिद गर्न प्रतिराउन्ड १ दशमलव ३० अमेरिकी डलरमा सम्झौता गरिएको छ । गोली किन्न मात्रै १३ लाख २८ हजार ४० डलर खर्च हुनेछ । यसैगरी १२ बोरको सटगन प्रतिगोटा २ हजार १ सय ६९ अमेरिकी डलरमा किन्ने सम्झौता भएको छ । हङकङको मिनेर्भा कर्पोरेसनमार्फत इटालीको फबार्मसँग सटगनको खरिद सम्झौता भएको छ ।

सटगन २४ लाख ९४ हजार ३ सय ५० अमेरिकी डलरमा किन्ने सम्झौता भएको छ । यसमा लाग्ने कार्टेज (छर्रा) प्रतिराउन्ड २ दशमलव १६ डलरमा सम्झौता भएको छ । छर्रा किन्न ४ लाख ३२ हजार अमेरिकी डलर लागतमा सम्झौता गरिएको खरिदसम्बन्धी कागजातमा उल्लेख छ । छर्रा किन्न हङकङको निहाल ट्र्रेडिङले चिनियाँ कम्पनी पोली टेक्नोलोजिजबाट ल्याउने सम्झौतामा भनिएको छ ।

सटगनमा लाग्ने ३ लाख रबर गोली किन्न प्रतिगोटा ३ दशमलव १ सय ६८ अमेरिकी डलरमा निहालसँग सम्झौता भएको छ । निहालले चीनको पोली टेक्नोलोजिजमा उत्पादित गोली ल्याउने गरी सम्झौता गरेको देखिन्छ । रबरका गोली किन्न ९ लाख ५० हजार ४ सय डलरमा सम्झौता भएको छ । २४ हजार सेल अश्रुग्यास प्रतिराउन्ड ३३ दशमलव ३३ मा किन्ने गरी ७ लाख ९९ हजार ९ सय २० अमेरिकी डलरमा सम्झौता भएको छ । निहालमार्फत चिनियाँ पोली टेक्नोलोजिजमा उत्पादित अश्रुग्यास ल्याउन सम्झौता भएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले भने हातहतियारको मूल्य कम्पनीले तोकेभन्दा सस्तो रहेको र कम रकम कबोल गर्ने कम्पनीसँग खरिद सम्झौता गरिएको दाबी गरेको छ । ‘खरिद सम्झौता कम रकम कबोल गर्नेसँग भएको छ, त्यसकै आधारमा चीन र इटालीका विभिन्न कम्पनीमा उत्पादित हातहतियार तथा गोलीगट्ठा विदेशी कम्पनीमार्फत खरिद गर्न सम्झौता भएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘ठेक्का कसले पायो भन्दा पनि हामीले आफूलाई चाहिएको आवश्यकताअनुसार सामान खरिद गर्न लागेका हौं, संसदीय समितिले अनुपयुक्त देख्यो वा सरकारलाई अहिले खरिद गर्न उचित लागेन भने त्यहीअनुसार अघि बढ्छौं ।’ खरिदका लागि कुनै पनि रकम भुक्तानी भइनसकेका कारण अब विषयको निर्क्योल भएपछि मात्रै एलसी खोल्ने वा स्थगित गर्ने भन्नेमा टुंगो लाग्ने प्रहरीका ती अधिकारीले बताए ।


प्रकाशित : असार ३१, २०७९ ०६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×