कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भासिँदै जमिन : काठमाडौंलाई जोशीमठको पाठ

भारतको जोशीमठ नगरमा मानव निर्मित संरचनाका कारण जमिन भासिइरहेको छ । त्यहाँ र काठमाडौंको भूगोल फरक छ । तर काठमाडौंमा अत्यधिक पानी निकाल्दा जमिन भासिइरहेको अनुसन्धानहरुले देखाएका छन् ।
एक अनुसन्धानले काठमाडौंको मध्य भागमा १७, छाउनीमा ११, ललितपुरमा १४, इमाडोलमा ११, ठिमीमा ११, नयाँ बानेश्वर र काटेश्वरमा ८, गोठाटारमा ५ सेन्टिमिटर जमिन तीन वर्षमा भासिएको देखाएको छ ।
गोविन्द पोखरेल

काठमाडौँ — भारतको उत्तराखण्ड राज्यस्थित चामोली जिल्लाको जोशीमठमा जमिन भासिएर चिरा पर्दा सयौं प्रभावित भएका छन् । भारतको प्रसिद्ध धार्मिकस्थल बद्रीनाथ प्रवेशद्वार समेत मानिने यो पहाडी सहर भासिन थालेपछि घरहरु चर्कन थालेका छन् । त्यहाँको जनजीवन प्रभावित भएको छ ।

भासिँदै जमिन : काठमाडौंलाई जोशीमठको पाठ

बस्ती जोखिममा परेपछि दुई सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । यो सहरका करिब ४५ सय घरधुरीमा २० हजारभन्दा बढी मानिसहरुको बसोबास रहेको अनुमान छ ।

समुद्री सतहदेखि १८ सय ७५ मिटरको उचाइमा रहेको जोशीमठमा ६ सय भन्दा बढी चर्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिरा परेको घर अगाडी जोशीमठमा रहेकी एक स्थानीय महिला । फाइल तस्बिरः एएफपी ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था(इसरो)ले स्याटेलाइट इमेज अध्ययन गर्दा १२ दिनमा जोशीमठको जमिन ५.४ सेन्टिमिटरले भासिएको देखाएको छ । इसरोले २७ डिसेम्बरदेखि १२ जनवरीसम्म जमिन भासिएको जनाएको हो । यस्तै, २०२२ को अप्रिलदेखि नोभेम्बरसम्म जोशीमठमा ९ सेन्टिमिटरसम्म जमिन भासिएको पाइएको थियो ।

के कारणले भासियो ?

जोशीमठमा जमिन भासिनुको विभिन्न कारणहरु रहेको आइरहेका छन् । यसमा जलविद्युत् आयोजना, अव्यवस्थित निर्माण, सडक, उत्तराखण्डको बाढी,पहिरोको भग्नावेशमा रहेको बस्ती आदिलाई कारण मानिएको छ । तर हालसम्म पुष्टि भएको छैन ।

चामोली जिल्लामा सन् २०२१ मा आएको बाढीको असर जोशीमठमा देखिएको एकथरीको भनाइ छ । धौलीगंगा र ऋषिगंगा नदीमा आएको बाढीको प्रभावले जमिनमुनिको भूसतहलाई प्रभावित गरेको स्थानीयले बताएका छन् । बाढीपछि उत्तराखण्डका विभिन्न ठाउँमा जमिन भासिने र घरहरु चर्किएका घटना सार्वजनिक हुँदै आएका थिए ।

जोशीमठ क्षेत्र पहिरोको भग्नावशेषमा निर्मित सहर भएकाले त्यहाँको भूगर्भ कमजोर रहेको बताइएको छ । उक्त सहर पहिरोको स्थानमा अवस्थित रहेकाले जुनसुकै बेला जमिन भासिने, भू–क्षय जाने प्रक्षेपण गरिएको थियो । सन् १९७६ मा जमिन भासिनुको कारण खोज्नका लागि गडवालका तत्कालीन कलेक्टर एमसी मिश्रको संयोजकत्वमा १७ सदस्सीय समिति गठन गरेको थियो ।

उक्त समितिले जमिन भासिने मात्रै नभएर जथभावी संरचना निर्माण गर्दा पुरिन सक्ने चेतावनी दिएको थियो । समितिले जथाभावी संरचना निर्माण, भिर पाखा खोस्रन नदिने, चट्टान फुटाउने तथा खन्ने र विष्फोट गराउन नहुने भन्दै मानवीय अतिक्रमण कम गराउन प्रतिवेदन दिएको थियो । त्यस विपरित कार्यहरु भएपछि अहिलेको अवस्था आएको बताइएको छ । जमिनमुनी प्राकृतिक पानी प्रवाह नभएपछि घरको जगमुनी पानी थुप्रिँदा पनि भासिएको हुन सक्ने सम्भावना औंल्याइएको छ ।

निर्माणाधिन हाइड्रोपावर र भौगर्भिक भू–बनावटलाई अर्को कारण मानिएको छ । जमिनमुनीको पानीको जलस्रोत फुटेपछि जमिन भासिएर धाँजा फाटेको बताइएको छ ।

उक्त क्षेत्रमा तपोवन–विष्णुगढ जलविद्युत आयोजनाको सुरुङलाई अर्को कारण मानिएको छ । पहाडमुनी १२ किलोमिटर लामो सुरुङ खनेर धौलीगंगा नदीको पानीलाई खसालेर विद्युत उत्पादन गर्ने उक्त परियोजनाका कारण भूसतहलाई खलबल बनाएको स्थानीयले बताएका छन् । बद्रीनाथ जाने सडक खण्डलाई चौडा बनाउँदा पहाड खोस्रदा पनि जमिन भासिनुको अर्को कारण बताइएको छ ।

भासिँदै काठमाडौं

नेपालका भूगर्भविद्हरुले बढ्दो भौतिक संरचना निर्माण र डिप बोरिङका कारण काठमाडौंमा जमिन भासिने समस्या देखिएको बताएका छन् । विभिन्न अनुसन्धानहरुले पनि यसको पुष्टि गरिसकेका छन् ।

ल्यान्ड जर्नलमा सन् २०१७ मा चिबिया विश्वविद्यालयकी रिचा भट्टराईको अनुसन्धानले काठमाडौंका १ वर्गदेखि ९ वर्गाकिलोमिटरसम्मको जमिन भासिएको देखाएको छ । रिमोट सेन्सिङ विधिमार्फत सन् २००७ देखि २०१०सम्मको डीनएसआईआर (डिफ्रेन्सियल सिन्थेटिक एर्पचर राडार)इमेज अध्ययन गर्दा काठमाडौंमा हरेक वर्ष ४.८ सेन्टिमिटरको दरले जमिन भासिएको पाइएको थियो ।

डिप बोरिङ अनुगमन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिडेेट(केयूकेएल)का कर्मचारी । फाइल तस्बिरः केयूकेएल ।

भट्टराईको अनुसन्धानले काठमाडौंको मध्य भागमा १७, छाउनीमा ११, ललितपुरमा १४, इमाडोलमा ११, ठिमीमा ११, नयाँ बानेश्वर र काटेश्वरमा ८, गोठाटारमा ५ सेन्टिमिटर जमिन भासिएको उल्लेख छ ।

धेरै मात्रामा जमिनमुनीको पानी तान्दा ती क्षेत्रमा ९.९ वर्गकिलोमिटरदेखि १ वर्ग किलोमिटरसम्मको जमिन भासिएको उल्लेख छ । पुराना बस्तीहरुमा विभिन्न किसिमका संरचना भएको ठाउँमा पानी तान्ने ठाउँहरुमा जमिन भासिएको पाइएको थियो । कमजोर माटो तथा भूबनावट भएको ती क्षेत्रका माटो खँदिलो पनि नभएको जनाइएको छ ।

यस्तै, सन् २०१८मा कोरियन जर्नल अफ रिमोट सेन्सिङमा प्रकासित अनुसन्धानले काठमाडौंमा धेरै मात्रामा जमिनमुनीको पानीको उत्खनन् गर्दा हरेक वर्ष ८ सेन्टिमिटरको दरले जमिन भासिएको उल्लेख छ । सन् २०१५ देखि २०१७ सम्मको डीनएसआईआर इमेज अध्ययन गर्दा मध्य क्षेत्रतिर जमिन धेरै नै भासिएको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक रन्जन दाहाल भन्छन्,‘काठमाडौंको विस्तारै खाँदिइरहेको ठाउँ हो । भूमिगत पानी निकाल्दा अलिकति जमिन तल जानु स्वभाविक प्रक्रिया हो ।’

विभागका उपप्राध्यापक सुमन पन्थी भारतको जोशीमठ र काठमाडौंमा हुने जमिन भासिने घटनालाई फरक रुपमा हेर्नुपर्ने बताउँछन् । ‘जोशीमठको भनेको पहिला देखि नै भासिएको हो । काठमाडौंको मुख्य कारण भने धेरै मात्रामा पानी निकालिएकाले हो,’ उनले इकान्तिपुरसित भने ।

गत साउनमा जोरपाटीस्थित सन्‍तकुमार लामाको घरमा बोरिङ खन्‍ने क्रममा मिथेन ग्याँससँगै निस्किएको बालुवाको मुस्लो । धेरै मात्रामा पानी तान्दा जमिने भाँसिनेे समस्या देखिन्छ भने कहिले काँही बोरिङका लागि खन्‍ने क्रममा ग्यास भरिएको ठाउँबाट एउटा साँघुरो स्थानबाट निस्कँदा यस्तो अवस्था पनि आउने भूगर्भविद्हरु बताउँछन् । फाइल तस्बिरः अंगद ढकाल/कान्तिपुर

काठमाडौं उपत्यका खानेपानी विकास प्राधिकरणले मात्रै उपत्यकामा १ सय ४ वटा स्थानमा डिप बोरिङ मार्फत पानी निकालिरहेको छ । प्राधिकरणले दैनिक ५ करोड लिटर भूमिगत पानी निकाल्नेे गरेको प्रवक्ता प्रकाश राईलेे जानकारी दिए ।

पोखराको अर्मलामा वर्षेनी जमिनमा भ्वाङ पुर्ने कारण पनि धेरै मात्रामा नदीजन्य पदार्थको उत्खनन्, अव्यवस्थित बसोबास र भौगर्भिक बनोटलाई लिने गरिएको छ । पन्थी भन्छन्,‘काठमाडौंमा धेरै पानी निकालेर, पोखरामा जमिन खोस्रिने र नदीजन्य पदार्थको उत्खनन्, जोशीमठ पहिरोको भग्नावेशमा अव्यवस्थित संरचना निर्माण गर्दा जमिन भासिएको देखिन्छ ।’ अर्मलामा प्वाल पर्ने भनेर खानी विभागले पहिला नै प्रक्षेपण गरेर संरचना निर्माण नगर्न सुझाव दिएको पनि उनले सुनाए ।

नयाँ बानेश्वरमा जमिनमुनीको पाइप फुटेपछि मर्मत गर्दै केयूकेएलका कर्मचारी । पाइप फुट्दा काठमाडौं‌का सडकभरी पानी जम्ने र जमिन भासिनेे गर्छ । फाइल तस्बिरः केयूकेएल ।

यस्तै, रसुवामा जमिन भासिनुमा विभिन्न कारणहरु मानिएको छ । यसमा प्राकृतिक र मानव निर्मित कारण दुवै रहेको बताइएको छ । भूकम्पपछि त्यस क्षेत्रको भूगर्भमा असर परेको छ । हाइड्रोपवार निर्माण गर्दा गरिने ब्लास्टिङका कारण जमिन चर्किने र घर भत्किने गरेको उनले सुनाए ।

‘रसुवामा लेन्ड सब्सिडेन्स(भासिने) नभएर ल्यान्डस्लाइड(पहिरो) हो कि भन्ने मेरो अनुमान हो । रसुवामा पनि पहिरोमाथि बस्ती छ तर सरकारले हटाएको छैन । भविष्यमा कुनै प्राकृतिक विपत्ति आए क्षति हुने देखिन्छ ,’ पन्थीले भने ।

जथभावी कंक्रिटको संरचना निर्माण हुँदा पानी रसाएर जमिनभित्र जान पाउँदैन । पानी पुनर्भरण नहुने तर डिप बोरिङमार्फत निकाल्दा जमिन भासिने भूगर्भविद्हरुले बताएका छन् ।

ब्लास्टिङ र जमिन थर्काएर निर्माण गर्दा हुने क्षतिको विवरण छैन

अनुसन्धानकर्ताहरु ठूला ठूला संरचनाहरु निर्माण गर्ने बेलामा जग खन्दा आसपासका जमिन प्रभावित हुने बताउँछन् । संरचना निर्माण गर्दा जमिन भासिँदा छिमेकी र सँधियारबीच आपसी सहमतिमा टुंग्याइने गरिन्छ । नेपालमा यस सम्बन्धी तथ्यांकको अभिलेख नै नभएको उपप्राध्यापक पन्थीले बताए ।

तनहुँको ऋषिङ–१ काहुँशिवपुरस्थित तनहुँ जलविद्युत् आयोजनाको सुरुङ बनाइँदै । सुरुङ खन्दा पहाडमा विस्फोट गराउँदा उत्पन्‍न भएको कम्पनका कारण ५५ घर प्रभावित भएका छन् । तीमध्ये २२ घर धेरै चर्किएको र चिरा परेको स्थानीयले बताएका छन् । फाइल तस्बिर : सम्झना रसाइली/कान्तिपुर

यस्तै, डोजर लगाउदा, ब्लाष्टिङ गराउँदा पनि जमिन भासिने गर्छ । कहिले काही जमिन सम्याउने क्रममा धेरै थर्कदा घरहरु चर्कने पनि गर्छन् । पछिल्लो घटना तनहुँ हाइड्रोपावर निर्माणका क्रममा गराइएको विस्फोटले ऋषिङ-१ का लोक्मा, धारापानी, छाप, हुक्सेटार, ग्याजाटार, मालिंगालगायतका गाउँ प्रभावित भएका छन् ।

सुरुङ खन्ने क्रममा पहाड फोड्न विस्फोटक पदार्थ प्रयोग गर्दा ऋषिङ गाउँपालिका–१ का झन्डै ५५ घर प्रभावित छन् । तीमध्ये २२ घरलाई बढी नै क्षति पुगेको स्थानीयले बताएका छन् ।

नेपालमा हाइड्रोपावर निर्माण गर्दा विस्फोट गराइदा निस्कने कम्पन सम्बन्धीको मापदण्ड र अभिलेख नहुँदा यसले गर्ने असरसम्बन्धी पनि कम अभिलेख भएको भूगर्भविद्हरू बताउँछन् ।

प्रकाशित : माघ ४, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?