कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं भास्सिन सक्छ

लुना भारती

मेरो बुबा डा. महेश्वरप्रसाद भारती नेपाल सरकारको कर्मचारी हुनुहुन्थ्यो । पछि बेलायती सरकारको मद्दतमा सञ्चालित डीएफआईडी प्रोजेक्टमा काम गर्नुभयो । अहिले सेवानिवृत्त हुनुहुन्छ । उहाँले बालीनाली प्रजननमा विद्यावारिधि गर्नुभयो । आमा दुर्गा भारती नेपालको पहिलो नर्सिङ ब्याजको एक विद्यार्थी हुनुहुन्थ्यो । उहाँले नेपाल परिवार नियोजनमा लामो समय काम गर्नुभयो । उहाँ पनि सेवानिवृत्त भइसक्नुभएको छ ।

काठमाडौं भास्सिन सक्छ

मेरो शैक्षिक यात्रा चार महादेशमा पूरा भयो । म चार वर्षकी छँदा बुबाले अस्ट्रेलियाको युनिभर्सिटी अफ क्यानबेरा पढ्ने छात्रावृत्ति पाउनुभयो (सन् १९७३) । हामीले कोही पनि नेपालीलाई अस्ट्रेलियामा देखेनौं उबेला । उबेला नेपाली थिएनन् कि अस्ट्रेलियामा ! अहिले त्यहाँ मिनी नेपाल छ ।

नेपालमा कखरा सिक्दै गरेकी म अस्ट्रेलिया पुगेको केही दिनमै शिशु कक्षा भर्ना भएँ । मैले अति एक्लो महसुस गरेको थिएँ त्यसबेला । नेपाल फर्केर राम्रो घर बनाउने सपनाको पछिपछि लागेर बुबाआमा काममा जानुहुन्थ्यो । साथीहरू नभेटेर गोराहरूको देशमा एक्लै पर्थें म र न्यास्रो मान्थें । त्यहाँ अंग्रेजी सिकें, तर नेपाली बिर्सें । तीन वर्षपछि नेपाल फर्कियौं । र, म सेन्टमेरिज स्कुल भर्ना भएँ । अलिअलि नेपाली पनि सिक्न थालें । केही वर्ष पछि फेरि बुबालाई अमेरिकामा स्नातकोत्तरका लागि छात्रवृत्ति मिल्यो । र, १२ वर्षको छँदा बुबासँगै अमेरिका गएँ । बुबाको पढाइ सकिएपछि फेरि नेपाल फर्किएँ । पुनः सेन्ट मेरिज गएँ र एसएलसी हुँदै ओ लेभल पढें । नेपाली भाषा राम्रोसँग सिक्न पाइनँ । अहिले पनि अंग्रेजीमै उत्तर दिन सजिलो लाग्छ ।

ओ लेभल सकिएपछि अमेरिकाबाट बाँकी शैक्षिक यात्रा पूरा गर्न मन लाग्यो । उबेला इन्टरनेट सुविधा थिएन । पानीपोखरीको अमेरिकी शैक्षिक परामर्श केन्द्रमा अमेरिकी छात्रावृत्तिहरूबारे जानकारी समेटिएका केही पुस्तक भेटिन्थे । त्यही हेरेर छात्रवृत्ति निवेदन हुलाकबाट पठाउने चलन थियो । मैले अमेरिकाको इओवामा रहेको लुथर कलेजका लागि माग गरें । उनीहरूले असी प्रतिशत छात्रावृत्तिमा स्नातक पढ्ने अवसर दिए । पछि स्टेन विश्वविद्यालयबाट स्नोत्तकोत्तर सकेँ । म मिहिनेती थिएँ र छु, अनि त्यो बेला आफैं कमाउँदै, पढ्दै गरें । सकेसम्म बुबाआमाको सहयोग नलिऊँ भन्ने भावना थियो । जर्मनीको मार्टिन लुथर विश्वविद्यालयबाट सन् २००४ मा विद्यावारिधि गरेँ, विद्यावारिधिको क्षेत्र जलवायु परिवर्तनसँग सम्बन्धित छ । हाइड्रोलोजी र पानी व्यवस्थापन मेरो क्षेत्र हो ।

विद्यावारिधिपछि अध्ययन अनुसन्धानतर्फ आकर्षण बढ्यो । जर्मनीको युनिभर्सिटी अफ बोनमा चार वर्ष अनुसन्धानका लागि समय खर्चें । सुरुमा पश्चिम र दक्षिण अफ्रिकाका लागि काम गरें । पछि एउटा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध भएर दक्षिण एसिया खास गरी श्रीलंका, भारत हुँदै पछि नेपालका लागि पनि काम गरें । कुनै पनि जल प्रोजेक्ट या अन्य विकासका काम गर्दा अचेल जल भण्डार अध्ययन गरिन्छ । र, जलको गुणवत्ता पत्ता लगाउने तरिका हुन्छन् । यस्तोमा विभिन्न मापक र मापदण्ड अनुसरण गरिन्छ । र, हामी जल भण्डार यति छ भनि हिसाब निकाल्छौं । त्यस क्षेत्रको पानी व्यवस्थापन कसरी भइरहेको छ, त्यो पनि हेर्छौं । जलवायु परिवर्तनले पानीका स्रोतहरूमा पारिरहेको असर र परिवर्तनको पनि मूल्यांकन गर्छौं । त्यो हेरेपछि कति वर्षका लागि त्यो क्षेत्रको पानीले धान्छ भन्ने मोटामोटी थाहा हुन्छ । पानी अभाव भएको ठाउँमा पानीका स्रोत कसरी जगेर्ना गर्ने या सृजना गर्ने भन्ने पनि हाम्रो अध्ययनको विषय हो । भौगोलिक बनावटअनुसार पानीका स्रोत निर्माण तथा जगेर्ना (जसमा पोखरी, तालतलैया आदि पर्छन्) गर्ने तरिका फरक हुन्छन् भने बढी हुने पानी व्यवस्थापन र खर्च गर्ने तरिका पनि फरक हुन्छन् ।

म अहिले जर्मनीको इन्टरनेसल सेन्टर फर वाटर रिसोर्स एन्ड ग्लोबल चेन्जको शिक्षा र अनुसन्धानका लागि प्रमुख भएर काम गरिरहेकी छु । यो संस्था जर्मन फेडरल इन्स्टिच्युट अफ हाइड्रोलोजीको एक हाँगा हो । योबाहेक म बोन विश्वविद्यालय पनि पढाउँछु । मेरो मातहतमा अहिले एक नेपाली र एक दक्षिण अमेरिकी विद्यार्थीले विद्यावारिधि गरिरहेका छन् ।

जलवायु परिवर्तनले नेपालमा नसोचेका असर पारिरहेको छ । असार १५ रोपाइँ दिवस हो नेपालमा । हामी सानो छँदा असार १५ मा खेत रोप्न पुग्ने पानी पर्थ्यो । तर, अचेल मनसुन असार १५ पछि आउँछ र छिट्टै सकिन्छ । पानी पर्दा बिस्तारै झरी नपरि एकैपटक मूसलधारे वर्षा हुन्छ । केही दिन फेरि वर्षा हुँदैन । खडेरी लागेजस्तो हुन्छ र तापक्रम पनि वृद्धि हुन्छ । अनि फेरि मुसलधारे वर्षा सुरु हुन्छ । माटोको प्रकृति के हो भने एकनासैले झरी पर्दा माटाले पानी बिस्तारै शोष्छ । जमिनमुनि पानी छिर्दै अनि छानिँदै जाँदा स्वच्छ पानीका मूल फुट्छन्, जरुवाहरू पलाउँछन् । तर, धेरै सुक्खा भयो भने माटाले पानी थेग्न सक्दैन । पानी बगेर जान्छ र पानीको ठूलो प्रवाहले भूस्खलनको समस्या निम्त्याउँछ । नेपाल भूस्खलनको जोखिममा पर्ने मुलुक हो ।

नेपालमा सालाखाला वर्षको सोह्र सय मिलिमिटर पानी पर्छ । यो भनेको वर्षभरिमा एक वर्गमिटर जमिनमा सोह्र सय लिटर पानी पर्नु हो । नेपालमा ८० प्रतिशत पानी मनसुनमा पर्छ । हिमाली र पहाडी क्षेत्रमा खसेको वर्षे पानीलाई तालतलैया, कुवा या पोखरीहरू बनाएर जोगाउन सके किसानलाई फाइदा हुन्छ र हिउँदमा पानीको अभाव घटाउन सकिन्छ ।

काठमाडौंको जमिनमुनिको पानी निःशुल्क उपयोग भइरहेको छ । घर, परिवारले उपयोग गर्दा ठीकै हो, तर ठूला होटल तथा उद्योगले मनपरी पानी तान्दा काठमाडौं उपत्यकाको पानीको सतह तलतल गइसकेको छ । पानी सोस्ने र माटोमुनिको पानीको भण्डार आपूर्ति हुने चक्र तोडिएको छ । यो समस्या पोखरा लगायत अन्य सहरमा पनि छ । यस्तो समस्या तन्किँदा जमिन भास्सिने खतरा हुन्छ । तराई र मुख्य सहर आसपासका जमिनमा क्रंकिटका घर बनिरहेका छन् । कंक्रिटले पानी सोस्दैन । अलिकति ठूलो वर्षा हुनासाथ यस्तो क्षेत्रमा बाढी आउँछ । पहिला–पहिला तराईका सिमसारहरूमा वर्षे पानी भरिएर बस्थ्यो, तर अहिले डुबान समस्या लामो समय रहन्छ । किनभने पानी सोस्ने जमिन नासिइरहेको छ सहरीकरणले । डुबान र बाढीपहिरोले सबैभन्दा बढी क्षति गरिबहरूको हुन्छ ।

पानी पर्ने तरिका फरक भएकाले अहिले विश्वभरि नै खेतीपातीमा ठाडो असर परेको छ । गर्मी थेग्न सक्ने अन्न तथा फलफूलको विकासमा ध्यान जान थालेको छ । पहिले जाडो याममा हिमाली क्षेत्रमा हिउँ पर्थ्यो । तापक्रम बढ्नाले हिउँको सट्टा पानी पर्न थालेको छ । हिमाली क्षेत्रहरूमा हिउँ निख्रिएका काला पत्थरहरू देखिन थालेका छन् । पहिले जाडोमा परेको हिउँ जम्थ्यो र गर्मीमा पग्लँदै जाँदा नदीमा बिस्तारै मिसिन्थ्यो । यसले नदीको जलप्रवाहमा ठूलो असर पर्दैनथ्यो । अहिले जलवायु परिवर्तनको असर यति भयावह छ कि बिजुली उत्पादनका लागि बनाइएका जलाशयमा पानीको सतह घटिरहेको छ । जलवायु परिवर्तनको असर एउटा क्षेत्रमा मात्रै होइन, समग्र जलचर र स्थलचर अनि वन पैदावरमा परेको छ । अहिले पृथ्वी तातेको छ र बिरामी छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।

पानी भनेको पिउने पानी मात्रै होइन । पानीको ठूलो हिस्सा खेतीपाती र उद्योग कलकारखानामा खर्च हुन्छ । त्यसैले पानी व्यवस्थापन नियमहरू देशअनुसार र ठाउँअनुसार फरक हुन्छन् । कतिपय देशले कृषिलाई, कतिले उद्योगलाई प्राथमिकता दिन्छन् । अस्ट्रेलियालगायत विकसित मुलुकले मानवनिर्मित ठूला ताल बनाएका छन् र पानी भण्डार गरेका छन् । सुक्खा मौसम आइहाले त्यही पानी प्रयोग गर्ने नीति बनाएका छन् । नेपाल र युरोपमा खोलानालाको प्रयोग गर्ने तरिका फरक छ । नेपालमा खोलानाला सिँचाइ र बिजुली उत्पादनमा प्रयोग हुन्छ भने युरोपमा ढुवानी (यातायात) का लागि । जलवायु परिवर्तनको असरको एक नमुना हेरौं । सन् २०२२ को गर्मीयाममा जर्मनीको रायन नदीलगायत युरोपका अन्य नदीमा पानीको सतह ह्वातै घट्दा ढुवानी गर्ने डुंगा चलेनन् । फ्रान्स र स्पेनमा यसअघि रेकर्ड नभएका डरलाग्दा आगलागीका घटना भए ।

एकै स्थानमा कहिले मुसलधारे वर्षा हुने र कहिले अति सुक्खा हुने अवस्थालाई ‘एक्स्ट्रिम वेदर’ भनिन्छ । संसारको कुनै पनि क्षेत्र ‘एक्स्ट्रिम वेदर’ र यसको फेनोमिनाबाट अछुतो छैन । एकै ठाउँमा केन्द्रित हुने यस्तो समस्या हामीले पहिले–पहिले देखेका थिएनौं । आउने दिनमा कहिल्यै नदेखेका, नसुनेका नयाँ प्राकृतिक विपत्ति भोग्न हामी तयार हुनुपर्नेछ । फेरि पनि मन त मेरो नेपाली नै हो । पूरै जीवन विदेशमै बिताउँछुजस्तो लाग्दैन । जर्मनीमा पनि म विदेशी हुँ । हामी विदेशीले भोग्ने अर्कै खालका कठिनाइ हुन्छन् । कुनै योजना बोकेर म पुनः नेपाल फर्कन चाहन्छु ।

(जर्मनीको बोन युनिभर्सिटीमा प्राध्यापन गर्ने लुना भारतीसँग पेरिसस्थित पत्रकार अनुराधा पौडेलले गरेको संवाद)

प्रकाशित : पुस ३०, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?