शव चिन्न आफन्तलाई सकस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शव चिन्न आफन्तलाई सकस

७० को शव भेटिए, दुई अझै बेपत्ता, २० को पोखरामै पोस्टमार्टम गरिने, बाँकी शव काठमाडौं लगिने
दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिने ‘ब्ल्याक बक्स’ सोमबार फेला
दीपक परियार, अनिष भट्टराई

पोखरा — अस्पतालको पोस्टमार्टम भवनभित्र लस्करै शव राखिएका छन् । आफन्त पालैपालो भित्र प्रवेश गर्छन् । आफ्नो आफन्तको अनुहार खोज्छन् । डढेर सद्दे नभएका, चिन्नै नसकिने शव पनि घोरिएर हेर्छन् । सद्दे शवको हरमा भएको लुगा, गरगहना, ट्याटु हेरेर चिन्न खोज्छन् । शव नचिन्नेहरू दुःखी भएर निस्कन्छन् । 

आइतबार पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेको शव चिन्न आफन्तलाई सकस भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम भवनमा सोमबार पोखरा–२५ हेम्जाका जितेन्द्र कुँवर र उनकी पत्नी भगवतीको शव पनि आफन्तले चिन्न सकेनन् । जितेन्द्रका दाजु श्यामबहादुर शवहरू राखिएका ठाउँमा पटकपटक पुगे, भाइ–बुहारीको शव चिनेनन् । ‘शवहरू मुढाजस्ता देखिन्छन् । अनुहार चिन्न सकिने अवस्थामै छैन । आगोको रापले गर्दा खुम्चिएका छन्,’ उनले भने, ‘पञ्जा र मास्क लगाएर सबै शव ओल्टाई–पल्टाई हेरिसकें तर अझै पहिचान भएको छैन ।’

ज्याकेटका आधारमा उनले भाइको शव भएको ठम्याएका थिए । तर त्यस्तै ज्याकेट लगाएको भन्दै मृतक हेम्जाकै राजन सापकोटाका आफन्त पनि आइपुगे । मृतक कुँवर र सापकोटाको ज्याकेटको रङ र ब्रान्ड पनि एकै थियो । एउटा शवको ज्याकेटमा फोन भेट्टियो । उक्त फोन जितेन्द्रको भएको पुष्टि परिवारले गरेपछि राजन र जितेन्द्रको शव छुट्टिएको थियो । तर, त्यति आधार पर्याप्त भएन । पहिचान नखुल्दा श्यामबहादुरको परिवारले भाइ–बुहारीको शव पाएको छैन । परिवारले चिने पनि पुष्टि गर्न काठमाडौं पठाउनुपर्ने भएको छ ।

आइतबार बिहान ४ बजे पोखरामा रहेकी दिदीलाई सुत्केरी व्यथा लागेको थाहा पाएपछि भारतका सञ्जय जैसवाल पोखरा आउन काठमाडौंबाट जहाज चढे । गर्भवती नितुलाई अस्पताल लगिएपछि सञ्जय पनि पोखराका लागि उडेका थिए । नितुले आइतबार बेलुका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छोरी जन्माइन् । तर, सञ्जयले भान्जीको मुहार हेर्न पाएनन् । उनको शव प्रतिष्ठानकै पोस्टमार्टम भवनमा छ । नितुलाई भने यो कुरा पत्तो छैन ।

सञ्जयका भिनाजु विकासकुमार जैसवाल सोमबार अस्पताल प्रांगणमा सञ्जयको शव बुझ्न बसिरहेका थिए । अस्पतालले शव बुझ्न बोलाउने आशामा उनको आँखा एकोहोरो पोस्टमार्टम भवनतिरै सोझिएको थियो । आइतबार सनाखत मुस्किल भयो । विकासलाई सोमबार फेरि पोस्टमार्टम भवनमा लगियो । प्रहरीले दुर्घटनास्थलबाट पाएको फोनहरू देखायो । विकासले सञ्जयको फोन चिने । फोनमा भएको सिम झिकेर

आफ्नो फोनमा राखे । आफैंले आइतबार सञ्जयलाई पठाएको म्यासेज फोनमा देखियो । पुलिसले उक्त फोन शव नम्बर २ बाट पाइएको बताइदियो । उक्त शवको टाउको पूरै फुटेको थियो । फोन नभेटेको भए सञ्जयको शव पहिचान थप मुस्किल बन्ने थियो ।

नदीपुर चर्चका अनिल शाही, राजुसिंह ठकुरी र रवीन हमालले जहाज दुर्घटनामा ज्यान गुमाए । पोस्टमार्टम भवनमा राखिएका मध्येबाट उनीहरूको शव पहिचान गर्न गाह्रो भयो । मण्डलीका सदस्य दिलीप गायकले अनिलको हातको औंठी र राजुसिंहको कम्मरको पेटीबाट शव चिने । रवीनलाई ठम्याउन सकेनन् । ‘केही–केही शव मात्रै सग्ला छन्,’ उनले भने, ‘अरू सबै जलेर चिन्नै नसकिने छ ।’ पहिचान गरेर पनि चर्चका अनिल र राजुसिंहका आफन्तले सोमबार शव बुझ्न पाएनन् । दुर्घटनापछि गठन भएको राष्ट्रिय पोस्टमार्टम समितिले त्यति आधारलाई मात्रै पर्याप्त मानेन । सनाखत गर्ने भरपर्दो माध्यम नभएका शव डीएनए परीक्षणका लागि काठमाडौं लैजाने निर्णय भयो । सनाखत भएका २० जनाको मात्रै पोखरामा पोस्टमार्टम हुने भयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कुनै द्विविधा नहोस् र विवाद नआओस् भन्नका लागि डीएनए परीक्षण आवश्यक भएको बताए । ‘कतिपय पहिचान गर्न सकिने तर यहाँ आफन्त नभएका छन्,’ उनले भने, ‘परिवारकै पनि कसैको पहिचान भएको कसैको नभएको पाइएको छ । उहाँहरूले पनि काठमाडौं नै पठाइदिनूस् भनेकाले उता पठाउने संख्या धेरै भएको हो ।’

पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सोमबार साँझबाट सुरु भएर आफन्तले बुझ्न थालेका छन् । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार ७ सदस्यीय राष्ट्रिय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट आएका छन् । त्रिवि शिक्षण अस्पतालका डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आएका हुन् । पाँच जना पोखराकै फरेन्सिक विशेषज्ञ छन् । ‘पहिला शवको औपचारिक सनाखत हुन्छ, त्यसपछि पोस्टमार्टम गर्छौं,’ उनले भने, ‘पोस्टमार्टमपछि पुनः सनाखत गर्नुपर्ने हुन्छ ।’ सोमबार राति पोखरा–१३ मियापाटनका सदाकत अलि मियाँको शव उनको परिवारले बुझेको छ । मंगलबार बिहानबाट आफन्तलाई थप शव बुझाऊन सुरु गरिनेछ ।

यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका गरी ५० शव मंगलबार बिहान काठमाडौं लगिने भएको छ । यसअघि हेलिकोप्टरमा सोमबार नै शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने तयारी थियो । कास्कीका प्रहरी प्रमुख अजय केसीले सोमबार रात परेकाले मंगलबार बिहान शव काठमाडौं पठाइने बताए । उनका अनुसार हालसम्म फेला परेका ७० शवमध्ये एउटा हस्तान्तरण गरेर बाँकी ६९ वटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अझै नभेटिएको दुई जनाको शवका लागि खोजी जारी छ ।

ब्ल्याक बक्स भेटियो

दुर्घटनास्थलबाट विमानको ‘ब्ल्याक बक्स’ सोमबार भेटिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार नै उक्त ब्ल्याक बक्स हस्तान्तरण गरेको हो । नेपाली सेनाका सहसेनानी सरोज कोइरालाले सोमबार दिउँसो उक्त ब्ल्याक बक्स नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक भरतराज पराजुलीलाई हस्तान्तरण गरेका हुन् । उक्त ब्ल्याक बक्स काठमाडौंमा दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

एटीआरमा त्रुटि छैन : प्राधिकरण

नेपालमा उडानमा रहेका एटीआर विमानहरूमा कुनै प्राविधिक त्रुटि नभएको प्राधिकरणले सोमबार प्रस्टीकरण दिएको छ । एटीआर विमान पोखरामा दुर्घटना परेपछि सरकारले उडानमा रहेका सबै कम्पनीका जहाजको अवस्था जाँच गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

हाल नेपालमा बुद्ध एयरसँग तीन एटीआर–४२ र ११ एटीआर–७२ गरी सर्वाधिक १४ एटीआर विमान छन् । यतीसँग ४ वटा एटीआर विमान छन् । पोखरामा भएको यतीको विमान दुर्घटनापछि नेपालमा दर्ता भई उडानमा रहेका विमान सबै एटीआर प्राधिकरणका प्राविधिकहरूले आइतबार तीन घण्टा लगाई जाँच गरेका थिए । सबै विमान प्राविधिक रूपमा उडानयोग्य रहेको पाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार सुगम रुटमा उडानमा रहेका एटीआर वायुयानका सञ्चालक कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मर्मत सम्भारका काम गर्दै आएका छन् । पोखराको घटनापछि प्राधिकरणले आफ्ना उडान सुरक्षा निरीक्षकमार्फत सबै एटीआर–४२ र एटीआर–७२ विमानको प्राविधिक जाँचको अवस्था हेरेको जनाउँदै विस्तृत प्राविधिक परीक्षण पनि गरिसकेको उल्लेख गरेको छ ।

यसैबीच, एटीआर जहाज उत्पादक कम्पनीबाट ७ जना प्राविधिक यती एयरको दुर्घटनाबारे अध्ययन गर्न मंगलबार काठमाडौं आइपुग्ने भएका छन् ।

प्रकाशित : माघ ३, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान

अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित
दीपक परियार, अनिष भट्टराई

पोखरा — एटीआर–७२ जहाजमा यात्रु चढिसकेपछि एयर होस्टेसले सिटको पेटी बाँध्न भनिन् । साविकको विमानस्थलबाट यती एयरलाइन्सको जहाज खचाखच यात्रु बोकेर बिहीबार दिउँसो उडान भर्‍यो । पाँच मिनेट आकाशमा फेरो लगायो । एयर होस्टेसले अबको केही मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइन् । जहाजले विमानस्थलको भुइँ छोयो । यात्रुले ताली बजाएर खुसी मनाए ।

पुस १७ (सन् २०२३ जनवरी १) बाट सञ्चालनमा आउने विमानस्थलमा बिहीबार यती एयरलाइन्स र बुद्ध एयरले परीक्षण उडान भरेका हुन् । नागरिक उड्डयन प्राधिकरणको समन्वयमा साविकको विमानस्थलबाट नजिकै रहेको नयाँ विमानस्थलमा यती र बुद्धका जहाजले पोखराका यात्रु बोकेर उडान भरे । बुद्ध एयरको विमानबाट नयाँ विमानस्थलमा ओर्लिएका पोखरा महानगरका मेयर धनराज आचार्यले ऐतिहासिक क्षणको संज्ञा दिए । ‘पाँच दशकदेखिको पोखरेलीको सपना साकार हुँदै छ,’ उनले भने । विमानस्थलको अवरोधका रूपमा रहेको ल्यान्डफिल साइट हटाउन सुरु भइसकेको उनले बताए । ‘रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटो ल्याएर पुर्न सुरु गरिएको छ,’ उनले भने, ‘अब विभिन्न वडाका ६ स्थानमा अल्पकालीन रूपमा फोहोर व्यवस्थापन हुन्छ । दीर्घकालीन रूपमा ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर प्रशोधन गर्छौं ।’ परीक्षण उडान सफल भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित बने ।

दुवै वायु सेवा कम्पनीले प्राधिकरणमा ‘डेमोन्सट्रेसन’ तथा ‘फेमिलिअराइजेसन’ उडानको प्रतिवेदन बुझाउने छन् । प्राधिकरणले नयाँ विमानस्थलबाट एयर ट्राफिक सेवा पनि सञ्चालन गरिसकेको छ । यी दुवै उडानको सफलतापछि ६५ वर्ष लेकसाइड नजिकै रहेको पुरानो पोखरा विमानस्थललाई तीन किलोमिटर पूर्वमा ३७ सय रोपनीमा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिस्थापन गर्ने छ । साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट भने केही समय साविकको विमानस्थलबाटै उड्ने छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीका लागि विमानस्थल सञ्चालनमा आउनु ठूलो खुसीको कुरा हुने बताए । ‘डेमो फ्लाइटले हामी व्यवसायीमाझ निकै उत्साह पैदा गरेको छ,’ उनले भने, ‘अब अन्तर्राष्ट्रिय उडानको पर्खाइ छ ।’ बिहीबारको उडानमा दुवै टावरबाट एयर ट्राफिक कन्ट्रोलरले जहाजलाई दिशानिर्देश गरेको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । ‘अब यो विमानस्थल तयार भयो है भन्ने सन्देश डेमोन्सट्रेसन तथा फेमिलिअराइजेसन उडानले दिएको छ,’ उनले भने, ‘जनवरी १ मा बिनाकुनै कमजोरी उडान होस् भनेर लागेका छौं ।’ त्यसका लागि आवश्यक कागजी प्रक्रिया, यन्त्र, उपकरण, मानव संसाधन, सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा रहेको उनले सुनाए ।

‘नेपाल आउनेमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भनिन्छ । त्यसलाई अझै बढाउन सक्यौं भने यो विमानस्थलको पूरा सदुपयोग गर्न सकिन्छ । यहाँको अर्थतन्त्रमा अझै बढोत्तरी हुन्छ र मुलुककै अर्थतन्त्रमा प्रभाव पार्छ,’ उनले भने । विमानस्थलमा थाई स्माइल, अल जजिरा, फ्लाई दुबई, कतार एयरवेज, हिमालय एयरलाइन्सलगायतले चासो देखाएको उनको भनाइ थियो । पोखराबाट दिल्ली, दोहा, ढाका, हङकङमा सिधा उडान हुने प्राधिकरणको अपेक्षा छ । यद्यपि, अन्तर्राष्ट्रिय उडानको टुंगो भने अझै लागिसकेको छैन । बुद्ध एयरले जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय उडान पोखराबाट भारतको बनारस गर्न प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीमा पत्राचार गरिसकेको छ । तर भारतका तर्फबाट अनुमति प्राप्त भइसकेको छैन । अनुमति पाएको खण्डमा उक्त उडान पनि बुद्धको ‘डेमोन्स्ट्रेसन’ उडान नै हुनेछ । नियमित उडान भने मार्च १ बाट गर्ने बुद्धको योजना छ ।

बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले दुई महिनाको समयमा बजार व्यवस्थापनको आन्तरिक तयारी गर्ने बताए । ‘पोखरा–बनारसलाई रुटको समस्या हुँदैन तर पोखराबाट दिल्ली र देहरादुनका लागि रुटको समस्या हुनेछ,’ उनले भने, ‘यो समस्या सुल्झाउन प्राधिकरणलाई पनि भनेका छौं ।’ जनवरी १ बाट दिउँसो मात्रै उडान हुन्छ । फेब्रुअरी २२ देखि राति पनि उडान अनुमति दिने प्राधिकरणको तयारी छ । त्यसपछि भने बुद्धले पोखरा–काठमाडौं बिहान ७ देखि राति ९ बजेसम्म १५ वटा उडान भर्ने बताएको छ । पोखराबाट भैरहवा, नेपालगन्ज, भरतपुर उडान भइरहेकामा भद्रपुरमा पनि उडान सुरु गर्ने जोशीले बताए । उनका अनुसार ४ देखि ५ वटा बुद्धका जहाज राति पोखरामै बास बस्ने छन् । बुद्ध एयरले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्न आतुर रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार ‘फोर डी’ श्रेणीमा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्न सक्छन् । ‘फोर डी’ श्रेणीको भएकाले यसको रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ ।

प्रकाशित : पुस ८, २०७९ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×