शीतले भिज्छन् सुत्केरी र बालबालिका- समाचार - कान्तिपुर समाचार

शीतले भिज्छन् सुत्केरी र बालबालिका

मंसिरदेखि जेठसम्म उपत्यकाका भट्टामा काम गर्न लागि रोल्पा, रूकुम, सल्यान, दाङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका मजदुर आउँछन्, पुसको चिसोमा अधिकांशका छोराछोरी आमाबाबुकै साथ काँचो माटो खेलाइरहेका देखिन्छन् 
मधु शाही, लिला श्रेष्ठ

भक्तपुर — काठमाडौं उपत्यकाको मध्य हिउँद । भक्तपुरका इँटाभट्टाका मजदुर, जसको जीवन पुसजस्तै चिसो छ । रोल्पा डार्बोटकी ३२ वर्षीया चन्द्रकुमारी परियारको इँटाभट्टासम्म आउनुको कारण बेग्लै छ । उनी तीन सन्तानसहित भक्तपुरको सूर्यविनायक जगाती भातेढिकुरस्थित कृष्ण इँटा उद्योगमा इँटा बोक्न आएकी छन् ।

चन्द्रकुमारीका श्रीमान् थुनामा छन् । श्रीमान् थुनामा पुगेपछि ११ वर्षीय छोरा, ८ र ४ वर्षीया छोरीसहित इँटाभट्टामा आइपुगेकी हुन् ।

‘श्रीमान्ले ज्यामी काम गरेर परिवार धानेको थियो, बलात्कार मुद्दामा जेल पुग्नुभयो,’ उनले भनिन्, ‘सिंगो परिवारको जिम्मेवारी आफ्नो काँधमा थपियो । काम खोज्दै इँटाभट्टा आइपुग्यौं ।’ चन्द्रकुमारीका ११ वर्षीय छोरा र ८ वर्षीया छोरीलाई इँटा उद्योगीले मौसमी विद्यार्थीका रूपमा सामुदायिक विद्यालयमा पढ्ने व्यवस्था गरिदिएका छन् । ‘ठूलठूला स्कुल जान्छन्, सानी छोरीलाई पढ्न पठाएको छैन,’ उनले भनिन् । चन्द्रकुमारी दिनहुँ दुई हजार इँटा बोक्छिन् । एक हजार इँटा बोकेबापत मजदुरले ४ सय रुपैयाँ पाउँछन् । ५० हजार रुपैयाँ पेस्की लिएर मंसिरको पहिलो साता भातेढिकुरस्थित भट्टामा आइपुगेकी चन्द्रकुमारीले जाडोभरि मजदुरी गरेर खानलाउन खर्च गरेपछि डेढ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेकी छन् । उनी उक्त बचत लिएर रोल्पा फर्कनेछिन् ।

वरिपरि इँटाले बारिएको छाप्रो । टिनको छानो, त्यसकै ढोका । त्यही ढोकाबाट बेलाबखत बच्चा रोइरहेको आवाज सुनिन्छ । काँचो इँटाले बनाएको अस्थायी छाप्रोमुनि तीनमहिने सुत्केरी आमा कमला दोङ दनुवार छोरालाई चिसोबाट जोगाउन अनेक जुिक्त लगाउँछिन् । चिसो छेक्न उनीसँग न्यायो लुगा पर्याप्त छैन । विकल्पमा उनी अनेक उपाय लगाउँछिन् । च्यातिएका लुगाले इँटाका चाङको पर्खालका प्वाल टालेकी छन् । आफ्ना भएभरका लुगाले बच्चालाई गुटमुट्याउँछिन् । त्यतिले पनि नपुगेर उनी छोरालाई छातीमा टाँसेर न्यायो बनाउने प्रयास गर्छिन् । चिसोबाट बचाउन उनले हरसम्भव प्रयास जारी राखेकी छन् । राति टिनको पाताबाट शीत तप–तप चुहिन्छ । छोराको अनुहारमा शीतका थोपा नपरोस् भनेर कमलाका दम्पतीका रात सजग भएर बित्छन् ।

रात जसोतसो बित्छ । दिउँसो तीनमहिने शिशु बोकेर कमला र पति सन्तोष इँटा बनाउने काममा व्यस्त हुन्छन् । काभ्रेको पाँचखालका उनीहरू भक्तपुरको चाँगुनारायण–९ ताथलीको बीएमटी इँटा भट्टामा काम गर्छन्, त्यहीं एउटा कुनामा बस्छन् । हातमुख जोर्न निकै संघर्ष गर्नुपरेको छ । ज्यान काँचो माटोको इँटा बनाउन व्यस्त रहँदा कमलाको मन घर पुगिरहन्छ । घरमा ५ वर्षका छोरा छाडेर आएकी छन् । घाम हराएर चिसो बढ्दा तीनमहिने छोराको स्वास्थ्यप्रति चिन्तित हुन्छिन् । ‘चिसो बढ्दै छ, कान्छो छोरा बिरामी भइरहन्छ । काम नगरौं खान पुग्दैन,’ उनी भन्छिन् । असोजदेखि माघ महिनासम्म उनीहरू यही भट्टामा काम गर्छन् ।


काभ्रेकै नमोबुद्ध–६ रोसिखोलाकी बुद्धिमाया तामाङ आमा–छोरीको परिवार पनि इँटाभट्टामै निर्भर छ । उनीहरू राति १ बजेदेखि चिसोसँग जुध्दै इँटा बनाउने गर्छन् । बुद्धिमायाका दुई छोरीका तीन नातिनातिना पनि भट्टा वरिपरि हुर्किएका छन् । तीन वर्षअघि श्रीमान् बितेपछि बुद्धिमाया एक्ली भइन् । पढाइलेखाइ नभएका छोरीहरूसमेत बेरोजगार भए । छोराछोरी हुर्काउन मजदुरी नगरी भएन । यो वर्ष भने बुद्धिमाया र उनका छोरीहरू सन्तानसहित भक्तपुरको श्री इँटाभट्टामा मजदुरी गर्न आएका छन् । बर्सेनि वर्षा थामिएर हिउँद लागेपछि इँटाभट्टामा काम हुन्छ । चिसो मौसम इँटा पार्ने सिजन हो । चिसोमा हिलो माटोसँग खेल्ने काम सजिलो होइन । तर, जाडो भनेर बस्यो भने आयआर्जन गुम्छ । न्यानो भएर काम गर्न बुद्धिमायाको आर्थिक स्थितिले पुग्दैन ।

‘मैले एक्लै लुगा किनु नातिनातिना र छोरीहरूलाई पुग्दैन,’ बुद्धिमायाले भनिन्, ‘त्यसैले जाडो चिसो खाएरै कटाउने भएकी छु ।’ इँटाभट्टामा काम गर्दा प्रदूषणको जोखिम त छँदै छ । चिसोले जीउ, टाउको दुख्ने र हातखुट्टा झमझमाउने भइरहन्छ । इँटा पार्दापार्दै हात कठ्यांग्रिएर उनी धेरै पटक आत्तिएकी पनि छन् । ‘पन्जा छैन, चिसो माटो छुँदा औंला कुँजिएझैं हुन्छ,’ उनी भन्छिन् । काम गर्न गाह्रो छ, त्योभन्दा गाह्रो बासको पनि छ । इँटाको अस्थायी घेराबेराले अड्याएको छाप्रोमा अत्यधिक चिसो हुन्छ । भित्र उनीहरूले पत्रिका बिछ्याएका छन् । चिसो बढेसँगै हरेक रात शीतले पत्रिका झिज्छ । एउटा सिरकमा दुई छोरी, आमा र तीन नातिनातिना एकै ठाउँ लुटपुटिएर रात बिताउँछन् । राति १ बजे नै इँटा पार्न निस्किने गरेकी बुद्धिमायाको परिवार सुत्ने भनेको जम्मा ३ घण्टा हो ।

‘त्यही दुई/तीन घण्टा पनि चिसोले निद्रा लाग्दैन,’ उनी भन्छिन् । बुद्धिमायाकी जेठी छोरी अञ्जुका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् । दुबईबाट उनले बेला–बेला पैसा पठाउँछन् । तर, त्यो पैसा उनी विदेश जाँदा लागेको ऋण तिर्न ठिक्क हुन्छ । दुई छोराछोरी छन् । घरव्यवहार धान्न गाह्रो परेपछि अञ्जुले भट्टामा मजदुरी गर्न थालेकी हुन् । आफूले दुई–चार रुपैयाँ कमाए घरखर्च चलाउन सकिने विश्वास लिएकी छन् । पैसा नपुगेका कारण ५ वर्षको छोरालाई बोर्डिङमा भर्ना गर्न नपाएको गुनासो उनको छ । ‘कमाएर खानै ठिक्क हुन्छ, छोराछोरी पढाउन सकेकी छैन,’ उनी भन्छिन्, ‘चिसोमा छोरा बिरामी भएर उपचार गर्दा उतै खर्च भयो ।’

उनकी बहिनी मञ्जुका श्रीमान् मजदुरी गर्छन् । एक्लैको आम्दानीले खर्च नपुगेपछि २४ वर्षीया मञ्जु पनि आमाको साथ लागेर इँटाभट्टामा काम गर्न आइन् । तीन वर्षकी छोरीलाई भट्टाको छाप्रोमै राखेर उनी मजदुरी गर्छिन् । रुघा, खोकी र ज्वरोले छोरी थलिँदासमेत उनले काम गरिरहेकी छन् । छोरीको स्याहार गर्न पर्याप्त समय नपाएकामा उनी खिन्न हुन्छिन् । ‘छोरी बोकेरै काम गर्छु,’ उनी भन्छिन्, ‘जाडोका लुगा किनिदिन सकेको छैन ।’

काभ्रे पाँचखालका ११ वर्षीय कुमार दनुवार गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा ४ मा पढ्थे । उनी आमा अमृता र बुबा चन्द्रबहादुरसँगै चाँगुनारायण–९ ताथलीस्थित बीएम इँटा उद्योगमा काँचो इँटा बनाउन आइपुगेका छन् । कुमार आमाबुबासँगै दिनहुँ बिहान २ बजे उठ्छन् । हातमा पन्जा लगाएर काँचो इँटा पार्छन् । उनको तीन जनाको परिवारले दैनिक २ हजार ५ सय इँटा बनाउँछन् । ‘एक हजार इँटा बनाए १३ सय रुपैयाँ पाउँछ,’ कुमारका बाबु चन्द्रबहादुर दनुवारले भने, ‘आफ्नो खेतीले ६ महिना पनि खान पुग्दैन । मौसमी रोजगारीका लागि इँटा बनाउन आएका हौं ।’ उनका अनुसार पाँचखालका झन्डै ५ सय परिवार भक्तपुरका विभिन्न इँटा उद्योगहरूमा हिउँदमा इँटा बनाउन आउने गरेका छन् । अभिभावकसँगै बालबालिकासमेत उद्योगमा आएका छन् । विद्यालयको पढाइ बीचमै छाडेर आएका बालबालिकालाई इँटा उद्योगीले चाँगुनारायण नगरभित्र पढाइको व्यवस्था नगरेको चन्द्रबहादुर बताउँछन् । ‘छोरालाई घरमा एक्लै छोड्ने कुरा भएन । नाइकेले इँटा उद्योगमै पढ्ने व्यवस्था हुन्छ भनेपछि सँगै ल्याएको हो, यहाँ पढ्न पाएन,’ उनले भने, ‘इँटाको मौसम सकेपछि गाउँकै स्कुल पठाउँछौं । अहिले हामीसँगै इँटा बनाउँछ ।’

रोल्पा घर्तीगाउँका २७ वर्षे मनबहादुर विक छोराछोरी बटुलेर दसैं सकिएलगत्तै काठमाडौं आए । इँटाभट्टामा परिवारै मजदुरी गर्छन् । परिवार नै कस्सिएर काम गर्दा पनि खान र लाउन गाह्रो भएपछि उनी वैदेशिक रोजगारीमा जाने सुरमा छन् । जान भिसाका लागि आवेदन दिएका छन् । एक महिनाभित्र विदेश उड्ने योजना छ । त्यतिन्जेल मजदुरी गरेको पैसाले मेनपावरलाई बुझाउन सकिने उनले बताए । विदेश जान दुई लाख जति खर्च लाग्छ । त्यही खर्च जुटाउन उनी भट्टामा मजदुरी गरिरहेका छन् । गाउँमै रोजगारी नपाउँदा घर छाडेर काठमाडौं आएको उनी बताउँछन् । गरिब परिवारले काठमाडौंको महँगीमा टिक्न सजिलो नभएको उनको अनुभव छ । भन्छन्, ‘ज्यानै फालेर मजदुरी गरे पनि खानलाउनै महँगो छ ।’ इँटाभट्टामा काम गर्न मंसिरदेखि जेठसम्मका लागि रोल्पा, रुकुम, सल्यान, दाङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायत मजदुर काठमाडौं, ललितपुर र भक्तपुरका इँटा उद्योगमा आउँछन् । अधिकांशका छोराछोरी पढाइ छाडेर आमाबाबुकै साथ आएका देखिन्छन् ।

इँटा उद्योग व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातिभाइ हेम्बाका अनुसार प्रतिइँटा उद्योगमा करिब ३ देखि ४ सय मजदुर कार्यरत छन् । जसमध्ये एक इँटा उद्योगमा ३० भन्दा बढी बालबालिका नै हुन्छन् । जो अभिभावकले सँगै ल्याएका हुन् । नजिक–नजिकका उद्योग व्यवसायीको समन्वयमा मजदुरका बालबच्चाका लागि शिशु स्याहार खोलेको हेम्बा बताउँछन् । संवाददाता इँटाभट्टाहरूमा पुगेर बुझ्दा धेरैजसो मजदुरका सन्तान विद्यालय गएको देखिएन । ‘विद्यालय उमेरका बालबालिकालाई नजिकका सामुदायिक विद्यालयमा पठाउन भनेका छौं, अभिभावकले नै बालबालिकालाई विद्यालय पठाउँदैनन्,’ अध्यक्ष हेम्बाले प्रस्टीकरण दिएजसरी भने ।

कोभिड–१९ को महामारीअघि बाल श्रममुक्त भनिएकै उद्योगहरूमा पनि अभिभावकसँगै बालबालिकाले काम गरेको तथ्यांकमा देखिन्छ । उद्योगीले भने उद्योगमा बालश्रम व्यवसायीले राखेको नभई अभिभावकले नै काममा लगाएको आरोप लगाउँछन् । भारतको बिहारलगायतबाट आएका मजदुरहरूले समेत बालबालिकालाई साथै ल्याएको र अभिभावकले नै श्रममा लगाएको हेम्बा बताउँछन् । भक्तपुरको चाँगुनारायण नगरपालिकामा ५० र सूर्यविनायक नगरपालिकामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । पछिल्लो समय इँटा उद्योगमा काम गर्न आउनेको संख्या घट्दा मजदुरको अभावको अवस्था आएको व्यवसायीको भनाइ छ । ‘अघिल्लो वर्षहरूमा इँटा उद्योगमा आएर मजदुरी गर्नेहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ,’ अध्यक्ष हेम्बाले भने, ‘स्वदेशीे उद्योगमा काम गर्ने मजदुर पाउनै छोडिसक्यो ।’

प्रकाशित : पुस १९, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

डेरावालका दुःख

झन्डै ६६ प्रतिशत सहरिया बहालमा बस्ने गरेको तथ्यांक, उपत्यकाभित्रै ४७ प्रतिशत डेरावाल
शौचालय, खानेपानी, विद्युत् र चर्को भाडालगायत समस्या धेरै 
व्यक्तिगत कोठा भाडामा लगाउने अधिकांशले कर तिर्दैनन्, यसमा स्थानीय निकायको न मापदण्ड छ न त अनुगमन नै 
मधु शाही, लिला श्रेष्ठ

काठमाडौँ — ललितपुरको पाटन बंगलामुखी मन्दिरनजिकै बस्छिन्, सारथि गौतम । एउटै कोठाको मासिक सात हजार रुपैयाँ तिरिरहेकी उनलाई दिनरात पानी भर्ने चिन्ताले सताउँछ । रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक पढ्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंमा भाडामा बस्नु भनेको आधा ज्यान सुकाउनु जस्तै हो ।’ 

घरभेटीले भनेजति भाडा तिर्दा पनि आधारभूत सुविधाबाट उनी वञ्चित छिन् । पानी सातामा एक पटक आउँछ, त्यो पनि घरभेटी आफैंले खपत गर्ने गरेको उनले बताइन् । ‘बिहानै ५ बजे ढुंगेधारामा लाइन लाग्नुपर्छ,’ भन्छिन्, ‘सुविधा बढ्दैन, भाडा बढेको बढ्यै छ । १० वर्षअघि ३५ सय तिर्ने कोठाको भाडा अहिले सात हजार पुगेको उनको भनाइ छ । पानी, बिजुली र फोहोरको छुट्टै शुल्क तिर्नुपर्छ । पानी अपुग भएपछि उनीलगायत पाटन छेउछाउ बस्ने धेरै डेरावाल ढुंगेधारा धाइरहेका भेटिन्छन् । ‘पानी बोकेर कोठासम्म पुग्दा हात गलेर फत्रक्कै हुन्छ,’ उनी भन्छिन्, ‘घरभेटीलाई समस्या सुनाउँदा चित्त नबुझे छाडेर जाऊ भन्दै तितो जवाफ फर्काउँछन् ।’

शंखमूलमा डेरा गरेर बसेका जीवन सिवाकोटीलाई घरभेटीले भाडामा बस्नुअघि ट्वाइलेटमा पानी आउने, प्रशस्त पानी भर्न पाइने बताएका थिए । सुरुका दुई महिना उनले त्यो सुविधा पाए पनि । बिस्तारै विभिन्न कारण देखाउँदै ट्वाइलेटमा पानी नदिने, खानेपानी भर्न नदिने जस्ता व्यवहार सुरु भयो । ‘खानेपानीको पैसा तिर्छु तर पानी पाइँदैन,’ उनले भने, ‘जति भने पनि घरभेटी सुनेको नसुनेजस्तै गर्छन् ।’

बुद्धनगरमा २० वर्षदेखि घरमा बस्दै आएकी राधा भण्डारीले दुई छोराछोरीलाई त्यहीं हुर्काइन् । पुरानो घर भएकाले विद्युत्को मिटर बक्स छुट्टै नराखिदिँदा घरभेटीले जति भन्छन्, त्यति शुल्क बुझाउनुपर्ने बाध्यता छ । दुई कोठाको भाडा तिर्ने गरेकी उनले राइस कुकरसमेत चलाउन पाउँदिनन् । तर, विद्युत् शुल्क भने महिनाको ५ सयभन्दा बढी आउँछ । ‘घरभेटीले गरेको शोषणका विषयमा कुन निकायमा गएर सुनाउने ?’ उनले भनिन्, ‘मिटरबक्स अर्को राख्न धेरै पटक अनुरोध गरे पनि सुन्दैनन् । आफ्नो बिजुलीको बिलसमेत भाडामा बस्नेहरूबाटै असुल्छन् ।’

दोलखा शैलुङ गाउँपालिका–३ की सानुमाया श्रेष्ठको परिवार काठमाडौं–१७ क्षेत्रपाटी माली गल्लीमा बस्न थालेको १२ वर्ष भयो । सुरुमा एक हजार ४ सय तिर्थिन्, अहिले त्यही कोठाको ८ हजार रुपैयाँ बुझाउनुपर्छ । पानी, बत्ती, फोहोरको छुट्टाछुट्टै पैसा बुझाउनुपर्छ । ‘सातामा एक दिन पानी आउँछ, घरभेटीले पहिले भर्छन्, आफ्नो पालो आउँदा सुकिसक्छ,’ उनले भनिन्, ‘इनारको पानी तानेर लिएको छुट्टै चार्ज तिर्नुपर्छ ।’ शारीरिक अपांगता भएकी छोरीको स्याहारमा दिन कटाउने सानुमाया घरभेटीले सित्तैमा बस्न दिए जसरी बचन लगाउने बताउँछिन् । ‘अपांग छोरी आफ्नो काम आफैं गर्न सक्दिनन्, सरसफाइ, शौचालय प्रयोगलगायतको कुरामा बचन लगाइरहन्छन्,’ उनले गुनासो गरिन्, ‘दुई दिन भाडा तिर्न ढिला भयो भने कोठा छोड्न दबाब दिन्छन् ।’ उनका श्रीमान् दिलकृष्ण होटलमा काम गर्छन् । एक जनाको कमाइले चार जनाको परिवार धान्नुपर्ने र महँगो भाडाले गर्दा उनको परिवार तनावमा छ ।

मीनभवनमा बस्दै आएकी भावना रानामगरको त फोहोरको शुल्क लिने विषयमा घरभेटीसँग चर्काचर्की नै पर्‍यो । मासिक ४ सय ५० रुपैयाँ घरभेटीले फोहोर शुल्क तिर्ने गर्छन् । तर, भावनाले १०० रुपैयाँ तिर्दा अर्को कोठामा बस्नेलाई घरभेटीले ५० रुपैयाँ लिने गरेका छन् । शुल्कमा विभेद गरेको थाहा पाएपछि उनले घरभेटीसँग कारण सोधिन् । ‘मैले पछि झगडा गरेर ५० रुपैयाँ तिर्न थालें,’ उनले भनिन्, ‘यही बहानामा चित्त नबुझेर कोठा छोडेर जाऊ भन्दै आएका छन् । झन् चिन्ता थपिएको छ ।’

कपनमा डेरा गरेर जिम सेन्टर सञ्चालन गर्दै आएका नवराज कार्की पनि घरभेटीपीडित हुन् । तीन वर्षदेखि व्यवसाय थालेका उनले घरभेटीबाट विद्युत् महसुलमा ठगिएको पाएपछि घर बहाल सरोकार महासंघ पुगे । मिटरमा उठेको भन्दा २७ प्रतिशत बढी शुल्क असुलेपछि उनले गुनासो गरे । महासंघका अध्यक्ष बलभद्र खनाल यस्ता अनेक समस्या लिएर पीडितहरू आउने गरेको बताउँछन् । व्यवसाय, बसोबास र पढाइका सिलसिलामा नेपालभर झन्डै ६६ प्रतिशत मानिस डेरामा बस्दै आएको महासंघको तथ्यांक छ, काठमाडौं उपत्यकाभित्र मात्रै ४७ प्रतिशत डेरावाल छन् । घर भाडामा बस्नेहरूको समस्या बल्झिँदै गएकाले महासंघ स्थापना भएको उनी बताउँछन् । ‘घर भाडासम्बन्धी देशभरबाट ११ हजारभन्दा बढी उजुरी आएका छन्,’ उनले भने, ‘शौचालय, खानेपानी, विद्युत् र चर्को भाडा बढाएकालगायत समस्या धेरै आउँछन् ।’

चितवन, कास्कीको पोखरालगायत विभिन्न जिल्लामा २५ वटा महासंघका शाखा छन् । अध्यक्ष खनालका अनुसार घर बहालबाट कर उठाउने राज्यले व्यवस्थित एकीकृत कानुन नल्याउँदा ठूलो कर छली भएको, घरभेटी मोटाउँदै गएको र घर बहालमा बस्ने पीडित हुँदै गएको अवस्था सुनाए । महासंघले घर बहालको समस्या समाधानका लागि राज्यसँग माग गर्दै आएको छ । राज्यले लिँदै आएको १० प्रतिशत बहालकर घटाएर २ प्रतिशत बनाउने, घर बहालसम्बन्धी एकीकृत कानुन निर्माण गर्ने, वैज्ञानिक र मनासिब बहाल तोकिनुपर्ने, स्क्वायर फिटका आधारमा कोठा भाडाको शुल्क तोकिनुपर्ने, सुविधाअनुसार शुल्क लिनुपर्नेलगायतका माग महासंघको छ ।

काठमाडौं महानगरपालिकामा भने लक्ष्यभन्दा दोब्बर कर घर बहालबाट उठ्ने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा घर बहाल करअन्तर्गत २ अर्ब ३ करोड ६४ लाख ८१ हजार ६ सय ५४ रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षमा दुई अर्बको अनुमान गरेको महानगरले हालसम्म ६६ करोड ५८ लाख रकम उठाइसकेको छ । महानगरभित्र २ लाख ५४ हजार घरमध्ये ११ हजार ३ सय ८१ घरले मात्रै कर तिरेको महानगरको तथ्यांकले बताउँछ ।

व्यक्तिगत कोठा भाडामा लगाउने अधिकांशले कर छली गर्छन्, न यसमा स्थानीय निकायको मापदण्ड छ न त अनुगमन नै । महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारी घर बहाल कर व्यवस्थित र मर्यादित बनाउन जरुरी रहेको बताउँछन् । ‘एउटा घरभेटीले यति वटा कोठा भाडामा दिएको छु भनेर साँचो बोल्दैन,’ उनले स्विकारे, ‘मनपरी भाडा पनि उठाएकै हुन्छ, हामी करको दायरामा ल्याउन चुकेकै छौं ।’

घर बहाल करमा द्वन्द्व

घर बहाल कर संकलनमा स्थानीय तह र संघबीच द्वन्द्व देखिएको छ । मुलुक तीन तहको संरचनामा गएसँगै स्थानीय सरकारले घर बहाल करलाई आफ्नो आम्दानीको मुख्य स्रोतका रूपमा लिन थालेपछि द्वन्द्व देखिएको हो । घर बहाल कर संकलनको अधिकार स्थानीय तहलाई दिइएपछि वर्षौंदेखि घर बहालबापत कर नितेरका घरजग्गा मालिक र भाडावाला दुवै करको दायरमा आउनुपर्ने बाध्यता छ ।

कुनै व्यक्ति वा संस्थाले आफ्नो भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदाम, टहरा, सेड, जग्गा पूरै वा आंशिक तवरले भाडामा लगाउँदा स्थानीय तह वा संघीय सरकारलाई बहाल कर तिर्नुपर्ने हुन्छ । मुलुक संघीय प्रणालीमा गइसकेपछि बहाल कर असुली गर्न स्थानीय तहले एकाधिकार पाएको हो । आफैं बहाल कर निर्धारण गरी असुली गर्न पाउने पूर्ण अधिकार स्थानीय तहलाई दिइएको काठमाडौं महानगरपालिकाका राजस्व विभाग अधिकारी बताउँछन् । काठमाडौं महानगरपालिकाले बहाल कर १० प्रतिशत लिँदै आइरहेको छ । कुनै स्थानीय तहले १७ प्रतिशतसम्म लिन्छन् । ‘तापनि संघीय सरकारले बलमिच्याइँ गरेर संस्थागत बहाल कर आफैं असुली गरिरहेको छ,’ अधिकारीले भने, ‘संघीय सरकारमा बहाल करको शीर्षक पनि छैन ।’

घरधनी र बहालवालाबीच भएको सम्झौतापत्र वा घरधनीले स्वःघोषणा गरेका आधारमा स्थानीय तहले बहाल कर निर्धारण गरी असुल्ने गरेका छन् ।

असल घरभेटी पनि छन्

घर बहालमा बस्नेहरूले घरभेटीप्रति अनेक गुनासा गरे पनि सबै घरभेटी खराब छैनन् । महासंघले नै दुई वर्षअघि पोखराका असल घरभेटीलाई सम्मान गरेको थियो । यस पटक झापा, काठमाडौंका घरभेटी सम्मानित हुँदै छन् । असल घरभेटीमा पर्नेमा झापाका मनोज आचार्य पनि हुन् । उनले १३ वर्षदेखि व्यावसायिक रूपमा घर भाडामा लगाउँदै आएका छन् । उनले कोभिडका बेला ५ लाखसम्मको घर भाडा छुट दिएका थिए । ‘भाडामा राख्नु भनेको मात्रै व्यवसायका लागि हुँदैन । भाडामा बस्ने परिवार जस्तै हुन्,’ उनले भने, ‘उनीहरू बिना हामी भोकै हुन्छौं । मानवीय र पारिवारिक सम्बन्ध विस्तार गरे घरभेटी र डेरावालाको गहिरो मित्रता हुन सक्छ ।’

घर बहाल सरोकार महासंघको काठमाडौं शाखाले काठमाडौंका करिब ८० असल घरभेटीलाई सम्मान गर्दै छ । काठमाडौं संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले कोभिडका बेला घर भाडा छुट दिएका र घर भाडामा बस्नेसँग मित्रवत् व्यवहार गर्नेको मूल्यांकन भइरहेको बताए । ‘हामीले घरभेटी र भाडामा बस्नेबीचको सम्बन्ध पारिवारिक बनाउन प्रोत्साहन गर्न जरुरी छ,’ उनले भने, ‘असल घरभेटीहरू पनि निकै छन् ।’

प्रकाशित : कार्तिक २१, २०७९ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×