कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गोर्खालीमाझ हुर्किएका रावत नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे'

मणि दाहाल

काठमाडौँ — भारतको दक्षिणी राज्य तमिलनाडूमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चीफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपीन रावत नेपालसँग राम्रो सम्बन्ध भएका सैनिक अधिकारी थिए । रावतसँगै उनकी पत्नी मधुलिका र अन्य ११ सैनिक अधिकारीको नीलगिरिमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । 

'गोर्खालीमाझ हुर्किएका रावत नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे'

नेपालसँग सीमा जोडिएको उत्तराखण्डको गढवालमा जन्मिएका रावत सैन्य सेवामा गोर्खा राइफल्ससँग सम्बन्धित रहेका थिए । भारतीय सेनाका चार तारे जनरल रावत ११ गोर्खा राइफल्ससँग सम्बन्धित थिए । उनी सन् १९७८ डिसेम्बर १६ मा ११ गोर्खा राइफल्सको पाँचौ बटालियनमा भर्ना भएका थिए ।

रावत सन् २०१७ डिसेम्बर ३१ मा भारतीय स्थल सेनाका प्रमुख हुने गोर्खा बटालियनका तेस्रो अधिकारी हुन् । भारत सरकारले सामान्यत: वरिष्ठतालाई प्रमुख बनाउने परम्परा तोड्दै तेस्रो वरीयतामा रहेका रावतलाई स्थल सेना प्रमुख बनाएको थियो । रावतलाई नेपालले पनि मानार्थ महारथी सम्मान गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत १६ राष्ट्रपति निवासमा आयोजित कार्यक्रम महारथी उपाधिबाट सम्मान गरेकी थिइन् । त्यतिबेला उनले पोखरा र मुक्तिनाथको समेत भ्रमण गरेका थिए ।

यसै वर्षको सुरुवातमा मन्त्रिपरिषद्‌ले भारतीय सेनाका सिडिएस रावतलाई भ्रमणका लागि निम्तो दिने प्रस्ताव स्वीकृत गरे पनि कोभिडका कारण सफल हुन सकेको थिएन । भारतले आफ्नो सैनिक संरचनालाई परिवर्तन गरेर स्थल, जल र वायु सेनाको एउटै कमान्डअन्तर्गत निर्माण गर्न रावतलाई सन् २०२० जनवरी १ मा पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको थियो ।

सन् २०१०मा दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सहपाठी रहेका नेपाली सेनाका पूर्वमेजर जनरल विनोज बस्न्यात रावत गोर्खाली पल्टनमा हुर्किएका व्यक्ति भएका बताउँछन् । 'उनी गोर्खालीका माझ हुर्किएका हुन् । उनी नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे', बन्स्यात विगत स्मरण गर्दै भने, 'त्यहाँ एक सय जना थिए होलान् तर हामी निकट थियौं । व्यक्तिगत रुपमा मित्र गुमाएको छँदैछ । त्यो भन्दा पनि बढी नेपाली सेना र देशले पनि राम्रो सम्बन्ध भएको व्यक्तिलाई गुमाएको छ ।'

बस्न्यात रावतलाई नेपालसँगको सम्बन्धलाई सुधारका लागि आफै प्रयास गर्ने व्यक्तिको रुपमा सम्झन्छन् । '११ गोर्खा राइफल्सको कमान्ड गरेको कारणले धेरै नेपालीसँग उहाँको राम्रो थियो,' उनले भने । रावतका पिता पनि गोर्खा पल्टनमै कार्यरत थिए । पिता लक्ष्मणसिंह भारतीय सेनामा लेफ्टिनेन्ट जनरलसम्म बनेका थिए ।

राजनीतिक विषयमा पनि चर्को टिप्पणी गर्ने रावत समय समयमा विवादमा पर्ने गरेका थिए । गत माघमा काठमाडौंमा रहेको थिंक ट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल रिलेसन्सले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका रावतले श्रीलंकाबाट पाठ सिक्दै चीनसँग सतर्क हुनुपर्ने सुझाव नेपाललाई दिएका थिए ।

रावतले पदीय मर्यादाभन्दा बाहिर गएर उक्त टिप्पणी गरेको भन्दै कतिपयले आलोचना गरेका थिए । त्यसअघि पनि उनले भौगोलिक कारणले नेपाल र भुटान भारतबाट बाहिर जान नसक्ने बताएका थिए । आन्तरिक राजनीतिक विषयमा पनि उनले टिप्पणी गर्ने गरेका थिए । कतिपयले उनलाई सेनाको व्यावसायिक मर्मविपरीत गएर सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)को पक्षमा धारणा राख्ने गरेको भन्दै आलोचना गर्दथे ।

यसैबीच, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले रावतको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित : मंसिर २२, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?