भारतका चिफ अफ डिफेन्स स्टाफ रावत दुर्घटनामा परेको हेलिकोप्टर कस्तो हो ?

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १३ जनाको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भयो । तमिलनाडूस्थित वेलिङ्टनतर्फ जाँदै गरेको उक्त हेलिकोप्टरमा अवतरण हुन १० मिनेटअघि दुर्घटनामा परेको थियो । विविध विशेषतायुक्त हेलिकोप्टरको दुर्घटना भएपछि भारतीय वायु सेनाले छानबिन समिति गठन गरेको छ ।

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत दुर्घटनामा परेको हेलिकोप्टर कस्तो हो ?

रावत सवार रहेको 'एमआई-१७ भी५' हेलिकोप्टर आधुनिक किसिमको हो । संसारमा अहिले सञ्चालनमा रहेका आधुनिक तथा धेरै विशेषतायुक्त रहेका हेलिकोप्टरभित्र यो पनि पर्छ ।

रुसको कजानको कम्पनीले निर्माण गरेको यो हेलिकोप्टर अन्य कार्गो हेलिकोप्टरको भन्दा धेरै सुरक्षित मानिन्छ । भारतीय वायु सेनाले सन् २०१२ देखि प्रयोग गर्दै आएको छ ।

भारतले सन् २००८ मा रुसबाट यस प्रकारको ८० वटा हेलिकोप्टर खरिद गरेको थियो । सन् २०११ मा पहिलो हेलिकोप्टर प्राप्त गरेको र अन्तिम सन् २०१८ मा भारत आइपुगेको थियो ।

यो मोडलको हेलिकोप्टरमा वेदर राडार र पछिल्लो पुस्ताका हाइभिजन उपकरणहरु जडान गरिएको छ । यसमा पीकेभी एट अटोपाइलट र केएनइआई एट सुइट छन् ।

एमआई-१७-भी५ मोडलको अर्को विशेषता भनेको यसको धेरै भारबहन क्षमता हो । यसले १३ हजार किलोको समान बोक्न सक्छ । डबल इन्जिनयुक्त यो हेलिकोप्टर ६ हजार मिटरसम्मको उचाइमा उड्न सक्छ ।

यो मोडलको हेलिकोप्टरमा विशेष गरी सर्च एन्ड रेस्क्युमा प्रयोग हुने गर्छ । ढुवानी र उद्धारका लागि मात्रै नभएर यसमा हतियार तथा मिसाइलसमेत प्रयोग गर्न सकिन्छ । सेना ओसार्न हतियारको प्रयोग, स्कटिङ, पेट्रोलिङ, खोजी तथा उद्धारलगायत सबै किसिमका सैन्य गतिविधिमा प्रयोग गर्न सक्ने प्रकृतिले यसको डिजाइन तयार गरिएको छ ।

यसमा एस-८रकेट, २३ एमएम मेसिन गन, पीकेटी मेसिन गन, एकेएम सब-मेसिन गन पनि प्रयोग गर्न मिल्छ ।

यो मोडलको हेलिकोप्टरको पहिलो मोडल सन् १९७५ मा पहिलो उडान भरेको थियो । सन् १९७७ देखि यसको व्यावसायिक उत्पादनसँगै बिक्री सुरु भएको हो । सन् २००७ मा यसको संख्या १२ हजार थियो । एमआईएल-एमआई-८ मोडललाई अझ विशिष्टिकृत गरेर यो मोडल तयार गरिएको हो ।

प्रकाशित : मंसिर २२, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?