कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘आर्थिक कूटनीतिमा जोड’

काठमाडौँ — दुई शक्तिशाली मुलुक चीन र भारतबीच रहेका कारण पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को सज्ञा दिए । बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाललाई दुई मुलुक (भारत–चीन) बीचको गतिशील पुलका रुपमा विकसित गर्नुपर्ने धारणा सार्वजनिक गरे । सन् २०१९ को अक्टोबरमा गरेको नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नेपाल भूपरिवेष्टितबाट भूजडित मुलुक’ बनेको टिप्पणी गरे ।

‘आर्थिक कूटनीतिमा जोड’

नेपालको विदेश सम्बन्ध र परराष्ट्र नीतिमा दुई छिमेकी मुलुकमात्र होइन, महाशक्ति राष्ट्र अमेरिका र अन्य देशसँगको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण छ । विश्वको बदलिँदो भूराजनीति, नेपाललाई परेको असर, छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध, भावी परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पूर्वराजदूत अन्जान शाक्यसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

विश्व राजनीतिका पछिल्ला घटनाक्रमलले नेपाललाई के असर गर्ला ?

विश्वको बदलिँदो भूराजनीतिले पक्कै पनि असर गर्छ । हामीले त्यसबाट कति फाइदा वा बेफाइदा लिन सक्छौं भन्ने पनि हुन्छ । हामीले सधैं भूराजनीतिको अवस्थालाई हेर्ने क्रममा आफ्ना जनता र राष्ट्रको हितका लागि सोचेर अघि बढ्नुपर्छ । मुख्य कुरा हामीलाई तेस्रो मुलुकभन्दा पनि ‘भारतीय उपमहादीप’ का मुलुकसँगको सम्बन्धले बढी प्रभाव पारेको हुन्छ । त्यसमाथि पनि छिमेकी मुलुकहरूसँगको सम्बन्धले प्रभाव पार्छ । जबसम्म चीनबाट रेलमार्ग नेपालसम्म प्रवेश हुँदैन र त्यो रेलमार्ग भारतसँग जोडिँदैन, हाम्रो आर्थिक अवस्था सुदृढ हुने देखिँदैन ।

धेरै मुलुकले आर्थिक गतिविधिलाई नै केन्द्रीय भागमा राखेर परराष्ट्र नीतिलाई अघि बढाइरहेका छन् । अमेरिका, चीन, भारत वा अन्य युरोपेली मुलुक सबैले आर्थिक गतिविधिलाई नै केन्द्रीय भागमा राखेका छन् । अहिलेको भूराजनीतिले नेपाललाई धेरै असर गर्दैन । किनकि नेपाल सधैंको नीति ‘सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता’ भन्ने हो ।

भारतसँगको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

हामीले आफ्नो क्षमता अभिवृद्धि गरेर भारतलाई बुझाउन सक्नुपर्‍यो । हामीले कतिपय कुरा बुझाउन सकेका छैनौं । कुरा बुझाएपछि दुई मुलुकबीचको सम्बन्ध सहज हुन्छ ।

छिमेकी चीनसँगको सम्बन्धबाट नेपालले कसरी लाभ लिन सक्छ ?

चीनसँग हाम्रो द्विपक्षीय सम्बन्ध धेरै राम्रो छ । भारतसँग जस्तो राम्रो सम्बन्ध छ, चीनसँग पनि उत्तिकै सुमधुर छ । हामीलाई दुवै छिमेकीको उत्तिकै महत्त्व छन् । हामी तीन छिमेकी चाहेर वा नचाहेर पनि मिलेर बस्नुपर्ने बाध्यता छ । त्रिपक्षीय मिलनबिन्दुका रूपमा नेपाललाई ट्रान्जिट बिन्दु बनाएर आर्थिक क्रियाकलापमा बढाउन सकिन्छ । कतिपय अवस्थामा चीन र भारतले पनि नेपालको महत्त्व बुझेको जस्तो देखिन आउँछ । त्यस्तै, चीनसँग आर्थिक, सामाजिक, भौगालिकलगायत सम्बन्ध छन् ।

नेपालले कस्तो परराष्ट्र नीति अपनाउनुपर्छ ?

हामीले असंलग्न नीतिलाई परिपालना गर्नु आवश्यक देखिन्छ । हामी छिमेकी मुलुकलाई टाढा राख्न सक्दैनौं । विदेशीले ल्याएका विभिन्न परियोजना राष्ट्रिय हित र नेपाली जनतालाई केन्द्रमा राखेर ‘नेगोसिएसन’ गर्दा चनाखो हुनुपर्छ । अमेरिका, चीन र भारतसँग आफ्नो नीतिअनुसार अघि बढाउनुपर्छ । हामीले आर्थिक कूटनीतिलाई जोड दिन आवश्यक छ । हाम्रो परराष्ट्र नीतिमा आर्थिक नीति जोडेर मुलुकलाई सर्वोपरि हित हुने गरी अघि बढ्नुपर्छ ।

यी पनि पढ्नुहोस् :

प्रकाशित : मंसिर २, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×