कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘मित्रहरूलाई आफ्नै आँखाबाट हेर्नुपर्छ’

काठमाडौँ — दुई शक्तिशाली मुलुक चीन र भारतबीच रहेका कारण पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को सज्ञा दिए । बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाललाई दुई मुलुक (भारत–चीन) बीचको गतिशील पुलका रुपमा विकसित गर्नुपर्ने धारणा सार्वजनिक गरे । सन् २०१९ को अक्टोबरमा गरेको नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नेपाल भूपरिवेष्टितबाट भूजडित मुलुक’ बनेको टिप्पणी गरे ।

‘मित्रहरूलाई आफ्नै आँखाबाट हेर्नुपर्छ’

नेपालको विदेश सम्बन्ध र परराष्ट्र नीतिमा दुई छिमेकी मुलुकमात्र होइन, महाशक्ति राष्ट्र अमेरिका र अन्य देशसँगको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण छ । विश्वको बदलिँदो भूराजनीति, नेपाललाई परेको असर, छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध, भावी परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पूर्वराज्यमन्त्री उदयशमशेर राणासँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

विश्व राजनीतिका पछिल्ला घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ?

सोभियत संघको विघटनपछि विश्व राजनीतिमा ठूलो परिवर्तन आयो । आगामी दिनमा अमेरिका र चीन दुई वटा ‘ग्लोबल सुपर पावर’ भएर निस्कन्छन् भन्ने सबैले अनुमान गरेका छन् । दोस्रो विश्वयुद्धपछि स्पष्ट रूपमा युरोपको पूर्वी ब्लक सोभियत युनियन र युरोपको पश्चिमी ब्लक अमेरिकातिर थियो । त्यसबेला एसिया, अफ्रिका र दक्षिण अमेरिकालाई महत्त्व दिइएको थिएन । अहिले अफ्रिकाको पनि महत्त्व भयो । युरोप पूर्ण रूपमा अमेरिकी पक्षमा देखिएको छ । जापान, अस्ट्रेलिया र अब भारत पनि अमेरिकी अलाइन्समा देखिएका छन् । योभन्दा पहिले मुलुकहरू नेटो पक्ष र सोभियत पक्ष विभाजित थिए भने अहिले स्पष्ट देखिएको छैन । त्यस बेला नेपाल, भारतलगायत मुलुक असंलग्न समूहमा थिए । अहिले भारत पूर्ण रूपमा अमेरिकी पक्षमा गइसकेको छैन । तर चीनको कारण भारत अमेरिकातिर ढल्केको देखिएको छ । पछिल्लो समय चीन मुख्य शक्ति राष्ट्रका रूपमा देखिइसकेको छ । चीन र भारतबीच १९६२ देखि नै द्वन्द्व छ । नेहरू, इन्दिरा गान्धी, राजिव गान्धी वा अहिले मोदी आएपछि पनि भारतले सधैं चीनलाई शंकालु दृष्टिबाट हेर्ने गरेको छ । यी विकसित घटनाक्रमले नेपाललाई असर नगर्ला भन्ने रहन्न ।

भारतसँगको सम्बन्धलाई कसरी हेर्ने ?

नेपाल–भारत विशेष सम्बन्ध छ । भारत स्वतन्त्र भएदेखि नै केही कुरामा सम्बन्ध चिस्याउने र केही कुराले तताउने काम भइरहेको छ । जुन मुलुकसँग दूरी नजिक छ, त्यससँग सम्बन्ध बिग्रने र सप्रिने हुन्छ । सम्बन्ध चिसिने परिस्थिति आयो भने ‘ट्र्याक टु डिप्लोमेसी’ प्रयोग गर्न सकिन्छ । दुई मुलुकबीच हिजो पनि केही समस्या थियो, आज पनि छ र भोलि पनि आउन सक्छ । ती समस्यालाई समाधान गर्न तयार हुनुपर्छ ।

अर्को छिमेकी चीनसँगको सम्बन्ध नि ?

चीनसँगको सम्बन्ध सक्रिय भएर गएको छ । चीनसँग हाम्रो प्रत्येक दिन (कोभिड–१९ हुनुअघि) ७ वटासम्म उडान हुन्थ्यो । १५ वर्ष अगाडि त्यो अवस्था थिएन । पछिल्लो तीन वर्षमा नेपालमा चीनबाट ठूलो लगानी आएको छ । नेपालको पूर्वाधार विकास निर्माणका धेरै जसो ठेक्का चिनियाँ कम्पनीले लिएका छन् । भूकम्पपछि चीनसँगको तातोपानी नाका राम्रो खुल्न सकेको छैन । नेपाल र चीनबीच व्यापार र पारवहन सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन । अर्कोतर्फ रसुवागढी नाका कोभिड–१९ को कारण सहज रूपमा पहिलेकै अवस्थामा फर्कन सकेको छैन । सीमा नाकामा पूर्वाधार पर्याप्त छैन ।

अर्को शक्तिराष्ट्र अमेरिका र अन्य मुलुकसँगको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

हाम्रो अमेरिकासँग कहिल्यै सम्बन्ध चिसिएको छैन । अन्य मुलुकसँगको सम्बन्ध तटस्थताका आधारमा हुनुपर्छ । आफ्ना मित्रलाई आफ्नै आँखाबाट हेर्नुपर्छ । दक्षिण कोरिया, जापान, अफगानिस्तान र अन्य मुलुकमा जस्तो नेपालमा अमेरिकाको सक्रिय संलग्नता छैन । उसको नेपालमा विकास र पूर्वाधारमा जोड देखिन्छ । खाडी मुलुकसँग हाम्रो संलग्नता बढेको छ । अस्ट्रेलिया, बेलायत लगायत मुलुकमा नेपालको संलग्नता छ । यो सम्बन्ध पनि परिस्थितिअनुसार अघि बढाउनुपर्छ ।

अहिलेको भूराजनीतिक परिवेशलाई हेरेर नेपालको विदेश सम्बन्ध र परराष्ट्र नीति कसरी अगाडि बढाउनुपर्ला ?

नेपाल वा कुनै पनि देशले आफ्नो परराष्ट्र नीति तय गर्दा आफ्नो देशको महत्त्वपूर्ण स्वार्थ के–के हुन्, हेर्नुपर्छ । कुनै पनि मुलुकले नेपाललाई निश्चित एलायन्समा बस्नुपर्छ भनेका छैनन् । भविष्यमा पनि यस्तो अवस्था नआउला । किनभने अन्तर्राष्ट्रिय भूराजनीतिमा नेपालको महत्त्व र क्षेत्र सीमित छन् । विदेश नीतिका सम्बन्धमा सबै राजनीतिक पार्टी एउटै छाताभित्र बस्न सक्नुपर्छ ।

यी पनि पढ्नुहोस् :

प्रकाशित : मंसिर २, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×